हुन त केहीपहिले हामीले ‘उ बेलाको दशैं’ आशयको एक लेख पस्किसकेका हौं, तर १५-१५ दिनसम्म चल्ने दशैं एउटै लेखले त के झारा टार्नु भनेर यो फलोअप लेख्ने जमर्को गरेका छौं। फुत्केको माछो ठूलो, मरेको छोरो जर्नेल वा पहिलेकै स्वास्नी राम्री भने जस्तै मान्छेलाई पनि पहिलेकै कुरा राम्रा लाग्नु स्वभाविक मान्छौं हामी । तर के गर्नु यो मर्त्यलोकमा जन्म लिएसी मानिस समयकै दास हुन पर्ने ! न सुखको क्षण बिस्तारै बितोस् भनेर समय रोकिन्छ, न दु:खको क्षण छिटो कटोस् भन्दैमा समय दौडिन्छ। त्यसैले त ‘उ दिन गए, यी दिन आए, म्वाइँ खाने ठाममा झुस् पलाए’ भन्ने उक्तिको प्रादुर्भाव भयो।
सबै ज्ञात अज्ञात पाठकहरुलाई थाहा छ, १२ थरी भनेको हावा पोस्ट हो। तर पनि सधैँ हावाहुरी बनेर पात पतिङ्गर मात्र कति उँडाउनु भनेर १२ थरीले यसपाली अर्थराजनीतिक लेख लेख्ने जमर्को गरेको छ। नेपालमा विज्ञ बन्न के आइतबार छ र ? एक दुइ (कु?)तर्क दिएर मेडियामा अन्तर्वार्ता दिएसी भैहालियो स्वनामधन्य विज्ञ। आउनुस् हाम्रो दशैं पहिले भन्दा किन (बे)रसिलो र फरक बन्दै गैरहेको छ भन्नेमा यसो डेढअक्कल लाएर बिश्लेषक बनि टोपलौं।
शहरीकरण
पैलेपैले दशैं गाउँमा रमाइलो, तिहार शहरमा रमाइलो भन्ने जस्तो लाग्थ्यो। दशैंमा त काठमाडौं सुनसानै हुन्थ्यो। बर्षभरी शहरमा दु:ख गरेका परिवारहरु आफन्त वा मुलथलो सम्झदैँ गाउँमा पुग्ने चाड थियो/हो दशैं। तर केहिसमय यता यो ट्रेन्ड बदिलिंदैछ। गाउँ सुनसान हुँदैछन्। सक्नेले काठमाडौं खाल्डोमा भए घर बनाएर नभएर डेरामा भए पनि परिवार राखेका छन्। त्योभन्दा कम गाँठ हुनेहरु आआफ्ना जिल्लाका सदरमुकाम वा बजारतिर झरेका छन्। हरीतन्नमहरु मात्र गाउँ कुरेर बसको कुरा कटुसत्य हो। हुनत गाउँमा बसेका सबै हरितन्नम नै मात्र पनि छैनन्, गाउँमा सर्वेसर्वा भएर त्यो रवाफ छोडेर शहरमा गुमनाम हुन नसक्नेहरु पनि छन्। अनि कोहीचाहिँ कुवाका भ्यागुता पनि छन्, अर्थात् बस्ने ठाउँनै यो हो, शहरमा के छ? भनेर कहिल्यै आफूलाई अपग्रेड गर्न नचाहनेहरु। अनि तिनीहरुनै एकलास भएको गाउँमा कैले परदेशी आउलान् र रमाइलो गरुम्ला भनेर कुरेर बसेका हुन्छन्। तर आजकाल कुर्दाकुर्दा आँखा पाट्टिइसके, घरको पाली चुहिसक्यो, पिंढीको ढिस्कोमा धमिराले थुप्रो लाइसक्यो, पालीको मुन्तिर माकुराको जालो छिचोलिनसक्नु भैसक्यो। तर अहँ न परदेशी नेपाल फर्क्यो, न शहर पसेकोले गाउँ नै सम्झ्यो।
रेमिट्यान्स
रेमिट्यान्स अर्थात् विप्रेषण। यो टिकिट्याँसट्याँस नहुने हो भने देशकै अर्थतन्त्र त उत्तानाटांग हुन्छ भने आश्रित परिवारको के कुरा गर्नु ! हुन पनि यो देशमा परिवारको एकजना बिदेशमा नभएको घरधुरी छैन। लगानी गर्ने थैली र खप्परमा अलिअलि गिदी भएका अमेरिका/अस्ट्रेलिया, त्यता जान कर्मले ठगेकाहरु युरोपका कुनाकन्तर वा जापान, अनि देशमा तर नलागेर अरब वा मलेशिया भासिएका युवाकै काँधमा छ यो देश चलाउने जिम्मा। चाडबाड सुरु हुन लागेपछि आइएमइ र बैंकहरुको लाइन थेगी नसक्नु हुन्छ। पैलेपैले पो शहरमा काम गर्न गएका केही व्यक्तिले कटकटे नोट ल्याउँथे, अनि सारा गाउँ नै उनीहरुकै भर पर्थे नोट साट्न पनि। अचेल त ठूलेले पठाको पैसो लिन बैंक जान पर्ने भएसी उतै त साइज साइजका गड्डी लिएर आउँछन ठूलेका बा। किनमेलमा पनि यसले ठूलै प्रभाव पारेको छ। पैले जहान परिवारलाई एक आंग लुगा किन्दिने मौका दशैं नै हुन्थ्यो। अलि पैले त एउटै थानको कपडा ल्याएर गाउँकै दमैदाइकहाँ सिलाएर लाउँथे। अनि गाउँभरिका मात्र हैन, दुई गाउँ तीन गाउँका केटाकेटीको कपडा एउटै देखिन्थ्यो। आफूले कत्ति न राम्रो लुगा लाएँ भनेर कुम उचाल्दै हिँड्दा ठ्याक्कै त्यही लुगा लगाएको अर्को सिँगाने देख्दा यो मन कम्ता रुन्थ्यो र ! बिचमा रेडेमेडको फेसन चल्यो। अचेल ठूलेले जैलेजैले पैसा पठाउँछ उहिले उहिले चाहिएका लुगा किन्यो/ सिलायो। त्यसैले त व्यापारीहरुलाई अचेल सधैं दशैंजस्तै पनि हुन्छ, तर पहिलेकै जस्तो ‘दशैं’ नै चाहिँ लाग्दैन रे।
दशैं नमनाउने नवपहिचानवादी
कुनै बेलाको ‘झन्डैझन्डै’ “शान्तिक्षेत्र” र हिन्दु अधिराज्य आज के भाको छ भन्ने त जगजाहेरै छ। यहाँ कसैलाई छोइबोलाई साध्धे छैन। सिधा मनले आफुभन्दा पाको उमेरकोलाई “हजुर म भन्दा ठूलो मान्छे आउनुस् न कुर्सीमा बस्नुस् न” भनेर सिट छाडिदियो भने पनि – “लौ तैंले मलाई ठूलो भन्ने, बुढो भन्ने, तैंले दया गर्न पर्नि मान्छे हुम्?” भन्दै बाउँठिन्छन् अचेल मानिसहरु। दशैंमा अक्षता बनाउने चामलले कर्णालीमा यति जनालाई यति दिन खान पुग्थ्यो भन्ने आँकडा निकाल्नमा धेरै समय खर्चिने बुद्धिजीवी पनि टोलटोलै भेटिन्छन्। भात खाने चामल निधारमा टाँसिन्नँ भन्दै तीन बित्ता उफ्रने टुप्पा’ट पलाका प्रगतिशील पनि छँदैछन्। अझ दशैंमा काटिने च्याङ्ग्रा एकमुष्ठ किनेर जंगलमा छोड्छु भन्नेहरु पनि निस्किए क्यार यसपालाबाट त। दशैं त हाम्रो चाड नै होइन, यो त खस बाहुनको पहाडे सत्ताले हामीलाई जबरजस्ती मानाउन बाध्य पारेको हो भन्ने ‘भाङ खाएसी ‘ मार्काका कुरा गरि जातिय सद्भाव बिगार्न खोज्ने धुन्धुकारी भएसी सोझा साझा जनजाति आदिवासी अलिअलि त भड्किने नै भए। अनि कहाँ होस् त पैलेजस्तो रौनक ?
के का दशैं ? प्रभु येशु हुनुहुन्छ सब एक
अविवाहितलाई जोडा, तिर्खाएकोलाई सोडा, घुम्न खोज्नेलाई घोडा, घर बनाउनेलाई रोडा…. जसलाई जे दिएर होस् येशुको भक्त बनाउने मण्डलीहरु गाउँगाउँमा पुगेका छन्। बिरामीलाई डाक्टरले कति मिहिनेत गरेर ठीक पारेको हुन्छ, हाम्रो येशुले ठीक पार्नुभयो भन्ने क्लेम आउँछ। पाइलटले बल्लबल्ल गरेर दुर्घटनाबाट जोगाउँछ, उता प्रार्थाना गरेर प्रभुले बचाउनु भो भन्ने दाबी गर्छन्। बटुवालाई पर्चा दिएर होस् वा सहयोग गरेकालाई बाइबल थमाएर होस्, एउटै ध्याउन्न छ – धर्मपरिवर्तन गराउने। यो कस्तो हुँदो र’च भने जबजब दशैं जस्ता चाडबाड आउँछन् अनि मन्डलीका गतिविधी पनि बढ्ने। बिहानै बोलाएर, नाचेर, गाएर, प्रार्थना गराएर, मासु खुवाएर आफ्नो पुरानो समाजमा सकेसम्म ढिम्कन नदिने। काठमाडौंकै कति स्कूलहरुले दशैंकै छुट्टी पारेर बच्चाहरुलाई क्लोज क्याम्पमा समेत राख्न थालेका छन्। बच्चाहरुले दशैंको सांस्कृतिक महत्व थाहा नपाउन् भन्ने ध्यय नै त हो यो पनि।
माओवादी युद्ध, रित्तिएका गाउँ
माओवादी युद्धले जे जे उपलब्धि गरायो भनेर यसका समर्थकले घोक्रो सुकाए पनि एउटा कुरा पक्कै हो – हाम्रो सामाजिक र सांस्कृतिक संरचना भने पुरै खल्बल्यायो। कति भागेर बिद्रोहमा लागे, कति त्यही दौरान मुठभेडमा परे, कति सेना प्रहरीका श्रीमतीको सिउँदो पखालियो, कति बच्चा टुहुरा भए कुनै लेखाजोखा नै छैन। त्रासको त्यो माहोलमा गाउँघरमा चलहपहल पनि कम हुँदै गयो। टिका भनेको दशैंकै दिन भेट्न पर्छ भनेर निस्फिक्री मध्यरातसम्म हिंडेर मावली/ससुराली वा गन्नेमान्नेको घरमा वातावरण पनि रहेन। माओवादी, आर्मी/पुलिस र वैदिशक रोजगारमा दुबइ मलेसिया युवाहरु ओइरिदा गाउँहरु रित्ता भए/छन्। युवा नै नभएपछि कसले हाल्ने लिंगे पिङ, रोटे पिङ ? कसले गर्ने सांस्कृतिक कार्यक्रम ? कसले देखाउने राम चरित्र ? उस्तै परे मरेका लाश उठाउन समेत बलिया केटाहरु नपाउने अवस्थामा पुगेको गाउँ अझै तंग्रेको छैन ।
सुचना प्रविधिमा फड्को
गिलासबाट दुध खान नसिक्दै केटाकेटीले मोबाइल स्वाइप गरेर अनलक गर्न सिक्ने, युट्युबका भिडियो हेर्न जान्ने र उस्तै परे एप स्टोरबाट गेम डाउनलोग गर्ने जमाना आइसक्यो। यसरी हुर्केका केटाकेटीलाई फुटबल कहाँ खेल्छन् भन्दा मोबाइल वा प्लेस्टेसन भन्लान भन्ने डर हुन्छ। छतमा गएर चंगा उडाउने, पिङ खेल्ने भन्ने कुरा त पछि गएर कथा नै हुन्छन् जस्तो लाग्न आँटिसक्यो। विदेशमा भएका छोराबुहारीलाई स्काइपमा टिका लाइदिने, फोनबाट आशिर्वाद दिने त सामान्य भैसक्यो। उस्तै परे दक्षिणा पनि अनलाईन ट्रान्सफरको जमाना आउला अब केही समयपछि। प्रविधिले कतिसम्म गर्न थालिसक्यो भने पण्डित नेपालमा स्काइपमा वा भाइबरमा मनत्र पढ्ने, यजमान अम्रिकाँ सराद्धे गर्ने। दशैं पनि त्यस्तै हुनथाल्यो आजकाल। बल्लबल्ल वर्ष दुईवर्षमा घर पुगेकाहरु पनि जतिबेला मोबाइलमै टाँसिरहेका हुन्छन्। आजकाल त फेस-टु-फेस कुरा गर्नुभन्दा फेसबुक म्यासेन्जर, भाइबरमा कुरा गर्न सजिलो ठान्छन् परिवारबीच पनि।
खै कुराउनी?
पहिलापहिला दशैं भनेसि गोरु बेचेका साइनोसम्मका मान्छे टीका थाप्न हिँड्थे। अझ अलि खान्दानी मान्छे छ भने त उसकोमा को को मान्छे, कुन नाताको हो भनेर नचिन्नेगरी मान्छे आउँथे। दशैंमा आशिर्वाद (आशिर्वाद कम, दक्षीणा बढी) थाप्न जाँदा खालीहात जाने कुरा हुन्थेन। अनि त गाउँघरमा कोसेली भनेकै कुराउनी, सेल, अर्सा, हुन्थे। कुराउनी पनि प्रकारप्रकारका हुने- रक्सीका जस्तै। रक्सी हुन्छन् नि, रेड लेबल, ब्ल्याक लेबल, डबल ब्ल्याक, सिंगल मार्ट- हो त्यस्तै हुन्थे कुराउनीका प्रकार- शुद्ध कुराउनी, चिनी मिसाएको कुराउनी, सखरखण्ड मिसाएको कुराउनी, मैदा मिसाएको कुराउनी। जेजस्तो भए पनि दशैंमा घरमा कि त मासु गन्हाउँथ्यो, कि त कुराउनी। आजकाल त यो चलनै हरायो। कुराउनी भनेको त्यही दक्षिणकाली जाँदा पाएने खुवा भयो। बजार छिर्यो, आधाकिलो स्याउ वा आधा दर्जन केरा किन्यो, अथवे त्यसमा एक पाउ मीठाई थप्यो अनि गयो टीका थाप्न।
यी त भए हामीले सरसर्ती हेर्दा देखिएका कुराहरु। सामान्य लाग्छ दशैं मात्र हैन अन्य सांस्कृतिक चाडहरु कसरी परिवर्तित हुँदैछन् भनेर। तर यसले कति फरक पारेको छ भनेर हामीले गहिरिएर हेरेकै छैनौं। दशैं भन्ने बित्तिकै वर्षौं भेटघाट नभएका परिवार आफन्तहरु एकै ठाउँ जम्मा हुने, मीठो मसिनो तुल्याएर खाने, दु:ख सुख साटासाट गर्ने हुन्थ्यो। अहिले दशैं केवल फेसबुक वा इन्स्टाग्राममा अलि फरक फोटो हाल्न जुराउने एउटा चाड मात्रै भयो।
अन्त्यमा,
म जर्जको व्यक्तिगत तथा १२थरी परिवारको तर्फबाट हाम्रा समस्त पाठक गणमा बिजया दशमीको उपलक्षमा हार्दिक मंगलमय सुभकामना ।