‘बिहेपछि श्रीमानको थर राख्ने महिला ‘दासी’ हुन्।’ आइतबार सामाजिक सन्जाल ट्विटर र फेसबुकमा एउटा यस्तो महानवाणी प्रसारित भयो। यो भनाइमा अनेकन प्रतिक्रिया आए र सबैजसोले ‘लेखक’लाई सकेजति गाली बके। यो बहशका पक्ष विपक्षमा खासै दमदार तर्क आएनन् तर बहश जारी नै रह्यो। हुनत १२ थरीले यो बिषयमा कलम नचलाएको भए पनि हुन्थ्यो तर १२ थरीको उदेश्य नै १२ सत्ताइस कुरा गर्नेहरुका बंगारामा ताक्नु भएकोले चुप लाग्ने कुरै भएन। बहश अलि सेलाएपछि कलम चलेकोमा क्षमा।
देखे/भोगेकै कुरा हो: केही मान्छेहरु सोसल प्लेटफर्ममा मेरा वरिपरी रहेर बहश होस्, बहशको केन्द्रमा म रहुँ भन्ने रोगबाट ग्रसित छन्। सायद अंग्रेजीमा यसलाई ‘नार्सिसिस्ट’ भन्छन् क्यार। यो रोग यति डरलाग्दो हुन्छ कि यसले त्यो नार्सिस्ट व्यक्ति कति पाखण्डी (हिप्पोक्रेट) छ भन्ने पनि छर्लङ्गै देखाइदिन्छ। ‘दासी’ उपमालाई हामी पाखण्डपनको ज्वलन्त उदाहरणका रुपमा लिन सक्छौं। किन? यसबारेमा नै १२ थरीको यो लेख केन्द्रित रहने छ।
विवाहपछि श्रीमतीले किन श्रीमानको थर फेर्छन्? त्यसका फाइदा के छन्? बेफाइदा के छन्? भन्ने अर्को बहशको बिषय हुनसक्छ। गुगललाई छुस्स सोध्ने हो भने पनि इकोमनोमिक्स टाइम्सदेखि हफिङ्टन पोस्टसम्मका लिंक देखाइदिन्छ। गुगलकै भर परेर पश्चिमा देशहरुको इतिहास हेर्ने हो भने एकरुपता कायम गर्नदेखि मान्छे चिन्न सजिलो बनाउन थर (पारिवारिक नाम पनि भन्छन् क्यार) लेख्ने चलन बनेको पढ्न पाइन्छ। अझ थर परम्परालाई मिहिन ढंगले अध्ययन गर्न मन भए ग्रेगर मेन्डलको अनुवांशिक सिद्धान्त पढ्दा हुन्छ। हुनत ‘अटेन्सन’ पाउनको लागि गहन पढ्नु जरुरी हुँदैन। नत्र थर (अंग्रेजीमा सर नेम) किन राखिन्छ? कसरी यसको शुरुवात भयो? भन्ने बारे थोरै अध्ययन गर्दा ‘दासी’ देखिन्थेन कि !
यो लेख श्रीमानको थर राख्न हुने कि नहुने भन्नेतिर अहिलेलाई जाँदैन। बहश चल्दैजाँदा आवश्यक पर्यो भने त्यतातिर कलम चलाउन सक्छ १२ थरीले। तर अहिलेलाई हिप्पोक्रेसीतिरै बरालिऔं। दु:खपूर्वक लेख्नुपर्छ; श्रीमानको थर लिने महिलालाई ‘दासी’ देख्ने र पितृसत्तात्मक समाजले थोपरेको कलंक देख्ने महानुभावहरु पनि आफ्ना बाबुले दिएको थर झुण्ड्याएर गर्व गरेर हिँडेका छन्। आफूले मात्र बाउको थर गुथेर हिँडेका छैनन्, आफ्ना छोराछोरीलाई पनि त्यही बाउबाट थोपरिएको थर थोपरेका छन् र हामीले यसलाई परिवर्तन गर्नुपर्छ भनेर डंका पिटेका छन्। आफू लाइनमा बसेर अरुसँगै बाटो हग्ने र आची पुछेर घर पुगेपछि कम्प्युटर खोलेर इन्टरनेटमा ‘बाटोमा लाइनै बसेर हग्नेहरु महापापी हुन्’ भन्नेहरुलाई जनाउन नै ‘हिप्पोक्रेट’ भन्ने शब्द जन्मेको हो भन्ने १२ थरीको ठहर छ।
नत्र, परिवर्तन गर्छु, परिवर्तन गरौं भन्नेहरुले आफूले परिवर्तन भएर देखाउँदा राम्रो हुन्छ। यो दासत्वबाट मुक्ति पाउन, आफ्नी आमालाई ‘दासी’बाट छुटकारा दिलाउन १२ थरी केही सुझाव दिन चाहन्छ।
आफूले आमाको थर राख्ने
जजसलाई बाउको थर राखेकोमा ग्लानी भएको छ, पीडा छ, छटपटी छ, त्यसमा आमाको दासत्व देखिन्छ, उसले आमाको थर राखेर नागरिकता सच्याउँदा हुन्छ। त्यसोगर्दा १) तपाइँमा परिवर्तनको चाहना देखिन्छ २) तपाइँ हिप्पोक्रेट हैन भन्ने पुष्टि हुन्छ र, ३) महत्वपुर्ण कुरा, आमाले दासत्वबाट मुक्ति पाउनुहुन्छ। किनकी तपाइँले आमाको थर लेख्नको लागि आमाले नि वहाँकै थर लेख्नुपर्छ (भलै त्यो थर आमाका बाबुको हुनेछ।) यसोगर्दा तपाइँले हरेक दिन बिहान उठेर ऐना हेर्दै ‘थुक्क ! आमालाई दासी बनाएर बाउको थर बोकेर हिँडेको म’ भनेर दिनदिनै आफैलाई थुक्नुपर्दैन। मैले पितृसत्ताले लादेको बाउको थर फालिदिएँ भनेर मुसुक्क हाँस्दै आफ्नो काँध थपथपाउन पाउनुहुनेछ।
छोराछोरीलाई आमाको थर दिने
बहश आइतबार कै हो। श्रीमानको थर लिने ‘दासी’का श्रीमानहरुलाई कतिले आफ्ना छोराछोरीलाई के गरिएको छ भनेर प्रश्न पनि सोधे। जवाफ थियो; अहिले बाबुआमा दुवैको (त्यसमा पनि लेख्दा पहिला बाबुको थर लेख्ने गरेको) थर दिने र उमेर पुगेपछि उनीहरुलाई नै रोज्न दिने। श्रीमान्, १६ बर्षसम्म एउटा बच्चाको दिमागमा तपाइँ आफ्नो थरको इन्जेक्सन लगाउनुहुन्छ अनि १६ बर्ष पुगेपछि एकदिन अचानक भन्नुहुन्छ, थर छान्। हिप्पोक्रेसीको पनि ‘लिमिट’ हुन्छ कि हुँदैन श्रीमान् यो समाजमा? यत्रो परिवर्तनको चाहना राख्ने मान्छे, यत्रो दास बनाइरहेको तपाइँका बाउको थर चाहिँ तपाइँलाई किन प्यारो? तपाइँको बच्चा १६ बर्षसम्म हरेक दिन, हरेक पल तपाइँको थर बोकेर हिँडेको हुन्छ। अनि १६ बर्षपछि एकैपटक कसरी परिवर्तन हुन्छ बच्चाको दिमाग? त्यसको सट्टा तपाइँ अहिले तपाइँको बच्चालाई आमाको थर दिनुस्। १६ बर्षसम्म बच्चा आमाको थरमा हुर्कियोस्। सबैतिर त्यही पढोस्, लेखोस्। अनि छान्न दिम् न १६ बर्षपछि, कुन थर लिने भनेर।
बकम्फुस्से टपिक
जब मानिसमा चेतना सकिन्छ, र पनि मै जान्ने मै सुन्ने भन्ने अहमले डेरा जमाउँछ, त्यसपछि जन्म हुने भनेको पाखण्ड हो। पाखण्डीलाई आफु ठुलो हुनु नै सर्बोपरि हुन्छ। अरुलाई थुक्नु, अरुलाई गाली बेइज्जेती गर्नु नै उस्को कर्म बन्न जान्छ। त्यस्ता पाखण्डीहरु जस्ले न आफ्नो रिणको भाखा सम्झिन्छन् न आफ्नो समाजप्रतिको दायित्व र कर्तब्य सम्झिन्छन्। आफुलाई ब्रह्मा मुख ठान्नेहरुलाई वेद हैन गाली बकिरहेका हुन्छन्। १२ थरी यो लेख लेखिरहँदा लज्जित छ। जुन बिषयले बहसको लागि कुनै स्थान पाउनु हुँदैन त्यसमा १२ थरीले आफ्नो समय खर्च गरेको छ। यो लेखिरहदाँ १२थरीका पंक्तिकारहरु आफुलाई लज्जित ठानिरहेका छन्।
थरलाई गौरवको विषय बनाउनु हुँदैन। यसलाई बहसको बिषय पनि बनाउन हुँदैन। न थरले दासत्वको प्रतिनिधित्व गर्दछ न त थरले श्रीमानप्रति आस्थाको बीज रोप्दछ। श्रीमान श्रीमतीमा हुनु पर्ने भनेको माया, विश्वास र एक अर्काप्रतिको सम्मान हो। अझ भन्नु पर्दा श्रीमान वा श्रीमती जस्ता/जस्ती छन् उनलाई त्यसरी नै स्वीकार्नु पर्छ। जब जोडीमा यी कुराहरु हुदैनन्, तब अहम पैदा हुन्छ। एउटी पढे लेखेकी महिलाले श्रीमानको थर ग्रहण गरिन् भने तिनी दास हुँदिनन्, उनको अर्थमा उनीले श्रीमानप्रति आस्था ब्यक्त गरेको पनि हुन सक्छ। त्यसको साथै तिनै महिलाले थर ग्रहण गरिनन् भन्दैमा उनीमा श्रीमानप्रति आस्था नहुनु, आफुमा घमन्ड हुनु वा आफ्नो थरमा गर्व हुनु पनि नहुन सक्छ। कतिपय अवस्थामा प्राविधिक कठिनाइहरुसँग जुझ्नु भन्दा लेखिआएको थर नै लेखिदिउँ भन्ने हुन सक्छ, त्यहाँ सहजताको कुरा आउँछ।
र अन्त्यमा,
समयसँगै कतिपय कुराहरु फेरिँदै जान्छन्। त्यसको लागि कोही हिप्पोक्रेट वा नार्सिस्टहरुको जरुरी हुँदैन। संसारभरी नै हेर्ने हो भने पनि श्रीमानकै थर बोकेका महिलावादीहरु टन्नै देखिन्छन्। शक्तिशाली पोस्टमा पुगेका, महिला समानताका लागि अनेकौं योगदान गरेका महिलाहरु श्रीमानको थरमा टन्न भेटिन्छन्। अहिले त झन् समलीङ्गी बिबाह पनि हुनथालेका छन्। यस्तोमा थर के गर्ने भन्ने पनि बहश भइरहेका छन्। अनि बिहेपछि श्रीमतीको थर लिनेहरुको संख्या पनि बढ्दै गएको छ भनिन्छ। नेपालमा यस्तो भएको छ कि छैन भन्ने तथ्याङ्क अझै फेला पर्दैनन्। खासगरी दक्षिण भारत र श्रीलंकामा थर छोडेर छोराछोरीको नाममा बाबुको नाम राख्ने चलन पनि छ क्यारे। नेपालमै पनि यस्तो फेला पार्न सकिएला। बरु श्रीमानको थर लिने महिला दासी भएजस्तै श्रीमतीको थर लिने पुरुष र बाउको नाम लिने छोराछोरी दासी हुन्छ कि हुँदैन भन्नेबारे पनि ‘नार्सिस्ट’हरुले आफ्नो धारणा बनाउँदै गर्नुहोला।
यसबारेमा तपाइँलाई केही भन्न मन भए ट्विटर फेसबुकमा मात्र किन, उ त्याँ तल रहेको कमेन्ट बक्समा लेख्नुभएपनि हुन्छ।
जदौ।