केही दिन पहिले साउनकै महिना भए पनि हामीले बिहे गर्दा केटाले केटीमा खोज्ने गुणहरूको बारेमा चर्चा गरेका थियौं । हेर्नुस्, महिला शशक्तिकरण र समानताको युग छ, बिहे केटीहरुले केटाहरुमा खोज्ने गुणहरूको चर्चा गरेन भने फेमिनिस्टहरुले ‘जेन्डर बायस’को आरोप लाउँचन भनेर आज हामीले वहाँहरूको सम्मानमा यो लेख लेख्दैछौं । असहमत हुन पक्कै पाउनुहुन्छ, तर हाम्रो सामाजिक ब्यूरोले आफ्ना श्रीमती र गर्लफ्रेनहरुसँग घनिभुत छलफल गरेर यो लेख ल्याएको हो । फरक मत राख्नेहरुले तल कमेन्टमा गएर फरिया नउचालिकन भद्र तरिकाले आफ्ना विचारहरू राख्नुहोला भन्ने आशा राखेका छौं ।
आउनुस लप गर्न वा बिहेको कुरो चल्दा केटीहरूले केटामा खोज्ने केही गुणहरूको चर्चा गरौँ ।
हेन्सम
हेर्नुस् यो संसार नै रुपको पछि दुकुर्या छ । अग्लो, चुसचुस दारी पालेको, बलिष्ठ पाखुरा भएको (Tall, Dark and obviously Handsome) वा भनौं “झ्वाँक तन्नेरी” देख्दा केटीमान्छेको मनमा “कुछकुछ” हुनु नै प्रकृति हो । पुरुषहरूले ह्रष्ठपुष्ठ उरोज भएकी, ठूलो नितम्ब भएकी केटी छान्नुमा पनि अचेतन मन नै कारक हो। ठूलो नितम्ब (Pelvis) भएकी महिलालेबिना कुनै जटिलता स्वस्थ्य बच्चा जन्माउन सक्छिन भने बच्चा जन्मिसकेपछि उसलाई चाहिने दुधको उत्पादन पुर्ण विकसित स्तनहरुबाट मात्र प्राप्त हुन सक्छ भन्ने कमन सेन्समा दम छ है !! एवं रितले, प्राणी जगतमा पोथी जातिले भाले जातिबाट चाहने सबैभन्दा मुख्य कुरा संरक्षण हो । त्यसैले बलियो बांगो, भुसतिघ्रे भाले धेरै जसो महिलाको प्राथमिकतामा पर्छ भन्ने बारे ट्विटरका प्रजनन् विज्ञ जुजुमानले बेलाबेलामा कलम चलाइरहनुहुन्छ । यसमा कुनै द्विविधा भए वहाँलाई नै सम्पर्क राखौं । 😂
गाँठिस्
भन्छन् नि “छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेंढी” ! हुन त प्रेमचरीहरुले मलाई माया भए पुग्छ, पैसो चाहिन्न भनेर दार्शनिक पल्टे पनि प्रेममा पागल भएर मागी/भागि विवाह गर्ने जोडीका पुरुषहरू केही महिनामा त्यही ‘माया भए पुग्छ’ भन्ने मायालुकै करले अरब भए नि पस्छन् । के गर्नु, मायाले मात्र पापी पेटको भरिने भए एकले अर्कालाई लप’लप चाटेर बस्थे होलान् । आआफ्नो सौन्दर्य र गच्छे अनुसार केटीहरुले कमसेकम खान, लाउन र मन लागेको लुगाफाटा गरगहना व्यवस्था गर्न सक्ने केटालाई नै रोज्ने गरेको तथ्य त आजसम्म सबैले देख्नुभएको होला । घुसै खाएर कमाएको धन किन नहोस् , हेर्दा आँपे केटाहरुले पनि पर्सको मोटाइकै भरमा दुनियाँ पछि लाग्ने “पटाखा”हरुलाई पट्याउन सफल हुन्छन् ।
सामाजिक प्रतिष्ठा
पैसा मात्र भएर पनि नपुग्ने र’च हेर्नुस् कैलेकाहीं। केटो के गर्छ भन्दा आफ्नो माइती र जोरीपारीलाई भन्ने सम्मानजनक पेशा भएन भने पनि केटीहरुलाई गारो। लप परेको केटाले बिहे गरौं भन्दा बेरोजगार केटाले पाउने जवाफ हुन्छ, ‘काम दाम छैन, बिहे गर्छु रे। मैले बाउआमाले केटा के गर्छ भन्दा चोकमा बसेर चुरोट तान्छ भन्नू?’ हिंड्न चैं बाउको पैसा वा जग्गा बेचेकै पैसाले चिल्लो गाडीमा हिंड्ने, तर कसैले हजुरको श्रीमानले के गर्नुहुन्छ भनेर सोध्दा अक्मकाउन नपरोस् भनेर महिलाहरु सचेत हुन्छन् । कतिले त श्रीमान लफङ्गो भए पनि “अँ वहाँको एक्सपोर्ट इम्पोर्टको बिजनेस छ” भनेर लोग्नेको नालायकिपन ढाकछोप गर्छन्, तर धेरैजसो केटीहरु त्यो अवस्था नै नआवोस् भन्ने चाहन्छन् । त्यसैले हेर्दा चाउरिएको मरिच जस्तो, तालु हेलिप्याड जत्रो भैसकेको, भुँडी ड्रम जस्तो भा’ डाक्टर/ इन्जिनियरले बारुली कम्मर भा’की मोडेल जस्ती श्रीमती पाउँछन् हेर्नुस् । प्रतिष्ठा पनि गाँठ जस्तै महत्वपूर्ण रहेको हाम्रो सामाजिक ब्युरोको ठम्याइ रहेको छ ।
परिपक्वता
केटा केटी बिचको उमेर फरक ५-७ बर्ष राख्न पर्छ भनेर बुढापाकाले तेसै भनेका होइनन् । केटीहरु आफ्नो श्रीमान केही परिपक्व होस भन्ने चाहन्छन् । तेसैले समान उमेरकाभन्दा केही उमेर फरक भएका जोडीहरु धेरै टिकेको देखिन्छ। अर्को कुरो, महिलाको शरीर एउटा बच्चो पाएपछि केही बुढो देखिन्छ । यस्तो अवस्थामा समान उमेरका जोडि रचन् भने दुलाहा-दुलही हिंड्दा कसैले दिदी भाइ वा आन्टि भनिदियो भने कत्रो फसाद । त्यसैले पनि एक-दुइ बच्चा पाइसक्दा ठ्याक्क दाँवल मिलोस् भनेर केहि बढी उमेरको केटो प्राथमिकतामा पर्ने हुन सक्छ। अँ, आजकाल अलि उत्तरआधुनिक हुँ भन्न मन पराउनेहरु ‘जेनेरेशन ग्याप’ हुन्छ भन्दै आफ्नै उमेरको केटोसँग बिहे गर्छन् र दुई तीन बर्षमै पारपाचुकेसम्म नि पुग्छन्।
बिदेशमा बस्ने
खै नेपालीहरूलाई के भएको हो कुन्नि ! जिन्दगीको लक्ष्य के भनेर सोध्यो भने विदेश जाने भनेर एसएलसीमा निबन्ध लेख्लान् भन्ने जगजगी छ अचेल । ‘वहाँ त स्टेट्स्मा होइस्सिन्छ’ भन्न पाउने केटी र केटीका परिवार भाग्यमानी मानिन्छन् अचेल । कति केटीहरु आफ्नै सामर्थ्यले पनि विदेश जान सक्छन् हेर्नुस् – तर हाम्रो पुरुषवादी समाज । अविवाहित छोरीलाई विदेश पठाउन अझै पनि आमाबाबु ढुक्क हुन सक्दैनन् । बरु जस्तो भएपनि विदेशमा सेटल भएको केटालाई हात सुम्पन पाइयो भने छोरीले पनि यता सासु ससुरा स्याहार्न नपर्ने, आफूले पनि कैलेकैले आइफोन साइफोन चलाउन पाइने । त्यसैले नेपालको सेक्सन अफिसर र बिदेशमा “भाँडा माझ्ने” केटाको प्रस्ताव घरमा आइपुग्यो भने बाआमाहरु विदेशकै केटा रोज्न थाल्या’छन् । अझ अमेरिका/अस्ट्रेलिया तिरका केटाहरु त नेपालमा “केटी” बिहे गर्न भन्दा पनि “स्टाफ नर्स” बिहे गर्न आइपुग्छन् । अनि यता लायकको डाक्टरसँग इलुइलु परेकी केटी पनि उताको केटो भनेपछि मख्खै ! “मैले तिमीलाई धोका दिन खोजेकी त होइन, तर बुवाआमाले मान्नु भएन” भन्दै सरक्क उतै लैजाने केटासँग लगनगाँठो कस्छन् ।
सानो परिवार
समाजशास्त्रिय दृष्टिकोणबाट हेर्दा नेपाली समाज जोइन्ट फेमिलीबाट न्युक्लियर फेमिलीतर्फ लाग्दैछ । दुई नाल भएको परिवारमा बिहे गरौं, दुई सासु र तिनका छोराछोरी रिझाउ; दुइ- चार दाजुभाइ भएको ठाममा बिहे गरौं पछि गएर अंशबन्डाको किचलो, धेरै दिदीबिहिनी भएको परिवारमा बिहे गरौं, नन्द अमाजुको चाकरी गर्नु पर्ने । यी सबै कुराहरुलाई ध्यानमा राख्दा सकेसम्म एक्लो छोरो भएको परिवार केटीहरुको प्राथमिकतामा पर्ने रच । तर केही थप बाठा केटीहरूले चैं दुई दाजुभाइ भएको, तर आफ्नो केटो चैं विदेशमा बस्ने खोज्दा रचन है । यता सासु ससुराको स्याहार सुसार चैं अरु दाजुभाइले गर्ने, आफु चैं विदेशमा ऐस गर्ने । आsssss को आओस्, सासु ससुरा बिरामी परे भन्दै फाल हाल्दै !!!
दारु बिडीँ
यो एक्काइसौँ शताब्दीमा आएर दारु बिडिँ नखाने केटा भेट्नु भनेको परालको टौवामा गएर सियो खोज्नु जस्तै हो। तर पनि सामजिक रुपमा सेवन गर्ने र ब्यवसायिक रुपमा सेवन गर्नेहरुको हकमा भने पावन्दी लगाउन सकिन्च। यसो कहिले काँहि जमघटमा दारु बिडिँ तान्नुलाइ ईस्युको रुपमा लिन भएन, तर हर रात सडक नाप्दै हिड्ने गरि दारु पिउनेलाइ कदापी यो घरको ज्वाँइ बनाउने कुरो भएन, अनि मुँई खान आउने बेला ह्वास्स एस्ट्रे जसरी गन्हाउने गरि बिडीँ तान्ने पनि हुनु भएन। यो बारेमा धेरै नबोलम, सोसियल स्मोकर र सोसियल ड्रिङ्कर परियो आफु पनी।
हामीले सरसरती हेर्दा यत्ति गुण भेट्यौं त भन्दैनौं तर मूलभूत कुरा यीनै हुन् भन्दा फरक पर्दैन। हैन, अन्य धेरै कुरा हेर्छन्, वा मलाई फलानीले यसो भनेर रिजेक्ट गरी, म त केटामा यो गुण हेर्छु भनेर यो बाहेकका केही कुरा भए कमेन्टमा लेख्नुहोला अथवा फेसबुक ट्विटरमै भएपनि ठोक्नुहोला 😏 जाँदा जाँदै के भन्न चाहन्छौ भने, आजभोलीका छोरी मान्छे आफै कमाउने हुन्छन, कथमकदाचित छोरीले कमाउन नसकेको खण्डमा, छोरीको आङ्ग ढाक्ने पेटीकोट किन्न बाउको मुख ताक्ने केटो त हुदै हुन्न भन्न चाहन्छौ।
भलादमी पाराको टिप्पणी मात्र हैन मुटुमै चस्का हान्ने सत्य कुरा आओ है। मनमा आँट र गोजीमा गाँठ नभएकोलाई त के हेर्ने नि 😛
LikeLike