स्थापनाको छोटो समयमै हामीले हजारौं पाठकहरुको माया पाएका छौं। हामीले आफुलाई व्यक्तिमा हैन एउटा विचारमा बाँधेका छौं। यो आँधीको विचार हो- एक मात्र लक्ष्य- समाजमा रहेका द्वैध प्रवृत्तिविरुद्धको प्रहार। हामीले थोरै समयमै धेरैका बंगारा झार्न सफल भएको ठानेका छौं तर यो त सुरुवात मात्रै हो।
यी विभिन्न प्रवृत्तिको बंगारा झार्ने क्रममा हामीलाई केही बंगारा झार्न सक्ने हिम्मतिला मान्छेको आवश्यकता परेको छ।
काम के हो?
१२ थरी मानव स्रोत सँसाधन बिभागले केही मान्छेहरु आवश्यक रहेको औंल्याएको छ- टिप्पणिकारको रुपमा। यसमा तपाइँले समाजमा रहेका विभिन्न प्रवृत्तिविरुद्ध आगो ओकल्नु पर्नेछ, अर्थात् बंगारा झार्नुपर्नेछ। एउटा कुरा याद गर्नुस्, बंगारा तपाइँकै पनि झर्छन् यहाँ। कुन क्षेत्र, कुन विषय त्यो तपाइँनै छान्नुस्।
कसले एप्लाई गर्ने?
१२ थरीका केही कानुन छन्। ती कानुनको अक्षरस: पालना गर्नु सबैको कर्तव्य र जिम्मेवारी दुवै हो। तपाइँसँग यी क्षमता छन् भने एप्लाई गर्न सक्नुहुनेछ:
- प्रथमत: तपाइँले आफ्नो परिचय लुकाउन सक्नुपर्नेछ। १२ थरी कसको हो भनेर स्वयं १२ थरीका संचालकलाई थाहा छैन। तपाइँ आफू लुकेर प्रहार गर्न सक्षम हुनुहुन्छ भने आउनुस्। गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डसँग घुम्न जाँदा, श्रीमान वा श्रीमतीसँग अन्तरंग कुरा गर्दा पनि तपाइँ १२ थरीमा भएको पत्तो हुनुहुँदैन।
- मुखियाले चामलको भात खान नदिएको, मुखियाको छोराले तपाइँले मन पराएको केटा वा केटीमाथि गिद्धे दृष्ट्रि लाएको रीसले मुखिया र मुखियाको छोरालाई तह लगाउन माओवादीमा प्रवेश गरेझैं तपाइँको लेख नछापिएको, तपाइँकी गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्ड अर्कोले उम्काइदेको जस्ता कारणले यता आएर बंगारा झार्ने योजना भए तपाइँ एप्लाई नगर्नुस्।
- तपाइँसँग बंगारा झार्ने निशाना अर्जुनको जस्तो तीर चलाउने क्षमता छ भने तपाइँ १२ थरीका लागि ठीक हुनुन्छ।
- तपाइँ समाजमा रहेका जुनसुकै सिन्डिकेटका विरुद्ध खुलेर बोल्न वा लेख्न सक्नुहुन्छ, ज्यू ज्यू, हजुर, हजुर गर्न सक्नुहुन्छ भने १२ थरी तपाइँका लागि हो।
- स्वयंसेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने सोच छ भने।
कसले एप्लाई नगर्ने?
कहिलेकाहीं अलि बढी क्षमतावान मान्छे पनि आवश्यक पर्दैनन्। तपाइँसँग यी क्षमता छन् भने कृपया तपाइँ एप्लाई नगर्नुहोला:
- तपाइँ ‘जब’ लेख्दा ‘जव’ लेख्नुहुन्छ भने
- तपाइँको भाषामा सीताले ‘भात खान्छ’ र रामले ‘भात खान्छिन्’ भने
तपाइँको किल्किलेमा हाड (रुद्रघण्टी) छैन भने- ‘फुल’ र ‘फूल’ को फरक थाहा छैन भने
- १२ थरीमा छिरेर यसमा को को छन् भन्ने पत्ता लगाउँछु भन्ने सोच छ भने
- १२ थरीको जागिर देखाएर बिहे गर्ने सोच्नुभएको छ भने
सेवा/सुविधा
१२ थरी एउटा स्वयंसेवी पोर्टल हो। यो कुनै डेन्टल क्लिनिक हैन, जसले बंगारा झारेको पैसा देओस्। यसका लगानीकर्ता को हुन्? तिनले कहाँ कमाएको पैसा यहाँ लगाएका छन् भन्ने स्वयं लगानीकर्तालाई नै थाहा छैन। त्यसैले यहाँबाट तपाइँले एकैसुको पैसो पाउनुहुन्नँ। साथमा तपाइँले परेको बेला १२ थरी डोमेन र सर्भरको खर्च दामासाहीले तिर्नुपर्ने हुनसक्छ।
- तपाइँले साइटको ब्याक इन्डमा एक्सेस पाउनुहुन्नँ
- संवाद गर्नुपरेको अवस्थामा तपाइँसँग १२ थरीले कुरा गर्छ, त्यसका सदस्य तपाइँसँग बोल्दैनन्।
- कहिलेकाहीं अचानक तपाइँलाई १२ थरीका टिप्पणिकार वा लगानीकर्ताले बाटोमा भेटे भने तपाइँले खाएको चियाको पैसा तिर्दिन्छन्। भातको आश नगर्नुहोला।
- १२ थरीको सामाजिक सन्जालको खातामा तपाइँको एक्सेस हुनेछैन।
- तपाइँले आफ्ना लेख १२ थरीको इमेल ठेगानामा पठाउनु पर्नेछ।
माथिको क्षमता तपाइँसँग छन् र १२ थरीको सेवा सुविधासँग तपाइँ मन्जुर हुनुहुन्छ भने ३ दिनभित्र १२ थरी, ह्युमन रिसोर्स म्यानेजरलाई सम्बोधन गरेर आफूले यसअघि बंगारा खुस्काएको प्रमाणपत्रको प्रतिलिपी १ थान र गाइको बारे २५० शब्दको निबन्ध सहित 12tharinews@gmail.com मा निवेदन पठाउनुहोला। ३ महिना तपाइँको परीक्षणकाल हुनेछ।