१२ थरी ब्युरो राजनीतिक टिप्पणि गर्न त्यति धेरै रुची राख्दैन। यसो भन्दाभन्दै पनि हाम्रो मुख्य उद्देश्य नै समाजमा रहेका विभिन्न प्रवृत्ति र विकृत्तिका बारे औंला उठाउने र त्यो प्रवृत्ति र विकृत्तिको केन्द्रविन्दुमा रहेका पात्रहरुको बंगारा झार्ने हो। त्यसैले पनि राजनीतिक टिप्पणि गर्दिनँ भन्नु भनेको हामी यी प्रवृत्तिका बारे मौन रहनु ठहरिने भएकोले पनि राजनीतिक टिप्पणि आवश्यक देखियो। राजनीतिक टिप्पणिका लागि अहिलेको उपयुक्त बिषयका रुपमा ‘नयाँ शक्ति’ अगाडि देखापरेको छ। ‘नयाँ शक्ति’ लाई केही व्यक्तिहरुले देशको कायापलट गर्ने एकमात्र अचुक औषधि ठानेका छन्, र, तिनीहरुले के बिर्सेका छन् भने नयाँ शक्ति भनेको बाबुराम भट्टराईको महत्वकांक्षा मात्र हो, जुन महत्वकांक्षाले उनलाई २०५२ सालदेखि छोडेकै छैन।आउनुस्, आज बाबुरामको नयाँ शक्तिका बारे चर्चा गरौं।
त पाठकवृन्द, तपाइँहरुलाई याद छ नि, गाउँमा बर्षैपिच्छे डालेघाँस काटिन्छ। बडहर, कुटमिरो (कतैकतै पटमिरो पनि भनिन्छ), बकाइनो लगायत धेरै। बर्षैपिच्छे हाँगा काटेपनि बर्षैपिच्छे यो फेरि पलाउँछ। तर आजसम्म कुटमिरोको हाँगा काटेपछि अर्को साल त्यसमा बडहर पलाएको सुनेको छैन, तपाइँहरुले सुन्नु वा देख्नुभएको छ? बाबुरामको नयाँ शक्ति त्यही पुरानै बोटको हाँगा काटेर पलाएको नयाँ कुटमिरो हो। यसको जरा र फेद उही हो। जरा र फेद एउटै हुन्जेल त्यसको हाँगा काटेर नयाँ पालुवा पलाउँदा बकाइनो वा कुटमिरो बडहर बन्छ भनेर सोच्नेहरुलाई बाबुराम वा मुमाराम भन्न सकिन्छ त्यत्ति हो।
बाबुरामको नयाँ शक्ति देश विकास गर्ने चाहना वा कायापलट गर्ने चाहनाले बनेको हुँदै होइन, यो त बर्षौंसम्म माओवादी नेतृत्व प्रचण्डबाट आफूले लिन नसकेको बाबुरामको इबीका रुपमा उदाएको एउटा महत्वकांक्षा मात्र हो। नत्र जसले माओवादले मात्र समानता, विकास र उन्नति ल्याउँछ भनेर बर्षौंसम्म त्यही आदर्शबोकेर हिँडेको मान्छे एकाएक वामपन्थी विचार त्यागेको भनिएको शक्ति खोलेर किन नाटक रच्दैछन्? बाबुराम तिनै व्यक्ति हैनन् जो सत्ता बन्दुकको नालबाट जन्मिन्छ भनेर २०५२ सालमा बन्दुक बोकेर जंगल पसे? अनि तिनै व्यक्ति आज भन्दैछन्, यो पार्टी वामपन्थी विचारधाराको पार्टी होइन। अनि हामीले पत्याइदिनुपर्ने? नयाँ शक्तिका बारे गहिरिएर हेरौं, त्यहाँ संलग्न व्यक्तिहरु हेरौं, ती सबै प्रचण्ड नेतृत्वको माओवादीमा आफूले चाहेको पद नपाएकाहरु मात्र छन्। उनका सारथीहरुका कुरा पनि के गर्नु ! कम्युनिष्ट आदर्श, वामपन्थी स्कुलिङ, बन्दुकको नालबाट सत्ता जन्माउन हिँडेका तर मरिन्छ कि क्याहो भनेर भागेका मुमारामहरुको जमात !
पाखण्डपनको पनि एउटा ‘हद’ हुनुपर्छ तर बाबुराममा त्यो पनि देखिएन। एउटा उदाहरण दिऊँ? सबैलाई थाहा छ, प्रधानमन्त्री भएका बखत उनले महिनाको एकदिन आम नेपाली जनता (गरीब किसान उनकै भाषामा)का घरमा गएर बस्ने चलन ल्याए। प्रधानमन्त्री छोडेपछि पनि बेलाबेला गरिरहेकै छन् त्यस्तो। तर तिनै बाबुरामले आफ्नो नयाँ पार्टी घोषणा गर्दादेखिको चुरीफुरी, विज्ञापन र गरेको खर्च सम्झिनुस् त। राजनीतिक पार्टी कुनै उद्योग होइन जसमा आज करोडौं लगानी खन्याइयोस् ताकि भोलि त्यसबाट अरबौं नाफा आर्जन होस्। राजनीतिलाई सेवा ठान्ने हो भने वा आफूलाई अन्य राजनीतिक पार्टीबाट भिन्न ठान्ने हो भने उनले विज्ञापन र पार्टी घोषणा गर्ने खर्चले कुनै सेवामुलक काम गर्न सक्थे। त्यसबाट नयाँ शक्तिले विज्ञापनका लागि जति लाख वा करोड खर्च गर्यो त्यसको कम्तिमा दुईगुणा बढी चर्चा र प्रशंसा हुन्थ्यो।
नयाँशक्तिलाई अझै नियालेर हेरौं त, यो खिचडी जस्तो देखिन्छ। यहाँ को अटेका छैनन्? पन्चे, माले, मसाले, कांग्रेस, एमाले, माउवादी सबै अटेका छन्। यो कालान्तरमा गएर बिरबलको खिचडी बन्ने निश्चित प्राय: छ। कारण हामीले भन्नु पर्दैन, दाँइ हाल्नकोलागि एउटा मियो र कुन्युको साइज अनुसार गोरुहरु आवश्यकता पर्दछ, तर यहाँ एउटा खले गह्रोमा मनग्गे मियो(वाद) छन्, तर गोरु छैनन्। सरकारी सार्वजनिक संस्थानमा आफन्त नियुक्तिदेखि गड्यौंला संकलन भनेर आफ्नो छुट्टै पहिचान बनाएकी बाबुराम पत्नी हिसिला यमीदेखि अयोग्य र भगौडा कार्यकर्तासम्मका जमात बोकेर गैरमाओवादी केही चर्चित नामलाई जोडेर यसलाई टालटुल पार्न त खोजिएको छ तर नयाँ शक्तिको जरो फेरि पनि त्यही २०५२ साल अगाडिदेखि कै हो।
आफू मात्र पढेको र आफू मात्र बुद्धिजिबी ठान्ने बाबुराम जसरी पनि सत्तामा पुग्न चाहन्छन्। उनी कतिसम्म गैरजिम्मेवार व्यक्ति हुन् भन्ने कुरा उनी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति हुँदाका हरेक घट्नाक्रम हेरे पुग्छ। उनले जहिलेपनि बाहिर देखाउँदा आफू संविधान चाँडो बनाउन जिम्मेवार भएको बताइरहे तर भित्रभित्रै उनी विभिन्न पार्टीहरुका बीच द्वन्द्व बढाउन लागिपरेका थिए। अनि यी तिनै व्यक्ति हुन् जो संविधान बनिसक्नेबित्तिकै त्यसको विरोधमा उत्रिए। लोकप्रियताका लागि जस्तासुकै हथकण्डा अपनाउन सिपालु छन् यिनी।
aru party wa neta ko barey ma pani kehi lekhnus hai… bauram ko naya shakti ko bishleshan padhna payeeyo…. aba aru pani padhey pachhi bujha sajilo hunthyo ki? thanks a lot!!
LikeLike