सेक्सुअल ह्यारेस्मेन्ट – अपराधी व्यक्ति कि पेशाकर्मी सबै?


पन्ध्र बर्षमा हिँड्दै गरेको उमेर थियो। ८ कक्षा पास गरेर ९ मा भर्खरै गएको। स्वर धोद्रो हुन सुरु गरेको, गोप्य ठाउँमा दुइचार वटा रौँ पनि आइसकेका थिए। उही उमेरको बुधे स्कूल जाँदैन’थ्यो। स्कूल नै नगएपनि उ मेरो घर टोलको दौँतरी थियो अर्थात् हरेक उल्याइमा साथ र नेतृत्व प्रदान गर्ने सहकर्मी।

म कुवामा पानी लिन जान्थेँ। एकदिन कुवामा पानी लिन जाँदा त्यही ‘जिग्री’ बुधे र छिमेककी १० कक्षामा पढ्ने एउटी युवती थिए। साँझ साँझ पर्न लागेको समय ‘थ्यो। युवती कुवामा पानी भर्दै थिई। बुधे पनि पानी भर्ने निहुँले नजिकै बसेको रहेछ। म पनि पानी उभाउने भाँडो लिएर नजिकै गएँ र गाग्रीमा पानी भर्न थालेँ।

उमेर चञ्चले थियो। अनि कुवामा मात्र तीनजना, दुईजना कुरकुरे युवा र एउटी कुरकुरे युवती। ती युवती स्कूलमा हामीभन्दा सिनियर थिइन्। अब कुरा बुझ्नु भयो होला। बुधे र मैले पालैपालो त्यो केटीका स्तन समाती दियौँ। पहिले बुधेले नै सुरु गरेको हो। उसले पहिले नै मलाई सुनाएको थ्यो, यसो गर्‍यो भने मजा हुन्छ भनेर। तर मलाई त केही त्यस्तो उत्पातै मज्जा चाहिँ लागेन। तर केटी रोइ र पख् तलाइँ अब म के गर्छु भन्दै गाग्री बोकेर हिँडी।

भोलिपल्ट स्कूलबाट फर्किँदा बाउ आँगनमा उभिरहेका थिए। यता आइज त भने। नजिकै गएँ। बाउदेखि उत्पातै डर लाग्ने त हैन, तर डराइन्थ्यो। बुढाले कडा गरि बोलाका पनि हैनन्, त्यसैले आज डराउन पर्ने उस्तो कारण थिएन। नजिकै उभिएर हातैमा बोकेका किताब यसो मिलाए जस्तो गर्न थालेँ।

‘हिँजो बेलुका पानी लिन कति बेला गएको थिइस्?’ भनेर बाउले सिधा प्रश्न गरे। मैले जवाफ दिएँ। ‘अनि बुधे पनि ‘थ्यो?’ भनेर सोधे। मेरो मनमा जल्का चिसो पसिसकेको ‘थ्यो। अलि अलि ओठ काम्न थालिसकेका थिए। ‘अँ ‘थ्यो’ भनेँ। अनि ‘फलानाकी छोरी पनि गएकि थिई पानी भर्न?’ भनेर सोधे। अब भने मेरो सातो उँड्यो। अझ भनुम् न ममाथि एउटा चट्टानको पहाड खसेको थियो।

डराइडराई घोसेमुन्टो लगाएर थुरथुर काँम्दै ‘अँ थिई’ भनेँ। बाउले अझ ओजिलो आवाजमा ‘अनि तिमेरुले के गरेऊ तेस्लाई?’ सोध्दा मैले लगभग कट्टु मुतिसकेको थिएँ।यति सोद्धा पनि बाउले स्वर उँचो पारेका थिएनन्। सँधै जस्तो कडा तर सामान्य बोलीमा सोध्दै थिए सिधा सिधा प्रश्न।

यता मेरा हातका किताब खस्नै लागिसकेका थिए। खुट्टाले भर दिन छाडेका थिए। थुचुक्क बस्न पाए हुन्थ्यो जस्तो भैसकेको ‘थ्यो। ‘मैले त केही गरेको छैन’ मात्रै भनेको थिएँ, बाउ अलि अघि सरेको चाहिँ थाहा छ, आकाशमा ‘चण्याङ्” गरे जस्तो भा’थ्यो, त्यसपछि केही थाहा छैन। होसमा आउँदा घरको आँटीमा आमाले हम्किदै थिइन्। बाउले कति थप्पड हाने, भूइँमा लडाएर पनि पिटे कि, अहँ मलाई केही थाहा छैन।

सँधैजसो अनेक बद्मासीमा बाउको गालीमा छोरालाई जोगाउने आमाले यो घटनामा एक वचन केही भनिनन्। बेलुका दुवैपट्टि गालामा तेल तताएर लगाइदिइन् र मालिस गर्दिइन्। गाला बारुलाले टोकेजस्ता भएका रहेछन्। भात खा’ भन्दा पनि खान मिल्ने स्थिति थिएन।मुख खोल्ने सक्ने अवस्था मै थिइनँ म। हनहनी ज्वरो आएको ‘थ्यो। गाला यसरी पोलेको थियो कि, कुरै नगरम्। समग्रमा मैले तीन त्रिलोक, चौध भुवन देखेको थिएँ वा अझ भनौं, बाउले बाउको बिहे देखाइदिएका थिए।

अर्को दिन उज्यालोमा ऐना हेर्दा दुइपट्टि गरेर गालामा बाउका १० का १० वटा औँलाका छाप रहेछन्। अरु त खास ठूलो दुर्घटना भएको रहेनछ। स्याला बुधेको लहैलहैमा लागेर १० सेकेन्ड पनि स्तन समाइएको थिएन होला, तर त्यसको बदलामा १० वटा औँलाको छाप बसेछन् गालामा भन्ने निस्कर्ष निकालेँ, मनमनै।

त्यो हप्ताभरी नै म स्कूल गइनँ। घरमा यति चीउरा भेटियो। अब स्कूलमा हेडमास्टरले कतिवटा सिमलीका लठ्ठी ढाडमा बर्साउने हुन्, सम्झेरै ज्वरो बढ्थ्यो। कहिले त पढ्न छाडौँ कि जस्तो नि हुन्थ्यो। घर छाडेर भागौँ कि जस्तो नि हुन्थ्यो। घरमा हप्ताभरी मसँग कसैले दोहोरो कुरा गरेनन्। एकातिर घरमा कोही कुरा नगर्ने, अर्कातिर स्कूल गएपछि भोग्नुपर्ने अर्को दुर्घटनाको डर। मनमा एकैथोपो चैन थिएन। घरमा भात खायो, सुत्यो मात्र भएको थियो।

अर्को हप्तासम्म त सुन्निएका गाला सुकिसकेका थिए। बिहान बाउले उही सँधैको जस्तो सामान्य स्वरमा आदेश दिए, ‘अब स्कूल जान छाडिहालिस्। आज डाँडाबारीमा जोत्नु छ, हली बोलाउदिँन। तैँले नै जोत्नु। गोरुलाई घाँस पिठो राम्रो खुवाएस् अहिलै नै। अनि हलो र गोरु लिएर आएस् माथि।’

अहिलेसम्म जति उल्याइँ गरे पनि गाली गर्थे तर बाउले यसरी कहिल्यै झापड नै त हानेका थिएनन्। योपाली चाहिँ १० औंलाका छाप मेटिन नपाउँदै बाउले हातै नचलाई मुखले दोस्रोपटक झापड हाने। ‘प्रष्ट आदेश थियो, तँ अब घरको हली भइस्’ भन्ने। हलो जोत्नु पर्ने आदेशपछि मेरो आउन भर्खर फर्किन खोज्दै गरेको सातो फेरि उँड्यो। बाउको निर्णय प्रष्ट थियो, ‘कि त स्कूल जा, नत्र हलो जोत्।’

बाउ आदेश दिएर हिँडिहाले। हल्लो जोत्न जाने निर्णय नगरेपनि मैले उठेर गोरुलाई घाँस पिठो चाहिँ खुवाइ दिएँ। अनि मकैको च्याख्लाको भात मोहीसँग खाएर ९ बजेतिर नै स्कूल टाप कसेँ। अब जे पर्छ पर्छ, बरु एक दिन हेड्मास्टरका सिमलीका सिर्काना थाप्ने हो, तर हलो त यत्रो नि जोतिन्नँ। दिन दिनै त पक्कै पनि नगोद्लान् नि भन्ने लाग्यो। मनमा डर बोकेर, आधा सातो लिएर स्कूल गएँ।

तर स्कूलमा हेडमास्टरले केही गरेनन्। सँधै जस्तो नियमित पढाइ भयो। किन अस्तितिर नआएको भनेर सरहरुले सोध्दा ज्वरो आएर भनेँ। अरु केही नयाँ उत्पात भएन। तर मनमनै उपद्रो ज्वारभाटा चलिरहेको ‘थ्यो। त्यो केटीले स्कूलमा हेडमास्टरलाई त्यो घटना भनेकी होली, पक्खै समय मिलाएर गोद्छन् भन्ने डरले छटपटि कम भएकै थिएन। अझ त्यो केटी पनि स्कूल आएकी रहिछे। म त्यसले देख्ली भनेर छलिएर हिँड्थेँ। त्यो केटीको मुखमा हेर्ने हिम्मत कहिले आएन। अर्को बर्ष एसएलसी दिने बित्तिकै रिजल्ट नआइ उसको बिहे भयो। एसएलसी फेल भै भने कुनै केटाले बिहे गर्दैनन् केटीलाई भनिन्थ्यो गाउँमा। त्यही भएर पनि धेरैको पढ्दा पढ्दै बिहे गर्दिन्थे। उसले पनि एसएलसी पास गर्न सकिन। यो सामान्य नै ‘थ्यो गाउँमा।

अर्को बर्ष म पनि एसएलसी पास भएँ, गतिलो डिभिजन नआए पनि।अनि पढ्न शहरतिर लागेँ। तर आइए पढुन्जेल कक्षामा कहिले कुनै केटीसँग दोहोरो बोलिएन भन्दापनि हुन्छ। एक किसिमको मानसिक असर नै परेको जस्तो, केटी देख्यो कि त्यही घरको आँगनमा भेटेको बाउको चड्कन सम्झिन पुग्थेँ। बोल्न मन भएर पनि बोल्न सक्दिनथेँ।

बिए पढ्न थालेपछि म केटीको मामलामा अलि चनाखो हुनथालेँ। उमेर पनि छिप्पिएर होला। शरीरको हर्मोन अलि कडै बढेर आउन थालेर पनि होला। केटीहरु देख्दा कुरा गरौँ गरौँ लाग्ने हुन थालेको ‘थ्यो। समग्रमा त्यो चड्कन बिर्सदै गएको थिएँ भन्दा हुन्छ। सँगैको क्लासमा एउटी निकै मन पर्थ्यो। तर उसको अर्को ब्वाइ फ्रेन्ड ‘थ्यो। ब्वाइ फ्रेण्ड भएकी केटीसँग बोलेर पनि के फाइदा भन्ने लाग्थ्यो।

तर ३-४ महिना पुग्दा नपुग्दै उसले त्यो केटो छाड्दिइ रे भन्ने हल्ला फैलियो। हो रहेछ। मौका यही हो, चोट लागेकाबेला बेटाडिन बन्नुपर्ला भन्ने सोच्दै थिएँ। तर केटी बिजुली रै’छ। फास्ट। केही दिनपछि त मोरी अर्को मेरै मिल्ने साथीसँग हिँड्न थालेको देखेँ। मनमनै भनेँ, ज्या, गोल त अर्कैले हानिसकेछ। म मुला ट्वाँ।

कथा यहाँनिर सकिँदैन। कुरा के भैदियो भने, मेरो साथीसँग हिँड्न थालेको ५-६ महिनामा तिनीहरुको पनि टुट्यो रे भन्ने गाइँगुइँ सुनियो। ओहो, बेटाडिन बनिन्छ कि क्याहो भन्ने लागेर अलि चासो राखियो। कुरो त हो रहेछ। केटीले नै छाडेकी रहिछे। त्यसपछि त कस्तो केटा घुमाउने केटी रहिछे भनेर क्लासमा केटाहरुको बीचमा उत्पात कुरा हुन थाल्यो। तर मलाई यस्ता गफले केही फरक पारिरहेको थिएन। मलाई किन किन त्यही केटी मन पर्थ्यो भित्रैदेखि।

त्यो केटी उत्पातै राम्री पनि थिइन। सामान्य नै थिई। बरु अरु एक दुइ जना उ भन्दा राम्री थिए क्लासमा। तर उसको कन्फिडेन्सले बोल्ने शैली, कक्षामा पनि सरहरुसँग कस्तो नधकाई प्रश्न सोध्ने। कसैसँग झुक्ने भन्ने त कुरै थिएन उसको। मलाई उसको यही कडा स्वभाव औधी मन पर्ने। तर केटाहरु उसलाई bad girl भन्थे। मलाइ भने त्यही ब्याड गर्ल बाहेक अरु मन नै नपर्ने।

समय आफ्नै रफ्तारमा चलिरहेको थियो, त्योभन्दा रफ्तार मेरो मनमा चलिरहेको थियो। त्यो केटीसँग नजिक हुने सही मौकाको पर्खाइमा थिएँ म। संयोगले एकदिन कलेजबाट कोठा जान बाइक निकाल्दै थिएँ, त्यही बाटो उ पनि गेट बाहिर निस्कन लागेको देखेँ। एक्लै थिई। आ, जे पर्ला पर्ला भनेर हिम्मत गरेर बाइकमा पुर्‍याइदिने अफर गरेँ, ‘तँ पनि निस्कन लागेकि हो? सँगै जाने भए आइज, म पुर्‍याइदिन्छु’ भनेँ। हामी क्लासमा लगभग सबैजसो तँ नै भन्थ्यौँ एक अर्कालाई।

कताबाट जाने भनेर रुट कन्फर्म गरेपछि उ सँगै जाने भई। मैले त्यही दिन पर्खेर बसेको थिएँ। खासमा यो बाइकको लिफ्टले आइस ब्रेक गर्‍यो भनेर बुझौं न। कलेजको गेटबाट शुरुभएको हाम्रो बाइक यात्रा धेरै चल्यो। बर्ष, डेढ बर्ष हुँदै बिए सकियो। तर हाम्रो बाइक यात्रा सकिएन। क्लासमा यति लामो समय मलाई उसले नछाडेको देखेर सबै केटाहरु अचम्म मान्थे, मसँग त चुम्बक नै छ कि क्याहो भनेर।

हामी घुम्न थालेको लामोसमय भइसकेको थियो। तर पनि मैले नै देखेको उसका अघिल्ला दुई अफेयरबारे कहिले सोधेको थिइनँ। र, उसले पनि मेरो विगतबारे सोधेकी थिइन। यसरी वर्तमानमा अचम्मसँग हामी घुम्दै थियौँ। वर्तमानमै रमाइरहेकाबेला इतिहास कसले उधिनेर बसोस्।

एकपटक कलेज टुरबाट फर्किदै गर्दाको कुरो हो। टुरको अन्तिम रात पोखरामा बसिएको ‘थ्यो। बेलुका घुम्न तालको किनारतिर गयौँ र एकान्तमा बसेका थियौँ, ता कि कसैले डिस्टर्ब नगरुन्। यसरी त पहिले पनि अनगिन्ति बसिएको थियो। कुनै नौलो कुरो थिएन। गफ गर्दै जाँदा उसले भनी, ‘तँ त अरु केटा जस्तो रहेनछस् यार। कस्तो फरक लाग्यो मलाई त।’ उसले अरु केटाको केसँग तुलना गरेकी हो, म एकछिन छक्क परेँ तर तत्काल केही सोधिनँ। केहीबेरपछि सोधेँ, ‘किन? के फरक लाग्यो? म रमाइलो लागेन भने भन्।’

त्यसपछि उसले पहिलेका तीनवटा ब्वाइ फ्रेन्ड किन छाडेकी हो भनेर सुनाई (एउटा ब्वाई फ्रेन्ड आइए पढ्दै बनाएकी भनेर पनि त्यहीँ सुनाई) म छक्क परेँ, एक किसिमको अनौठो फिलिङ् भयो। अझ, एककिसिमले आफैंप्रति लाज लाग्यो। अरु केटाहरुले के गर्थे भन्ने सुनेपछि मलाई केटा हुनुमा लाज लाग्यो। केटाहरुले गर्ने हर्कत सुनेर त्यही हर्कतमा लाज लाग्यो। लाज लाग्दालाग्दै पनि मैले केही बुझिनँ। म आफैं कसरी यस्तो भएँ, वा अरुभन्दा किन फरक भएँ भनेर पनि बुझिनँ।

केटाहरु घुम्न कतै जाने बित्तिकै सिधै मुखमा मुख र छातीमा हात पुर्‍याउने रहेछन्। एकदुई महिना पनि भएको छैन सँगै घुम्न थालेको, तर सिधै छातीमा हात। उसलाई असह्य हुने रहेछ, तत्काल झापड हानेर हिँड्दिरहिछे। तर हामी ८-९ महिनासम्म घुम्दा पनि कहिलै मुख जोड्ने चेस्टा गरिनँ मैले, हात लम्काउने काम गरिनँ। सँगै टाँसिएरै बसे पनि, एक अर्काको काखमा टाउको राखेरै सुते पनि त्यहाँभन्दा अघि बढ्ने काम मैले कहिले गरेको थिइनँ र उसले पनि ‘इन्भाइट’ गरेकी थिइन।

यतिबेला म सोच्छु, मैले किन त्यसो गरिनँ होला भने सायद ममा अझै पनि गालामा बाउको झापडको डामको चस्का भएर हो कि जस्तो लाग्यो। नत्र, कहिलै मनै नभएको पनि हैन ‘थ्यो। मैले बुधेको सिको गरेर गरेको त्यो बदमासी र ….कि छोरी रुँदै पानीको गाग्री बोकेर हिँडेको झल्को फेरि आयो। मलाई असह्य पीडा भयो। छटपटी बढ्यो। मलाई पसिना आउलाजस्तो भयो। पानी पिऊँ पिऊँ जस्तो भएर आयो।

मैले उसैसँग मेरो विगतको त्यो नमिठो घटना सुनाउने निर्णय गरेँ। अनि अन्तिममा भनेँ, ‘तैँले सोचेजस्तो सायद म आफैंमा उस्तो सोझो, फरक वा असल केही छैन होला। तर, मलाइ बाउको त्यो झापडले अहिलेसम्म रोकेको होला भनेँ। आफ्नो सबै पीडा सुनाएँ उसलाई।

उसले के प्रतिकृया देखाउली भनेर म चिन्तित पनि थिएँ। तर त्योभन्दा बढी मलाई बर्षौँ गुम्सिएर रहेको आफ्नो पीडा कम्तिमा कसैलाई खुलेर सुनाउँदा मन हल्का थियो। मेरो त्यो ‘हर्कत’ सुनेर उसले केही भनिन। निकैबेर यसै टोलाएर बसी। अनि अचानक मलाई बेस्कन अङ्गालोमा कसी। त्यसपछि हामी बोलेनौँ। उसले नै ओठ चलाउन सुरु गरी र हाम्रा ओठहरु मात्रै आपसमा बोले। सँगै घुम्न थालेको त्यो ९ महिनापछि उसले नै एउटा अघोषित रुपमा रहेको सीमा नाघेर अघि बढी। त्यसपछि सबै सुनाउन मिल्दैन। आफै मिलाएर बुझ्दा हुन्छ।

र, अब कथालाई केही बर्ष फास्ट फर्वाड गरौँ।

हाम्रो सम्बन्ध चलिरहेकै थियो। यत्तिकैमा उसको ठुलो देश जाने भिषा लाग्यो। मेरो लागेन। तर उ जाँदै गर्ने, र म अर्कोपटक फेरि एप्लाई गर्ने कुरो भयो। उ गई। मेरो दोस्रोपटक पनि भिषा लागेन। स्याला, सम्बन्धमा सिधै फलानो देशको राजदूतावास भिलेन भएर निस्कियो। निरास त अवस्य नै भैयौ। स्वभाविक रुपमा नै उ गएपछि उसको पढाइ अनि टाइमको फरकले कुराकानी आफैं घट्न थाल्यो, दिन दिनै, दिन बिराएर, हप्तामा, महिनामा र आक्कल झुक्कल हुँदै गफको समय घट्दै गयो।

दुई बर्ष बितेपछि अब त आउली फर्केर भन्ने थियो मेरो मनमा। तर एकैपटक मेसेज आयो, ‘तिमी के सल्लाह दिन्छौ? म त अझै केही बर्ष नफर्किने भएँ। कि तिमी आऊ यतै, कि मलाई सल्लाह देऊ।’ सँधै तँ भनेरै सम्बोधन गर्नेले पहिलोपटक तिमी भनेर सम्बोधन गरेकी थिई। अनि त्यो सम्बोधनमा आफ्नो बाटो फरक रोज्न लागेको र मेरो अनुमति मागेको प्रष्ट नै थियो। मैले त्यही बुझेँ।

मैले अरु केही भनिनँ, ‘तपाइँले संसार देख्नु भएको छ, सक्षम र आत्मनिर्भर हुनुहुन्छ। मेरो सल्लाह त्यति उपयोगी के होला र तपाइँको लागि!’ मैले पनि एक स्टेप बढेर तपाइँको सम्बोधन गरेँ। अरु धेरै कुरा केही भएन। सौहार्द रुपमा कुराकानी सकियो। यहाँ कुराकानी मात्र सकिएको थिएन, कुराकानी सँगै सम्बन्ध सकिएको थियो। नैतिक बन्धनको सीमा नाघेर मलाई त्यो कुवामा पानी भर्दाको दिनको हर्कतबाट बाहिर निकालेर अर्को संसार देखाउने केटीसँगको मेरो नाता सकिएको थियो। मलाई त्यो आत्मग्लानीबाट छुट्कारा दिलाउने ‘ब्याड गर्ल’सँग जीवन बिताउने एउटा योजना सकिएको थियो।

त्यसको अर्को हप्ता नै उसले दुईजनाको फोटो सार्वजनिक गरी। मलाई मेरो त्यस्तो दुईजनाको फोटो सार्वजनिक गर्न झन्डै ५ महिना लाग्यो। त्यसमा पनि उनै झापड हान्ने बाउले जुत्ता फाटुन्जेल हिड्न परो। नालायक म।त्यसपछि दुवैको आफ्नो आफ्नो अलग यात्रा सुरु भयो। यसै बीचमा केही महिना अघि एउटा मेसेज आयो। सारांशमा लेखिएको ‘थ्यो, ‘म खुसी नै छु भन्न पर्छ, तर औधी खुसी चाहिँ नेपालमै छाडेर आएँछु।’ त्यसपछि लगत्तै मैले फेसबुक सँधैको लागि बन्द गरेँ र भाइबर नम्बर परिवर्तन गरेर टुइटर सुरु गरेको छु।

मलाई सँधै भित्रभित्रै एउटै कुराको खुल्दुली भैरहन्थ्यो। बाउलाई त्योबेला कसले कुरा लगाइ दियो होला? बाउले कसरी थाहा पाए? त्यसको गुदी कुरो आइए पढिसकेर दशैँमा घर गएको बेला उही बुधेले सुनाएको थियो।

कुरो के भएछ भने केटीले अर्को बिहान घाँस जाँदा मेरी दिदीसँग अघिल्लो साँझमा मेरो र बुधेको बदमासी सुनाइदिछे। दिदी र उ सँगै पढ्थे। दिदीले घरमा आएर आमालाई सुनाइछे। हामी स्कूल हिँडेपछि आमाले बाउलाई सुनाइछिन्। अनि स्कूलबाट फर्किने बित्तिकै बाउले मलाई दुइतिर गालामा १० औँलाको छाप बसाइ दिए। तर बुधे स्कूल जान नपर्ने। दिउँसो हाम्रा बाउआमाको कुरो सुनेको थियो रे, बाउ जङ्गिएका थिए रे। मैले बेलुका गोदाइ खान सक्ने कुरो उसले शंका गरेको ‘थ्यो रे। त्यही भएर उसले पनि गोदाई भेट्ने ठानेर उ मावलतिर चम्पट हानेछ। उ बच्यो। मैले जिन्दगीभरको शिक्षा पाएँ।

त्यसैले म के भन्न चाहन्छु भने, बदमासीको बारे प्रतिकार गर्न र खुलेर बोल्न सिकौँ। कम्तीमा अहिलेको खुल्ला समाजमा आफु माथिको हिंसा सहन हुन्नँ। तर बोल्ने नाममा समग्र पुरुष वा समग्र पेशाकर्मीलाई शंकाको घेरामा पार्ने काम पनि नगरौँ। सज्जनले शीर झुकाउन पर्‍यो भने कसले बोल्ने? पढेर डिग्री पास गर्दैमा, कुनै कथा र लेख पत्रिकामा पढ्दैमा सबै मानिसको चरित्र फेरिन्छ भन्ने हुन्नँ। त्यसैले नै अनेक कानुन, पुलीस, अदालत र जेल बनेका हुन्। अपराधीलाई सजाय दिन पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा, अपराधी व्यक्ति हुन्छ। कुनै सिंगो समूदाय र कुनै सिंगो पेशाकर्मी अपराधी हुँदैन। कसैले गरेको गल्तीका वा अपराधका बारे बोल्दा व्यक्तिका बारे बोलौं, पेशाकर्मका बारे हैन।

लेखकलाई ट्वीटरमा फलो गर्नको लागी ट्वीटर खाता @raman8848 रहेको छ । यस लेख प्रति
ब्यक्तीगत रुपमा कुनै प्रतिकृया दिन मन भए shiva.bhatta321@gmail.com मा ईमेल पनि पठाउनु सक्नु हुन्छ यद्दपी उहाँको नाम शिव भट्ट हो भनेर हामी ठोकुवा गर्दैनौ किन भने हो कि हैन हामीलाई पनि थाहा छैन

पछिल्लो पटक उहाँले १२ थरी मेकअप शिर्षकमा लेख लेख्नु भएको थियो ।

One thought on “सेक्सुअल ह्यारेस्मेन्ट – अपराधी व्यक्ति कि पेशाकर्मी सबै?

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.