हाम्रो संस्कृति साँच्चिकै अनुपम छ। सर्पदेखि काग, कुकुर, गाइ, साँढे, सबैले बेला बेलामा मान पाउँछन्, माला लाउन पाउँछन्। असार १५  हिलाम्मे खेतमा लट्पटिएर मनाइन्छ, तिहार सप्तरङगी टिका निधारमा सजाएर मनाइन्छ त होली पनि यस्तै प्रकारले रंगिन हुन्छ। सबैभन्दा पहिला यो लेखको शीर्षकमा ‘होली’ लेखेको देखेर होली हाम्रो संस्कृति होइन, हाम्रो त फागु पूर्णिमा हो भनेर यता खोँचे थाप्न थाल्नुभए पनि हुन्छ है एकथरी पाठकले। किनकी हामी आँफै खोचेँ थाप्ने ब्लग हौं, हाम्रा पाठक पनि त्यस्तै खोँचे थाप्ने खालके होउन् भन्ने हाम्रो चाहना पनि छ 😃 हाम्रो एउटा भनाइ नै छ – कस्ता दिए गए, यस्ता दिन आए,  म्वाइँ खाने ठाममा जुुँगा पलाए। यानेकि समय परिवर्तनशील छ। यदि यो नश्वर जगतमा कुनै चिज अवश्यम्भावी छ भने त्यो हो परिवर्तन।

बुढापाकाले हाम्रा पालामा यस्तो हुन्थ्यो, अचेल के विकृति आयो भनेर भन्छन्। त्यतिबेला हामीले पनि भन्न सक्न पर्छ – बुढा तिम्रा पालाँ त सुका माना घ्यू आउँथ्यो होला, अचेल सुका भन्ने पैसै पाइन्नँ। तिम्रा पालाँ वीरशमशेरले साशन गर्थे अहिले ओल्बा र देउवा दाइले शासन गर्छन्। त्यसैले उइलेका कुरा खुइले। हुन त हामी अहिल्यै पनि समाजमा कैयौं विकृति देख्छौं, तर आफ्ना छोरानातीको पालामा – हाम्रा पालामा यस्तो हुन्थेन। अचेल के अचाक्ली हुन थालेको हो भनेर चोखो पल्टने नै छौं। यो मानविय गुण हो, कसले मैले यस्तो गर्दिनँ भनेर दाबी गर्छ भने त्यो ढोंग शिवाय अरु केही होइन।

अब हेर्नुस्… यसपालाको होली पनि अलि संशयपुर्ण होला जस्तो छ। कोरोना भाइरसको त्रास यसरी फैलिँदैछ कि सारा संसार सुतुरमुर्गले टाउको लुकाए झैं गरी प्रतिरक्षारत छ। नेपालमै पनि यसबाट बच्न फ्लेक्स टाँस्ने, जनचेतनामुलक प्रभातफेरी गर्ने, रेडियोमा बिज्ञापन बजाउने खालका कामहरु जोडतोडका साथ हुँदैछन्। भीडभाड, मेला-भेलामा कोरोना सर्न सक्छ भनेर सबै प्रकारका जमघट नगर्न भनेर सरकारले उर्दी जारी गरेको छ। यस्तो डरमर्दो अवस्थामा कति नेपाली घर बाहिर निस्केर पहिलेका बर्षमा झैं मन खोलेर होली मनाउलान् भनेर यसै भन्न सक्ने अवस्था छैन। तर घरमै बसे पनि चिरिप्प पार्दै पैलेका होलीका घटना सम्झाउन ‘सितन’ होला भनेर हाम्ले यो जमर्को गरेका छौं।

होली मनाउने परम्परा र यो कसरी विकसित/परिवर्तित हुँदैछ भन्ने सन्दर्भमा लेखिएको यो अघिल्लै सालको ड्राफ्ट हो। तर १२ थरी भनेको देश विदेशमा छरिएर बसेका ‘घन्टे’हरुको जमात न परो। भाँडा मस्काउनमा यति व्यस्त भए सबजना कि ड्राफ्टमा रहेको यो लेख चम्काउने जाँगर समेत जुटेन। त्यसमाथि हाम्रा प्राविधिक निर्देशकले साइट रिन्यू, स्पेस खरीद के के, के के भनेर इत्ना लम्बा बील ठेले। प्राविधिक निर्देशक यति कडा छन् कि फेरि ‘त्यो रुन्चे पाराले बर्षेनी रिन्यू गर्ने काम मबाट हुँदैन।’ लौ त नि घण्टै होस् भनेर ‘घन्टे’ सदस्यहरु त्यता नि चन्दा उठाउन जुट्नुपरो 😎

वेबसाइट नवीकरण गरेपछि पहिलो कोशेलीको रुपमा हामीले पहिलो लेखको रुपमा यसलाई पस्केका छौं । आउनुस्। यसो सम्झनाको रंग लिएर होली खेलुम्। यो लेखलाई ‘वार्म-अप’ लेख मान्नुभएपनि हुन्छ।

जोगिरा’ सरर

यो मौलिक रुपमा तराइ (अब तराइ भन्न नि डराउनु पर्ने होला। मधेश भन्दिम् न त) होली मनाउने तरिका हो। ढोल ठटाउँदै, रंग दल्दै, जोगीरा’ सरर गाउँदै टोल समाज घुम्ने यसको सामाजिक रुपमा स्थापित र स्विकार्य पक्ष हो। तर होलीको रंगले भन्दापनि बिजुली पानीको जोश र घोट्टाको ‘हाइ’ ले रंगिएका देखिन्छन्, भेटिन्छन्। जोगिरा’को खास विशेषता मट्का फोड्नेदेखि चौरमा खाल्डो बनाएर त्यसमा हिलो बनाएर बाटो हिँड्नेलाई त्यही हिलोमा डुबाउँदै होली मनाउने पनि गरिन्छ कति ठाउँहरुमा। यो दिन मधेशमा पाक्ने प्राय: परिकारमा भाङ् मिसिएको हुने गर्छ। केही नयाँ र जोशिला युवाहरु दूधमा पकाएको घोट्टा मस्त पिएर ४/५ दिनसम्म बहुलाउने पनि गर्छन्। कति त होलीको भोलिपल्ट कलेज जाँदा पनि बहुलाउँदै पुगेका हुन्छन्।

मस्त मौला

हेर्नुस होलीको परिभाषा नेपाली समाजमा Holy अथवा पवित्रको रुपमा भन्दा पनि Holiday – बिदाको रुपमा स्थापित हुँदैछ। फेरि समाजमा एकथरी मान्छे साह्रै मस्तराम हुन्छन्। आज पानी परो यार। आज घाम चर्केको छ यार, कस्तो हुरी चलेको? गाडी खास्सै चलेका छैनन् आदि इत्यादि अनेक बहाना बनाएर चट्ट कुखुरा, माछा, झोलपदार्थ जम्मा पारेर तीनबुङ् बोकेर शुरु भइहाल्छन्। यिनको एउटा नियमित अड्डा हुन्छ। यो अड्डाको बारेमा कोही न कोही युवा अथवा बच्चाहरुलाई थाहै हुन्छ। यी मस्त मौला जुवाडेबाट होली दक्षीणा पाइन्छ भनेर केही चैं पुगिहाल्छन् त्याँ। अनि यी मस्त मौलाहरु साँच्चै मौला नै हुन्छन्, ओई, रङ्सङ् दल्नु पर्दैन, ला यी ५० रुप्पेँ, भाङ् किनेर खा’ भनेर पहिल्यै साइड लाउँछन्।

भिजिलान्ते

यो भिजिलान्ते भनेको चैं लास्टै खतरनाक, नकारात्मक अर्थमा, हुन्छ। यिनीहरु ‘मलाई होली मन पर्दैन’ भन्दै पहिला साइड लागे झैं गर्छन्। अनि यसो ‘मार्केट’ बुझ्छन् र लुसुक्क समुहमा छिर्छन्। होलीमा रङ् दलेको बहानामा महिला वर्गका संवेदनशील अंगमा हात पुर्‍याउने समूह भिजिलान्ते वर्ग हो। यो वर्गमा कोही त यस्ता सुलसुले भिजिलान्ते हुन्छन् कि अर्कोले समातेर अनुहारमा रङ् दल्दिँदै गरेकोबेला पछाडिबाट झ्याप्प स्तन र नितम्बमा हात घुसार्न भ्याइसक्छन्। अनि घानमा पर्छ त्यो बिचरो सोझो साथी। अनि युवतीले आपत्ति जनाउन थालेपछि ‘हो हो, यो मुख्य जिम्मेवार सँधै यस्तै हो भनेर’ आगो लाउने पहिलो व्यक्ति चैं त्यै मुजी भिजिलान्ते हुन्छ।

पेन्टर

पेन्टर भनेपछि बुझिसक्नुभयो होला, अनुहारमा अनेक अनेक पेन्ट गरेर अरुभन्दा युनिक देखिन खोज्ने जमात। यिनलाई होली पनि एउटा बहाना मात्र हुन्छ, जसरी संगीत कन्सर्ट वा मेला वा अरुबेला हुने गर्छ। अनुहारमा कालो, सेतो, हरियो अनेक रङ् पोतेर चटकै गर्छन्। अनुहार पोतेको एकछिनसम्म त राम्रै देखिन्छ पनि तर जब यिनीहरुमा हल्का गाँजाको ट्रिप शुरु हुन्छ र चोकतिर निस्किन्छन् तब यिनीहरु भूत फिल्मको भिलेन भूतजस्ता देखिन्छन्। अनुहारमा पोतेको पेन्टिङ् ड्वाँ ड्वाँ डाको छोडेर रोइरहेको हुन्छ। निधारको हरियो रङ् यता गालाको सेतो रङ्मा मिसिएर अर्कै रङ् बनिसकेको हुन्छ।

बाइकर

बाइक र होलीको के सम्बन्ध भन्नु होला- होलीको सुरमा लड्ने चढ्ने बाहेकको सम्बन्ध चाहिँ हाम्रा पुलिस मामाहरुले जुराइदिएका छन्। यो दिन नेपालभरी कुन चाहिँ जिल्ला/चौकीले सबैभन्दा बढी बाइक पक्रिने / जरिवाना काट्ने भन्ने अघोषित प्रतिस्पर्धा नै हुन्छ रे। बाँकी त होलीको दिन हेल्मेट नलगाई सधैँ जाने गरेको चोकमा निस्किनु न थाहा भै हाल्छ नि। एउटा बाइकमा ५ जनासम्म झुण्डेका हुन्छन्। बाइकको दुईपट्टिको लेगगार्डमा कुखुरा बोकेर हिँडेको देख्नुभएको छ? हो ठ्याक्कै त्यस्तै हुन्छन् बाइके होलीवाला। हेल्मेट लगाएपछि अनुहार छोपिइहाल्छ, रङ् नै देखिँदैन। अनि यिनलाई लाग्छ, स्याला यो देशमा बाइक भएको म मात्रै छु र यो बाटो सरकारले मेरै बाइक चलाउन बनाइदिएको हो। एउटा हात एक्सिलेटरमा र अर्को हात हर्नमा राखेर बाइक उँडाउँछन् यी तोरीफुलेहरु।

शहरबजारतिर होली अराकता पनि हो। झन् काठमाडौंको त के कुरा। अग्ला घर भएका वा अग्ला घरमा भाडामा बस्ने भाडावालहरुका छोराछोरीको शान नै फरक। दुईतलामाथि बसेर डिडिसीका दुधको प्याकेटमा डटपेनको खोलले पानी भरेर मान्छे ताकिताकी हान्ने, त्यो पनि हप्तादिनअघिदेखि। झन् बाटोमा हिँड्ने युवतीहरुको स्तन र नितम्बमा ताकेर पानी फ्याँक्ने र युवतीले गाली गर्न लाग्दा केटाकेटीलाई छतको छेउमा उभ्याएर हाँस्न लगाने भिजिलान्तेहरु त कति कति। हामी पनि यस्तै भिजिलान्ते भएरै हुर्केका हौं। काठमाण्डौको गल्ली अनि त्यसमाथि गल्ली छेउको घर। बाटाभरी फोहोर पानी माथिबाट खन्याउन कम्ता टेस पर्दैन थियो। त्यो भन्दा नि टेस ताकी ताकी लोलाले हान्नमा मज्जा आउँथ्यो

यी त पहिलापहिला देखिने होलीका किसिम प्रकार। आजकाल त ट्विटे, फेसबुके होली पनि खुबै फस्टाएको छ। केही सालअघि यस्तो होली भृकुटीमण्डपतिर पनि हुन्थ्यो क्यारे। त्यहाँ कस्ता कस्ता काण्ड घट्थे भनेर हाम्रा अतिथि लेखकले यतै लेखेका पनि छन्। उ माथि लिङ्क छ, खोलेर पढ्नुहोला। यसपालीको होली चैं अलि संयमित भएर, भीडभाड नगरी, सुरक्षित साथ घर वरिपरी खेल्नुहोला। बाहिर निस्किन मन नलाग्नेले ब्लाङ्केट ओढेर नि होली खेल्न सक्नुहुन्छ। होली खेल्दा सुरक्षा विधि अपनाउनु होला, हतार भयो भनेर मास्कको प्रयोग गर्न नबिर्सिनु होला। संक्रमणको समय छ 😁

तपाइँको पनि बालखको नट्टी खट्टी सम्झना होला नि बरै। हामी सँग तल कमेन्ट बसक्मा शेयर गर्नुस नै है।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.