एसएलसी रिजल्टको सम्झना #SLC #Result


SLC Result 2072-2073आज हामी दोस्रोपटक हाम्रो बारेमा लेख्दै छौं।  पहिले लेखेको छुटाउनु भएको भए यँहा हेर्न सक्नुहुनेछ।  हामी मध्ये एकादुई सामन्ती परिवारबाट आए पनि बाँकी धेरै जस्तो मध्यम वर्गीय परिवारको प्रतिनिधित्व गर्दछौं।  हाम्रा टिप्पणीकार इको बाहेक हामी सबैले सरकारी स्कुल पढेका हौँ।  हामीले हाम्रो बेलाको एसएलसीको सम्झना नि लेखिसकेका छौं।  छुटाउनुभएको  भए यँहा हेर्न सक्नुहुनेछ।  परीक्षा दिएपछि रिजल्ट आउँछ।  त्यसको सम्झना नि त लेख्नुपर्यो नि हैन त ? ल आउनुस् पाठकबृन्द, हाम्रा टिप्पणीकारहरुको रिजल्ट अनुभव सुन्न फुलपाती लिएर तयार हुनुस्। पुनश्च: यी सम्झना सबैले आफैले लेखेको भएकाले लेखमा एकरुपता नदेखिन सक्छ।सबैको सम्झनापछाडि सम्पादकको टिप्पणि राखिएको छ।

Adams(प्राविधिक निर्देशक)

९ र १० कक्षाको विद्यालय स्तरिय परिक्षामा कहिले नि प्रथम श्रेणीमा पास हुन नसके पनि एसएलसीमा प्रथम श्रेणीमा पास गरेको हुँ मैले । हुन त त्यसबेला फस डिभिजन ठुलै कुरा थियो । ७० , ७५ प्रतिशत ल्याउनेहरुलाई भर्खर खुलेका प्लस टु हरुले छात्रवृत्ति दिन्थे। अहिले जस्तो डिस्टीङ्गसनको रबर स्टाम्प थिएन त्यसबेला। काठमान्डौको पद्मकन्या स्कुलमा एसएलसीको सेन्टर परेको थियो। अहिले सम्झेर ल्याउदा काठमाण्डौको केन्द्रमा पर्ने हुनाले हुन सक्छ सरकारी हाकिम , पत्रकार , पुलिस प्रसाशन सबैको एसएलसी निरीक्षण गर्न आउने ठाँउ पद्मोदय , पद्मकन्या , बिजय स्मारक आदि स्कुल हुदाँ रहेछन्। यसैले पनि मलाई के लाग्छ भने हाम्रो परिक्षाको रखवाली कक्षा कोठाको गुरु बा, गुरु आमा भन्दा पनि निरिक्षण गर्न आउनेहरुले धेरै गर्थे होलान्। त्यसका बाजे – अझै पनि तराइतिर एसएलसीमा गेसपेपर ओछ्याएर परिक्षा दिन्छन् भन्दा अचम्म लाग्छ ।

उसताका हाम्रो काठमान्डौमा पत्रिका पसल थियो। त्यसबेला एसएलसीको नतिजा गोर्खापत्रमा मात्र छापिन्थ्यो । रिजल्ट आउने दिन पुरै गोप्य भने पनि संस्थानकै बितरण शाखा मार्फत हामीलाई अघिल्लो दिन थाहा हुन्थ्यो । रिजल्ट आउने दिन बिहान सखारै पसल जानु पर्थ्यो । पत्रिका चाहिँ कहिले नि ७ ,८ नबजी बजारमा आउँथेन। त्यस बिच न्युरोडमा लाठि चार्ज भयो रे , पत्रिका हालेको साईकल, ट्याम्पु लुटिदिए रे भनेको सम्म सुन्न पर्थ्यो। जसो तसो पत्रिका आउँथ्यो। पत्रिका आधा घण्टाभन्दा बढी टिक्दैनथ्यो। सबभन्दा झ्याउ चाहिँ घरतिरबाट फोन गरेर रिजल्ट हेर्देउ भनेर पुरै स्कुलको रोल नम्बर टिप्न लगाउँथे । यसरी कयौं स्कुलको एसएलसीको रिजल्ट हेरेर यति धर्म गरिएको छ कि दुई चार जन्म जति नै ठुलो पाप गरे पनि भगवानले श्राप दिन सक्दैनन्।

(प्रिय पाठकहरु, प्राविधिक निर्देशकको काठमाडौंमा पत्रिका पसल थियो र यिनले काठमाडौंबाटै एसएलसी दिएका हुन् भनेर १२ थरीका कसैलाई थाहा थिएन। यही लेख पढेर थाहा भयो। या त यिनले पाठकलाई ढाँटे या त १२ थरीको टीमलाई- सम्पादक)

Boston(सम्पादक)

सम्पादकको एसएलसीको रिजल्टको बारेमा लेख्नको लागि १२ थरी टिमले सम्पादकलाई धम्की दिएकोमा भर्त्सना गर्दछु। यो १२ थरी किन पनि काम नलाग्ने ब्लग हो भन्नुहुन्छ भने, यहाँका टिप्पणिकार, प्राविधिकहरु सबै फस डिभिजन, सिकेन डिभिजनमा एसएलसी पास गरेकाहरु छन् तर सम्पादक भने फइल डिभिजन पास गरेका 😂 अब हेर्नुस्, १२ थरीको राम्रो कुरा के हो? यसको कन्टेन्ट। प्राविधिक रुपमा त न यसको डिजाइन छ न केही। कुरो बुझ्नु भो नि? 😛

अँ, एसएलसीको रिजल्ट भएका दिन म के गरिरहेको थिएँ ठ्याक्क याद छैन, तर म घरबाट बेँसीतिर झर्दैथिएँ जस्तो लाग्छ। अहिलेजस्तो असारमा रिजल्ट हुँदैनथ्यो त्योबेला। म शहरमा हुर्केको मान्छे पनि होइन। मेरो गाउँमा गोर्खापत्र नै पुग्दैनथ्यो। अहिलेजस्तो इन्टरनेट वा एसएमएसबाट रिजल्ट हेर्ने कुरा पनि थिएन किनकी त्यो त बजारमै थिएन। हामीले रिजल्ट थाहा पाउने भनेको स्कुलबाट मात्र हो। रिजल्ट आयो भन्ने त थाहा भयो तर रिजल्ट थाहा थिएन। रिजल्ट भएको दुई हो या तीनदिन पछि थाहा भयो म फेल भएँ। बालै त भयो नि, ३०० जनाले एसएलसी दिएका थियौं हामीले, त्यसमध्ये पास भएका थिए ३२ जना, एकजनाले फस डिभिजन ल्याएका थिए। स्कुलमा म टप २० भित्र त थिएँ तर एसएलसीमा टप ३२ भित्र परिएनछ। मलाई त बालै लागेन तर घरमा बुबालाई धक्का लाग्यो भनेर अनुमान गर्न सक्छु। फेल त भइयो तर कति विषय लाग्यो? कुन विषय लाग्यो? केही पत्तो नाइँ। फेल भइयो भने पक्का अंग्रेजीमा फेल भइयो भनेर धुइँपत्ताल अंग्रेजीको ट्युशन सुरु गरियो। त्योबेला त चानस परिक्षा नि हुन्नथ्यो, एक वर्ष कुर्नुपर्ने। अंग्रेजीको ट्युशन त पढ्न सुरु गरियो तर मार्कसीट हेर्दा त पुर्व व्यवसायिक शिक्षामा फेल भइएको रहेछ। दु:खभन्दा पनि हाँसो लाग्यो। अझ रमाइलो त के भयो भने सारा स्कूलका फेल भएका मध्ये पुर्व व्यवसायिक शिक्षा लागेर फेल भएको म एकजना मात्र थिएँ नियमिततर्फबाट, अनि एक्ज्याम्टेडबाट एकजना थिए- पुर्वव्यवसायिक शिक्षा पढाउने सरका छोरा। यो विषय र अर्को एक बिषय गरेर सय पुर्णांकको हुन्थ्यो। अब घन्टाको ट्युशन पढ्ने हो? एक वर्ष त किताबै छोइएन, मस्ती गरेर हिँडियो। कम्पार्ट दिँदा सेन्टरमा जम्मा दुईजना भएर परिक्षा दिइयो।

(जाबो एसएलसी त दुईपटक लाएर पास गर्नेले ठूला कुरा किन गर्नू भनेर साना साना कुरा लेखिएको छ। नत्र सम्पादकजस्तो मान्छे, जिल्ला टपेको हुँ एसएलसीमा, ब्याण्ड बाजा बजाएर गाउँ घुमाएका थिए भनेर नि लेख्न सकिन्थ्यो, प्रमाण पेश गर्नुपर्थेन क्यारे- सम्पादक)

Henry (प्रशासनिक तथा अर्थ/प्रचार विभाग प्रमुख)

बुढेसकाल लागो । धेरै सम्झना छैन तर त्यो मङ्सिर पुसको ठिहीमा एसएलएसी परीक्षा दिएको याद आउँछ । बासी रिजल्ट सुन्या हो । साझी रिजल्ट सुन्नपाएको भए पो आफ्नो सिम्बोल नम्बर पत्रिकामा अट्थ्यो। सम्पादककै जस्तो ताल हो मेरो नि, एसएलसी दिएको थेँ क्यार है भनेर सम्झिनु पर्थो रिजल्ट आउँदा पनि। रिजल्ट भ’को ४-५ दिनमा रिजल्ट थाहा भयो, फइल भइयो। बालै फरर भनेर बसियो।

(आफ्नो एसएलसी सम्झना पनि अर्कोले लेख्दिनुपरेको बारे पनि एकदुई लाइन लेखेको भए हुने प्रचार प्रमुखज्यूले। जान्ने पल्टेर सम्पादककै ताल हो रे। सम्पादक र म उस्तै हौं भनेर पाठकलाई भ्रममा नपारे हुन्छ, भन्देको छु- सम्पादक)

Charlie(वरिष्ठ टिप्पणिकार)

बिहान त्यस्तै ६ बजेको हुदोँ हो, एउटै बेन्चमा बसेका साथीहरु डेरामा नै ढोका ढकढकाउन आइपुगे र भने ओइ रिजल्ट आयो नि, रिजल्ट जान्ने कसरी हो भनेर भन्न थाले। मेरा बा’को काठमाडौंमा साथीहरु मनग्गे भएको कारणले गर्दा बाले सबैको सिम्बल नम्बर टिपेर काठमाडौं साथीलाई फोन गर्नुभयो। अनि उता भएका साथीले सबैको सिम्बल नम्बर टिपेर आधा घण्टापछि फुनर्नु भनेर भन्नु भो। त्यो आधा घण्टा चिया पकाएर खाइयो, कुन डिभिजन आयो होला भनेर मुटुको धुकधुकी बढाइयो। भन्नलाई त आधा घण्टा भने नि बुबाले त्यसले रिजल्ट हेरेर आउँदा ट्याम लाउँछ भनेर १ घण्टा पछि फुनर्नु भो। चार जनाको लम्बर टिपाएका थियौं। उता’ट ‘तीन जना फस डिभिजनमा पास भए, मैले पुरै पत्रिका हात पारिनँ, अर्को एकजनाको नम्बर अरु डिभिजनमा खोज्न सकिनँ’ भन्ने जवाफ आयो। अनि त्यसको लागि १ घण्टा पछि फेरि फोन गर्ने भनेर बसियो। फोन अरेर अर्को साथी दोस्रो डिभिजनमा पास गराइयो। अनि सब साथीका घर घर डुल्न हिँडियो। हिँड्दै जाँदा पत्तो लाग्यो, ती साथीहरुले पहिले नै रिजल्ट थाहा पाएर आएका र’छन्।  पछि स्कुलाँ गएर केही दिनपछि लेजर हेरियो, स्वास्थ्यमा टुक्रुक्क पास भइएको र’छ, नत्र त गुल्टिइने र’छ।

(आफूले प्राप्त गरेको दोस्रो डिभिजन एकघन्टा कुराएर साथीका नाममा सफलतापूर्वक नामसारी गराएर पाठक झुक्याउन सक्नुभएकोमा टिप्पणिकार चार्लीलाई बधाइ ज्ञापन गर्दछु- सम्पादक)

 Delta (वरिष्ठ टिप्पणिकार)

एसएलसी दिएको एक हप्तामा पहिलो पटक काठमाडौं छिरियो। साथमा थियो ७५ रुपैयाँ। त्यही स्कुलको झोला र झोला भित्र दुईटा पुराना स्कुल ड्रेसका सर्ट। किन काठमाडौं आएको जवाफ आफैसंग थिएन। २-४ दिन घुम्न त रमाइलै भयो। पहिलो चोटी घर छोडेको २-४ दिन घुमेपछि चाहिँ समय कटाउने बहाना चाहिएको थियो। एउटा म:म पसलमा म:म पोको पार्ने काम पाइयो, त्यही काम सुरु गरेँ, तलब थियो १२ सय। एक हप्ता जति आफन्तीकोमा बसेपछि कृतिपुरमा गाउले दाई पर्ने सँग बस्न गएँ। नजिकै गाउँले दिदी भिनाजु पनि बस्थे। रिजल्ट आउने बेला भयो, भोलि आउँछ, भोलि आउँछ भन्थे। फस्ट डिभिजन आउला भन्ने थिएन तर फेलै पनि त के हुँला र झैँ लाग्थ्यो। त्यहीमाथि म:म पोको पार्ने काम, मलाई चाहिँ खोई किन हो, चाख लागेको थिएन। रिजल्ट हेर्न भुगोल पार्क जानेहरू र लाठिचार्ज भएको खबर पहिला रेडियोमा सुनिएको थियो। काठमाडौंमै भएर पनि रिजल्ट हेर्न भूगोल पार्क जान रहर लागेन। सबै एसएलसी दिनेहरू यो पढ्ने त्यो पढ्ने भनेर प्लान बनाउथे, म भने बिल्कुल खाली थिएँ, कुनै प्लान थिएन। पास भैएछ भने गाउँ फर्केर पोखरामा डेरा लिएर पिएनमा पढिएला झैँ लाग्थ्यो। एजुकेसन पढेर, मास्टर बन्छु कि झैँ लाग्थ्यो बेला बेलामा। त्योभन्दा बढी केही सोचिएन।

भर्खरै रुममेट दाइले गिलमेरी खान सिकाएका थिए। अधिल्लो राती गिलमेरीले झ्याप भएर मस्तले सुतेको थिएँ, बिहानै कसैले ढोका ढक्ढक्यायो, उठेर ढोका खोलेँ। “तँलाई बज्जिया”?? भिनाजुले हातमा भएको गोरखापत्रले प्याट्ट गालामा हाने “रिजल्ट हुँदाको दिनमा पनि पत्रिका लिएर म तेरो कोठामा आउन पर्ने? लु हेर तेरो नं.” भनेर गोरखापत्र दिनु भो। थर्ड डिभिजन हेरे पहिला, नं. त छैन। अलि अलि डर लाग्यो, अनि सेकेन्डमा हेरेको त, पास भैएछ। खिसिक्क हासेँ। भिनाजुले ढाडमा छाप बस्ने गरी बधाई होईन “बजाई”दिनु भो, “फस्ट ल्याउलास् भन्ने लागेको थियो, सेकन्ड डिभिजन पो ल्याइस्??” के गरौं गरौं जस्तो भो, घर फोन गर्छु भनेर बाहिर गएँ, गाउँको दाइको मोबाइलमा फोन गरेर बा आमालाई बोलाउन लगाएर, १५ मिनेटमा फेरि फोन गरेँ। बा आउनु भएको रहेछ, पास भएको खबर सुनाएँ, बा खुसी हुनु भो। फोन राखेँ र लुड्डु किनेर कोठामा गएँ।

(यो लेख पढेर १२ थरी टिमका कसैले पनि यीनका कुरा पत्याएनन्। कारण १- यिनले आफूले दाजुको मोबाइलमा फोन गरेँ भनेर अस्ति भर्खर एसएलसी दिएको दाबी गरे। २- यिनले लड्डु किनेर बाँडन कोठामा लगे भनेर कस्सैले पत्याएनन्- सम्पादक)

Echo (सल्लाहकार / टिप्पणिकार)

गाउँ छोडेर हाइस्कुल ८, ९, १० पढ्न काठमाडौँ आउने म मात्र थिएँ गैरीगाउँबाट। गाउँको स्कुलमा फस्ट हुने भएर होला काठमाडौँ गएर पढ्यो भने त के के न गर्ला भनेर सोच आयो घरकालाई। फुपुको घरमा बसेर पढ्न भनेर पठाइयो, म बसेर पढेँ पनि । तर गाँउको स्कुलमा भा’ फस्ट त बोर्डिङ स्कुलमा कता कता पुगेँ – तर पास सधैँ हुन्थें।

एसएलसीको लागि अंग्रेजी, विज्ञान र हिसाबको ट्युसन पढ्न थालेँ – दैनिक एक घन्टा – मासिक १५०० रुप्पे । करिब ३ महिना पढेँ क्यारे । एसएलसी आयो जाँच दिएर गाउँ गएँ। अर्को हप्ता त रिजल्ट आउँछ भनेर हल्ला आए पछि म काठमाडौँ पठाइएँ – २ हप्ता पछि मात्र रिजल्ट आयो ।

फुपुका देवर गोरखापत्र सँस्थानको प्रेसमा काम गर्थे, उनले राति १२ बजे फोन गरेर इको फस् डिभिजनमा पास भएको छ भनेर सुनाए । ढुक्क भयो । बिहान उठेर गोरखापत्र सँस्थान जान भनेर हामी २ जना साथी गयौँ । भिड थियो – अहिले जस्तो एसएमएस गरेर थाह हुने भए त … लाइन बसियो जुन करिब जुद्द सालिकसम्म पुगेको थियो – त्यस्ता लाइन अनेकन थिए । एउटाले ब्लाकमा १०० रुप्पेमा गोरखापत्र मिलाइदिन्छु भन्यो । ५०-५० रुप्पे हालेर किन्ने भनेर हुन्छ भनियो । उसले फोटो कन्सर्नको बाटो एउटा गल्लीमा लग्यो जहाँ भिड थियो, त्यहीँ उनीहरूको बिचमै झगडा पर्न थाल्यो । एउटा साँघुरो गल्ली, गल्ली भरी मान्छे, त्यो पनि झगडा गरिरहेका । खै कताबाट पुलिस आयो र डन्डै डन्डाले बजाउन थाल्यो । भाग्नाको हैरान, म त बचेँ, मेरो साथीले भेट्यो सुम्ला आउने गरी । अनि हामी दुबै जना गोरखापत्र नलिएरै घर फर्कियौँ रमिता हेरेर ।

धेरै दिन पछि स्कुल गएर भित्तामा टाँसेको रिजल्ट र मार्कसिट एकैपटक लिएको हुँ ।

(हुनत शुरुमै लेखिएको छ, इको हामीजस्तो मध्यम वर्ग होइनन् भनेर। प्रिय पाठकहरु, तपाइँहरुले पनि अहिले थाहा पाउनुभयो होला नि, यिनी महिनाको १५ सय तिरेर ट्युशन पढ्थे जबकी यिनी काठमाडौंमा नाम चलेको बोर्डिङमा पढ्थे)

Frank (प्राविधिक सहायक )

म मध्यम परिवारको (हामी सबै मध्यमपरिवारका भनेर माथि नै लेखेपछि यहाँ फेरि म मध्यम परिवारको लेखेर आफूलाई गरिब देखाउन खोजेको हो?- सम्पादक)। खान लाउन पुग्ने तर अलिक दुखै गरेर। अंग्रेजीमा भन्दा लोअर  मिडियम। पढ्नुपर्छ-पढ्नुपर्छ भन्ने सबैले तर पढाइमा लगानी सुन्य। घरको काम गरेर बचेको समयमा पढ़नुपर्थ्यो। एसएलसी आयो-गयो खासै महत्व पाएन रिजल्टको नि उही हाल भयो। रिजल्ट आएको दिन बेलुका रेडियोले भन्यो। रिजल्ट त निस्कियो थाहा भयो। तर के निस्कियो भन्ने थाहा पाउने माध्यम केही भएन। फोन गर्न नि दुरसंचार पुग्नुपर्ने, अन्त कतै फोन थिएन । त्यहाँ गएर नि फोन गरेर सोध्ने मान्छे कोही हुनुपर्यो काठमाडौँमा, हाम्रो कोही थिएन। गोरखापत्र त तीन चार दिनमा आइपुग्ने। भोलिपल्ट रोपाइँ थ्यो, आली लगाएर आएको, थाकियो निदाइयो। मनमा कुरा नि खासै खेल्न पाएनन्।

भोलिपल्ट सायद स्कुलको कुनै सरले होला काठमाडौँ फोन गरेर रिजल्ट सोधिमाग्नु भएछ। एकजना गाउँ कै अङ्कलले आएर सुनाउनुभयो बाउसे गर्दा गर्दै – लौ बाबु पास भएछौ, फस्ट डिभिजनमा।
म : ए हो र ?
बुवा: ए ~~~ भनेर मुसुक्क हाँस्नुभयो
छिटो गरौँ छिटो नत्र सकिन्न आज (नेपथ्य बाट कसैले भन्यो 😀 )
…… र म बाउसे गर्न लागें।

एउटा सम्झन लायक क्षण : एक जना छिमेकी अङ्कल थिए हाम्रो सार्है रिस गर्ने, उनको छोराले नि म संगै एसएलसी दिएको। छोरो नि उस्तै – रातभर लाल्टिन बालेर झ्यालमा राख्दिने अनि सुत्ने रैछ। भरसक म नि उ सुतेपछि मात्र सुत्छु भनेर ट्राइ त गरेको हो, तर सकिएन। उनले हाम्रो रिजल्ट धेरै सिरियसली लिएका रै’छन – इज्जतसँग जोडेर। फराकिलो अन्तरले पछाडि पारिएछ 😉 उनको फुर्तिफार्ती केही दिनलाई भने नि सित्तल भाकोथ्यो। (पाठकवृन्द, हाम्रा प्राविधिक सहायक कमलो मनका छन्, पिलित्तै आँशु झार्छन्। तर यिनी बदलापुरको भावना बोकेर नि बस्दा रै’छन् भनेर यो पढेपछि थाहा भएको हो- सम्पादक)

(लेख पढिसकेपछि यदि तपाइँलाई जर्ज , आइडिया चाँहि स्कुल नै गएनन ? एसएसली पनि दिएनन् त ? भन्ने लाग्या भए म भन्दिन्छु।  एसएलसी नद्या भए , आईएसस्सीमा अस्कलबाट ७३ प्रतिशत नल्या भए जर्जले यस्तो लेख्न सक्थे ? फूर्सद पाठकबृन्द फुर्सद ! दुई जनालाई फुर्सद भएन । लेख्नु भएन। )

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.