जय नेपाल साथीहरु ! फेरी घुम्दै फिर्दै हाम्रो टोल समाजमा चुनाव आइपुगेको छ। १२ थरीमा यसअघि एमालेलाई भोट किन दिने भन्नेबारे हाम्रा प्राविधिक प्रमुखले स्पष्ट कारण दिएका थिए। चुनावका मुखाँ यसरी एउटा मात्र पार्टीलाई भोट माग्नु ठीक नभएको निष्कर्ष सहित हामीले नेपाली कांग्रेसलाई पनि भोट माग्ने विचार गरेका छौं। हुनत यसअघि पनि भोट केमा दिने भनेर एउटा लामो लेख ठोकेकै हो। तैपनि २० वर्षपछि हुन लागेको चुनावमा चुपो लागेर बस्न नि त भएन नि हैन? नेपालको सबैभन्दा पुरानो, ऐतिहासिक (माने संग्रहालयमा राख्ने बेला भएको) पार्टीलाई भोट किन दिने भन्ने बारे व्याख्या गरौं-
मियो
प्यारा साथीहरु, देशमा अहिले दाँइ चलेको छ। एकसे एक गोरुहरु छन्- बलिया बलिया। ती गोरुहरुलाई सही दिशामा घुमाउने र दाँइलाई निस्कर्षमा पुराउने काम गर्नको लागि एउटा बलियो र विश्वासिलो मियोको जरुरत छ, जुन लामो इतिहास बोकेको र अनुभवले भरिएको नेपाली कांग्रेसले मात्र पुरा गर्न सक्छ। त्यसैले प्यारा देशबासीहरु, देशमा चलिरहेको यो दाँइतन्त्रलाई सक्काउन, धान र पराल छुट्टाउनको लागि नभै नहुने मियोरुपी रुखमा मतदान गर्नुहोस् भनेर यसरी प्रारम्भिक याचना गर्दछौँ।
बुढो र भरोसा योग्य
व्बाइफ्रेन्ड जति नै हट बनाए पनि बिहे गर्ने बेला केटीहरु तालु झरेको रुप न रङ्गको केटासित बिहे गर्छन्। कारण स्पस्ट छ, सेक्सी र हट भएर जिन्दगी चल्दैन। त्यस्तै सस्तो मनोरन्जन दिने पार्टीहरुले देश चलाउन सक्दैनन्। देश चलाउने भनेको नेपाली कांग्रेसले नै हो। अरु पार्टीहरुलाई परिचयको खाँचो हुन्छ। तर नेपाली कांग्रेस जनताको मनमा बसेको छ, रगत बनेर शरिरमा बगेको छ। १०० बर्षको जहाँनिया शासन कसको नेतृत्वमा फ्याँकियो? ३० बर्षे पन्चायतलाइ घुँडा कस्ले टेकायो? अराजक र उच्छृङ्खल बन्दै गएको राजतन्त्र कस्ले फ्याँक्यो? १२ बर्षको जनता मार्ने आन्दोलनलाइ कस्ले शान्तिको बाटोमा ल्यायो? संविधान जारी कस्ले गरायो? यी कुराहरुलाई मध्यनजर गर्दै कांग्रेसको बूढो रुखमा मतदान गर्नुहोस्।
सबैको देश, सबैको मधेश
अहिले देशको एक तप्का पहिचान चाहियो भन्दै आन्दोलनमै छ। एकथरी सुकुलामुकिलाहरु काठमाडौंमा बसेर दौरासुरुवाल लाएर, कालो चश्मा ढल्काएर मधेशतिर औंलो देखाउँदै खबरदार अंगिकृते भनेर कुर्लिरहेका छन्। समथर मैदानमा बस्ने र नेपाली बोल्नै नसक्ने, सके पनि कन्दै बोल्नेहरुलाई तिमीहरु नेपाली नै हैनौ भनिरहेका छन्। उनीहरु आफूबाहेक अरुलाई अगाडि बढ्न नदिन अनेकन तिकडम् गरिरहेका छन्। तर कांग्रेस? कांग्रेस भनिरहेको छ, हामी सबै बराबर छौं, आउनुस् तराई मधेश र पहाड मिलेर अगाडि बढौं र राष्ट्रलाई संवृद्धितर्फ लैजाऊँ। अब आफै भन्नुस्, मधेशसँग मिलेर देश विकास हुन्छ कि मधेशलाई देशबाट अलग गरेर? फेरि पार्टी सभापतिलाई नै हेर्नुस्, दुर्गम सूदुरपश्चिमको प्रतिनिधित्व गर्नुहुन्छ। त्यसैले सारा देश अट्ने पार्टी भनेकै कांग्रेस मात्र हो। अहिलेलाई यत्ति बुझ्नुस्।
होनहार युवा नेता
कांग्रेस भनेपछि तपाइँको दिमागमा कस्को नाम आउँछ- बिपी, गणेशमान, किशुनजी, गिर्जाउ पछि? आँखा चिम्लेर सोच्नुस् त- हो, गगन थापा, अहिलेका स्वास्थ्य मन्त्री, देश स्वस्थ्य बनाउन दिनरात लागिपरेका कर्मयोद्धा। उता हेर्नुस्, सामाजिक सञ्जाल ट्विटरमा एकछत्र रिट्विटको खोलो बगाउन सफल, एमालेदेखि गाइमालेसम्मका कार्यकर्ताले गुटुङटुङ रिट्विट गर्ने ट्विट लेख्ने धनराज गुरुङ। अझै चाहियो? दिनरात सभ्य बोलौं, अबको राजनीति गालीमा हैन तालीमा खोजौं भनेर फलाकिरहने विश्वप्रकाश शर्मा। यत्तिको युवा जोश, उर्जा अरु पार्टीमा कहाँ? गगन थापाको बोली त झन् ओहो, हाँडीमा हालेको मकैजस्तो, गगनको बोली फरर, ताली बज्छ परर। त्यसैले पनि भन्द्या छु- भोट चैं रुखमा… नत्र।
दिगो र भरपर्दो विकास
हुनत कांग्रेसलाई भोट माग्दा अरुलाई गाली गरेको राम्रो नसुनिएला। तर यसो हेर्नुस् न, गरीब कार्यकर्ताको गाँस खोसेर लेबी लिएर बल्खु दरबार ठड्याउनेले गरीब जनताको रक्षा पो कसरी गर्लान्। हुन त भन्नलाइ लेबीको पैसाले बनेको दरबार भनिए पनि ९ महिने शासन कालतिर बनेको दरबार पहिले किन बनेन? किन लेबीलाई दरबारमा लगाउन त्यही बेला कुरियो अलि रहस्यमय नै छ। फेरी दरबार नि कस्तो बनाए, भुकम्पले ढल्ने, हेर्दा राम्रो चिटिक्कको भएर के गर्नु, सानो हल्लाइले ढलाउने, एमालेको राष्ट्रवाद नै त्यस्तो हो भनेर बुझ्न हामी कुनै आइतबार कुर्दैनौं।
हरेक बर्खायाममा पहिरो गएको सुनिन्छ। पहाडमा गाडीहरु पल्टेर मान्छे मरेको सुनिन्छ। झल्यास्स हेर्दा प्राकृतिक प्रकोप र मानविय त्रुटी हो भन्ने लाग्छ। तर बुझ्नेहरुलाई कुरा गहिरो छ, नबुझ्नेलाई हो त्यो बर्खाको पहिरो हुने। पहिला पनि पानी पर्थ्यो। पहिला पनि पहाडमा गाडीहरु गुडेकै थिए। तर किन यति विधि मान्छे मरेको सुनिन्थेन? कुरा प्रस्टै छ, सस्तो लोकप्रियताको लागि आफ्नो गाँउ आफै बनाँउ भनेर पैसा बाड्ने, अनि अवैज्ञानिक तवरले अन्धाधुन्द बर्षै पिच्छे डोजर चलाएर पहाड फोड्ने हर्कत कस्ले निम्त्यायो? गाँउमा बाटो त पुरायो तर स्बर्ग जाने बाटो खने झैं खनियो। त्यसको जिम्बेवारी कस्ले लिन पर्छ? नेपाली कांग्रेसले धनगडी डडेलधुरामा बाटो लगेको छ। पुर्वमा बिपी मार्ग भनेर पहाडमा बाटो पुराएको छ, त्यहाँ अक्कल झुक्कल हुन्छन् घटना। नत्र हेर्नुस् त्यहाँको बैज्ञानिक डिजाइन। कांग्रेस जे गर्छ परिपक्क तरिकाले गर्छ, सबैलाई मिठाइ बाँड्ने तरिकाले कालको मुखमा धकेल्दैन। कांग्रेस विकास चाहन्छ तर सस्तो र लोकप्रिय हैन, दिगो र दरिलो विकास चाहन्छ।
जनताको अधिकार नै सर्वोपरी
अहिले सबैले एक मुख लागेर प्रधानन्यायधीशमाथि लागेको महाभियोगलाई लिएर कांग्रेसको उछितो काढिरहेका छन्। ईतिहास हेर्नुस्, जनतालाई अधिकार दिलाउने कुरामा कांग्रेस कहिल्यै गलत थिएन। न त सात सालमा, न त १५ सालमा, वा त्यो राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किँदा नै। अस्ति भर्खरको घटना याद गर्नुस्। ०६२/६३ मा राजाले शासनसत्ता हातमा लिएर जनताका आधारभूत मौलिक हक अधिकार खोस्दा प्रतिगमन आधा सच्चिएको भन्यो कसले? त्यो समय याद गर्नुस्, कांग्रेसका तत्कालिन सभापति बुढा गिरिजाप्रसाद रत्नपार्कको सडकमा पलेंटी मारेर जनताको अधिकारका लागि बस्दा प्रधानमन्त्री बनिपाऊँ भनेर निवेदन बोकेर दर्बार को छिर्यो? त्यो बेला याद गर्नुस्, जुनसुकै हालतमा पनि संसद पुनर्स्थापित हुनुपर्छ भनेर गिर्जाउ एक्लै बोले। अरुले यो बुढो बहुलायो भने। तर भयो के? संसद पुनर्स्थापित भयो कि भएन? अहिलेको महाअभियोग पनि त्यस्तै हो। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो आफ्नो काम सही ढंगले गर्नुपर्छ। कांग्रेस यसमा दृढ छ।
देशको माया
देशको माया भएका कार्यकर्ताले भरिएको पार्टी हो नेपाली कांग्रेस। अब चामलमा बियाँ हुन्छ। बियाँ भयो भनेर पुरै बोरा चामल नै मिल्काउने हैन नि। हामीले ती बियाँरुपि देश र जनताका दुश्मनलाई मिल्काउन पर्छ। गोविन्दराज जोशी, खुमबहादुर खड्का जस्ता बिस्तारै पतन हुँदैछन्। जेपी गुप्ताहरु त बेपत्तै भए। तर उता हेर्नुस् त, पानी ट्याङ्कीमा पैसा लुकाउने हुन् या गृहमन्त्री हुदै नयाँ प्राडो झिकाउने हुन्, झन झन चम्किदैछन्। क्षेत्राधिकार नाघेरै भए पनि कर नतिरी अटेर गरेर बसेको एनसेललाई फोर जी दिनु भनेर पनि एमालेका युवा नेता भएको समितिले भर्खरै निर्देशन दियो। कांग्रेसले आफै बिस्तारै ठिक पार्छ खराब तत्वलाई। अरु पार्टीले जस्तो मलजल गर्दैन।
चुपचाप समाजसेवा
गाँउको मान्छे हुनुहुन्छ भने याद गर्नु भयो होला- भारी बिसाउने चौतारो, रात बिताउने पाटी पौवा, खेतमा पानी लैजाने कुलो, खानेपानीको जोहो गर्ने ट्याङ्कीहरु बनेका होलान्। त्यस्ता सामाजिक निर्माणमा अग्रपङ्क्तिमा रहेर कस्ले काम गरेको थियो याद गर्नुस् त? त्यही क्या बुढो कालो कांग्रेस भनेर चिनिएका अग्रजहरु नै लागेका थिए। तिनले चुपचाप समाजमा योगदान दिइरहे। इट्टा थपिरहे। अनि कहिले एमालेबाट त कहिले माओवादीबाट भएका बिषबमन सहि रहे, तर आफ्नो कर्तब्य बिर्सेनन्। ज्यान गयो तर आफ्नो जिम्बेवारीबाट पछि हटेनन्। हो, कांग्रेस भनेको त्यस्ताहरुको पार्टी हो।
कांग्रेसको बयान गर्न यो एउटा लेख काफी हुँदैन। बाँकी तपैंहरु आफैं मिलाएर बुझ्नुस् र रुख चिन्हमा मतदान गर्नुस्। केही तलमाथि दायाँबायाँ भए कमेन्ट गर्नुस् हामीलाई।
bhoT halau halau jasto po lagyo..
LikeLike
काङ्ग्रेसलाई बहुमत दिएर हेरौ एकपटक ।
LikeLike