कोरोना भाइरस र यसको संक्रमणबारे सोधिने प्रश्न र त्यसका उत्तरहरू [FAQ-COVID19]


[अहिले विश्वव्यापी रुपमा फैलिएको नोभल सार्स कोभ २ (नाम राख्ने पण्डितहरुले पहिला नोबल कोरोना भाइरस भने, पछि फेरि नाम फेरेर Severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2) भनेर नाम राखे। लेख्दालेख्दै याद गरिएनछ) भाइरसबारे हाम्रो समाजमा केही भ्रम रहेको तथा पर्याप्त जानकारीको अभाव भएको महशुस हामीले गरेका छौं। यसको महामारी र यसको संक्रमणबारे सरल भाषामा जानकारी दिने उद्देश्यले हामीले यो जानकारीमूलक लेख तयार पारेका छौं। यसमा प्रयोग भएको भाषा १२ थरीको आफ्नो स्वादमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। कोभिड १९ का बारे यहाँ प्रश्न र उत्तरहरू छन्। हामी भविष्यमा आउने फरक अवस्थाहरू हेरेर यसलाई परिमार्जन पनि गर्नेछौं- सम्पादक, १२ थरी डेस्क]

कोरोना भाइरस भनेको के हो ? कोभिड-१९ के हो नि ?

कोरोना भाइरस धतुरो जस्तो देखिने साह्रै  सानो तर रोग लगाउन सक्ने जिवाणु हो। फोटोमा देखिएको भाइरस धतुरो जत्रै चैं हुन्नँ, जुम गरेर त्यत्रो देखाइएको हो। अहिले विश्वमा फैलिएको भाइरसको नाम नोभल सार्स कोभ २ भाइरस हो। यो भाइरस सबैभन्दा पहिला २०१९ को अन्त्यमा चीनमा भेटियो र अहिले विश्वभरी फैलिएको छ। यो भाइरसको संक्रमणलाई कोभिड-१९ भनिन्छ।

प्रधानमन्त्री केपी ओलीको भाषणमा ताली बजाउनेहरुका लागि- यो एउटा मृत सेल हो जुन मानिसको शरीरमा प्रवेश गरेपछि जीवित हुन्छ। र, मान्छेलाई दु:ख दिन्छ। मरेको जेमराज।

यो भाइरस कसरी जन्मियो? यसका पिता पुर्खा को हुन्?

यो कसरी र किन जन्मियो भन्ने ठ्याक्कै पत्तो चैं लागेको छैन। यो प्रजातिका भाइरस पहिल्यैदेखि विभिन्न नाममा यत्रतत्र फैलिएर रहेका थिए। पहिले यस्तै वितण्डा मच्चाएको सार्स भन्ने पनि यही कोरोनाको १३ दिने दाजुभाइ भाइरस हो। यी अपराधिका पुर्खाले विभिन्न रोगहरू लगाउँथे। यसपटक देखिएको चाहिँ नयाँ-कोरोना भाइरस हो। उही पुरानो बैजनाथ बाजेको पेडा हैन कि नयाँ पेडा हो यो। यसपाली चैं यो कताबाट आयो त भन्नेबारे पढेका विद्वानहरु अझै पढिरहेका छन्, नक्सा खिचिरहेका छन्, तर यसै भन्न सकेका छैनन्।  एकथरीले चमेरोबाट आएको भनेका छन्। चीनियाँहरुले चमेरो खाँदा त्यतैबाट आयो भन्ने पनि छन्। अर्काथरी छन्, जो यो कुनै प्रयोगशालाबाट बाहिरिएको भाइरस हो पनि भनिरहेका छन्। समग्रमा भन्दा यो कसरी आयो भन्नेमा हामी नेपालीकै जस्तो अनुमाने मात्रै देखिएका छन्। ठोस कुरो पत्ता लागेको छैन। यसकाबारे विभिन्न टेस्टहरू, खोपहरू र औषधिहरू बन्ने क्रममा छन्।

कस्ता मान्छेमा संक्रमणको बढी जोखिम हुन्छ ?

वैज्ञानिकहरूले अहिलेसम्म अनेकन कुरा भनेका छन्। अग्लामा कि होचामा कि, दुब्लामा कि बलियामा कि, बुढाबुढीमा कि युवायुवतीमा कि, रोगीमा कि स्वस्थ्यमा कि, महिला कि पुरुषमा कि, कस्तामा बढी जोखिम छ भन्ने तथ्याङ्कहरु निकालेका छन्। तर ठ्याक्कै  कस्ता व्यक्तिमा धेरै जोखिम छ र कस्तालाई कम भनेर पूर्णरुपमा ठम्याई सकेका छैनन्। तर, दीर्घ रोगीहरुलाई यसले बढी दु:ख दिने देखिएको छ।

अहिलेसम्मको विश्वको तथ्यांक हेर्दा ७० बर्ष नाघेका व्यक्तिहरूमा यो भाइरसले बढी दु:ख दिने रोग र ज्यानै लिने सम्भावना बढी देखिएको छ। उमेर बाहेक पनि रोगसँग लड्नसक्ने क्षमता कमजोर बनाउने रोगहरू जस्तै: मधुमेह, फोक्सोका रोग, मुटुरोग आदिले पनि कोभिड‍-१९ लाग्ने जोखिम बढाउँछ। नेपालमा भने अहिलेसम्मको तथ्याङ्क हेर्दा भने ४० बर्षमुनिका व्यक्तिहरुमा बढी संक्रमण देखिएको छ। त्यसैले पनि मृत्यु दर कम देखिएको हुनसक्ने अनुमान पनि छ। तर यसबारे कोही कसैले अध्ययन गरेको भेटिएको छैन।

 फोक्सोमा समस्या भएकाहरूमा पनि यो रोगको जटिलता बढी देखिन्छ। फोक्सोमा समस्या गराउने अवस्थाहरू अत्याधिक मोटो हुनु, नियमित चुरोट, खैनी, सुर्ती वा रक्सी पिउनेहरू हुन्।

मलाई यसबाट मर्न मन छैन, म के गरौं?

यो तोरीलाहुरे भाइरससँग ज्यास्ति नै डराउनु पर्ने चैं होइन। रुघा खोकी गराउने भाइरसबाट बचे जसरी सजिलै पनि यो भाइरसबाट बच्न सकिन्छ। तर यसो भन्दैमा बाल नै नदिने भने गर्नु हुँदैन।

सबैभन्दा महत्वपूर्ण कुरा साबुनपानीले मिचीमिची हात धुनु पर्‍यो। केही कुरा छोइसकेपछि वा बाहिर घुमेर आएपछि हात नधोई नाक मुख आँखा छुनुभएन। त्यसो गर्दा यो भाइरस शरीरभित्र पस्दैन। अल्छी हुनु भएन, सरसफाइ गर्नुपर्‍यो। जथाभावि नाक कोट्याउने, नाकभित्रका रौं उखेलेर रमाउने, नाकबाट सिंगानका पाप्रा उप्काएर आनन्द मान्ने गर्नुभएन। अनि, अरु मान्छेका अगाडि जाँदा नाक मुख छोप्ने गरेर मास्क लगाउनु पर्‍यो। मास्क चैं लगाउने तर कुरा गर्नेबेलामा मास्क खोल्ने गर्नुभएन। पिच्च पिच्च थुक्दै हिँड्नु भएन। यसो गर्दा भाइरस सर्ने सम्भवाना धेरै कम हुन्छ। संक्रमण नभएपछि यसबाट मर्नेको नाममा तपैंको नाम आउँदैन।

केही गरि यो भाइरस लागिहाल्यो भने के हुन्छ ?

रोग लागेपछि के हुन्छ भन्ने प्रश्नको सजिलो जवाफ हुन्छ, बिरामी भइन्छ। तर सामान्यत: कोरोना भाइरसको संक्रमण (कोभिड-१९) भएकालाई असामान्य लक्षण चाहिँ देखिँदैन। अझ कहिलेकाहीं त केही पनि लक्षण नै देखिँदैन। विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ बाट संक्रमितलाई उच्च ज्वरो आउने, सुक्खा खोकी, सास फेर्न गाह्रो हुने, हात पाखुरा दुख्ने, अल्छी लाग्ने, कसैकसैलाई वान्ता हुने जस्ता लक्षण देखिन्छन्। कतिलाई अल्छी लाग्ने, हात खुट्टा गल्ने पनि भएको देखिएको छ। अहिले नेपाल सरकारले संक्रमण भएका सबैलाई अस्पतालमा राख्ने गरेको छ। तर, लक्षण नभएका तर संक्रमण देखिएका सामान्य मान्छेले घरमा एक्लै बसेर पनि यो रोगबाट मुक्ति पाउन सकिन्छ।

म एकपटक कोभिड १९ को संक्रमण भएर निको भएँ। अब फेरि संक्रमण हुन्छ कि हुँदैन ?

अहिलेसम्मको अध्ययनले सामान्यत: एकपटक तपाइँले यसलाई लात्ताले हानेर शरीरबाट निकालेर मिल्काएपछि अर्कोपटक संक्रमण हुँदैन भन्ने देखिएको छ। तर, चीन तथा कोरियामा केही मान्छेहरुमा दोहोर्‍याएर संक्रमण भएको पनि देखिएको थियो। अपवाद भन्ने त जहाँ पनि हुन्छ नि। कहिलेकाहीं भीरबाट लडेको मान्छे नि मर्दैन। कहिले वाथरुमा चिप्लेर लडेर नि मान्छे मर्छ। यो त्यस्तै हो।  करिब करिब सबै रोग लागेकाहरू त्यो रोगसँग जितेर अघि बढेपछि फेरी यही रोग लाग्ने सम्भावना धेरै कम हुन्छ। तर रोग जितिसकेपछि ढुक्क हुन मिल्ने अवस्था अझै भइसकेको छैन किन भने अझै अध्ययन भइरहेको छ। 

यसले संक्रमण भएका सबैलाई मार्छ?  कति निको हुन्छन्? 

 प्रतिशतका आधारमा हेर्ने हो भने यसको संक्रमणमा परेका सबैजसो मान्छे निको हुन्छन्। प्रतिशतमै हेर्दा पनि अहिले विश्वमा ३ प्रतिशत हाराहारी मान्छेमा निको नभएको देखिएको छ। यसको संक्रमण शुरु हुँदा विश्व स्वास्थ्य संगठनले कोरोनाबाट संक्रमित लगभग २ प्रतिशत बिरामी (१०० जनामा ९८ जना निको हुन्छन्) को मृत्यु हुने अनुमान गरेको थियो। भन्नाले १०० जना बिरामी हुँदा २ देखि ३ जनाको मृत्यु हुने अनुमान छ। त्यसैले यसको संक्रमण भएपछि मरिहालिन्छ भनेर डरले थर्कमान भएर ज्यान सुकाउनु पर्दैन।

संक्रमित व्यक्ति कति दिनमा निको हुन्छन्?

यसको बारेमा पनि ठ्याक्कै एकिन तथ्याङ्क छैन। अध्ययनहरु भैरहेका छन्। सामान्यत: संक्रमणको दुई हप्तामा बिरामी निको हुन्छन्। तर यो पनि देशपिच्छे फरक देखिएको छ।

के रुघा खोकी नलागेका मान्छेले पनि कोरोना भाइरस सार्न सक्छन् ?

हो, सार्न सक्छन्। रुघा खोकी नलागेका, ज्वरो नआएका मान्छेले पनि यो भाइरस सार्न सक्छन्। कोरोना भाइरसको संक्रमण भएको पहिलो केही दिनसम्म कुनै लक्षण नदेखिँदै पनि संक्रमित व्यक्तिले स्वस्थ व्यक्तिलाई यो भाइरस सार्न सक्छन्। लक्षण नै नदेखिएका मान्छेबाट पनि यो भाइरस सर्न सक्छ।  तर धेरैजसो सर्ने भनेको चाहिँ रुखा खोकी लागेका संक्रमित व्यक्तिबाट हो ।

संक्रमितले अर्को स्वस्थ्य मान्छेलाई कतिदिनसम्म सार्न सक्छ?

संक्रमित व्यक्तिले संक्रमण भएको १-२ दिनदेखि नै रोग सार्न सक्छन्। रोग सार्न त कुनै लक्षण पनि देखिनु पर्दैन। सामान्यत: हप्ता दिनसम्म रोग सार्न सक्छन् संक्रमित व्यक्तिले। निकै जटिल संक्रमण देखिएकाहरूले २ हप्तासम्म यो रोग स्वस्थ व्यक्तिलाई सार्न सक्छन्।

के कोरोनाभाइरस अरु सामानहरूबाट पनि सर्छ?

सर्छ, सर्छ। संक्रमितको थुकको छिटा परेको पैसा (नोट, सिक्का)बाट, ढोका, सिढीं वा बरण्डाका समाउने हेण्डलबाट पनि यो भाइरस सर्न सक्छ।  तरकारी, फलफूल मात्र हैन – रोग लागेको व्यक्तिले हात-हातमा दिने र लिने सामानहरूबाट पनि यो रोग सर्न सक्छ। घरमा केही सामान लिएर आएपछि राम्ररी धोएर वा दिनभरी यत्तिकै छोडेर मात्र भित्र राख्नु राम्रो बानी हो। त्यस बाहेक, नयाँ केही सामान छोए पछि, अरु मान्छेसँग लेनदेन गरेपछि साबुनपानीले हात धोएर यसलाई सर्नबाट रोक्न सकिन्छ। 

फोहोरबाट कोरोना सर्छ?

सामान्यतया: यो भाइरस खोक्दा र हाच्छिँउ गर्दा मुखबाट निस्किने छिटाले गर्दा सर्ने हो। त्यही छिटा लागेको, थुक लागेको सामानहरू छोएर हामीले नाक, मुख छोयौं भने हामीलाई सर्ने हो। मान्छेको जिउबाट बाहिर हुने बित्तिकै भाइरस बाँच्ने सम्भावना एकदम कम हुन्छ। त्यसैले फोहोरको माध्यमबाट सर्ने सम्भावना नि कम हुन्छ। तर, संक्रमितले लगाएको मास्क फोहोरमा फालेको छ वा थुकेको छ र केही समयभित्रै हामीले त्यो छोयौं भने र त्यही हातले हामीले नाक, आँखा छोयौं भने पनि भाइरस सर्न सक्छ।

के लामखुट्टेले पनि भाइरस सार्न सक्छ?

खोइ हामीले अहिलेसम्म लामखुट्टेले कोरोना सार्छ भनेर कतै पढेका छैनौं। अहिलेसम्मको अध्ययनले लामखुट्टेले कोभिड १९ को संक्रमण सार्न सक्ने देखिएका छैनन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ्य व्यक्तिलाई टोक्दा संक्रमण भएको तथ्य फेला परेको छैन। कसैले सर्छ भन्यो भने त्यसलाई कानमा समातेर खै कसले भन्यो, कता भन्यो भनेर प्रमाण माग्नुहोला। अँ, लामखुट्टेले टोकेर कालाजार हुनसक्छ। लामखुट्टेले कोरोना सार्दैन भनेर झुल नलगाई चैं नसुत्नुहोला।

रुघाखोकी लागेको मान्छेलाई कोरोनाले हो कि हैन भनेर कसरी थाहा पाउने?

रुघा खोकी लागेकै भरमा मात्रै कोरोना भएको मानिन्नँ। तपाइँं कोरोना संक्रमितको नजिक रहनु भएको भए, संक्रमित भएको ठाउँमा जानुभएको भए,  संक्रमण भएको मान्छेलाई भेट्नुभएको छ भने, तपाईँको छिमेकमा कसैलाई संक्रमण पुष्टि भएको छ भने अस्पताल गएर जाँच गराउन सक्नुहुन्छ। यदि तपाइँलाई केही लक्षण देखिएका छन् र यस्ता ठाउँमा पुग्नुभएको छ भने मास्क लगाउनुहोला, हात धुनुहोला। परिवारबाट पनि १ मिटरको दुरी बनाउनुहोला, ताकी कोरोना संक्रमण रहेछ भने पनि परिवार आफन्तलाई नसरोस्।

कोरोनाभाइरस संक्रमणको छ कि छैन भनेर कस-कसले जाँच गराउने हो?

यसको बारे पनि संसारभरीका देशहरुका आफ्नै मापदण्ड छन्। तर सामान्यत: तपाईँको नजिकको (भन्नाले तपाइँ सँगै बस्ने परिवार वा साथीभाइ, इष्टमित्र) कसैलाई कोरोना संक्रमण देखिएको छ भने, वा संक्रमित कसैसँग भेट भएको छ भने जाँच गराउने हो। तपाइँले कोरोना संक्रमण भएको क्षेत्रमा यात्रा गर्नुभएको छ भने साथै तपाईँमा कुनै जटिल लक्षणहरू देखिएका छन् भने पनि सो जाँच गरिन्छ। त्यसबाहेक तपाइँलाई चारदिनभन्दा बढी १०४ डिग्री ज्वरो आए, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने लगायतका लक्षण देखिए पनि परीक्षण गर्न पाइन्छ। 

अहिले केही अस्पतालहरूले कुनै कारणले अस्पताल भर्ना हुन पर्ने भयो वा शल्यक्रिया गराउन पर्ने अवस्थाका सबै बिरामीहरूको कोरोना जाँच गराउने गरेका छन्। यसरी जाँच गराउँदा रोग थप नफैलियोस्, अस्पतालमा संक्रमण नबढोस् भनेर हो।

देशमा भएका सबैको जाँच किन नगरेको ?

कोरोनाको केही पनि लक्षण नभएका र कोरोना संक्रमण भएकासँग सम्पर्कमा पनि नआएका व्यक्तिहरूलाई सामान्यत: परीक्षण गर्नु जरुरी हुँदैन। यसको अर्को कारण- यो भाइरस शरीरमा पस्नासाथ परीक्षण गर्दा नदेखिन पनि सक्छ। साथै, यो परीक्षण गर्न दक्ष प्राविधिकहरु, ठूलो ल्याब र धेरै समय पनि लाग्छ। हाम्रोजस्तो सिमित स्रोत र साधन भएको देशमा सबैजनाको परीक्षण गर्न थाल्ने हो भने रोग फैलिन सक्ने ठाउँहरुको परीक्षण ढिलो हुन्छ।

र्‍यापिड टेस्ट र पिसिआरमा फरक के हो ?

पिसिआर टेस्ट भनेको नाक वा मुखभित्रबाट थोरै सिँगान, खकार निकालेर त्यसमा कोरोना भाइरस छ कि छैन भनेर हेर्ने हो। यसले संक्रमण छ कि छैन भनेर देखाउँछ। तर यो टेस्ट पनि पोजिटिभ आउन शरिरमा भाइरस पसेको ३-४ दिन भएको हुनुपर्छ। तर पिसिआर टेस्ट गर्न धेरै मान्छे, ठूलो ल्याब र धेरै समय लाग्छ।

र्‍यापिड टेस्ट भनेको एन्टिबडी टेस्ट हो। कसैलाई संक्रमण भएको १-२ हप्तामा मात्र यो टेस्ट पोजिटिभ आउँछ। त्यसैले र्‍यापिड टेस्ट नेगेटिभ आउँदैमा रोग छैन भन्न सकिन्नँ, किनभने भाइरस केहीदिन अघि मात्र शरिरमा पसेको रहेछ भने पनि टेस्ट नेगेटिभ आउँछ। अनि कोही मान्छेलाई पहिल्यै कुनै समय संक्रमण भएको तर लक्षण नदेखिएको र निको भैसकेको भए पनि यसमा पोजेटिभ देखिन्छ।

र्‍यापिड टेस्ट पोजेटिभ आयो भने के बुझिन्छ ? ढुक्क हुन पाइन्छ त ?

र्‍यापिड टेस्ट पोजेटिभ आयो भने एकपटक संक्रमण भइसक्यो, शरीरले सो भाइरससँग लड्ने एन्टिबडी बनाइसक्यो भनेर बुझिन्छ। तर हामी भन्छौं नि, मेशिनको भर हुँदैन। हो, यसमा पनि याद गर्न पर्ने कुरा के हो भने कुनै पनि परीक्षण शतप्रतिशत सही हुँदैनन्। झन् र्‍यापिड टेस्टको त भरै हुँदैन भन्ने कुरा पनि आइरहेको छ। विश्व स्वास्थ्य संगठनले पनि र्‍यापिड टेस्टलाई मान्यता दिएको छैन। झन् चीनले बनाएका र्‍यापिड टेस्ट किट्सहरु त धेरै युरोपियन देशहरुले फिर्ता नै गरेका थिए। कुनै पनि लक्षण छैन र पनि पोजेटिभ आयो भने राम्रो कुरा हो, तर सुरक्षित बस्नुपर्छ – कम्तिमा २ हप्ता । नेपालमा र्‍यापिड टेस्ट पोजिटिभ आयो भने पिसिआर प्रविधिबाट फेरी जाँच गर्ने गरिएको छ, जसले संक्रमण अझै छ कि छैन भनेर देखाउँछ। कतिपय देशहरुले र्‍यापिड टेस्टलाई मान्यता नै नदिएका पनि छन्।

के गर्भवती महिलालाई कोरोना भाइरसले असर गर्ने धेरै सम्भावना हुन्छ?

नेपालमा सुत्केरी महिलाको मृत्यु भएकोले केहीमा यो शंका उब्जेको हुनुपर्छ। तर, अहिलेसम्म पत्ता लागेको कुराले गर्भवती महिलालाई उही उमेरका अरु महिलालाई भन्दा बढी असर गरेको देखिएको छैन। 

के कोरोना भाइरसले गर्भावश्थामा जटिलता ल्याउँछ?

अहिलेसम्म यसको बारेमा प्रशस्त जानकारी छैन। जति जानकारी छ त्यसले कोरोना भाइरसले गर्भावस्थामा जटिलता भएको देखाउँदैन। पहिले पहिलेका कोरोना भाइरसहरुले (जस्तै सार्स) बच्चा खेर गएको र बच्चा महिना नपुगी जन्मिएको देखिएको थियो। तर जन्मिएको बच्चाको विकासमा भने केही समस्या देखिएको थिएन।

कोरोना भाइरस संक्रमित गर्भवती महिलाबाट जन्मिएको बच्चामा सर्ने सम्भावना हुन्छ कि हुन्न?

अहिलेसम्मको अध्ययन अनुसार त्यसरी सरेको देखिएको छैन।

के बच्चालाइ सजिलै कोरोना भाइरस लाग्छ?

बच्चाहरुलाई कोरोना लाग्ने सम्भावना अहिलेसम्मको आँकडामा देखिँदैन। अहिलेको तथ्याङ्कमा ज्यादै न्युन मात्र बच्चामा संक्रमण देखिएको छ। पहिले पहिले पनि यस्तो भाइरसको महामारीमा बच्चालाई खासै परेको थिएन।

बच्चा र ठुलामा लाग्ने कोरोना भाइरस फरक फरक हो ?

बच्चाहरुमा धेरै नदेखिएकोले यसै भन्न सकिने स्थिति छैन। यसको सुरुवात भएको देश चिनले दिएको जानकारी अनुसार ज्वरो, रुघाखोकी र पेट दुख्ने समस्या भने देखिएको छ बच्चाहरुमा।

मेरो उमेर ७० वर्ष भन्दा माथि छ। यस महामारीको परिस्थितिमा म कसरी सुरक्षित रहन सक्छु ?

विशेषगरी ७० वर्ष भन्दा माथि उमेर भएकाहरुले कोरोना भाइरसको पहुँचबाट टाढा बस्नुपर्छ। वयस्कहरु भन्दा ज्येष्ठ नागरिकहरु यस रोगको जटिल अवस्थामा पुग्ने खतरा बढी रहेको छ। बढी उमेर भएका बुढाबुढीले भीडभाड हुने ठाउँमा नजाने, मेरो के काम छ त भन्दै टोलमा निस्केर चौतारामा गफ लडाएर बस्न भएन। जथाभावी चिजहरु नछुने, बाहिरी मान्छेको सम्पर्कमा नजाने, मास्क, पन्जा लगाउने, नियमित हात धुने गरेर भाइरसको संक्रमणबाट बच्न सकिन्छ।

मेरो परिवारमा ७० वर्ष भन्दा माथिको उमेरको सदस्य हुनुहुन्छ। महामारीको समयमा मैले के कस्ता उपायहरु अपनाउन सक्छु?

यस परिस्थितिमा ज्येष्ठ नागरिकहरुको दिनचर्या सहज बनाउनका निम्ति परिवारका अन्य सदस्यहरुले प्रमुख भुमिका निर्वाह गर्नुपर्छ। यस रोगबाट ज्येष्ठ सदस्यलाई बचाउनका निम्ति परिवारका अन्य सदस्यहरुले तल उल्लेखित उपायहरु अपनाउन सक्छन्:

  • बुढाबुढीहरुसँग अनावश्यक भेटघाट नगर्ने वा कम गर्ने, वैकल्पिक रुपमा फोन वा अन्य संचारमाध्यमको प्रयोग गर्ने
  • भेटघाट गर्नै परेमा छुने वा अंकमाल नगर्ने र शारीरिक दुरी कायम गर्ने
  • मास्कको प्रयोग गर्ने। मास्कको अभाव भएको खण्डमा कपडाले नाक मुख छोप्दा पनि हुन्छ अथवा टिस्यु पेपरले पनि मद्दत गर्छ।

नोभल सार्स कोभ २ भाइरस को केही औषधि वा खोप छ त ?

अहिलेसम्म यस रोग विरूद्धको खोप उपलब्ध छैन। खोप निर्माण क्रम जारी छ। खोपको निर्माण प्रक्रिया धेरै ढिलो र विभिन्न चरणमा हुने भएकोले अहिलेको परिस्थितिसँग जुध्नकोलगि यस खोपको प्रतिक्षा गर्नु सान्दर्भिक हुँदैन।

सर्वप्रथम्, भाइरसको संरचनाको अध्ययन गरिन्छ र प्रयोगशलामा जनावरहरुमा परीक्षण गरिन्छ। त्यसपछि मानव शरीरमा उक्त खोपको प्रभावकारिता एवं सुरक्षा जाँच गरिन्छ। यो प्रक्रिया पुरा हुन छ महिना वा वर्ष दिन लाग्न सक्छ। अत्यावश्यक परेको खण्डमा ठुलो संख्यामा मानिसहरुमा परीक्षण गर्ने प्रक्रिया नगर्न पनि सकिन्छ। वर्तमान अवस्थामा कोरोना भाइरस विरुद्धको खोप उच्च प्रविधिद्वारा चाँडो भन्दा चाँडो विकास गरिँद छ। तर अहिले तत्काल यस खोप उपलब्ध हुने बारे अनुमान गर्न मुश्किल छ। विश्व स्वास्थ्य संगठनले यस खोप निर्माणमा सहकार्य गर्दछ र प्रगति प्रतिवेदन पनि राख्ने गर्दछ।

लकडाउन/बन्दाबन्दीमा बस्न किन जरुरी भएको हो ?

यो आयो कुरो। यो कोरोना भाइरस बडो घमण्डी किसिमको छ। यसलाई तपाइँले नबोलाइ, बाटोसम्म लिन नगइ मरिकाट्टे यो तपैंको घरमा आउँदैन। त्यसैले सबै जना घरमै बस्ने र भिडभाडमा नजाने हो भने संक्रमित व्यक्तिबाट रोग अन्य व्यक्तिमा सर्न सक्दैन भनेर लकडाउन गर्नु परेको हो। अहिलेको अवस्थामा कुनै औषधि वा खोप नभेटिँदासम्म घरमै बसेर संक्रमणबाट बच्नु नै राम्रो उपाय हो। 

के बेसार, लसुन, अदुवा, जडिबुटी वा महले कोरोना भाइरसको असरलाई कम गर्छ ?

संसारका थरिथरीका वैज्ञानिक र विज्ञहरुले गरेका अध्ययनबाट वैज्ञानिकरुपमा लसुन, अदुवा, बेसार, महले कोरोना निको हुन्छ पुष्टि हुन सकेको छैन। बरु धेरै बेसार खायो भने चाहिँ शरीरलाई नराम्रो गर्छ।अझ हाम्रा प्रधानमन्त्री त ट्याक्क तातोपानीमा अदुवा, लसुन, बेसार उमालेर खाने भनेर डाक्टरी सल्लाह नै दिनुभएको छ। खानुस्, खानलाई त के भयो र, तर भर चैं नपर्नुस्।  बेसार तथा अन्य जडिबुटीले रोगसँग लड्न सक्ने क्षमता बढाउछ भन्ने छ। तर रोगसँग लड्ने क्षमता दिन वा महिनामा बनाउन सकिने हैन। यो बर्षौं देखिको हाम्रो रहनसहन, खानपिनमा भर पर्छ।

के नेपालमा आएको कोरोना भाइरस कमसल खालको हो?

हाम्रा प्रधानमन्त्री त्यस्तै भाषण गर्नुहुन्छ, तर यसको अहिलेसम्म कुनै प्रमाण छैन। यस बारेमा कुनै अध्ययन गरिएको पाइएको छैन। प्रधानमन्त्री, स्वास्थ्यमन्त्री वा सल्लाहाकारज्यूहरुले अध्ययन गर्नुभएको भए पनि भाषणबाहेक त्यसको रिपोर्ट बाहिर आएको छैन। 

के भारतबाट आएको कोरोना भाइरस अरु देशबाट आएको भन्दा कडा हो?

यसको अहिलेसम्म कुनै प्रमाण छैन। यस बारेमा पनि कुनै अध्ययन गरिएको पाइएको छैन। एउटा कुरा के चैं हो भने भारतबाट आएको भाइरस राष्ट्रवादी भाइरस चैं होइन जस्तो छ। अराष्ट्रिय भाइरस।

नोट: हामीले यो लेख सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँ प्रकाशित गरेका हौं। कोरोना भाइरस सम्बन्धि यहाँ प्रस्तुत तथ्यहरु हामीले विश्व स्वास्थ्य संगठन, विभिन्न स्वास्थ्य संस्थाहरुका वेबसाइट, समाचार रिपोर्टहरुबाट संकलन गरेका हौं। यसलाई हामीले भाषिक रुपमा १२ थरीको आफ्नो ढाँचामा प्रस्तुत गरेका छौं। तपाइँहरुलाई यहाँ हामीले प्रस्तुत गरेका तथ्य गलत लागेमा वा यसमा अझ थप्नुपर्छ जस्तो लागेमा हामीलाई कमेन्टमा लेख्नुहोला। हामी आवश्यक परिमार्जन र थप्नेछौं। यति पढिसकेपछि यो लेखलाई तपाइँको समाजमा फैलाउनुस् भनेर हामी भन्दैनौं। तपाइँ आफैं आफ्नो राजा हुनुहुन्छ।

#STAYHOME #STAYSAFE #SAVELIFE

One thought on “कोरोना भाइरस र यसको संक्रमणबारे सोधिने प्रश्न र त्यसका उत्तरहरू [FAQ-COVID19]

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.