दशैं आउन थाल्यो। बर्खाको गजगजे हिलो सुकाउने पहेँला पारिला घाम लाग्न थालेपछि यत्तिकै पनि मौसम दशैंमय हुन्छ। तर खै किन हो, दशैं आउन थालेपछि केटाकेटी बेलामा जति उत्साह हुन्थ्यो, घर व्यवहारले थिच्ने व्यवहारिक जीवनमा चाहिँ नहुने र’छ।
हुन त यतिबेला बाल्यकालमा रहेका भाइबहिनीहरुलाई आजको १५-२० बर्षपछि अहिलेकै दशैं आकर्षक लाग्न सक्ला, तर ५० को दशकमा SLC दिएका (अब हेर्नुस्, नेपालमा सिस्टमै कस्तो बस्यो भने को सिनियर वा जुनियर, कसको कपाल कति छिप्पेको, कुन मुलामा कति काठ पसेको भन्ने मापक नै नेपालमा कसले कति सालमा SLC दिएको भन्ने बाट हुन्छ) त्यसैले हामी आफ्नो बाल्य वा किशोराबस्थाको दशैंका केहि सम्झना कोट्याएर नोस्टाल्जिक हुन चाहन्छौं। आउनुस् टाइम मेसिनमा बसेर सँगै यात्रा गरौं बाल्यकालको दशैँमा।
चंगाको रौनक (शहरमा)
उ बेला अचेल जस्तो मोबाइल, प्ले स्टेसन, इन्टरनेट वा गेमिङ जोन थिएनन्। खेल्ने भनेकै आउटडोर हुन्थ्यो। अझ दशैं त चंगाको चाड। साउने झरी थामिने बित्तिकै काठमाडौंको आकाश रंगिन हुन थाल्थ्यो। “गन 🔫 मार” धागो किनेर, पुराना चिम र ट्युबलाइट पिसेर, साबुदाना र माड (स्टार्च) को घोलमा त्यो सिसाका टुक्रा हालेर, धागोमा माजा लाउनुको मजा तुम क्या जानो “ब्रोइलर” भाइ लोग ? दुई अढाई रुप्पेमा पाइने चंगा, स्कुलमा सिकेको भन्दा पनि बेसी ज्यामिति प्रयोग गरेर हाल्न पर्ने कका:, कुनै साइड गरुङ्गो भयो भने त्यसलाई ब्यालेन्स गर्न अर्को पट्टी हाल्न पर्ने ग्वाँख ( बटारेको कागज), एक जनाले अलि पर गएर माथि हुत्याउने “टी”, चंगा लडाउने, चंगा चेट र ठाकठुक पार्नु (अर्काको चेट भएको चंगालाई आकाशमै आल्नो चंगा र धागोले बटारेर हडपेर ल्याउनु) त आजका धेरै केटाकेटीलाई किम्बदन्ती झैं लाग्छ होला। आकाशमा चेट भएर हावाको वहावसँगै बग्दै आएको चंगालाई पछ्याउँदै कुद्दा कतिपटक हिलोमा लडियो, कतिपटक बिजुलीको पोलसँग ठोक्कियो होला, अर्काको कम्पाउन्ड भित्र छिर्दा कति पटक कुकुरले झन्डै निल्यो होला, त्यसको कुनै लेखाजोखा नै छैन । पैसा हुँदा त आफ्नो चंगा आफै किनिन्थ्यो तर पैसा नहुँदा साथीको अग्लो घरमा गएर मन्डली (धागोमा ढुंगा वा मकैको खोइलो बाँधेर अलि आफ्नो घरमाथीबाट गएको अरुको चंगाको धागोमा बल्छी हान्ने) हान्दा भोलिपल्ट त्यो दादाले टोलमा लखेटेका सम्झना मिलाएर बुद्धिसागरको जस्तै चंगा ब्लुज लेखौं जस्तो लाग्ने भन्या कैलेकाहीँ। 😆
उता गाउँमा
चंगावाला दशैँ काठमाडौंबाहिर त्यति प्रख्यात थिएन, अझ भनौं नगण्य नै थियो। गाउँको त झन् कुरै भएन। गाउँमा चंगा भनेको त्यही बाँसको बोक्रोको फिरिफिरे, वा वरको पातको फिरफिरे हो चंगा भनेको। गाउँका मान्छेलाई लट्टाई भनेको के हो भनेर सोध्नुस् त, जवाफ आउँछ- स्विटर बुन्ने धागोको डल्लो 😂 त्यसैले यो चंगा दशैं भनेको सामन्ती दशैं हो। गाउँमा त दशैं भनेकै खसी काट्ने, गर्धन कामी दाजुलाई र पुच्छर दर्जी दाजुले पाउने। अनि नयाँ लुगा लगाएर पीङ खे्लन जाने। दिनभरी पीङ खेलेर नयाँ लुगा माटोमा पोतिएर रात्तै बनाउने अनि मामा घर जानेबेला नयाँ लुगा मैलो भयो भनेर रुने।
होमवर्कको लफडा (शहरमा)
उ बेलाको शैक्षिक क्यालेन्डरमा दोश्रो त्रैमासिकको रिजल्ट भएपछि दशैं आउँथ्यो। मास्टर कस्ता भने दशैंमा मासु भात खाएर विद्यार्थीले फिला हाल्छन् भनेर भक्कुमार होमवर्क दिएर घुँडा धसाउन पर्छ भन्नि (हुन त ऐले पनि हुन सक्ला तेसो, तर आफ्ना छोराछोरी त्यो उमेरका नभैसकेको र घरमा हाइस्कुल पढ्ने कोहि नभएकोले ठ्याक्कै भन्न सकिएन) ! कस्ता कस्ता वाहियात काम लगाउँथे भने सबै पाठ कापीमा सारेर ल्याउने, जाँचमा गलत लेखेको उत्तर १० पान्ना लेखेर ल्याउने, हालसम्म हिसाबमा सिकेका सबै पाठको “सफ” (रफको उल्टो होला) गरेर ल्याउने । हैट ति काम !! हाम्रो पालो पनि मास्टरले यो होमवर्क दिन सक्छ वा फस्लाङफुस्लुङ पारेर होमवर्क यो हो भनेर फुत्काउन पाए राति १-२ बजेसम्म बसेरै भएपनि त्यो सारा काम सकेर मात्र घर जाने । ऐले सोच्छु… कति वाहियात काम लगाउँछन् नेपाली मास्टरहरु। बरु दशैंमा के के गरिस, को कोकोसको समाजमा दशैं गतिबिधि कस्ता भए भन्ने जस्ता क्रियटिभ राइटिङ लेख्न लगाको भए ऐले हजुरहरुले अलि राम्रो भाषा त पढ्न पाउनुहुन्त्यो ।
उता गाउँमा
होमवर्क हेर्ने फुर्सद कसलाई, त्यो पनि दशैंका बेला। आधा दशैं मासु चिउरा, नयाँ लुगा, पीङ र मामाघरले सकिन्थ्यो, बाँकी आधामा ज्वरो आएर। ज्वरो आएन भने पखाला चलेर, त्यति नि भएन भने बुबा-आमा मामाघर जानुभयो, बुढामावली जानुभयो, एक हप्ता घरमा एक्लै, घाँट काट्दा काट्दै फुर्सद भए पो होमवर्क गर्नु। अनि सरहरु पनि कहाँ टाढाका हुन्थे र, त्यही तल्लो घर माथ्लोघरमका न हुन्। अँ, तँलाई दिनभरी पीङ खेलेर फुर्सद भएन? भनेर गोद्थे। सबै त देखिर’का हुन्थे 🙂
नयाँ लुगा (शहरमा)
गाढा निलो पयँट र आकाशी रंगको सर्टलाई कुनै बेलाका केटाकेटीको राष्ट्रिय पोषाक घोषणा गरिदिए पनि फरक नपर्ला। त्यसबाहेक एक दुइ सेट अरु लुगा हुन्थे जसलाई बहुतै फारु गरेर लाउनु पर्थ्यो । त्यसैले दशैंमा लुगा किनाउन नसके उहि स्कुल ड्रेसमै जन्त देखि अन्तसम्म भ्याउन पर्थ्यो। दशैंमा सबै साथीहरुले नयाँ लुगा किनिसक्दा पनि आफ्ना घरकाले नकिनिदिंदा कम्ता रिस त उठ्थेन । जे होस, किन्न चैं किन्दिन्थे है । उ बेला हंकंग मार्केट बहुत प्रख्यात ! काँ त भन्दा ऐलेको खुलामन्च ! उ बेला के का मल, के का सुपरमार्केट के का युएफओ ! बार्गेन पनि चर्कै चल्थ्यो। ४०० भनेको पँयटलाई बाआमाले घटाउँछ कि भनेर ३०० मा दिने भए लान्छु नत्र राख्नुस् तपाईँको सामान भनेर हिंड्न खोज्थे… म भने नाइ मलाई त यो मन परेको छ, यहिंबाट लाने हो भनेर झुत्ति खेल्थें। घर आएपछि मेरो गोज्याङ्रे पारा र पैसा खर्च भएको रिस बाले कन्सिरीका रौं तानेर फेर्थे ।१३-१४ बर्षको उमेरको मुला हल्के जस्तै बढाइ, घरमा भने लुगा किन्दिन पर्छ भनेर अर्को कडाइ । ठिक्क सुहाउँदो लुगा त कहिल्यै पनि सिलाइएन/लाइएन होला। नयाँ सिलाउँदा पनि पयँटको लम्बाइ तल दुइ पल्ट दोबारेर लाउने हुन्थ्यो, कम्मरमा पेटी भएर चुहिएर हिपीले लाउने जस्तो। ६ महिनामा ठिक्क हुन्थ्यो अनि फेरी २-३ महिनामा सानो हुन थाल्थ्यो। फेरी कम्मर फुकाउने र लम्माइ बढाउने।
उता गाउँमा
गाउँको नयाँ लुगावाला किस्सा साह्रै लोभलाग्दो छ। गाउँमा नयाँ लुगा किन्ने भनेकै दशैंमा हो। दशैंका लुगा किन्न गाउँको नजिकको बजार वा अझ तीनचार दिन हिँडेर पुगिने टाढाका बजारसम्म जाने चलन थियो। अनि गाउँभरीमा लुगा सिलाउने दर्जी दाजु हुन्थे एक वा दुईजना। सोह्र श्राद्धको बाहुन त के व्यस्त हुन्थे र, दशैंका दर्जी दाजु त्यति व्यस्त हुन्थे। दशैंका लुगा किनेर बाउ घर आइपुगेपछि दर्जी दाजुको पालो कुर्नुपर्थ्यो। दशैंका लुगा सिलाउन दर्जी दाजु घरमा कुन दिन आउँछन् भन्ने तिथिमिति एकमहिना वा १५ दिन पहिल्यै फिक्स हुन्थ्यो। दर्जी दाजु आउने दिन घर छोडेर कतै जाने चान्स हुन्नँथ्यो। अरु दिन गाई बाख्रा लिएर जंगल म जान्छु भन्नेहरु दर्जी दाजु आउने दिन तँ जा भन्थे। झगडा पर्थ्यो। कथंकदाचित आफू जंगल जानु पर्ने भएमा सर्त लागू हुन्थ्यो- अरुका कपडा सिलाएर नसकिए बाल भएन तर आफ्ना लुगा सिलाइ सकेर चट्ट ईस्त्री पनि लागेका हुनुपर्छ। नत्र भोलिदेखि १ महिना घाँस काट्ने, गोबर सोहोर्ने काम बन्द। अनि घरमा बस्ने चाहिँ दिनभरी दर्जी दाजुको छेउमा कपडा सिलाएको हेरेर बस्ने। यता दर्जी दाजुले आफ्नो कपडा सिलाउन थालेपछि आगो बालेर कोइला तयार पार्न थालिन्थ्यो ईस्त्री लाउन। त्यही दिन ईस्त्री लाउन पाइएन भने दशैंभरी पालो आउँथेन। ईस्त्री नलगाउन्जेल त्यो सिउनीमा उठेर कपडा लाउनै नमिल्ने हुन्थे।
गाडीको चटारो
हुन त अचेल पनि यो उस्तै नै छ होला, तर आफुले भोगेको अभुभव बाँड्न मन लागिहाल्ने। अचेल माइक्रोको चलन, आआफ्ना गामठामका मान्छेहरुले गाडी नै रिजर्भ गरेर जाने सिस्टम, हुनेखानेहरु निजी गाडीमा जाने र केही भद्रभलादमीहरु प्लेनमा आआफ्ना घर फर्कने चलनले लामा दुरीका गाडी विकल्परहित छैनन्। तर उ बेला ति नै सर्वेसर्वा जस्तै थिए। १ महिना जति पहिले नै गाडीको बुकिङ खुल्थ्यो। साझा बसको चार्म आफ्नै थियो। सस्तोमा जापनिज इसुजु गाडी चढ्न पाइने र अरु भन्दा सुरक्षित पनि ! तेसैले प्राय सबैको प्राथमिकतामा त्यहि निलो गाडी पर्थ्यो । तर नपाएपछि बसपार्क (ऐलेको पुरानो बसपार्क) र केहि बर्षपछि गंगबु बसपार्कमा पनि बिहान ४ बजे नै गएर लाइनमा लागिन्थ्यो । दुइटा दिनको टिकट सबैभन्दा मारामार । स्कुलहरुको बिदा सुरु हुने घटस्थापनाको साँझ र अफिसहरु बिदा हुने फुलपातीको साँझ । टिकट पाउनु नै ज्याकपट लाग्नु बराबर । जब गाडी चढ्न बसपार्क गयो, मनै अमिलो भएर आउने । बिरगंज, बिराटनगर, नेपालगंज तिरका गाडी दुलही झैं सिंगारिएका हुन्थे, आफु चढ्ने गाडी भने कुच्चिएको टिनको डब्बा जस्तो मात्र। कति पटक त गाडी देख्दा घर नगएर राम्रा गाडीमा चढेर उतै हुँइकिउँ झै हुने भन्या।
उता गाउँमा
के को गाडीको चिन्ता, के को पिलिनको चिन्ता। सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो, कहिले मामाघर पुगिएला र पैसा जम्मा गरौंला भन्ने एकसुत्रीय चिन्ता हुन्थ्यो। कसैकसैको मामाघर त बिहान हिँडेर बेलुकी मात्र पुगिनेसम्म टाढा हुन्थ्यो। त्यसैले टीकाको दिन गाउँतिरै बरालिएर एकादशीका दिन भालेको डाकसँगै हिँड्नुपर्थ्यो। नजिक मामाघर हुनेहरु त घरमा टीका लगाइसकेर खाएको हात पनि मामाघर जाँदाजाँदै बाटाको धारामा धुन्थे, पैसा बटुल्नको हतारले। टाढा मामाघर हुने मामाघर पुगुन्जेल त नजिककाले बुढा मावली पनि ब्याइसक्थे। अनि घर फर्किएपछि कसको पैसा बढी भयो भनेर धक्कु लगाउने कम्ता मज्जा आम्थेन।
मुग्लिनको भात
अचेल यात्रामा निस्कदा सकेसम्म राजमार्गका होटेलमा सकेसम्म भात खान नपरोस् जस्तो लाग्छ। बरु बिस्कुट, दालमोठ भुजीया वा तातो चिज नै खानै परे चाउचाउ उमालेर खानु ठिक लाग्छ। तर उ बेला मुग्लिनको छुट्टै आकर्षण थियो, बिशिष्ट स्वाद थियो। उसो त भन्नलाई कस्तो हन्तकाले रहेछ भन्नुहोला, तर सोडा हालेको किन नहोस्, थपिथपी त्यो फररर परेको भातमा पहेलोँ दाल हालेर सुरुप सुरुप खादाँ खेरी लास्टै मज्जा आउँथ्यो। ज्यान केटकेटी भए नि पैसा तिर्ने काउन्टरमा राखिएको सौप र सुपारी चपाउनुको मज्जा तुम क्या जानो रमेश बाबु टाइपको फिलिङ्ग आउँथ्यो। हुन त मुग्लिनमा भात भुँडी फुट्ने गरि खाँदा पनि मन भने गाँउमा नै पुगिसक्या हुन्थ्यो।
थरी थरीका पिङ
धाकै सही स्तम्भकारले रुखमा टाङ्गेको पिङ, लिङ्गे पीङ (बाँसका लिङ्गो गाडेर टाङ्गेका पिङ), ४ पिर्के र ८ पिर्के चौडाली पिङ चढेको ब्योहोरा जानकारी गराउन चाहन्छु। रोटे पिङ्ग चाँहि स्तम्भकारले एकचोटी चढेर खाएको सबै वाकेपछि नचढ्या ब्योहोरा जानकारी गराउन चाहन्छु। टोलका युवाहरुको काँधमा पिङ स्थापना गर्ने जिम्मा हुने त सर्वविदितै छ। कसैले अह्राउन पर्थेन, युवाहरु स्वत:स्फुर्तरुपमा आफ्नो बलबुताले भ्याएको पिङ्ग हालेका हुन्थे। स्तम्भकार बसबाट झरेर आफ्नो घर पुगिन्जेल सबै पिङ्गमा चढ्दै पुग्या हुन्थे। घर पुगिन्जेल कम्तिमा आधी दर्जनचोटी भुँइछोड्ने अवसर पाउनुमा अलि डाँडामा भएको घरको भुमिका अहम थियो भनेर भनिरहनु नपर्ला।
उता गाउँमा
गाउँमा पीङ भनेकै रोटपीङ। त्यो मुला लिङ्गे पीङचाहिँ डरपोक, पानीमरुवा र केटाकेटीका लागि भन्ने हुन्थ्यो। गाउँमा दशैंका लागि रोटेपीङ बनाउन भनेर एकमहिनाअघिदेखि नै जंगलबाट खाँबा, निदाल काटेर ल्याइन्थ्यो। पाखुरा र पिरा (पिर्का) चाहिँ दुईदुई वर्षमा मात्र फेरिन्थ्यो)। रोटेपीङको विशेषता के थियो भने बलिया बाङ्गालाई फाइदै फाइदा। अलि बलिया केटाहरु रोटेपीङका अपरेटरहरु हुन्थे। उनीहरुको तजबीजमा को पछि कसले चढ्ने निर्धारण हुन्थ्यो। पीङ उनीहरुले नै मच्चाउँथे। केटीहरुका लागि त पीङको पिर्का जतिबेला खाली। अनि पीङ मच्चाउन पिर्काको तल समातेर घुमाउनु पर्थ्यो। तर केटाहरु पिङको पिर्कासँगै कहाँकहाँ समाउँथे भनेर साध्य छैन। अलि उमेर पुगेपछि आफूलाई पनि पीङको अपरेटर हुन खुब जोश चढ्थ्यो।
अाशिक, दक्षीणा र ताना
जयन्ती मङगलाकाली भद्रकाली कपालिनी त डिफल्ट उपलब्ध हुने कुरा भयो, आजभिली जस्तो दक्षिणामा लैङगिक समानता थिएन। अर्काको घर जाने जातले अर्काको घरबाट ल्याउने जातको तुलनामा मनग्य दक्षीणा हात पार्थे। अर्काको घरबाट ल्याउने जातले दक्षीणा पाउने भनेको मामा घर गए मात्र हो, नत्र निधार भरी अक्षता सिवाय केहि हात लाग्थेन, त्यो अक्षता पखालेर भात पकाउन नि काम लाग्थेन। केही योग्य ब्यक्तिले आशीक थाप्दा बोनसमा ताना पनि पाउथे, यसो नगरेस् त्यसो नगरेस् भनेर बर्षभरिका नराम्रा कामको उपदेश पाइन्थ्यो। टिका थाप्दा चुपचाप थाप्ने चलनले गर्दा पनि आशीक दिनेले बरु आशिकमा थोरै डिस्काउन्ट दिएर भए पनि ताना भने पेटभरी पुग्ने गरी दिन्थे। त्यसपछि प्रसादको रुपमा पाएको दहीले पनि ति ताना पचाउन उति सहयोग भने पुराउँदैन थियो।
उता मामाघरमा
मामाघरमा आशीक सुनिँदै सुनिन्नँथ्यो। ध्यानजति सिधै पैसामा हुन्थ्यो। भागमा बीसको रातो नोट पर्ने हो कि दशको सेतो अथवा नीलो पचासको भन्ने मात्र ध्यान हुन्थ्यो। दाजुले बीसको नोट पायो कि? बहिनीले कति पाई? दिदीले कति पाउनुभयो? भाइले कति पायो? आमाले कति पाउनुभयो। मलाई मामाले अरुको भन्दा थोरै पो दिए कि भनेर बडो चिन्ता हुन्थ्यो। कतिपटक त मामाघरमा पहिला पुगे दक्षीणा पनि बढी पाइन्छ भनेर घरका सबैलाई ल आउँदै गर्नू है भनेर एक्लै एक्लै मामाघर पनि दौडिइन्थ्यो।
यो त भयो हाम्रो पालाको हाम्ले देखेको दशै, अरु बेला कन्जुसाँई गरे पनि यो बेला मन खोलेर कमेन्टमा हामीले छुटाएका दशैका रमाइला पाटा लेख्नु होला। यसो मज्जा आओस न पढ्नेहरुलाइ पनि।
यसो मेसो मिल्यो भने गयो दशैँ ऋृण बोकाइ स्तम्भ लिएर उपस्थित हुने छौँ।
One thought on “आयो दशैं ढोल बजाइ …!!!”