भ्यालेन्टाइन जस्तो यत्रो १५ दिने महान चाड चलिरहँदा पनि १२ थरी चाहिँ किन चुप? भन्ने प्रश्न धेरै पाठकको मनमा उब्जेको हुनुपर्छ। हेर्नुस् न, हामी परियो घरपरिवारवाला, छोराछोरी भएका मुन्छे, यो भ्यालेन्टाइन र स्यालेन्टाइन भन्दै अब तरुनातरुनी खोजेर पनि भएन। रेष्टुराँको टेबुलमै चुम्माचाटी गरेर बस्ने उमेर छैन, पार्कमा जाम् भने श्रीमतीका माइतीदेखि साथी, इष्टमित्रले भेट्लान् भन्ने डर। मुश्किल छ नि। होटलमा जाम् न त भन्यो, एक त गर्लफ्रेण्ड मान्दिनन्, अर्को त त्यो होटलवालाले कति घण्टाको लागि रुम चाहिने? भनेर सोध्ने प्रश्न साह्रै बिझाउँछ। मन त हामलाई नि हुन्छ नि, चट्ट गर्लफ्रेण्डलाई काखमा सुताएर एउटा हातले उनको कपाल चलाउँदै अर्को हातले… भयो योभन्दा बढी नलेखौं।
यो गनथन यतै छोडेर अहिलेचाहिँ बरु गर्लफ्रेण्डलाई कसरी खुशी बनाउन सकिन्छ? उनी सानासाना कुरामा पनि कसरी खुशी हुन्छन् भन्नेबारे चर्चा गरौं। भन्न त नहुने हो तर ‘आइमाई’को जातलाई केही गरेपनि खुशी पार्न सकिँदैन भनेर कोकशास्त्रको ३६औं अध्यायमा बर्णन गरिएको छ। तैपनि टिराई गर्नमा के जान्छ? हैन्त !! अँ, एउटा कुरा भनिहालम् है- यो लेख इन्टरनेटतिरबाट खोजिमेली गरेर ट्रान्सलेट गरेको र केही आफ्नै अनुभवका आधारमा तयार पारिएको सङ्गालो हो।
- तपाइँलाई भेट्न आउँदा अघिल्लो चोटि भेट्दा भन्दा केही न केही फरक हुन्छ उनीमा- जस्तै: नङ् पोलिस, कपालको रङग, कपाल ट्रिम गरेको, अर्कै लिपस्टिक जस्ता कुरा ध्यान दिनुस्। दुई शब्द तारिफका फ्याँकिदिनुस्। उनले खासै आशा गरेकी हुँदिनन् तर यसो गर्दा तिनी औधी खुसी हुन्छिन्।
यसमा रिस्क के छ भने, कहिलेकाहीं उनले नयाँ लिपिस्टिकमात्र हैन नङपालिस पनि अर्कै लगाएकी हुन सक्छिन्। त्यस्तोबेला तपाइँले लिपिस्टिकको मात्र वर्णन गर्नुभयो भने ‘तिमीलाई त्यही ओठमै छ है ध्यान? मैले नङपालिस पनि अर्कै लगाएकी छु’ भनेर निहुँ खोज्ने सम्भावना ९८ प्रतिशत रहन्छ।
यसरी हरेक बुँदाको चर्चा गर्दा त एउटा अर्को महाभारत जन्मिने र’छ। आउनुस्, सरर बुँदाबुँदा मात्र हेरौं।जन्मदिन वा अन्य अवसरका शुभकामना कार्ड दिदाँ निख्लो नाम नलेखेर उनी किन महत्वपुर्ण छिन दर्शाउने दुब्द हरफ मायाका लेखिदिनुस।
- कुनै गीत, फिलिम वा विज्ञापन नै किन नहोस्, ति बज्दा उनको याद मानसपटलमा छाउने, आँखामा उनको तस्वीर झल्किने कुरा सुनाउनुस्।
- साथीहरुसित घुम्न जाँदा उनको यादले कति सतायो भन्ने जनाउ दिनकोलागि केही न केही ल्याएर दिनुस्। खान होटलमा जानु भएको भए प्याक गरेर खाने कुरा ल्याइदिनुस्। अनि जवाफमा पाउनुहुनेछ एउटा ‘हाउ स्विट ! तिमी मेरो कत्ति ख्याल गर्छौ है।’
- कुखुराको भाले बनिदिनुस्। कुखुराको भाले भनेर के भन्न खोज्या भने बिहान उठेसी शुभप्रभात लेखेर म्यासेज पठाउनुस्। शुभप्रभात म्यासेजमा कपी गरेरै भएपनि तपाइँको लागि उनी के हुन् भन्ने सायरी नि हाल्नुस्। यसले मायाको डोरी मजबुत बनाउँछ।
रिस्क के छ भने एकदिन त्यस्तो म्यासेज गएन भने ‘मलाई बिर्स्यौ है? अब त शुभप्रभात पनि लेख्न छोड्यौ। मेरो बारेमा त तिम्रो मनमा केही छैन’ भन्ने गुनासोको पोको फररर फुक्छ।
- उनकोलागि महत्वपुर्ण व्यक्तिहरु, बिशेष दिन सम्झेर उनलाई सम्झाइदिनुस्। गुगल क्यालेन्डरको भरपुर उपयोग गर्नुस्। हुनत उनलाई सबै मितिहरु- साथीको बड्डे, साथीको साथीको बड्डे, साथीको भैंसीको बड्डे, सबै थाहा हुन्छ। तर तपाइँले सम्झाइदिनुभयो भने यसले मलाई महत्व दिने रै’छ भनेर उनी खुसी हुन्छिन्।
- आँखीभौँ सफा गरेको, ओठका रौँ फालेको याद गर्नुस्, अनि आहा कति राम्री देखिएकी भन्नुस्।
- उनको दिन कसरी बित्यो, के गरीन् भनेर सोध्नुस्। उनका कुरा सुन्दिनुस्। विश्वास गर्नुस्, उनी धाराप्रवाह जान्छिन्, तपाइँ अँ अँ भन्दै बस्नुस्।
- उनीसँग बस्दा उनलाई मन पर्ने गीत हेडफोनमा बजाउनुस्, एउटा उनको कानमा अर्को आफ्नो कानमा लगाउनुस्।
- उनले मागेपछि हैन, आफैले आफ्नो फोनको पासकोड दिनुस्।
- सँगै हेरेका सिनेमाका टिकेस साँचेर राख्नुस्। बेलाबेला फिल्मका टिकट हेर्दै त्यो समयका कुरा गर्नुस्, यादहरु ताजा गर्नुस्।
- उनलाइ प्रत्यक्ष वा परोक्ष रुपमा असर पर्न सक्ने निर्णय गर्नु अघि उनको राय लिनुस्।
- कहिलेकाहीँ घरमा खान बोलाउनुस्, साथी भनेर चिनाउनुस्। हुनेवाला बुढी भन्न पर्दैन।
- उनको सुन्दरता बखान बेला बेला गरिदिनुस्।
- उनलाई आपत्ति नहुने अवस्थाका (जस्तै मुख बिगारेका, कपाल जिङ्ग्रिंग भएका, मेकअप नगरेकोबेला खिचेका बाहेक) उनका तस्वीर सामाजिक सन्जालमा हाल्नुस्।
- एउटा सज्जन पुरुषले झै कहिलेकाहीँ निधारमा म्वाइँ खाइदिनुस्, सधै प्यासी ब्वांसो नबन्नुस्।
- छुट्टिने बेला नाथे सधै जाने काम नै किन नहोस्, दुइ शब्द मिठो, मायाका बोलेर जानुस्।
- सार्वजनिक स्थानमा यी मेरी हुन भन्ने जनाउ दिन उनको हात समाउनुस्, पोजे बनेर गोजाँ हात हालेर नहिँड्नुस्।
- बाटोमा हिड्दा उनलाइ अरुले नछोओस्, गाडीले नहानोस् भनी ढाल जसरी नजिकै हिँड्नुस्।
- एकान्त गल्लीमा सानोतिनो बदमासी गर्नुस्। तर धेरै हैन, यस्सो कम्मरमा काउँकुती लगाए झैं गरेर गालामा किस गरेमात्र पनि काफी हुन्छ। त्यसपछि उनको अनुहारको मुस्कान र लाडेपल्ट्याई हेर्नुस्, बाफ रे !
- उनलाई मन पर्ने खाले किताब, फिलिम उपहार दिनुस्। फिलिम सँगै बसेर हेर्नुस्।
- उनीसँग एसएमएस गर्नैको लागि कहिलेकाहीँ राति अबेरसम्म बस्नुस्, फोनमा भन्दा नि एसएमएसमा कुरा गर्नुस्। उनले ल सुत नभनुन्जेल निद्रा लागेपनि आँखामा पानी छम्किँदै पनि एसएमएस गर्दै बस्नुस्।
- उनलाई कसैले जिस्क्यायो वा उनलाई नराम्रो व्यवहार गर्यो भने त्यसको विरुद्ध खडा हुनोस्, लड्न पर्दैन तर आवाज अवश्य उठाउनुस्।
- तिनको घरमा कुकुर बिराला पालेका छन भने तिनकोलागि खेल्ने कुरा किन्दिनुस्।
- आफ्ना टिसर्ट ज्याकेटहरु लगाउन दिनुस्।
- एउटै प्लेटमा खाना सेयर गर्नुस्, जुठा खाए माया बढ्छ रे क्या।
- पछाडिबाट अङगालो मार्नुस्
- उनको प्रशंसा र मेरी उनी यस्ती र उस्ती भनेर राम्रो कुरा गर्नुस्। हल्ला उनको कानमा पुग्दा राम्रो पुग्छ।
थाक्नुभयो र पढ्दापढ्दा? लभ गर्ने, बिहे गर्ने, ब्वाइ फ्रेण्ड बन्ने भन्ने कुरा सजिलो छैन नि। यी कुरा गर्न नसक्नेहरु ट्विटर वा फेसबुकमा ‘फरेवर अलोन’ भन्दै रुँदै हिँडेको देख्नुभएकै होला केरे। हुनत तिनले ‘मलाई मेरो स्वतन्त्रता प्यारो छ’ भनेर पनि छाँट्छन् बेलाबेला, तर घर पुगेपछि हात, हातका औंलाले कति दु:ख पाएका छन् भन्ने त ‘दाइ नभन्नु ल’ भन्दै रुँदा देखिन्छ नि। आउनुस् फेरि अगाडि बढौं। अबका बुँदा विशेषगरी विवाहितहरुका लागि-
- कहिलेकाहीँ उनले नभनेको बेला वा नगराएको बेला सहयोगको लागि हात अगाडि बढाउनुस्। जस्तै बस, आज म चिया पकाम्छु, तिमी आराम गर, मै माझिदिन्छु भाँडा भन्नुस्।
- आफ्नो दराजमा केही ठाँउ खाली गर्दिनुस्। उनका सामान राख्न मिल्ने बनाउनुस्।
- जिब्रोको काम बोल्ने वा टङ किसका लागि मात्र हैन, यसलाई फरक ठाउँमा प्रयोग गरेर फरक अनुभूति दिलाउनुस्।
- आफुले नहेर्ने भए नी उनले हेर्ने गरेका सिरियलका गफ मज्जाले सुन्दिनुस्, अँ अँ भन्दिनुस्।
- कहिलेकाहीँ आफ्ना साथीहरुसँगको जमघटमा उनी र उनका साथीहरुलाई पनि बोलाउनुस्।
- माफी मागेर सानो भइँदैन। त्यसैले माफी माग्नुस्, चाहे गल्ती जस्कोसुकै होस्।
- उनीलाई जानकारी नदिइकनै एउटा प्रेमिल भेटघाट बनाउनुस्, सबै योजना आफै बनाउनुस्, उनलाई सरप्राइज दिनुस्।
- सँगै सुतेको बेला घरीघरी उनलाई नजिक तान्नुस्, अनि टिपिक्क टाँसियर सुत्नोस्। कहिलेकाँही यसै जोल्ठिए नी हुन्छ।
- उनले लाउने मस्कारा, लिपिस्टिक, नङपालिसको ब्रान्ड सम्झिने अनि मेसो मिल्दा किन्दिने गर्नुस्। उनलाई मनपर्ने खाजा सरप्राइज दिने गर्नुस्।
- सिरक पुरै खोस्न दिनुस्, सिरानीमाथि कब्जा नजमाउनुस्, उनैलाई दिनुस्।
- यसै उनको कपाल खेलाउने गर्नुस्।
- आफ्नो दिन कस्तो रह्यो बिस्तारमा सुनाउनुस्, बिस्तारामा हैन नी फेरि।
- आफुलाई कत्ति पनि चित्त नपर्ने सिरेल नि हेर्दिनुस्, यदि उनलाई मन पर्ने रहेछ भने।
- उनको हाते झोला बोकिदिनुस्।
- उनलाई आफ्नो छातीमा टाउको राखेर निदाउन दिनुस्।
- खाटमा नै बिहानीको चिया खाजा ल्याइदिनुस्।
पाठकवृन्द, यति सबै गर्न सक्नुभयो भने पनि तपाइँकि उनी कुनै न कुनै बहाना झिकेर ठुस्स पर्न भने छोड्दिनन्। तपाइँले नियमित गर्ने काम पनि एकदिन अलि ढिला गर्नुभयो वा बिर्सिनु भयो भने सम्झिनुस् तपाइँको खैरात छैन। तर त्यसो भन्दैमा प्रयास नगर्ने भन्ने हुँदैन नि। अन्त्यमा तपाइँहरु सबैको भ्यालेन्टाइन सुखमय होओस्, भ्यालेन्टाइन डे भान्टाङभुन्टुङ डे नबनोस्। हेलमेट लगाएर ड्राइभ गर्नुस्।
(नोट: यहाँ प्रयोग भएका फोटा गुगलको सहायतामा फेला पारिएका हुन्। मनोरन्जन प्रयोजनका लागि गैर-व्यापारिक उद्देश्यले यी फोटा यहाँ प्रयोग गरिएका हुन्। कसैलाई आपत्ति भए प्रकट गर्नुहोला)