शीर्षक हेरेर अनौठो लाग्यो? यो रेडियो नेपाल होइन तर यो लेख रेडियो नेपालको समाचार हो। १२ थरीको यो रेडियो नेपाल समाचारमा तपाइँहरु सबैलाई हार्दिक स्वागत छ। ल त पाठकहरु, नजिकै आउनुस् र समाचार सुन्नुस्। कुरा हो बैशाख १५ गते सोमबार रेडियो नेपालको एउटा प्रत्यक्ष प्रसारित कार्यक्रममा प्रस्तुत बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकरण। रेडियो नेपालका प्रस्तोता नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश शासक, भष्मासुरजस्ता विशेषण दिए भनेर सञ्चार मन्त्रालयले स्पष्टिकरण सोध्यो। मलाइ त्यो रेडियो नेपालको कार्यकारी निर्देशकसँग स्पष्टिकरण माग गरेको कत्ति चित्त बुझेन। यसको बारेमा बोल्न पनि डराउनुपर्ने अवस्था छ। तर यस्ता कुरामा बोल्नु पर्छ। सरकार जो सुकैको होस्, आफ्नो आस्था जे सुकै होस्। आउनुस् यसबारे मेरा बुँदागत असन्तुष्टि :-
गीता पाठ गरेर पाठाको बली
पहिलो कुरा, जुनसुकै सरकारी चिठी ‘उपरोक्त बिषय’ र ‘प्रस्तुत सम्बन्धमा’ भनेर सुरु गर्नु बाजेको पालाको चिन्तन हो। बिषयमा ‘स्पष्टिकरण पेश गर्ने’ लेखेको पत्रमा प्रेमको प्रसंग पक्कै उठ्दैन। अझ त्यससँगै लगत्तै ‘नेपालको संविधान’ उल्लेख गरिनुले पत्र पढ्नेलाई स्पष्टिकरण लिनसमेत संविधानले नै भन्दोर’च कि भन्ने भान हुन सक्छ। यसमै जोडिएर आउँछ वाक्य संरचना। त्यो स्पष्टिकरणमा हेर्यो भने देखिन्छ, पहिलो वाक्य नै सय शब्दभन्दा लामो छ। पढ्दै भाउन्न हुने। पुरै माडसा’ब स्टाइल। माध्यमिक तहमा पढ्दै गरेको विद्यार्थीलाई नैतिक शिक्षा पढाको हो? कि चिठीको मस्यौदा लेख्नेले नै माथिको आदेश तामेल गर्न मन नलाई नलाई लेखेको हो? हो, पत्रमा पृष्ठभूमि चाहिन्छ तर संविधान र दशथरी आदर्श छाँटेर लास्टमा एउटा कर्मचारीलाई स्पष्टिकरण सोध्नु गीता पाठ गरेर पाठालाई मार हान्न जानु हो।

भुसुना मारेर शिकारीको दाबी
सञ्चार माध्यममा बोल्दा कसरी बोल्ने र के बोल्ने भन्ने कुरा आफूलाई ‘ठूला’ ठान्नेहरुले जान्नुपर्ने हो। पदीय हिसाब र मर्यादाको कारणले रेडियो नेपालका कार्यकारी निर्देशकभन्दा पुर्व प्रधानमन्त्री धेरै संवेदनशिल हुनुपर्ने हो। कार्यक्रम प्रस्तोताले कुनै उरन्ठेउलो केटो बोलाएर मनपरी भन्न लाएका होइनन्, न त उकासेका नै हुन्। यस्तोमा सरकारको कुनै राजनीतिक द्वेष भए पुर्व प्रमलाई नै ललकार्ने हिम्मत गर्नुपर्थ्यो। रेडियोका कर्मचारीलाई धम्क्याएर र थर्काएर बहादुरी देखाउनु चैं भुसुना मारेर आफूलाई अब्बल शिकारी घोषणा गरेजस्तै हो।
आफ्नो आङमा हात्ती दौडाएर अर्काको आङको जुम्रो खोज्दै
रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टिकरण पत्र पढ्दा देखिन्छ, यो मन्त्रीस्तरिय निर्यण र’च। मन्त्रालयले पत्र काट्नुअघि आफ्ना प्रधानमन्त्री आफ्ना दलिल स्थापित गर्न के कस्ता उखान, तुक्का र उपमाको प्रयोग गर्छन् भनेर ख्याल राखे हुने। भष्मासुर त एउटा काल्पनिक कथाको काल्पनिक पात्र भयो। तर, अहिलेकै प्रधानमन्त्रीले खुल्लमखुल्ला कुनै सरकारलाई नै अलच्छिन भनेको याद छ कि छैन? सडकमा गाडी पल्टिँदा सरकार अलच्छिना भएर हो भन्दै माइकका अगाडि ठूलो ठूलो स्वरमा भाषण छाँट्नेलाई भष्मासुर भन्नेबित्तिकै भाउन्न भएको? वहाँले सरकारलाई अलच्छिना भन्दा कहीँ कतै कुनै बात लागेको थियो? अझ पछाडि नै फर्केर हेर्ने हो भने अहिलेका प्रधानमन्त्रीको दलले कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसादलाई हैजाले लगोस् भन्दै नारा लगाएको चैं चटक्कै बिर्सेको?
प्रतक्ष प्रसारण भनेको थाहा छैन?
पत्र पढ्नुस् त, स्पष्टिकरणको भाषा पनि कस्तो हो? सोध्नै मन लागे “……. बमोजिम कारबाही किन नगर्ने?” भनेर भन्न किन डराएको हो? ‘के कसो भएको हो?’ रे ! मन्त्रालयलाई, मन्त्रीलाई, पत्र लेख्ने सचिवलाई थाहा थिएन, प्रत्यक्ष प्रसारित कार्यक्रम हो भनेर? यस्तोमा अप्रत्यासित रेस्पोन्स र अवस्था परिआउँछन्। अनि प्रत्यक्ष प्रसारित कार्यक्रममा वक्ताले टेलिफोनमा अगाडि के भन्छ भनेर प्रस्तोताले कसरी थाहा पाउँछ? वक्ताले बोल्दाबोल्दै नराम्रा शब्द बोलेपछि फोन लाइनै काटेपनि बोलेका शब्द त प्रसारित भइसकेका हुन्छन्। बिचैमा लाइन काटे पनि अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरेको बहानामा फेरि हजुरहरुनै पत्र लेख्नुहुन्थ्यो।
कमिलाको प्वाँख
दशा लाग्ने बेलामा कमिलाको पनि प्वाँख पलाउँछ भन्ने याद गर्नुहोला। हजुरकै प्रधानमन्त्रीले बेला न कुबेला ल्याएको अध्यादेशले आफैं धरानमा पार्नुभएको छ। श्रद्धा गर्न त अलिकति पनि जनअपेक्षा अनुरुप काम गर्न परो नि! स्मरण रहोस, योभन्दा तल्लोस्तरका बिश्लेषण लाउँदै यहाँ आइपुग्नुभएको हो तपाइँहरुका कमाण्डर। र, अहिले जनतालाई सोध्ने हो भने त्योभन्दा नि निच शब्दलङ्कार पक्कै पाउनुहुनेछ।
बलीको बोको
यो लेख लेख्दा मन्त्रलायले रेडियो नेपालका कार्यकारी निर्देशकलाई कार्यक्रमका बारे मात्र स्पष्टिकरण सोधेको थियो। तर लेख छाप्नेबेलासम्म आइपुग्दा उनीमाथि अर्को पनि स्पष्टिकरण सोधिएको छ। दोस्रो दिनको स्पष्टिकरणमा निर्देशकलाई कार्यसम्पादन चित्तबुझ्दो नभएको, रेडियो नेपालको सम्पत्तिमाथि भ्रष्टाचार गरेको जस्ता आरोप लगाएर स्पष्टिकरण मागिएको छ। प्रधानमन्त्रीलाई निरंकुश भनेर अर्को मान्छेले बोलेकै आधारमा एउटा कर्मचारीलाई बलीको बोको बनाउने बहादुरीको दम्भ पनि गज्जबै रमाइलो।

आप करे तो लीला, हम् करे तो रासलीला
र, अन्त्यमा रेडियो नेपालजस्ता सरकारी सञ्चार माध्यमको नियति सँधै यस्तै हुन्छ। अनि रमाइलो चैं आफूले गरेको काम त कसैले सम्झिँदैन। अहिले यो मुद्दामा बाबुराम भट्टराई जसरी उफ्रेका छन्, उनले पनि एकपटक ऐना हेर्दा हुन्छ, अनुहारमा कतिपटक कालो पोतेको थिएँ भनेर। अहिले जसले प्रधानमन्त्री ओलीलाई निरंकुश र भष्मासुर भने भनेर निर्देशकमाथि स्पष्टिकरण सोधिएको छ त्यस्तै स्पष्टिकरण बाबुराम भट्टराई प्रधानमन्त्री भएकाबेला पनि सोधिएको थियो। कार्यक्रम उही थियो, समय उही थियो, फरक थियो त प्रधानमन्त्री, प्रस्तोता र बोल्ने व्यक्ति।

२०६९ साल पुष १६ गते बिहानको अन्तरसंवादमा एक वक्ताले तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आरोप लगाएका थिए। कार्यक्रमका प्रस्तोता थिए प्रमोद दाहाल र अन्तर्वार्ता दिने व्यक्ति थिए नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराई। कांग्रेसका भट्टराईले ‘बाबुराम भट्टराई हिन्दुस्तानको एजेन्ट हो र हिन्दुस्तानले पनि हामीले बनाएको प्रधानमन्त्री हो भन्ने गरेको छ र प्रधानमन्त्री पनि त्यसैमा गर्व गर्नुहुन्छ, यसमा मलाई दु:ख लाग्छ’ भनेका थिए। त्यो अन्तर्वार्ता प्रसारित भएपछि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई गाली गरेको अन्तर्वार्ता प्रसारित गरेको भन्दै तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवलाई फोन गरेर कारबाही गर्न निर्देशन दिएका थिए। लगत्तै सञ्चार मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक र प्रस्तोतालाई स्पष्टिकरण सोधिएको थियो।
त्यसैले यो मुद्दामा कम्तिमा बाबुराम भट्टराई र उनका चम्चा, डाडु पन्यु वा हनुमानहरुले गोहीका आँशु झार्दै सुशासनका नारा नलगाउनु होला।