बूढापाकाले यसै त भनेका होइनन् “भताभुङ्ग घरको लथालिङ्ग चाला” !
हेर्नुस् यो देशमा मास्टर नक्कली, पाइलट नक्कली, परीक्षार्थी नक्कली…. र हुँदा हुँदा डाक्टर पनि नक्कली अरे । हुन त, ह्याँ दिक्क लाग्यो मर्छु बरु भनेर विष खान खोज्दा नि विषै नक्कली, डोरीले पासो लाउन खोजे डोरी नै नक्कली पाइन्छ होला देशमा। यस्तै नक्कली सर्टिफिकेटको भरमा मुन्नाभाइ स्टाइलमा डाक्टर बनेकाहरूलाई कुन्नि कुन चाहिँ सरकारी निकायले अनुसन्धान गरेर पक्राउ के गरेको थियो, नेपाल प्रहरीको यो कदमले तलाउमा ढुंगा हाने जस्तै तरङ्ग ल्याइदिएको छ ; ठुलै उथलपुथल नै ल्याइदियो नि ठामका ठाम्। डाउटर भनेका भगवान हैनन् मानिस नै हुन् , तिनीबाट पनि गल्ती हुन्छ, तर पनि एउटा प्रतिष्ठित पेशामा बसेकाहरुबाट हुने यस्तो किसिमको बेइमानीले सारा मानव समाज नै लज्जित हुन पर्ने हुन्छ। यहाँ ति डाउटर मात्र दोषी छैनन् , हाम्रो सम्पूर्ण प्रणाली नै दोषी हो। कतिपय शहरमा डाउटरलाई यसरी समातेर पुरै पेशाको बेइज्जत गर्न पाइँदैन भनेर केही डाउटरहरुले नारा जुलुस नै निकालेको समाचार पनि हामीले पढिसक्यौं। अलि अघि डाउटरले चिट चोरेको कुरा पनि सार्वजनिक भएकै हो।
अब हजुरहरुलाई एउटा कुरा के स्मरण गराउँ भने – जहाँ अरु सबै पेशाकाले “काम गर्न” जान्छन् त्यहाँ डाउटरहरुले भने प्राक्टिस गर्न जान्छन् । उनीहरुले अझै पनि आफ्नो कामलाई काम भन्न सकेका छैनन्, कारण के हो उनीहरु नै जानुन् । हामी बल्ल बल्ल अक्षर कोर्न जान्नेले ति भगवानरुपी डाउटरले किन काम भनेनन् भनेर उम्लो ठडाउन सक्दैनौं किन भने त्यो औंला दुख्यो भने जाने फेरि त्यही डाउटर कैँ हो ।
अनि ति समातिएका डाउटर प्रति सहानुभूति राख्नेहरूले अहिले सामाजिक सञ्जालमा गर्ने गरेका आलुपाँडे तर्कहरु पढौँ आउनुस्।
- उनीहरूको आइएस्सीको सर्टिफिकेट मात्र नक्कली हो, MBBS र MD त सक्कली नै हो नि !!
बलियो जग नबनाइ आकर्षक घर बनाउँदैमा त्यो घरलाई राम्रो भन्न सकिन्न हेर्नुस्। आइएस्सीमा फेल भएर के भयो त, त्यसपछि त पढेरै पास गरेको हो नि भन्नु भनेको भित्र भित्र धमिराले ध्वस्त पारेको काठमा रङ्ग लगाएर टल्काउनु भनेको जस्तै हो। हो राम्रो देखिन्छ, काम नि देला रे, तर अलिकति प्रतिकुल हुनासाथ त्यसले दिने साथ धरासायी हुन्छ। त्यसो त आइए पढेकालाई नि एमबिबिएस पढ्न दिए भयो नि, किन आइएस्सी चाहिने बनाउनु त ?
- नक्कली पनि होइन, कतिले आइएस्सी पढेकै हुन ; PCB (Physics, Chemistry, Biology) स्कोर बढाउन मात्र ल्याका हुन्। देशको प्रावधान नै यस्तो आँडे छ त डाक्टरलाई मात्र के दोष ??
यो भन्दा माथि कै टिप्पणी फेरि पढ्नुस्, यस्ता बकम्फुसे घुमाइ घुमाई एउटै तर्क गर्नेलाई राम राम नै भन्ने हो अरु केही नि भनिन्न हेर्नुस्। ए बाबा, सियो चोरे पनि चोरै हो, घर फोडे पनि चोरै हो भनेर भनिराख्नु पर्छ र भन्या ? अब देशको प्रावधान त आइएस्सी वा प्लस टु मा घुँडा धसेर राम्रो नं ल्याएकाहरुलाई प्रोत्साहन पाउन्, उनीहरूको मिहिनेतको कदर होस भनेर र पो राखिएको हो ! अरुले घोडा चढे भन्दैमा उनीहरुलाई धुरी चढ्न कस्ले भनेको थियो ? उनीहरूले नक्कली सर्टिफिकेटको आधारमा छात्रवृत्ति पाएर डाक्टरी पढ्दा नेपालकै सक्कली सर्टिफिकेटवाला कतिले अवसर गुमाएहोलान् ! तेसको लेखाजोखा र क्षतिपुर्ती पनि भराउन पर्ने बरु !
- एकपटक NMC ले रजिस्टर गरिसक्यो, अब फेरीफेरी जाँच्न मिल्छ ? NMC का पदाधिकारीलाई कारवाहि गर्न पर्दैन ??
फेरी जाँच गर्न मिल्छ रे? यदि १२थरी टिमले भनेर हुने भए, हामीले नियम बनाए अनुसार हुने भए, यो NMC को परीक्षा त हरेक ५-५ बर्षमा लिएर पास गर्न पर्ने बनाउनु पर्छ । गाडीको लाइसेन्स जस्तै यि डाक्टर इन्जिनियरका लाइसेन्स नि रिन्युवेबल बनाउनु पर्छ। हेर्नुस् एउटाले पहिला अँग्रेजीको परीक्षा दियो, अनि त्यो बेला चिट चोर्यो, भोलिपल्ट गणितको परीक्षा दियो, त्यहाँ पनि चिट चोर्न लाग्दा समातियो, अब हिजो अँग्रेजीको परिक्षा दिदाँ मैले चिट चोरेको नभेट्ने फलानो गार्डलाई नि कारवाही गर भनेर हल्ला गर्न मिल्छ ? मुलाका सागहरु, ढुम्रामा खाँदेर गुन्द्रुक बनाउन नपुगेका बकलण्ठूहरु। उसो त समाजमा चोरहरु पनि लुकिलुकी बर्षौं कानुनबाट भागेर बसिरहेका हुन्छन्, अब कुनै प्रहरी अधिकृतले उनीहरूलाई पक्रियो भने हिजो हाम्लाई पक्रन नसक्ने प्रहरीलाई पनि कारबाही गर भनेर “जो चोर, उसकै ठूलो स्वर” गरेको कहिं कतै सुन्नु भा’छ ?
माथिको रजिस्ट्रेसन फारम हेर्नुस् त – यसमा लेखिकएको छ ” मैले पेश गरेका कागजातहरु साँचो छन् र ति मेरै हुन् । ” तेसमा “टप्पा” धस्काउने अनि कैफियत देखिएपछि बखेडा गर्नेहरुलाई गोर्खेलौरी कस्न नपुग्या भनुम् ?
- डाक्टरलाई पक्रने तरिका त्यो हो ? रौसी खाको जँड्याहालाई नमस्कार गर्ने पुलिसले डाक्टरलाई अपराधीलाई जस्तो घोक्रेठ्याक लगाउन मिल्छ ?
डाक्टर पढ्न जाने तरिका के हो? नक्कली सर्टीफिकेट देखाएर डाक्टरी पढ्न जाने हो? आफ्नै बलबुताले राम्रोसँग पढेर राम्रो अङ्क ल्याएर पढ्न जाने हो कि नक्कली सर्टिफिकेट देखाएर पढ्न जाने हो? त्यसरी नक्कली सर्टीफिकेट भेटिएसी ति डाक्टर रहदैनन क्या मुलासाग, ति जनताको स्वास्थ्यमा खेलवाड गर्ने, तिनलाइ मार्ने लाइसेन्स लिने कसाही ठहरिन्छ । मानव कसाहीलाइ समात्ने त्यसरी नै, १२थरीले समातेको भए, त्यही कालोमोसो दलेर बल्ल थानामा लग्थ्यो।
- डाक्टरको मात्र पछि लाग्ने ? पुलिस, आर्मी, सचिव र निर्देशकहरुका सर्टिफिकेट पनि जाँचौं न !
बिस्तारै सबैको जाँचौला नि सरहरु, मान्छे मर्न लाग्दा पुलिस आर्मी भएको ठाँउमा जाँदैनन क्या ! पहिला जनतालाई प्रत्यक्ष मार पर्ने वर्गमा भएको बिकृती पन्छाउ, अरु नि बिस्तारै पन्छाउदै जाम्ला। यसो गर्नुस न, हजुरहरु डाक्टरी छोडेर बरु पुलिस आर्मी बन्न जानुस् न, त्यता सर्टिफिकेट नजाँच्ने भएसी त्यतै गए भयो नि किन डाउटर बन्नु पर्यो त?
- डाक्टर बनिसकेपछि पनि इन्टर/प्लस टुको सर्टिफिकेट जाँच्ने हो ? अब ५ र ८ का जिल्लास्तरिय र SLC को पनि जाँच्ने कि ?
नेपालका डाउटर जती टिमुर्कीएका र उचालिएका अरु कोही हुदैनन भन्थे हो रच गाँठे। MBBS पढ्ने भनेको डाउटर बन्न हो, MBBS पढ्न चाहिने भनेको आइएस्सीको सर्टीफिकेट हो, त्यसैले त्यही जाँचे पहिला ! SLC, ८, ५ को जाँचौ भनेर गलत काम गर्नेहरु माथी थालिएको कारवाहीलाई हतोत्साही गर्ने किसिमले यस्ता तर्क निकाल्नेको त ५, ८ को मात्र हैन, यिनले जो बाउ आमा हुन भनेर लेख्या छन्, ति बाउ आमा हुन कि हैनन भनेर डिएनए नै जाँचे हुन्छ।
- धेरै जसो नेताहरु पनि नक्कली छन । विद्यार्थी नेताहरु अरुलाई जाँच लेखाएर पास हुन्नन् र?
नेता हुन आइएस्सी पास गर्न पर्दैन क्या डाँका साबहरु ! ८ फेल पनि नेता मन्त्री भएका छन, ति तिर हिलो छ्यापेर तिमीहरुको त्यो सेतो कोटमा लागेको दाग पखालिदैन । कस्तो कुरा नबुझेको। बरु सक्छौ भने, जो जो तिमीहरुका साथी छन, जो डाउटर भएर पनि उपचार भन्दा बढि बिगार गरेका छन, तिनलाइ नङ्गाउन तिर लागो क्या, आफ्नै पेशाको काँध उचोँ बनाउने तिर लागो क्या।
- अब के होला ति डाक्टरसाबहरुको भविष्य ?
यो कुरो बडो गारो छ हेर्नुस् भन्न । हुन पनि हिजोसम्म डा’साप् भन्दै गजक्क फुलेर हिंड्नेहरुलाई भोलिका दिन उति सहज भने पक्कै हुनेछैनन् । जुन अखेटोमा टेकेर वहाँहरु ऐेलेको अवस्थासम्म पुग्नुभो, त्यही नै भाँचिएपछि डाक्टरहरु कन्डक्टरकै हैसियतमा पुग्ने अवस्था देखिंदैछ; उहि लुँडो खेल्दा साँपले निलेर ९९ बाट दोस्रो रो मा झरेजस्तै । अरु नभएपछि किर्ते कागज पेश गरेकोमा अदालतबाट कारबाही त पक्कै पनि हुनेहोला । यति भैसकेपछि काउन्सिल दर्ता पनि खारेजीमा जाने होला । अनि यस्ता डाक्टरसापहरु छुटेर बाहिर आए पनि कुन संस्थाले जागिर दिने, कुन बिरामी जँचाउन जाने नक्कली भनेर यति हल्ला भैसकेपछि । अझ सरकारी जागिर खाएका डाक्टरलाई आजसम्म खाएको तलब भत्ता तिर भनेर फैसला हुने हो भने त घरखेत पनि तेसैमा जान बेर छैन ।
- कताकता पढ्न पाइयो- अलिक पहिले MBBS गर्न रसिया जानेहरु सिधै SLC पश्चात् पनि गएका थिए, उनीहरुलाई सकार्ने NMC र अदालतले ऐले नक्कली ISC वालाहरुलाई पनि त सकारे भैगो, आखिर कसैलाई ISC नभए पनि हुँदोरच केरे ।
अरे यार, नियम कानुनहरु तत्कालिन परिवेश अनुसार हुन्छन । त्यतिबेला ISc नभएपनि हुने प्राबधान थियो होला, उनीहरुले त्यहि गरे । अब उनीहरुले SLC कै सर्टिफिकेट नक्ककली पेश गरेका रैछन भने त्यो पनि छानबिन होस, तर पक्राउ परेका डाकटरहरु ISc चाहिने बेलाका नै हुन । अब कोहि फस्यो भन्दैमा भुतप्रभावि कानुन बनाएर अरुलाई पनि सँगै लिएर डुब्ने नियत सहि हो र ??
तर पनि नेपाल हो, यहाँ जे पनि हुन सक्छ । सर्टिफिकेट पनि बिहारबाट ल्याइएका हुन् । अलिकति सेटिङ मिल्ने हो भने के थाहा बिहार इन्टरमिडियट बोर्डले ति सबै सर्टिफिकेट सक्कली पो भनिदिन सक्छ ।
खैर, कानुन कार्यान्वयन नेपालमा फितलो छ, तर हुँदै नभएको भने होइन । तेसैले क्षणिक फाइदाको लागि “नेपालमा जे पनि चल्छ” भन्ने मानसिकताबाट ग्रसित भएर मनपरी गर्नुभन्दा यस्ता घटनाबाट सबैले सिक्नु मै कल्याण छ । अस्तु !!
गज्जब 🙂
LikeLike
सलाम चार्लीलाई चोटिलो जवाफका लागी । गलतलाई गलत भन्न नि ‘तर’ ‘र’ ‘किन’ जस्ता क्लज जोड्ने ढोंगीहरुको ठांउमै लागोस् यो प्रहार । साधुबाद ।
LikeLike