लेखक र सम्पादकका १२ सत्ताइस् टिप्पणि


१२ थरीको १२ सत्ताइस् टिप्पणिमा तपाइँहरुलाई हार्दिक स्वागत छ। संसारभरी कोरोनाले कहर मच्चाइरहँदा पनि १२ थरीका स्तम्भकारहरुलाई फुर्सद भएको छैन। पाठकहरुलाई लामो समय केही खुराक दिन नपाएकोमा टीम १२ थरी क्षमायाचना गर्दैन। किनकि, १२ थरी एउटा रहर हो। यसमा संलग्न सदस्यहरुको रहर। भलै यसमा कोही वाध्यताले पनि बसेका छन्। तिनीहरु न त यसमा छापिएका लेख नै पढ्छन् न त एक अक्षर लेख्छन्, तैपनि छोडेर जान सकेका छैनन्। बरु बेलाबेला सबै सदस्यलाई बन्द गर्दिम् यो मु* साइट भनेर उकास्ने काम भने गर्छन्। खैर, यहाँ १२ थरीका सदस्यका बारे लेखिन लागेको होइन। त्यसैले यो बिषय अरु कुनै दिनका लागि साँचेर अहिलेलाई लेखको विषयमा लागौं।

फोटो: भेक्टरस्टक

तपाइँ सामाजिक सञ्जालको एउटा प्लेटफर्म ट्विटरमा हुनुहुन्छ भने एउटा विषयले टाइमलाइन तताएको देखिन्छ। हुनत ट्विटरको टाइमलाइनमा प्राय: सत्ता र विपक्षीका वानरसेनाहरु लडिरहेका देखिन्छन्। यिनलाई न त बिषयको अभाव न त समयको। केही नपाए चिहान उधिनेर चिहानमा भेटिएको हड्डी समातेर त्यही हड्डी चुस्दै लडेका देखिन्छन्। यो बिषयलाई पनि चटक्कै छोडेर आजको बिषयमा लागौं। आजको बिषय छ, नेपालका ‘छोटेमोटे’ सबै लेखकहरुको साझा चौतारी सेतोपाटी अनलाइनका सम्पादक टीम र त्यसमा टिप्पणि लेखेका एक लेखक बीचको विवादका बारे।

आइतबार अपरान्हतिर एकजना लेखक दिनकर नेपालले ट्विट गरेर सेतोपाटीले आफ्नो लेखलाई तोरमरोड गरेर लेखको सैद्धान्तिक पाटोलाई फरक ढंगले प्रस्तुत गरेर सम्पादन गरेकोले सो लेख हटाउन अनुरोध गर्दै ट्विट गरे। त्यसपछि शुरु भयो बहश। के कुनै पत्रिका/अनलाइनले लेखकको लेखको मर्म नै मर्नेगरी सैद्धान्तिक रुपमा फरक पार्ने गरी सम्पादन गर्न पाउँछ? यसको सिधा उत्तर हो, पाइँदैन। तर लेखको भाषिक सम्पादनदेखि वाक्य संरचना सबै परिवर्तन गर्न सक्छन् डेस्क सम्पादकले। लेखाइको शैलीलाई सम्पादकले त्यति धेरै चलाउँदैनन्। नभए त एउटा पत्रिका/अनलाइनमा छापिने सबै लेखकको शैली एउटै भइहाल्थ्यो। खगेन्द्र संग्रौलाको लेखन शैली, वा सिके लालको लेखन शैली आफ्नै हुन्छ। त्यसैले सम्पादकले सम्पादन गर्दा लेखकको शैलीलाई फेर्दैनन्।

पत्रकारितामा सम्पादन किन गरिन्छ भन्नेबारे पनि एकछिन चर्चा गरौं। सम्पादन गर्नुको प्रमुख कारण हुन्, एकरुपता कायम गर्न, लेखमा रहेका तथ्यको जाँच परख गर्न, लेखको मुल मर्ममा रहन। र, यसको लागि लेखमा स्पष्टता, भाषामा सरलता, पढ्न सजिलो बनाउने, ब्यालेन्स गर्नु जरुरी हुन्छ। यो लेख सम्पादन कसरी गर्ने र सम्पादन गर्दा के कुरामा ध्यान दिने भनेर लेखिएको हैन। यदि कसैलाई पत्रकारितामा किन सम्पादन गर्ने र कसरी गर्ने, के के कुरामा ध्यान दिने भन्ने पढ्न मन लागेको भए ईन्टरनेट खोजेर पढ्न सकिन्छ। गुगल गर्न अल्छी लागेको भए यो लेखकले बुकमार्क गरेर राखेको एउटा लिंक यहाँ छ। खोलेर पढे हुन्छ।

यो बहसमा अर्को एउटा पाटो आएको छ, पत्रिकाकालागि लेख लेख्ने लेखकको लेख सम्पादनपछि पुन: लेखकलाई देखाएर फाइनल गर्नुपर्छ भन्ने। गज्जबै हुन्छ यस्तो गरे। अहिलेको जस्तो प्रविधिको जमानामा यस्तो गर्न असम्भव पनि छैन। कुनै पत्रिकाका ओप-एड सम्पादकले यसरी लेख छाप्न सम्भव छैन, भ्याइन्नँ भन्छन् भने सम्झिनु तिनको डेट एक्सपाएर भैसक्यो। ‘मनि हेस्ट’जस्ता विश्वका चर्चित सिरिजहरु सुटिङ् गर्दै स्क्रिप्ट लेख्दैमात्रै हैन स्क्रिप्ट लेखकले मोबाइलबाट लाइभ गरेर दृश्य बर्णन गर्दै लाइभ सुटिङ् गरेर बन्छन् भने जाबो पत्रिकाको एउटा लेख तुरुन्तै सम्पादन गरेर लेखकलाई देखाउन नसक्ने भन्ने कुरै हुँदैन। यो सम्भव नहुने एउटा मात्र सर्त छ, दम्भ। ‘तँ मु* को होस् र तेरो लेख सम्पादन गरेपछि स्विकृति लिनुपर्ने?’ भन्ने दम्भ बोकेपछि यो सम्भव हुँदैन।

तर के भाषिक सम्पादनमात्र भएको लेख, तथ्य फरक नपरेको लेखमा पनि त्यसो गर्नुपर्ला त?- पर्दैन। त्यस्तै गर्न मन भए, आफूले लेखेको जस्ताको तस्तै छाप्न मन भए फेसबुकको स्टाटसमा छापे भयो, फेसबुकमा नोट भन्ने अप्सन पनि छ। लामो लेख त्यसमा छाप्न पनि सकिन्छ। हैन, अलि राम्रो प्लेटफर्ममा छापौं भन्ने लागे ईन्टरनेटमा नि:शुल्क ब्लग बनाउन पाइन्छ। लिंकडेनमा राखे पनि भयो। अझ भाइबरबाट सबैको कन्ट्याक्टमा पठाएपनि हुन्छ। त्यसमा मज्जाले जे जे मन लाग्छ लेखेर बिना कुनै कसैको सम्पादन छाप्न सकिन्छ। यो ब्लगमा छाप्दा वा फेसबुकमा स्टाटस छाप्दा अर्को फाइदा पनि छ- आफूलाई मन लागेका बेला सम्पादन गर्न नि मिल्छ। पोस्ट नै डिलिट गर्छु भन्दा नि मिल्छ। तपाइँमा अलिकति व्यवसायिकता वा नैतिकता छ भने चैं यसरी सम्पादन गर्दा वा डिलिट गर्दा कारण दिँदा राम्रो हुन्छ। हैन, मलाई बाल हो, यस्ता मु* नैतिकता भन्ने लागे चैं आफ्नै थुक् चाट्दा नि खास फरक पर्दैन।

तर आफ्नो ब्लगमा छापिएको लेख कुनै पत्रिका वा अनलाइनले छाप्न खोज्दा नाक फुलाउँदै छाप्न स्विकृति दिएपछि त्यसको शीर्षक के राख्ने? लिडमा के राख्ने भनेर चैं आफूले छान्न पाइँदैन। यो पत्रिकाको आफ्नो अधिकारको कुरा हो। तथ्यलाई बंग्याउने हदसम्मको कुरा वा लेखको सैद्धान्तिक मर्म नै फरक पार्नेगरी लेखलाई तोरमरोड गर्न चैं पाउँदैन पत्रिकाले। यदि पत्रिकाले आफ्नै एजेण्डा सेट गर्ने र उसकै एजेण्डालाई मलजल गर्ने लेख छाप्न मन लागे पहिल्यै स्तम्भ लेखकलाई यो बिषयमा यसरी लेख्दिनुस् भनेर किन्न सकिन्छ। यस्ता बिकाउ लेखकहरु पनि बजारमा प्रशस्तै छन्। यस्ता कति लेखकलाई त पैसा पनि दिनुपर्दैन, यसो साँझमा जमघट हुँदा बोलाएर एक कप कफी वा एक पेग रक्सी खुवाए पनि पुग्छ।

अब फेरि यो लेख लेख्नुपर्ने गरी शुरु भएको बहसको बिषयमा जाऊँ। यो बहस लेखको मर्म फेरियो भन्नेबाट शुरु भएर विचार पृष्ठमा छाप्ने कि ब्लगमा भन्नेमा रुमलिएको देखिन्छ। स्वयं लेखकले नै यसलाई त्यसैगरी घुमाएको देखिन्छ। पछि फेरि उनी सैद्धान्तिक कुरोमा गएर रोकिएका छन्। हेर्नुस्, लेखकले कुनै पनि पत्रिकालाई मेरो लेख यो पृष्ठमा यति कोलममा छाप्देऊ भन्नलाई चैं कि त आफै प्रकाशक वा सम्पादक हुनुपरो, कि चैं उही त्यै सिंत्तैमा भेटिएको आफ्नो ब्लग हुनुपरो। नत्र यसको निर्धारण पत्रिकाको सम्पादकीय नेतृत्वले नै गर्छ। त्यति हुँदाहुँदै पनि पत्रिकाको सम्पादकीय टीमले ‘तँ औसत लेखक’, ‘बजारमा तेरो कुनै भाउ छैन’, ‘पहिला आफ्नो हैसियत बनाऊ, अनि ठूला कुरा गर’ भन्नु चैं सम्पादकीय टीमको दम्भ हो। आफूलाई विज्ञ ठानेको हो यो। पत्रिका (अनलाइन, अफलाइन)मा काम गर्ने डेस्क सम्पादक सुपर म्यान होइनन्। यसरी दम्भ नदेखाउँदा राम्रो होला।

यति लेखिसकेपछि हाम्रा प्राविधिक सहायकले एउटा तथ्याङ्क निकालेका छन्। पाठकहरुले पनि लेखकको र पत्रिकाको चियोचर्चो गरिरहेको हुन्छ। हाम्रा प्राविधिक सहायकले नयाँ पत्रिकाको पाँचसयवटा ओपेडको डेटा डाउनलोड गरे। अन्तिम सयवटा लेख/विचारको विश्लेषण गर्दा यस्तो देखियो- लेख लेख्ने पुरुष ६८, महिला ११, पुरुष+पुरुष १, पुरुष + महिला १, बिदेशी ३०, नाममा डाक्टर भएका १२, नाममा प्राध्यापक भएका १, फेसबुकमा हजार बढी सेयर भएका १९, पाँचहजार बढी सेयर भएका ४, बिस हजार बढी सेयर भएको १, एक सय घटी सेयर भएका २७ वटा, फेसबुकमा सबैभन्दा बढी इन्गेजमेन्ट पाएका लेखकहरु क्रमैसँग कृष्णज्वाला देवकोटा, सन्दीप राना, डा. चन्द्र चण्डारी, पुरञ्जन आचार्य, विमल पोखरेल, रश्मि आचार्य, हरि राेका, भीम रावल, समीक्षा बास्कोटा। सयमा ३० त विदेशीको ट्रान्सलेसन छ। के फन्डा हो यो? सहमति लिएका होलान्?

तपाइँ ठूलै लेखक हुनुहोला, तपाइँको फ्यान फलोइङ् नि खतरै होला। तपाइँ समाजको लास्टै इज्जतदार व्यक्ति पनि हुनुहोला रे। तर तपाइँले हाम्रो १२ थरीमा लेख छाप्दे भनेर पठाउनु भयो भने पनि हामी तपाइँले भनेजसरी छाप्दैनौं। किनकि यसमा के छाप्ने, कस्ता सामग्री छाप्ने र कसरी छाप्ने भन्ने पूर्ण अधिकार हामीमा निहीत छ। तपाइँको इज्जत, तपाइँको प्रतिष्ठा, तपाइँको नाम समाजमा होला तर १२ थरीमा तपाइँ पनि मजस्तो भुइँफुट्टा सम्पादकभन्दा तल्लो दर्जाको हो। यसलाई तपाइँ दम्भ भन्नुस् वा अधिकार वा सुविधा। तर त्यसोभन्दैमा हामीले गरेको सम्पादनमा आपत्ति भए तपाइँकै अनुसार सम्पादन गर्न हामीलाई कुनै आइतबार पर्खिनुपर्दैन। यसरी शनिबारै सम्पादन गर्दा तपाइँले हाम्रा नियमलाई पनि मान्नुपर्छ। हैन, म मेरा भावना, मेरा अक्षर जस्ताको तस्तै छाप्छु, मेरै शीर्षकमा छाप्छु भन्ने हो भने तपाइँ दुई पैसे विचार भन्ने ब्लग चलाउनुस् आफैंले। कुनै सहयोग चाहिए हामीलाई भन्नुहोला, १२ थरीका प्राविधिकले शुल्क लिएर तपाइँको ब्लग निर्माणमा सहयोग गर्दिन्छन्।

यति लेखिसकेपछि सम्पादक वा पत्रकारका बारेमा पनि केही थप लेख्नुपरो नि। हुनत, पत्रकार भनेका विज्ञ हुन् भनेर नेपालका सन्दर्भमा बर्षौं अघिदेखि नै प्रमाणित कुरा हुन्। तर पनि १२ थरी पत्रकारलाई पनि सिकाउने विज्ञको टीम भएकोले आफ्नो धर्मबाट पछाडि हट्नुहुन्नँ भन्ने मान्यता छ हाम्रो। देशमा राणा शासन थियो। यो शासन भएन, जनताले अधिकार पाएनन् भनेर राणा शासन हट्यो। प्रजातन्त्र आयो। पञ्चायत आयो। फेरि प्रजातन्त्र पुनर्स्थापित भयो। त्यसले पनि नपुगेर अहिले गणतन्त्र छ। किन? समय परिवर्तनशील छ। सबैका काम, कर्तव्य र अधिकार समयसँगै फेरिन्छन्। मान्छेको जीवनस्तर कसरी परिवर्तन गर्ने? अधिकार कसरी प्रत्याभुत गर्ने? समानता कसरी बनाउने? भनेर हरेक समय सिद्धान्त फेरिएका छन्।

यस्तोमा पत्रिकाका सम्पादकको दम्भ, पत्रिकाको काम गराइको तरिका नफेरिने भन्ने हुँदैन। तपाइँ विचार र अभिव्यक्ति स्वतन्त्रताका कुरा गर्नुहुन्छ, तपाइँ व्यक्तिको विचारको सम्मान गर्नुहुन्छ, तपाइँ हरेकले बिना कुनै रोकटोक आफ्ना कुरा राख्न पाउनुपर्छ भनेर ठूल्ठुला आदर्शका गफ छाँट्नुहुन्छ र अन्त्यमा तेरो लेख कता कसरी छाप्ने हो त्यो मैले निर्धारण गर्छु भनेर दम्भ प्रकट गर्नुहुन्छ भने कृपया तपाइँ रिटायर्ड हुने बेला भयो। वा तपाइँले अभिव्यक्ति स्वतन्त्रताको वकालतबाट राजीनामा दिनेबेला भयो। त्यसै गर्नुहोला, नत्र तपाइँको नांगो चित्र देख्छन् सबैले।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.