थरी थरीका मुन्छेहरु


पाठकबृन्द, हाम्रो उत्पत्ति र विकास हुनुमा प्रकृतिको  देन भए जस्तै यो एक्काइसौ शताब्दीमा मानव सभ्यता परिस्कृत हुनुमा सामाजिक सन्जालको ठुलो देन छ। छद्म रही आफ्ना रचनाहरु तपाइँहरु माझ पुराउनको लागि हामीले सामाजिक सन्जालको नै भरपुर प्रयोग गरेका छौं। त्यसैले भन्नु पर्दा हामी सामाजिक प्राणी त हौं कि हैनौं भन्न सकिन्न, तर सामाजिक सन्जालवाला प्राणी चाहिँ अवश्य पनि हौं। यो रचना फेब्रुवरी महिनाको १८ तारिखका दिन थोरै ड्राफ्ट गरेर अपुरो छोडिएको रचना हो। यसलाई अहिले पुर्णता दिने जमर्को गरिएको छ, आशा छ हाम्रा पुराना रचना जस्तै यसलाई पनि माया गरेर पढ्ने अनि सेयर गरेर दुनियाँलाई पढ्न लगाउने काम गर्नु हुनेछ।

crowd

यो रचनाको प्रारुप तयार पारिदाँ त्यो ट्विटर नाम गरेको सामाजिक सन्जालका प्रयोगकर्तालाई बढी लक्षित गरिएको थियो। अब तपाइँहरु त हाम्रा गोजीका मान्छे पर्नुभो, तपाइँहरुलाई के लुकाउनु ? साँच्चो कुरो भन्दा, आजकाल नेपालमा हरेक ट्विटर प्रयोगकर्तासित एउटा @ncell को सिम हुन्छ रे, किन भने त्यो सिमबाट फिरिमा ट्विटर चलाउन पाइन्छ। तर के गर्नु त्यो सिमले फिरिमा @12Thari चाहिँ हेर्न मिल्दैन। त्यसैले कतिपय लेखहरु कपि पेस्ट गरेर डिएममा नि बाँडिएको हाम्रो जानकारीमा आएको छ। अब आउनुस् त्यसैगरी लेख रचना डिएममा माग्ने लगायतका तालतालका सामाजिक सन्जाल प्रयोगकर्ताहरुको बारेमा केही गन्थन गरौँ। कसैको इज्जत र प्रतिष्ठामा आँच आओस् भनेर यो लेखिएको होइन, त्यसैले कृपया यो पढेर हाँस्नुहोला। पुरै भावनामा बगेर नरिसाउनु होला। रिसाउनु नै भयो भने पनि तपाइँकै मुख कालो हुन्छ, तपाइँले नै फेयर एन्ड हेन्सम वा फेयर एन्ड लभ्ली दल्नुपर्ने हुन्छ, हाम्रो त के छ र !

पवनकुमारहरु

सुरुमै अर्थ बुझाइहा  तर पछि यसलाई अरु क्षेत्रमा प्रयोग गरियो त्यो भिन्दै कुरा हो।गफ दियो भन्ने लाग्छ भने इतिहास पल्टाए हुन्छ क्यारे। गुगल काकालाई सोधे नि भयो। नत्र परिवारसँग खुलेर हावा कुरा गर्न नपाइने, तर सामाजिक सन्जालमा भने निर्धक्क हावा कुरा गर्न पाइने। खासमा सामाजिक सन्जाल टिकेको नै यिनै हावाहरुले गर्दा हो। अरु  त उहि बर्खे खहरे हुन । समसामयिक बिषयलाई गहन विश्लेषण नगरिकनै सबै कुरालाई मजाक वा ट्रोल मार्फत् होहल्ला मच्चाउने जमात नै यो वर्गमा पर्छन्। यीनले कसैले देशभक्ति कविता लेखे पनि उडाउँछन्, कसैले फिल्म बनाए पनि उडाउँछन्, किताब लेखे पनि उडाउँछन्। तर यिनीहरु हलमा गएर फिल्म हेर्दैनन्, कहिले कताबाट लिक होला भनेर ढुकेर बस्छन्। पाइरेटेड फिल्म हेरेर निर्माता निर्देशकलाई उडाउँछन्। किताब पनि त्यस्तै हो, किनेर पढ्दैनन्। पहिला त कतै पिडिएफ पाइन्छ कि भनेर कुर्छन्, नभेटे मागेर पढ्छन् र गाली बक्छन् 😂

‘मोरल पुलिस’हरु

यिनीहरु सामाजिक सन्जाल मार्फत् सामाज सुधार गर्ने, सद्धभाव कायम राख्न, सरकार र प्रसाशनलाई दबाब दिने जस्ता काम गर्छन्। यिनका स्टाटस ट्विटहरु र फोटोहरु पुरै गम्भीर हुन्छन्। कुनै मुद्दाको गहिराइमा पुगेर वादविवाद गर्छन्। यस्ता व्यक्तिहरु स्वभावैले आत्ममुखी हुन्छन्। आफुले त्यो बिषयमा मन्तब्य नराखे आफु समाजमा परिँदैन, मान्छेले के भन्लान्, यसले त बोलेन भन्छन् भनी समाजकै डरले यसो केही बुदाँ सटिक रुपमा राख्छन्। अनि को आउँछ बिवाद गर्न भनि कुर्छन्। कोही न कोही त आइहाल्छ, यदि कथंकदाचित आएन भने केही विवादास्पद कुरा पनि गर्दिन बेर लाउन्नन्। अनि दिनभरी बिवाद गरेर बिताउँछन्।

मपाईं हरु

म यस्तो मान्छे हुँ। मैले यहाँ यस्तो गरें। मेरो नेतृत्वमा वा मेरो सहभागितामा फलानो ठाँउमा फलानो कार्य सम्पन्न भयो। त्यो कार्य गरेर मैले मानवतामाथि दया गरें। म एकदमै ठुलो मान्छे। ल सबैले मलाइ “वाह ! राम्रो काम गरिस्” भन्नुस्। सबैले बधाइ दिनुस्। जानुस् खादा किनेर ल्याउनुस् र मलाइ टुँडिखेलमा बोलाएर सबैको अघि सम्मान स्वरुप खादा ओडाउनुस्। छोटकरीमा भन्नु पर्दा मान नमान मैं तेरा मेहमान। बोले त अरुले ‘हजुर तपाईं दामी भनोस् या नभनोस्, ल मलाइ दामी भन्नुस् त भन्दै अघि सर्ने। यिनीहरुले गरेको कामको चर्चा वा प्रशंसा कसैले गरिदिएन भने यी छटपटिएर रुन्छन्। सामाजिक सन्जालमा कुनै गम्भीरता नै छैन, हामीमा मानवता हराइसक्यो, हामी चेतनाहिन, विचार सुन्य  प्राणी भयौं भनेर अलापबिलाप गरि रोएको रोइ गर्छन्।

‘फुल र भमरा’ हरु

यी चाहिँ दुवै लिङ्गीमा बरोबर लागु हुन्छ। केटाहरु केटीहरुकै वरिपरी भवँरा झैं घुमिरहन्छन् भने केटीहरु फूल बनेर बस्छन्। अनि यसो मुन्टो घुमाइ घुमाइ हेर्छन् कुनै भँवरा घुम्या छ कि भनेर। अनि भवँरा त्यो फूलमा बस्न पाएमा आहा कस्तो राम्रो फुल रै’छ भन्दै हिड्छन्। बस्न नपाएमा त्यही फूललाई (लास्टै गन्हाउने फूलको नाम हाल्नुस्) जस्तो रै’छ भनेर हिँड्छन्। अनि फूलहरु यसो खाइलाग्दो भवँराको पर्खाइमा बसेका हुन्छन्। ख्याउटे च्याउँसेलाई कस्तो चिप्कु रै’छ भन्दै बस्छन्। खोजेजस्तो भवँरा अलि पर फूलमा घुम्या रहेछ भने नि हावालाई बोलाएर आफ्नो सुगन्ध ऊसम्म पुराएर आफुमाथि बस्न बोलाउँछन्। बोले तो केटा केटी कोइ पनि कम छैनन यो वर्गका। यिनीहरु बिहान उठेको, मुख धोएको, चिया खाएको, भात खाएको सबै फोटो सन्जालमा हाल्छन्। कहिले आँखा चिम्लेर त कहिले मुख बाएको सेल्फी हालिरहन्छन्। केटा वा केटी दुवै लाइक्स र कमेन्टमै रमाइरहन्छन्। यिनीहरुको सेल्फीमा एकदिन कुनै लाइक वा कमेन्ट आएन भने ट्वाइलेट पसेर ड्वाँ ड्वाँ रुन्छन् भन्ने किंवदन्ती पनि चलेको पाइन्छ।

‘समात्’ सेवीहरु

यो वर्गका सामाजिक सन्जालका मान्छे यो टिप्पणीकारलाई कहिल्यै चित्त परेन। यिनले खासमा समाजसेवाको नाममा ‘समातसेवा’को धन्दा अघि बढाउने किसिमका हुन्छन्। समाजसेवा त यिनको हात्तीको देखाउने दाँत जस्तै हो, वास्तविक उद्धेश्य भनेको समाजसेवाको खोल ओडेर सम्भावित पार्टनर खोज्नु नै यो वर्गको मान्छेको प्रमुख आसय हुन्छ। हामीले यसो भन्दा सबै समाजसेवी त्यस्ता हुन्छन् भन्न खोजेका पक्कै होइनौं तर केही त्यस्ता हुन्छन् भन्न मात्र खोजेका हौं। अनि कतिले समाजसेवाको क्रममा मन मुटु साटेर जिन्दगी बिताउन सात फेरो नि लिए। तिनलाई हामीले नराम्रो अवश्य भन्न खोजेका होइनौं। जोडी माथि भगवानले बनाएर पठाएका हुन्छन् भन्छन्, अब तिनलाई जोडिनलाई समाजसेवा आइलाग्यो त हामीले टाउको दुखाएर भयो त? भएन नि है?

सुतुर्मुर्गेहरु

अँ, यो वर्गका सामाजिक सन्जालका प्रयोगकर्ता कस्ता हुन्छन् भने – टाउको लुकाउँछन् तर ज्यान पुरै देखाउँछन्। अनि आफुलाई कसैले चिनेको छैन, देखेको छैन, मैले जे बोले नि हुन्छ जस्तो गरे नि हुन्छ भने झैँ गर्दछन्। तर फेरि भित्र भित्र त्यो मुन्टो लुकाउने म हो नि, तँलाइ मात्र भनेको है, अरु कसैले चिन्दैनन्, अरुलाई नभनेस् भन्दै हिँड्छन्। सबैले चिनिसक्दा नि आफुलाई छद्मे समाजसेवी हुँ भन्दै निर्धक्क मनपरी बोल्दै हिँड्छन्। यिनलाई मरे पछि जे सजाय दिने हो चित्रगुप्त आफैले दिन्छन्। हाम्ले त यस्ता भिराँ हिडे नि रामराम भन्ने हुन्नँ, के था’ह राम पौडेल नै पो पर्छ कि?

हुँडारहरु

हुन त हामीले सानोमा Hynea भनेर कताकता पढे पनि त्यो भनेको हुँडार हो भनेको खासै थाहा थिएन । तर पाठकहरुलाई सुसुचित गर्न ट्विटर छिरेका एक जना बरिष्ठ सम्पादक जब बिभिन्न ‘निहु खोजुवा’ हरुको कोपभाजनमा परे तब उनले रचे यो शब्द ।  यि हुँडारहरुले चाहिँ साँच्चिकै अनुहार लुकाएका हुन्छन्। अँ, व्यक्ति विशेषलाई निशाना बनाएर तिनलाई मात्र प्रहार गर्नेहरु यो वर्गमा पर्दैनन्। यो वर्गमा त्यस्ता पर्छन्, जो विभिन्न कारणले आफ्नो परिचय लुकाएका हुन्छन्। अनि समाजका कुरिती र कुथितीलाइ जमेर ब्यङ्ग्य प्रहार गर्ने गर्दछन्। फेसबुकतिर विभिन्न किसिमका पेज बनाएर लागि परेका हुन्छन् भने ट्विटरतिर बाम्ठा बाम्ठा आइडी बनाएर हिँडेका हुन्छन्। यिनीहरुले बोर्डसिटमा विचार छपाउँदा पनि छद्म नाम नै प्रयोग गरेका हुन्छन्। यिनीहरु कस्ले बोल्यो भन्दा पनि के बोल्यो भन्ने कुरामा बढी ध्यान दिन्छन्। समाजका कुइनेटाहरुलाई भौतिकवादी तवरले ब्याख्या गर्नु पर्छ, सम्बन्धले असर गर्नु हुँदैन भन्ने कुरामा बिश्वास गर्छन्।

म-वरिष्ठहरु

यि यस्ता खाले वरिष्ट हुन् – जसलाई देख्ने बित्तिकै सबैका हातका १० औँला आफसे आफ जोडिन्छन् अनि मुखबाट निस्किहाल्छ – ‘हजुर वरिष्ट हस्त नमस्ते’। यिनले आफुलाई ठुलो देखाउन यतिसम्म गर्छन कि पहिले गुटुङटुङटुङ अरबी घोडा चढेको गुड्डि हाँक्छन अनि श्रोताले नपत्याएपछि घोडा नचढे पनि गधा चाहिँ चढेकै हो भनेर कुरो मिलाउँछन् ।  अनि सबैलाई भन्न कर लागिगो – हजुर वरिष्ट हस्त नमस्ते। यिनीहरु योग्यता नै नभएका हुन् भनेर हामी भन्दैनौं किनभने सारा जगतलाई ह्याकुलाले पेलेर भए नि आफुलाई वरिष्ट भन्न लाउँचन्, आफ्नो अघि कुरा काट्न नसक्ने बनाकै हुन्छन् । यिनीहरु प्रतिभाशाली त हुन्, तर आफ्नो प्रतिभाको सही सदुपयोग सही समयमा गर्न नसकेकै कारणले गर्दा यी म-वरिष्ठ मात्र भए । नत्र त बहुप्रतिभाशाली भएर साँच्चिकै वरिष्ठ हुन्थे कि !!

साँच्चिकै वरिष्ठहरु

हुन त यो पंक्तिकारलाई पनि सुरुमा ट्विटर भनेको हामी जस्ता झ्याँसहरुले चलाउने होइन, पर्याप्त सामाजिक वा आर्थिक प्रतिष्ठा कमाएकोले मात्र चलाउने हो जस्तो लाग्थ्यो। त्यसैले पत्रपत्रिकामा त्यो निलो चरोको मुनी फलानाले यसो भनेर ट्विट गरेका छन् भन्दा खासै ध्यान दिइन्थेन। अब Pseudo वरिष्ठहरु त माथिका हरेक प्रकारमा कुनै न कुनै रुपमा हुन्छन्। तर यहाँ चर्चा गर्न खोजिएका साँच्चिकै वरिष्ठ चाहिँ कस्ता भने… जमानामा मन्त्री वा ठूलो पद पड्काका; ऐले पनि कुनै न कुनै रुपमा शक्ति वा पहुँचमा रहेका; कसैले नयाँ ट्विटर खाता बनाउँदा सुरुमै साइडको सजेसनमा नाम देखिने, पत्रिकाको प्रिन्ट लाइनको पुछारमा नाम हुने (सम्पादक क्या) वा यस्तै कुनै हुन्छन् । यी अलि मापाका हुन्छन् । केहीले नक्कली फलोवर किनेर एजेन्टलाई पैसो नतिरेकोसम्म पनि गाइगुइ सुनिएको हो। कोही भने वर्गशत्रु जस्ता आफ्नो चीर प्रतिद्वन्दि भन्दा धेरै फलोवर बनाउन लिलाम बढाबढ झैं फलोअर  किन्ने होडमा हुन्छन्। यिनको सामाजिक स्थानले गर्दा पनि होला, बिचराहरु आफ्नो कामको बारेमा जनतालाई बुझाउँछु भनेर यता छिरेका हुन्छन् तर आफ्नो सुनाउने भन्दा अरुको गाली बढी सुन्न पर्छ। धेरैको विशेषता के छ भने कसैले रिटिक्क दायाँबायाँ बोल्यो कि ब्लक ठोकिहाल्छन्। तर जति नै वरिष्ठ भए पनि आखिर तन्नम देशका ठालू न परे, ट्विटरले अझैसम्म पनि कसैको ह्यान्डलमा निलो ब्याच टाँस्देको छैन।

साउनमा आँखा फुटेकाहरु….

यी महामहिमहरु कस्ता भने विचरा फेसबुक र ट्विटरको भिन्नता पनि बुझ्न सकेका छैनन ।एकातिर  फेसबुकको लिंक टविटरमा शेयर गर्छन अनि ट्विट चाहिँ पेसबुकमा लगेर पोस्ट गर्छन्। ट्विटरमा पनि फेसबुककै झैं फोटा पोस्ट गरेको गरै गर्छन्। यीनलाई ट्विटर के हो? यसको प्रयोजन के हो भन्नेसँग मतलब पनि छैन। फेसबुकमा ट्विटरको हल्ला सुनेर यी ट्विटर त मुन्टिए तर यी दुईको विशेषता र भिन्नता बुझ्न सकेनन्। यिनीहरुलाई कसैको ट्विट मन परे रिट्विट गर्नुपर्छ भन्ने थाहा छैन, उही फेसबुकको स्टाटस झैं मानेर ट्याँस्स लाइक ठोक्छन्। ट्विटरको लाइक बटन किन राखेको भन्ने ज्ञान त झन हुने कुरै भएन। फेसबुकको स्टाटस लाइक्स ठोके जस्तो हरेक ट्विट लाइक ठोक्छन् यिनीहरु।

ढाट कुरुवाहरु

सामाजिक सन्जालमा यस्ता यस्ता मनोरोगीहरु पनि भेटिन्छन् जो सँधै रिट्विट, लाइक्स, फलोअर्स गन्दै बस्छन्, उहि ढाटमा बसेर यति गाडी यता गए, उता गए भनेर गन्नेहरु जस्ता । यिनीहरुले एउटा ट्विट गरेपछि एकाध घन्टा केही बोल्दैनन्, हरेकपटक नोटिफिकेसन हेर्छन् कति रिट्विट भयो कति लाइक्स भयो भनेर। यी सिजनल र मौका छोपुवा हुन्छन्। जुनबेला जे कुराको चर्चा चलेको छ त्यसमै मिल्नेगरी भाका मिलाएर ठोकिहाल्छन्। तर सोचेजस्तो लाइक्स र रिट्विट आएन भने केही समयपछि त्यही ट्विटमा पुच्छर जोडेर अर्को ट्विट गर्छन् ताकि आफ्नो पहिलो ट्विट देखियोस् र रिट्विट होस्। कहिलेकाहीं अत्यन्तै कम रिट्विट वा लाइक भयो भने यिनले केही नजिकका साथीहरुलाई म्यासेज गरेर आफ्नो ट्विट वा स्टाटस देखाउँछन्। अनि यसैमा अर्काथरी छन् फलोअर्स गनेर मात्र बस्ने। यिनीहरुको अरु केही कामै हुन्न। आज फलानाले फलो गरेछ, फलानाले अनफलो गरेछ, मैले नि अन्फल्दिएँ भनेर ट्विट गर्छन् अझ त्यसको स्क्रीनसट सहित। यिनलाई लाग्छ, ट्विटरका फलोअर्स सेयर मार्केटमा बेचेर उ करोडपति हुन्छ।

ईन्स्टे र ब्लगेहरु

हरे राम, हरे कृष्ण। यीनको त झन् के कुरा गर्नु र हे भगवान। यीनलाई कसले के लेख्यो, कसले के ट्विट गर्‍यो, के मुद्दा चलिरहेको छ, अहँ बाल छैन। यिनले ट्विटरमा ईन्स्टाग्रामको लिंक र आफ्नो ब्लगको लिंकभन्दा अरु केही शेयर गर्दैनन्। ईन्स्टाग्रामलाई पनि ट्विटरमै ल्याउने भए ट्विटर चाहिँ किन चलाउनु ए हरितन्नम् हो !

लेख्दालेख्दै लामो भइसकेछ। क्यार्नी त, यति धेरैथरी मान्छे छन् कि लेखेरै नसकिने। के गरौं? अहिलेलाई यत्ति गरौं त? ए अँ साँच्चि, हामीले देखेभन्दा फरक मान्छे पनि त होलान् नि यो सन्जालमा। तपाइँले देखेका मान्छे छुटेका भए त्याँ तल कमेन्ट लेख्ने ठाउँ छ है ! हस्ते

2 thoughts on “थरी थरीका मुन्छेहरु

  1. Everyone loves what you guys are up too. Such clever work and reporting!

    Keep up the excellent works guys I’ve included you guys
    to my own blogroll.

    Like

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.