एनसेल दाइ, ट्विटर जीरो फेरि खोल्दिनुस् न… पिलिच् !!!


पाठकवृन्द ! समवेदना छ है हामी सबैलाई!!! छ्याङ्गss मनले नमस्कार भनौं भने मनाँ १२ सत्ताइस् पीरको पोको छ। त्यसैले आज मजाले रुने धोको छ। १२ थरीका पाठक स्मार्ट हुनुन्छ, त्यसैले एनसेलले कसरी हामीमाथि घात गर्‍यो भनेर यहाँ आफ्नो दुईपैसे विद्वता नछाटुम् होला। तर एनसेलले ऐनमौकामा फ्रिको ट्विटर सुविधा हटाएर समाजका कयौं आयाममा कुठाराघात गरेको छ, पलाउन लागेको सृजनात्मकता कुल्चेको छ अनि आँकुला हाल्न लागेको माया प्रेमलाई अनायासै निमोठेको छ। बहुराष्ट्रिय कम्पनीको यो बहुलट्ठी कदमले कतिलाई शहीद बनायो,  के के घाटा गर्‍यो, समाजलाई के हानी गर्‍यो भनि विश्लेषण गर्नु १२ थरीको कर्तव्य हो भन्ठान्छौं हामी। त्यसैले आउनुस्.. एकछिन घाँटी खोल्सिने गरि अरण्यरोदन गरौं…. मन हलुका पारौं ।

जो होचो त्यसकै मुखमा घोचो

“एनसेल: नेपालकै लागि” भन्ने नारा बोकेको एनसेलले अहिले आएर आफू धनीका लागि भएको पुष्टि गरेको छ। नत्र बोल्न र सूचना पाउने अधिकारको कुरा गर्दै ट्विटरलाई फ्रि गराएको एनसेलले अहिले एकाएक किन यो सेवा बन्द गर्नुपर्यो ? रिचार्ज गर्न पैसा नहुनेले अब बोल्न नपाउने? मोबाइलमा ब्यालेन्स हालेर अब फोन/एसएमएस गर्ने कि ट्विटर चलाउने? हुनेखानेलाई त डाटाबाट ट्विटर चलाए पनि उनीहरुको सम्पति एक छेउ पनि कोट्याए झैँ हुने होइन । अझ उनीहरुको घरमा त हाइस्पिड ब्रोडब्यान्ड वाइफाइ नि फिलिलि चल्छ। तर यो सब “अफोर्ड” गर्न नसक्ने सर्वसाधारणलाई हठात यो कदम चालेर सूचनाबाट वन्चित गर्ने? जो होचो उसकै मुखमा घोचो ठोस्ने? सर्वसाधारणको पहुँचमा पुगेको ट्विटर फेरि एकपटक शहरीया, एलिट वर्गमा सिमीत भएको छ। एनसेलको यो कदमको हामी घोर भर्त्सना गर्दछौं र तुरुन्त सर्वसाधारण जनतालाई सूचनाको हकको प्रत्याभूत गराउन माग गर्छौं । नत्र सार्वजनिक महत्वको प्रस्ताव भन्दै कोटमा रिट हान्ने हो। लोकमान वा आइजिपी केसमा जस्तो खोजेजस्तो परमादेश जारी भयो भने त खाँडो जागिहाल्यो नि।

खोइ एनसेलको कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी (CSR)  ?

एनसेलले ट्विटर जिरो शुरु गर्दा भनेको थियो- ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत समान सूचनाको हकको अवधारणालाई पछ्याउँदै ट्विटर जिरो शुरु गरेका छौं।’ भनेपछि अब एनसेलको सामाजिक उत्तरदायित्व सकिएको हो? ‘एनसेल: नेपालकै लागि’बाट अब ‘एनसेल: लुटनकै लागि’ भएको हो?  अझ  १२ थरीका लेख पढ्न चैं मन लाग्ने तर एकाउन्टमा सुको पैसा नभाका भुक्काहरुलाई हामीले केहि समय हामीले डिएममै भएपनि लेख पठाएर कल्याणै गरेका हौं। तर  सरकारलाई कर पनि नतिर्ने, अनि जाबो अर्काको ट्विट पढ्न, रिट्विट गर्न पनि अब प्रयोगकर्ताले पैसा तिर्नुपर्ने भए एनसेलको  ‘सेवा लिनुपर्नाका कारण खुलाउन’ १२ थरी परिवार एनसेलका नाममा कारण देखाऊ आदेश जारी गर्दछ। लु जाss त !!

निद्रा नलाग्नेहरुमाथि अन्याय

ट्विटरमा एउटा यस्तो समूह थियो जो रातभरी समय कटाउँथे। आफुलाई निद्रा नलागेको पीडा ट्विटरमा पोख्थे। आफूजस्तै अर्को ननिदाउनेसँग डिएममा कुरा गर्थे, समय कटाउँथे, मनोरन्जन गर्थे, ख्याल ख्यालमै खन्डकाव्य र जाँगर चले महाकाव्य फुराउँथे, डिएममै एकअर्कालाई अंगालो हाल्थे र डिएमबाटै सन्तान उत्पादन गरेर बच्चाको न्वारन पनि सक्थे। ती ननिदाउने वा निद्रा नलागेको निहुँमा रातभरी जाग्राम बसेर मनोरन्जन गर्नेहरुमाथि ट्विटर जिरो हटाएर एनसेलले अन्याय गरेको छ। अब ती लाटोकोसेराहरुले रातभरी के गरेर बस्ने? एनसेलले तुरुन्त जवाफ दिनुपर्दछ।

जीवन जाला रे?

नेपालमा ट्विटर हावा छेक्नको लागि मात्र हैन, लब खेल्नमात्र हैन, रोमान्स गर्न मात्र हैन, मान्छेका ज्यान बचाउनसम्म उपयोग भएको त घामजस्तै छर्लङ्ग भइसकेको छ। ‘एक एनसेल सीम, एक ट्विटर अकाउन्ट’को अवस्था अहिले आएर ऋणात्मक भएको छ। ट्विटर अकाउन्ट त छ तर ट्विट छैनन्। अब कसैलाइ रगत चाहिएमा कहाँ गुहार्ने? अपरेसन एकसाता अघि भइसके पनि भैपरि आउँदालाई भनेर चाहिन्छ भने झै रगत मागेको माग्यै कता गएर गर्ने? ब्यथाले थलिएकी महिलालाई देब्रे हातबाट रगत दिँदै दाहिने हातले अपरेसन गरेका बहादुरी पुर्ण डाक्टरी कथा कता लेख्ने? हुन्छ नि अलिकति मानवता। के हो एनसेल बोरो, गाँजाको तालमा फिरी दिएर रौसीको तालमा फिरी हटाउने जस्तो काम किन गरेको? होस हबासमा बसेर न त्यसरी फिरी दिन सकिन्छ न फिरी दिएको हटाउन सकिन्छ, निर्णय गर्ने बोर्डले नाम नखुलेको कुन चाँहि कालो पदार्थ खाने गरेका छन्? त्यो पनि भन्दिए हुन्थ्यो नि यस्तो पापी कदम चाल्नु अघि।

भकारी नष्ट

एनसेलले ट्विटर जिरो गराउँदा हरेक प्रयोगकर्तासँग दुईवटा अकाउन्ट थिए। एउटाबाट उनीहरु ट्विटका साथै अन्तर्क्रिया गर्थे, हाहा हुहु गर्थे वा त्यसलाई हामी ट्वाइलेट वा वाक्ने ठाउँ भन्न सक्छौं र अर्को हुन्थ्यो गोदाम घर वा भकारी। बायोमै लेख्थे, ‘मेरा ट्विट पढ्न मेरो भकारी फलानोमा जानुहोला।’ उनीहरुले आफ्नो गोदाम घरमा आफ्ना ट्विट थन्क्याएर राखेका थिए। तर अब न त ट्वाइलेट रह्यो न त भकारी। यसरी अर्काको रचनात्मक दिमागको भकारी नष्ट गर्ने अधिकार एनसेललाई कसले दियो?

ज्ञान र आदर्शका कुरा पढ्न अब कहाँ जाने?

जति धेरै जनसंख्या, उति धेरै ज्ञानका कुरा। एसएलसी दिएपछिको एसएसली एनसेल सीम अफरबाट सीम लिएपछि तुरुन्तै ट्विटर अकाउन्ट खोलेर जीवन र जगतका बारेका महत्वपूर्ण अनुभवहरु बाँड्थ्यो एउटा ठूलो जमात। जीवन कसरी बाँच्ने? साँझ बिहान के खाने? बाटोमा कसरी हिँड्ने? सबैकुराको ज्ञान बाँड्थे यिनीहरुले त्यो पनि सिंत्तैमा। अब त्यो सब बन्द भयो। अब केही सिमीत एलिटहरुका भाषण मात्र सुन्नुपर्ने अवस्थामा पुग्यो ट्विटर। ट्विटर जिरोकै कारण एउटा ठूलो जमात पढन्दास भएको थियो। लेखक, साहित्यकारका आर्टीका लागि भएपनि उनीहरुका किताबका लाइन ट्विट गर्थ्यो, पुस्तकको बजार बढेको थियो। त्यो पनि सबै बन्द भयो। अब सर्वसाधारणले यति असाधारण ज्ञान लिन कहाँ जाने? वा एनसेलले सारा नेपालीलाई ज्ञानबाट बन्चित गर्न खोजेको हो?

अब समाजसेवा कसरी र किन गर्ने?

ट्विटरमा सक्रिय हुँदै जाँदा देश देखियो, समाज चिनियो। देशमा दु:खी, गरिब पनि रहेछन् भन्ने कुराको ज्ञान ट्विटरले दिलायो। त्यतिमात्र गरेन, मैले आज बाटामा खसेको चाउचाउको खोल टिपेँ भनेर ट्विट गरेर हजारौं आर्टी बटुलेर साँझ बिहान एकथाल भात खाएर गजक्क परेर निदाउन सकिने वातावरण थियो। अब त्यो वातावरण पनि बन्द भयो। सुनाउनै, देखाउनै नपाउने भएसि चाउचाउको खोल किन टिप्ने अब? समाजसेवा किन गर्ने अब? भृकुटीमण्डपमा भेटेर चिया सुर्क्याउँदै फलानीका कुरा कसरी गर्ने अब? अनि समातसेवी मनहरु भेट्ने नै कसरी अब?

र अन्त्यमा,

के एनसेलले फेसबुकसँग घुस खाएको हो? नत्र फेसबुक फ्रिमा दिएर ट्विटर चलाउन किन पैसा लाग्ने बनाएको हो एनसेलले? कथा, साहित्यकार, आदर्श मन, कोमल मनहरुलाई यसरी अचानक किन बन्द गरिएको हो? पहिला किन फ्रि दिएको हो र अहिले किने बन्द गरियो? उसो त यानसेल बेमान छ, जन्ड छ.. तेसैले त लोकमानदेखि  प्रचन्डसम्म उसैको बचावमा लाग्छन्। सबैलाई दिन केही न केही “रेडि” पार्ने हुनाले चुडामणी शर्माहरु पनि उसको बचन काट्न सक्दैनन्। तर सबैलाई मागेको कुरो पुऱ्याइदिने मनचिन्ते झोला यानसेलले ट्विटेहरुलाई मात्र यसरी बिचल्ली पार्न हुन्थेन। कस्ता कस्ता समितिले दिएको निर्देशन त नमान्ने यानसेललाई फकाएरै भन्न पर्ने भो – एनसेल दाइ… ट्विटर जीरो फेरी खोल्दिनुस् न… पिलिच !!!

पुनश्च : #NoTaxNoNcell भन्ने अभियान चलाउने सामाजिक संजालका “मोरल पुलिसहरुलाई” यसरी यानसेलसँग गिड्गिडाएको चित्त नपर्न सक्छ। तर हाम्रो लागि हाम्रा पाठक नै सर्वेसर्वा हुन्। मुख फोेरर भन्न नसके पनि कसलाई कति पिर पर्या छ, हाम्लाई था छ। कुरा साह्रो – भन्न गाह्रो । अत: यसलाई यानसेलसँग भन्दा पनि  “जीरो ट्विटर”  पुन: सन्चानलमा ल्याउने अभियानको रुपमा लिइदिनुहुनेछ भन्ने अपेक्षा सहित !

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.