बिहे गर्दा केटीमा खोजिने गुणहरु


” बडो हल्लाख्ला गर्दै सुरुका केहि हप्ता जसका पनि बंगारा झार्छम भन्दै ठूलै ताउरमाउर साथ आका थिए, खहरे भेल झै सेलाए” भन्ने सोच्दै हुनोन्च भने हजुरहरु गलत हुनुहुन्छ । हेर्नुस हाम्रो नारा नै “बदनाम होस्, तर गुमनाम नहोस्” भन्ने हो । उसो त हामी पेशेवर पत्रकार पनि परेनम, व्यवसायिक लेखक पनि परेनम् । जाँगर लागे लेख्ने हो, नलागे हात खाँजेर बस्ने हो । एउटा कुरा पुन: के स्मरण गराउन चाहन्छौं भने हाम्रा लेखहरु जैले पनि उत्तिकै समय सान्दर्भिक हुन्छन, उत्तिकै जीवनोपयोगी हुन्छन । तेसैले हाम्रो मन्डलीमा भएका सबै स्तम्भकारहरु आफ्ना आफ्ना जीवनयापनका कुटेखेलोमा व्यस्त भएर केहि नयाँ लेख्न पाइएन भने पनि पहिलेकै लेख पढ्दै राख्नुहोला ।reema-bishowkarma-bride

र आज पनि लेख्ने सबै कुरा सकिएर साउन मास बिहेका कुरा गर्दै हिंड्या छ भनेर तीन बित्ता नउफ्रिनुस् है ! पैले मात्र थियो बाबै… मंसिर, माघ, फागुन, बैशाख र कैलेकाहिं जेठ र असारमा लगन जुराएर बिहे गर्ने। उहिलेका कुरा खुइले। अचेल त जहाँ इच्छा, त्यहाँ उपाय । केटा केटी भेटिन परो, बिहे गर्न मान्न परो; बाह्रै मास बिहेका बैन्ड बाजा सुनिन सक्छन । उसै पनि नेपाली राजनीति जस्तै हाम्रो परम्परा र संस्कार सारै फ्लेक्सिबल हेर्नुस ! जे काम पनि ‘मिलाएर’ गर्न खोजे मिलिहाल्छ । बाधा अड्चन फुकाउको नाममा यसो पण्डितको खल्ति गरम पारेपछि केहि न केहि सोलुसन निकालिहाल्छन्।यो अफ सिजनमा हामीले पाठकहरुको घैंटोमा घाम लगाउन सफल भइयो भने, सिजन आउँदा ‘फरएभर अलोन’ हरुले त्राण पाउलान्, बिहे भैसकेकाहरुले पनिभने एनिभर्सरीको बेलामा आफ्नो आत्ममुल्याङ्कन वा आत्मालोचना गर्लान् भनेर  यो  बिषय छानेका छौं ।हुन त भन्नलाई लेडिज फस्ट भन्छन् तर यहाँ महिलाहरुको मनको कुरो जस्ताको तस्तै राख्दा नारीवादीहरु फरिया उचाल्दै आइपुग्न सक्छन्। त्यसैले आउनुस्, यसपाली पुरुषहरुलाई खुइल्याउँ । अर्को सिरिजमा महिलाहरुलाई भुत्ल्याम्ला ! 😂

रुपवती

यो त भन्नै नपर्ला नि । यो संसारमा जे गर्छ त्यै खाप्चोले नै त गर्छ नि हजुर । रामायणमा सीता, महाभारतमा द्रौपदी र  प्राय: केटाहरु बिहे गर्न केटी हेर्दा रुपवति होस भन्ने चाहन्छन्। केटाहरुको स्वभाव कस्तो हुन्छ भने आफूले श्रीमती लिएर हिँड्दा आफ्ना साथीहरुले “वाह ! फलानाकी श्रीमती कति राम्री” भनुन् भन्ने चाहन्छन्। पुरुषको अर्को विश्वव्यापी सत्य के हो भने ‘छोराछोरी आफ्ना राम्रा, श्रीमती अर्काकी राम्री।’ प्रेम विवाह गर्नेहरुका त कुरै भएन तर मागी विवाह गर्नेहरु केटी हेर्न जाँदा सबैभन्दा पहिला अनुहारै हेर्छन्। रुपवती खोज्ने चक्करमा कतिले त दर्जनभन्दा बढी केटी हेर्छन् अनि बिहे गर्नेबेला चाहिँ तीमध्ये सबैभन्दा नराम्रीमा फस्छन्।

शालीन

यो गुण चाहिँ केटाले भन्दा पनि केटाको परिवारले हेर्ने कुरो। केटी हेर्न जाँदा प्राय: केटीलाई चिया वा खाजा बोकाएर पठाइन्छ। यसको प्रमुख कारण के हो भनेर थाहा छ? एउटा- केटी कसरी हिँड्छे? यसको चालढाल कस्तो छ? खुट्टा सिधा टेक्छे कि टेक्दिन? नयाँ मान्छेका अगाडि पुग्दा उसले आफुलाई कसरी प्रस्तुत गर्छे? झुक्न जान्दछे कि जान्दिनँ? भनेर हेर्नु हो। यो चलन ठीक बेठीक भनेर हामी बहश गर्न चाहन्नौं तर यस्तो प्रचलन छ भनेर भनेको मात्र हो। प्राय: केटाहरु आफ्नी श्रीमती शालीन, सुशील होस् भन्ने चाहन्छन्। हुन्छ पनि त्यस्तै, बिहेको ६ महिना, १ वर्षसम्म। त्यसपछि असली रंग देखिन्छ शालीनताको 😉

अर्को कुरो, केटाहरु कमसेकम ‘सोसियल ड्रिंकर’ सम्म बन्न दिन बुढीको चाहना राख्छन् । आफुले आँखाका गेडा देखि बेर्नो फुत्कुन्जेल जाँड धोक्ने, उस्तै परे नालीमै सुत्ने र पतलुनमै पिसाब चुहाउने केटाले पनि स्वच्छन्दापुर्वक जाँड खाने केटी चैं सकेसम्म नपरोस भनेर चाहनु चैं जडशुत्रवादी पुरुष चिन्तनको उपज मात्र हो । बिहे पछि यसो ‘मुड बनाउन’ कैलेकाहिं कोठा थुनेर हल्का वाइनको चुस्की मार्नु त बेग्लै कुरा भैगो ।

घर गरी खाने

घर गरी खाने केटी रोज्न त रोज्छन हेर्नुस तर घर गरी खान चाँही दिदैनन ! कुनै केटीले कथमकदाचित घर गरी खाएमा त्यसको पोइले जोइटिङग्रेको उपमा पाँउछ भने समाजमा उक्त घरलाइ ‘पोथी बास्ने’ घरको दर्जामा राखिन्छ। बहुतै पिडादायी कुरो हो नी हैन त ? खासमा यो घरगरी खाने भन्या चाँही के हो त? यस्लाइ बुझ्न पुरै समाजशास्त्रको ठेली पल्ट्याउन पर्छ। खासमा पुरुषको आधिपत्यलाइ डग्मगाउन नदिइकनै आफ्नो हैकम जमाएर घरलाइ आफ्नो अधिनमा राख्न सक्नु नै घर गरी खानु हो भनेर यो पंक्तीकारले ठहर रहेको छ । अर्को शब्दमा भन्दा – आफु नबास्ने तर भालेको पुच्छर बटारेर जति बेला भन्यो उति बेला बास्न लगाउने सक्ने हुति हनु पर्छ। समाजको अघी पती परमेश्वरलाइ सदा माथी राखेर, बन्द कोठामा(बुझ्नु भयो नी) यसो नगरे यो सारी माथी सर्दैन भनेर भन्न सक्ने हुन पर्छ। जो यसो गर्न जान्दछन ति ‘घरगरी खाने’ कहलिन्छन, जो यसो गर्न जान्दैनन तिनो काम भनेको उहि तिजमा मलाई घरमा यसो गरे र उसो गरे भन्ने बिलौना भएका गीत गाएरै जीवन बिताउँछन् ।

“पास्ट हिस्ट्री” ‘क्लिन’ भएकि

आफू चाहिँ गर्लफ्रेन्ड फेर्दै हिँड्ने, एउटी गर्लफ्रेन्डसँग ६ महिनाभन्दा बढी नटिक्ने तर बिहे गर्नेबेला चाहिँ कोहीसँग चक्कर नचलेकी, भर्जिन केटी केटाहरुको चाहना हुने गर्छ। हामी १२ थरी टीम के कुरामा बिश्वास गर्छौँ भने, इतिहासमा जती नै अङ्गालो मारे पनि, बिहे पछि नमरुन्जेल पतीको अङ्गालो नै अन्तीम अङ्गालो हुने खाले केटी बिहे गर्नु पर्छ। फेसबुक नचलाउने केटी भेटाउनु भनेको त पाद्दै नपाद्ने मान्छे भेटाउनु भने जस्तै दुर्लभ भैसक्यो, ट्विटरतिर बाघचाल हानेका केटाहरु चैं कमसेकम ट्विटर चलाएर कसैसँग DM-DM नखेलेकी केटी खोज्दारचन् भनेर भिमसेने बोका क्लबमा सदस्यहरुले मलाई खुसुक्क सुनाएका थिए ।  २१औँ शताब्दीमा पास्ट हिस्ट्री क्लीन भएकिको खोजीमा  लाग्ने हो भने नभेटिएला त भन्न सकिन्न, तर अली समय सान्दर्भिक हुदैन कि भन्ने कुरो मात्र हो।

परिवारमा मिलेर बस्न सक्ने

उसो त जमाना ‘न्यूक्लियर फेमिली’ को आइसक्यो । छोराहरुलाई पनि बाआमा, दाजु-भाइको जंजालमा बसेर आफ्नो व्यक्तिगत जीन्दगी ‘स्पोइल’ गर्नु छैन । तर पनि कैलेकाहिं बाआमासँग भेट्न, दाजुभाइसँग जमघट गर्न र तिज/तिहारमा दिदीबहिनीलाई माइतिमा बोलाउन कसलाई मन हुँदैन र ! अब श्रीमतिहरुको एउटा बानी कस्तो हुने भन्दा, आफ्ना माइतितिरका जो सुकै आएर घरमा जतिदिन पाहुना लागुन मतलब हुँदैन, तर घरतिरका कोहि आएर यसो दुइ चार दिन ‘अतिथी’ बनुन ठुस्कान सुरु भैहाल्छ । चामल फारु भएन, घ्यु तेल के ले पुर्याउने हो यो महँगीमा, यसो कैलेकाहिं त तरकारी बोकेर आए पनि के बिग्रन्थ्यो, बाथरुममा पानी सकाए, फोहर गराए….. के के हुन के के बहाना बनाएर ठूस्कान सुरु हुन थाल्छ । तेसैले केटाहरुले बिहे गर्दा यसो कैलेकाहिं आउने आफन्तहरुलाई भाँडा नबजारीकन भात खुवाउने, ताना नसुनाइकन दुइ चार दिन पाहुनालाई शरण दिने व्यक्तित्व आफ्ना अर्धाङ्गिनीमा खोज्छन् ।

हल्का गाँठिस

हुन त ससुरालीको धन र बाइफालेको मनको भर पर्न हुन्न भन्छन् । तर पनि यसो कैलेकाहिं दुइ चार लाख सरसापट गर्न पर्दा , जग्गा किन्दा यसो थपथाप पैसा चाहिंदा , कुनै नयाँ बिजनेस सुरु गर्दा बुढीलाई टक्क माइत पठाएर बिना कुनै धितो, बिना कुनै धेरै सोधखोज अलि अलि सहयोग पाइयोस भन्ने नसोच्ने को होला ? उसै पनि त्यो लगानी र सहयोगले भोली सुख भोग्ने उनकै छोरीले हो के रे ! तेसैले ससुराली आर्थिक रुपमा  केहि  बलिया भए लोग्ने मान्छेलाई पनि नैतिक शाहस हुने तथ्य धेरैको जीवनमा हेरेर यो पक्तिकार यो  निष्कर्षमा  पुगेको हो । तर माथि नै भनिएको छ है…. “हल्का” गाँठिस ! घिन लाग्दो तरिकाको गाँठिस (अंग्रेजीमा Filthy rich भन्छन् नि) भए भने चैं त्यो बिचरो पुरुष पुरै दास हुन पुग्छ । बुढीको अगाडी उसको हैसियत गरुडको छायामा परेको सर्प जस्तै हुन पुग्छ । जे कुरामा पनि मेरै माइति ठूला, जे सामान पनि मेरै माइतिले दिएका हुन्, यसो ठाकठुक परो कि झोला पोको पारेर माइति हिंड्ने केटी परिन भने कस्तो हुन्छ होला । तेसैले धन मात्र होइन, मन भाकी पनि खोज्नुहोला है !

आफु भन्दा जुनियर

जसले जतिसुकै समानताको डंका पिटे पनि हामी हुर्केको पुरुषवादी समाजमै हो । बाले आमालाई तँ/तिमी भनेको सुनेर, आमाले बालाई कि दिनदिनै नभएपनि बिशेष अवसरमा ढोगेको देखेरै सबै हुर्केका हुन् । अब आफुले बिहे गरेकी केटीले कोठाभित्र मुख छाडेर तँ नै भनेपनि कमसेकम जोरीपारीको अगाडी तपाई वा सो नभएपनि तिमीसम्म भनुन भन्ने अपेक्षा हुन्छ । तेसका अलावा आफु भन्दा धेरै उमेरकी, आफु भन्दा धेरै कमाउने  र आफु भन्दा धेरै पढेकी, आफु भन्दा ठूलो पदमा रहेकी केटीसँग बिहे नै गर्न चैं धेरै केटाहरु अनिच्छुक हुने १२ थरीको सामाजिक व्युरोले गरेको अध्ययनमा देखिएको छ।

One thought on “बिहे गर्दा केटीमा खोजिने गुणहरु

  1. दिव्य ४ हजार वर्षदेखि आफूभन्दा सिनियर बे गर्चु भनेर बसिराछु, केटाले हैन केटीले नै मान्दैनन् कम पढेको,कम कमाउने केटो ब्यार्नलाई। भन्नुहुन्च हजुर पनि, कुरो गरो कुरैको दुख्ख।

    Like

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.