पिसिआर नेगेटिभ: पत्रकार विशेषाधिकार


साँच्चैभन्दा यो ब्लग लेख्न मन थिएन। केही ट्विटर प्रयोगकर्ताहरुले , केही पत्रकारहरुले अनि केही पूर्व पत्रकारहरुले यसबारे फाट्टफुट्ट ट्विट लेखेको त देखिएकै छ। ‘ब्लग लेख्न मन थिएन’ भनेर लेख शुरु गरेपछि त्यसको कारण पनि दिऊँ होला। यसको एउटै कारण हो, पत्रकारसँग पङ्गा लिन मन नलाग्ने कारण। नेपालका पत्रकार पत्रकारहरुकै भाषामा र व्यवहारमा ‘विज्ञ’ त हुन् नै त्यसमाथि ती विशेषअधिकारप्राप्त ‘मानव’ पनि हुन्। ती तपाइँ हामीजस्ता सामान्य ‘जनता’ हैनन् र सामान्य मानव हैनन्। ती दुईवटा कोटभित्र पर्ने ‘मानव’ हुन्।

अब लेखको बिषय- यतिबेला नेपालका पत्रकारहरुले आफूले कोरोना संक्रमण भएको वा नभएको जानकारी पाउन पिसिआर परीक्षण गर्न स्वाब संकलन गराउँदै गरेका फोटा मात्र हैन पिसिआएर नेगेटिभ देखिएका रिपोर्ट पनि सगौरव सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन्। यस्तो लाग्छ, उनीहरुले कोेरोनाविरुद्धको भ्याक्सिन लगाए। पिसिआर परीक्षणको रिपोर्ट र भ्याक्सिनमा फरक छ भन्ने यी ‘विज्ञ’लाई थाहा छैन जस्तो छ। नत्र नेगेटिभ रिपोर्टको प्रमाणपत्र गौरवपूर्वक फेसबुक ट्विटरमा सार्वजनिक नगर्नुपर्ने हो।

यी तिनै पत्रकार हुन्, जो हरेक दिन समाचार लेखिरहेका छन्- संक्रमित देखिएको ठाउँमा पर्याप्त परीक्षण भएको छैन, परीक्षणको लागि पर्याप्त किट्स छैन। कर्मचारी र सांसदको अनावश्यक परीक्षण गरेर स्रोतको दुरुपयोग गरिएको छ। यी र यस्ता समाचार लेखेर डेस्कलाई बुझाएर यी आफैं पत्रकार भएकै कारण, दबाब र प्रभावमा पारेर मन्त्रालयलाई तर्साएर र धम्काएर त्यही सिमित स्रोतको दुरुपयोग गरिरहेका छन्। मलाई लाग्छ, यी जसले पिसिआर परीक्षण गरेर सगौरव सञ्जालमा प्रमाणपत्र छापिरहेका छन्, ती यिनै मान्छे हुन् जो कोरोना लागेकालाई अपराधि करार गर्न लागेका छन्। यी तिनै मान्छे हुन्, जसलाई कोरोनाको बारे एकै थोप्पो ज्ञान छैन तर ‘विज्ञ’ बनेर समाजलाई पढाइरहेका छन्।

यदि यिनलाई कोरोनाबारे केही थाहा हुन्थ्यो भने यिनले बुझ्ने थिए, पिसिआर परीक्षणको लागि स्वाब दिएर अस्पतालबाट बाहिर निस्किँदा अर्को स्वाब संकलनका गएको कोरोना संक्रमितसँग ठोक्किएर उसलाई कोरोना संक्रमण हुन सक्छ। वा, उसलाई स्वाब संकलन गर्न जाँदैगर्दा संक्रमण भएको हुनसक्छ र त्यो उसले अहिले बुझाएको स्वाबमा देखिँदैन। कोरोना संक्रमणको बारे यति सामान्य ज्ञान नभएको पत्रकारले कोरोना सम्बन्धि समाचार र स्टाटस लेखेर समाजलाई कस्तो शिक्षा दिएको होला, त्यो हामी अनुमान गर्न सक्छौं।

यो अलि गाली गरेकोजस्तो देखियो क्यार। पख्नुस् है, अलि नरम बनौं अब। विश्व स्वास्थ्य संगठनले भनेको छ, कोरोनाको संक्रमण कम गर्नको लागि सबैभन्दा महत्वपुर्ण हो ‘परीक्षण’। जति धेरै परीक्षण गरियो, त्यति धैरै चाँडो यसको फैलावट रोक्न सकिन्छ। अब यो तर्क देखाएर पत्रकारको परीक्षणलाई जायज ठहराउन पनि सकिन्छ। तर अब यसको अर्को पाटो हेरौं- परीक्षणका प्राथमिकता के हुन्? कस्ता मान्छेलाई परीक्षण गर्ने? यसका केही मापदण्ड छन्। यसबारेमा १२ थरीले ‘कोरोना समबन्धि प्रश्नोत्तरमा’ पहिले पनि लेखेको छ। डिटेलमा पढ्न मन भए यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ।

तपाइँलाई कोरोनाको कुनै पनि लक्षण छैन, तपाइँ कोरोना संक्रमितको सम्पर्कमा हुनुहुन्नँ, तपाइँले कोरोना संक्रमित क्षेत्रको भ्रमण गर्नुभएको छैन, तपाइँको परिवारमा कोही पनि कोरोना संक्रमित छैनन् र पनि तपाइँ विशेष सुविधा लिएर पिसिआर परीक्षण गरेर प्रमाणपत्र सार्वजनिक गर्दैहुनुहुन्छ भने कृपया तपाइँले अनियमितताका, आदर्शका समाचार लेख्न बन्द गर्नुस्। 

यो लेख पढेर कोही पत्रकारलाई रीस उठेको पनि हुनसक्छ। देशमा कति पत्रकार छन् र कति प्रतिशतले विशेष सुविधा लिएर पिसिआर परीक्षण गरे? भनेर प्रश्न पनि उठन सक्छ। फेरि कतिपय पत्रकारहरु संक्रमित क्षेत्र पुगेका पनि छन्, संक्रमितलाई भेटेका पनि छन् भन्ने तर्क पनि होला। त्यसमा कुनै शंका भएन। तिनीहरुको परीक्षण हुनुपर्नेमा कुनै विमति पनि हुँदैन। तर त्यसको लागि तपाइँलाई विशेष सुविधा आवश्यक किन पर्छ? एक त सरकारले संक्रमितको कन्ट्याक ट्रेसिङ् गर्दा तपाइँ स्वत: परीक्षणको दायरामा आउनुहुन्छ। अर्को तपाइँ आफैं परीक्षण केन्द्र गएर आफु संक्रमितको सम्पर्कमा रहेको बताएर परीक्षण गर्न पाउनुहुन्छ। तपाइँको लागि सरकारले छुट्टै किन विशेष व्यवस्था गर्ने? बाँकेको नरैनापुरको क्वारेन्टिनमा बसेको एउटा नेपाली नागरिकभन्दा तपाइँ के आधारमा विशेष नागरिक हो? तपाइँलाई थाहा छ- तपाइँले अनावश्यक रुपमा खेर फालेको किट्ले अर्को आवश्यक मान्छेको परीक्षण हुनसक्छ, र, त्यसबाट अझ चाँडो संक्रमण फैलिनबाट रोक्न सकिन्छ।

अब यसको अझै अर्को पाटोको पनि चर्चा गरौं। परीक्षणपश्चात् रिपोर्ट सामाजिक सञ्जालमा शेयर गर्नेबारे। सबैभन्दा पहिलो प्रश्न- यदि त्यो पिसिआर रिपोर्ट पोजेटिभ आउँदा पनि तपाइँले यत्तिकै उत्साहका साथ सामाजिक सञ्जालमा शेयर गर्नुहुन्छ? तपाइँको स्वास्थ्य सम्बन्धी जानकारी तपाइँको नितान्त व्यक्तिगत विवरण हो। अनि तपाइँलाई थाहा छ? यदि तपाइँलाई कोरोना संक्रमणको शंका छ र परीक्षण गर्न जाँदै हुनुहुन्छ भने तपाइँले केही कुरा अबलम्बन गर्नुपर्छ। तपाइँले सुरक्षाका विधि अपनाउनुपर्छ। तपाइँको रिपोर्ट नआउन्जेल तपाइँ क्वारेन्टिनमा बस्नुपर्छ। कोरोनाको पिसिआर परीक्षण गर्ने भन्ने कुरा प्रेस दिवसमा गरिने प्रभातफेरि वा रक्तदान कार्यक्रम हैन। रक्तदान गरेको फोटो वा मैले १० पटक रक्तदान गरें भनेर प्रमाणपत्र देखाएको जस्तो गौरवशाली होइन यो रिपोर्ट नेगेटिण आएको प्रमाणपत्र देखाउने कुरा। अर्को कुरा, त्यो रिपोर्ट स्थायी होइन भन्ने तपाइँलाई थाहा होला। अहिलेसम्म संसारमा भएका अध्ययनबाट एकपटक पिसिआर परीक्षण नेगेटिभ आएको मान्छे कोरोनाबाट संक्रमित हुँदैन भन्ने तथ्य फेला परेको छैन। 

र अन्त्यमा, पत्रकारको कोरोना परीक्षण गर्नै हुँदैन भन्ने होइन। तर हाम्रो देशले, सरकारले तोकेको मापदण्डभित्र रहेर, विशेषाधिकारको प्रयोग नगरी, स्रोत र साधन बचाउने हिसाबले काम गरौं भन्ने अनुरोध मात्र हो। हामीलाई थाहा छ, एकजना पत्रकार कति घुम्छ र उसले कतिजनालाई संक्रमित गराउन सक्छ भन्ने, अनि हामीले भारतको जीन्युज क्लस्टरमा परिणत भएको पनि देखेका छौं। तर, तपाइँ अशिक्षित हुनुहुन्नँ, तपाइँलाई सुरक्षाका विधि थाहा छन्, तपाइँलाई संक्रमण कसरी हुन्छ भन्ने ज्ञान पनि छ। त्यो ज्ञानलाई ‘स्मार्ट’ भएर प्रयोग गर्नुस् भन्ेन हाम्रो सानो अनुरोध हो। बाँकी त तपाइँहरु आफैं विज्ञ हुनुहुन्छ। जय होस्।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.