१२ थरी ‘सर्वज्ञानी’ टीमको अपिल


यतिबेला मिडिया र सामाजिक सञ्जालमा एउटा बाढी आएको छ, विज्ञप्ति बाढी। सरकारले राजनीतिक दल र संवैधानिक आयोग सम्बन्धि अध्यादेश ल्याएर ती अध्यादेश खारेज गरिसकेपछि शुरु भएको राजनीतिक रस्साकस्सीले अहिले बजार तातेको छ। यसरी बजार तताउनेमा पछिल्लो समय विभिन्न रुपका नागरिकहरुले जारी गरेका थरीथरी विज्ञप्ति पनि छन्। १० जना प्रबुद्ध नागरिक, ४० जना देश विदेशमा रहेका नागरिक, पैदल हिँडेर घर फर्किएका नागरिक, मजदुर नागरिक, पसले नागरिक, लेखक नागरिक, प्रवक्ता नागरिक, पूर्व प्रशासक नागरिक, मासु पसले नागरिक, कुखुरा पाल्ने नागरिक। खुइय्य ! कति धेरै थरी हुन् नागरिक पनि। ए अँ, यी सबै नागरिकहरुले वर्तमान सरकारका पक्ष र विपक्षमा विज्ञप्ति निकालेर सत्ता छोड्न, सत्ता नभत्काउन, सत्ता पल्टाएर अट्ठालाई जोक्कर राख्न भनिरहेका छन्। यस्तोमा समाजको एउटा सचेत र उच्च सामाजिक, आर्थिक र राजनीतिक चेतना बोकेका हामी १२ थरी टीम चुप लाग्ने कुरा हुँदैन। त्यसैले वर्तमान राजनीतिक निकास, सरकारका प्राथमिकता र कर्तव्यका बारे १२ थरीका हामी १२ थरी ‘सर्वज्ञानी’हरु यो अपील गर्दछौं:-

स्थायित्वका लागि स्थायी सरकार

अहिलेको सरकार बकाइदा चुनावम नेकपाका अध्यक्ष प्रधानमन्त्री बन्छन् भन्ने नारा बाँडेर चुनाव जितेर बनेको सरकार हो। जनताले स्पष्ट रुपमा स्थायी सरकारको आश गरेर नेकपालाई भोट दिएका हुन्। लोकतन्त्रमा जनता नै सर्वोपरी हुने भएकाले जनताको म्यान्डेडप्राप्त केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्दा जनतामा चरम निराशा पैदा हुने खतरालाई नकार्न सकिँदैन। जनतामा निराशा पैदा हुँदा त्यसले लोकतन्त्र नै खतरा पार्ने कुरामा कसैको दुईमत हुन सक्दैन। सारा संसार महाव्याधीका विरुद्ध लडिरहेका बेला देशभित्रको एउटा पुरै शक्ति सत्ता र शक्तिको लिगलिगे दौडमा उत्रिनु चिन्ताको बिषय हो। विकासको लागि राजनीतिक स्थायित्व, राजनीतिक स्थायित्वका लागि स्थायी सरकार’ भन्ने मुल मर्मलाई सबैले ध्यानमा राख्न हामी ध्यानाकर्षण गराउन चाहान्छौं।

केराको घारीमा बसेर धरान खोज्दै नहिँड

१२ थरी टीम पहिलो बुँदामा प्रष्ट छ, स्पष्ट छ, क्लियर छ, टु दि प्वाइन्ट छ, सत्य छ, तथ्यगत पनि छ, भावनात्मक पनि छ, सबै छ। यो सरकारसँग एउटा सिंगै केराबारी छ। केरा पाकेका छन्, जति खाए पनि पुग्छ। टन्न केरा खाएर घाममा उत्तानो परेर सुते पुग्छ सरकारले। तर सरकार आफ्नो केराबारी फाँडेर धरान खोज्दै हिँडेको छ। धरानमा आरा लगाउँदा लगाउँदै फेसो हालेर छोडेको मुढामाथि बसेर त्यही फेसो निकालिरा’छ। अनि यस्तो बाँदरे सरकारको टुङटुङ ढिस् चेपिनै पर्छ। फेसो उधिनेपछि १० जना प्रवुद्ध त के तिनका बाजे बराजुले पनि टुङटुङ ढिस् फुट्नबाट जोगाउन सक्दैनन्। यो बाँदरे प्रवृतिको हामी घोर निन्दा र भर्त्सना गर्दछौं। विश्व कोभिड-१९को महाव्याथीसँग लडिरहेको वर्तमान परिप्रेक्ष्यमा र नेपाल पनि त्यही युद्धमा रहेको यो जटील अवस्थामा दल फुटाउने, अर्काको पार्टी फुटाएर, सांसद किनेर सरकार बलियो बनाउने नाममा विकृति शुरु गर्छ। एकातिर अस्पतालमा र स्वास्थकर्मीलाई पर्याप्त स्वास्थ्यसामाग्री र ‘मोटिभेसन’को अभाव छ तर सरकार चैं सांसद किनेर बसेको छ। यस्तो दुई पैसै, अलोकतान्त्रिक, असक्षम, अदुरदर्शी सरकार हुनुभन्दा नहुनु बेस। हामी सर्वोच्च नागरिक यो सरकार हटाएर श्री पशुपतिनाथलाई साशनको बागडोर बुझाउन सार्वजनिक अपील गर्दछौं।

निर्विकल्प ओली

यो समय सरकारको राजीनामा माग्ने समय होइन। महामारीको बेला जिम्मेवारीबाट भाग्ने बेला हैन। न त कसैको राजिनामा माग्ने बेला हो। परिस्थिति नहेरी र विज्ञको सल्लाह नसुनी अनुसार सरकारले काम गर्दै जान्छ। विज्ञ राखेर छलफल नै नगरी गरिएका सबै कदमहरु ठिक नै हुन्छन भन्ने पनि छैन। सिक्दै जाने कुरा हो। फेरि यो सरकारलाई हटाएर अर्को सरकार ल्याउँ भन्नलाई खै त विकल्प? प्रधानमन्त्री ओलीको विकल्पमा रहेकाहरु सबै प्रधानमन्त्री भैसकेका, थोत्रा, काम नलाग्ने पत्रु, असफल, असक्षम मात्रै छन्। लौ न त फाल्दिम् यसलाई भनो, चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी हुने अवस्था छ। तै तै वामदेव बुढा चैं बरु गतिला छन्। झ्यामझुम् डोरी नाघ्दै नि हिँड्छन्, बड्याङ्बड्याङ बोल्छन्। खाँदा नि संस्थागत खाम्, सबैले खाम्। विष्णु विष्णु मात्र नगरौं, त्यसका अगाडि पछाडि हरि ओम् तत्सत् तत्सत् पनि हुन्छ भनेर याद गरौं भन्छन्। सफा मनका छन्। सरकार फेर्ने नै हो भने यस्ता सफा मनका, मिलेर खाने खालका मान्छे खोजौं भनेर जोडदार माग गर्दछौं।

पोहोर मरिन् सासु, अहिले आए आँशु

विश्व स्वास्थ संगठनले नै कोभिड -१९लाई विश्वव्यापी महामारी भनिसकेको अवस्थामा र नेपाललाई पनि संक्रमणको उच्च जोखिम भएको मुलुकमा राखेको अवस्थामा सरकारसँग लकडाउनको विकल्प थिएन। संसारभरी नै लकडाउन एउटा अनिवार्य कदमको रुपमा देखा पर्‍यो। लकडाउन गरिसकेपछि त्यसले दैनिक काम गरेर गुजारा चलाउनुपर्नेहरु त मारमा पर्ने नै भए साथमा लामो समय लकडाउन रहँदा मध्यमवर्ग पनि प्रभावित भए। दु:खमा आफन्त र परिवार सम्झिनु राम्रो हो। मरे सँगै, बाँचे सँगै भन्ने भावनाका साथ सयौं मजदुरहरु शहरबाट गाउँ फर्किन चाहन्छन्। विदेशबाट देश फर्किन चाहन्छन्। तर सरकारले यसबारेमा कहिल्यै सोचेन। छिमेकी देश भारतबाट आएका हजारौं जनतालाई सीमामा रोकेर राख्यो। मान्छेहरु महाकाली नदीमा हाफ फाले। सयौं किलोमिटर खाली खुट्टा पैदल हिँडे। हिँड्दा हिँड्दै ज्यान गुमाए। तर सरकार र यसका मन्त्री भनिरहे, ‘यो भावनात्मक हुने बेला होइन।’ र, आज मे १ गते बिहान झिसमिसे मै भने, ‘सरकार मजदुरका हक दितका लागि काम गर्छ, उनीहरुको जीवनलाई सहज बनाउने योजना ल्याउँछ।’ प्रधानमन्त्रीले मे १ मा दिएको सन्देश सुनेर लाजले लाज सहन नसकेर आत्महत्या गर्‍यो। यसरी लाजलाई आत्महत्या गर्न वाध्य तुल्याउने काम तत्काल बन्द गर्न पनि हामी जोडदार अपील गर्दछौं।

कि राडीको सातु खाऊ, कि कट्टु लगाऊ

जनताका न्युनतम आवश्यकता स्वास्थ्य, शिक्षा, आवास, भोजन लोकतान्त्रिक सरकारका पहिलो प्राथमिकता हुनुपर्छ। संविधानले प्रत्याभुत गरेका स्वतन्त्रताको रक्षा गर्दै जनहितलाई सर्वोपरी ठान्दै लोकतान्त्रिक मुल्य र मान्यताका आदर्शमा रहेर सरकार सन्चालित हुनुपर्छ। वर्तमान सरकारले यस्ता न्युनतम सर्तहरु पालना गर्नेतिर ध्यान दिनु जरुरी छ। बेला न कुबेला राडीमा सातु मुछ्दै हिँड्ने प्रवृत्ति आफुलाई लोकतन्त्रको हिमायति ठान्ने सरकारका लागि सुहाउने कुरा होइन। असुहाउँदो काम गरेर सातु मुछि नै सकेपछि सातु खाने हिम्मत देखाउन पनि हामी सरकारलाई आग्रह गर्न चाहान्छौं। अनिकालको सातुलाई राडीमा मुछ्ने र झुस् लाग्यो भनेर सातुलाई लुकाउन आफुले लगाएको कट्टुको खोल्दा सरकार नाङ्गै देखिन्छ। यसले एकातिर जनता भोकै मर्नुपर्ने अवस्था आउँछ नै अर्को चैं सडकमा आफ्नो सरकार नाङ्गो देख्दा भोका जनताको कुनै आशा रहन्नँ। जहाँ आशा रहन्नँ त्यहाँ जीवन रहन्नँ। हामी सरकारलाई जनतामा आशा जगाइराख्नका लागि आवश्यक पहलका लागि ध्यानाकर्षण गराउन चाहान्छौं।

र अन्त्यमा, विश्वव्यापी महामारीसँग लड्न सजिलो छैन। विश्वका सभ्य र भव्य ठानिएका देशहरुलाई यो महामारीले तहसनहस पारेको कसैसँग छिपेको छैन। यस्तो कठीन घडीमा हामी सरकारलाई जनताको जीवनलाई सहज बनाउँदै, आवश्यक आर्थिक, सामाजिक र स्वास्थ्यमा विशेष ध्यान दिन अपील गर्दछौं। न्युनतम सुविधाका बाबजुदपनि अविचलित आफ्नो काममा निर्धक्क अहोरात्र खटिनुभएका सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं।

तपाइँहरु कोही यो विज्ञप्तिमा सहमत हुनुहुन्छ र हस्ताक्षर गर्न चाहानुहुन्छ भने कृपया कमेन्ट सेक्सनमा नाम दर्ता गराउनु होला। धन्यवाद

हस्ताक्षरकर्ताहरु

१. बोस्टन

२. आडम

३. चार्ली

४. डेल्टा

५. ईको

६. फ्राङ्क

७. जर्ज

८. होटल

९. न्युरोडे

१०. अल्फा

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.