न त म यो विषयको विज्ञ न त यस क्षेत्रको जानकार नै। शीर्षकमा लेखिएका तीनवटा कुरामध्ये म कुनैमा पनि फिट छैन। त्यसो त नेपालमा विज्ञ हुन खासै केही गर्नै पर्दैन, पत्रिका वा अनलाइनमा एकदोटा लेख फालदिए पुग्छ। १२ थरीमा छापिन लागेको यो मेरो लेख पनि त्यही विज्ञ बन्ने एउटा प्रक्रिया हो भनेर बुझ्नुस्। हुनत बिहान सद्धे उठेको मान्छे साँझ परेर भट्टी छिर्दा विज्ञ भइसक्छ। यस्ता ‘बेल्के विज्ञ’ त कति कति। अझ पहुँच हुनेहरु अनि ‘औसत’ विज्ञहरु पत्रिका, अनलाइनमा लेख छाप्छन्, मजस्ता ‘औसत’ नभएकालाई १२ थरी छँदैछ। हिजोतिर ट्विटरको टाइमलाइनमा एउटा ट्विट आएको थियो। आफूलाई आदर्श पत्रकारिताको ‘विज्ञ’ ठान्ने ट्विटरका निल्टिकेले गरेको ट्विट यस्तो थियो-
अरुका दु:ख पीडाका खबर त पत्रकारले लेख्छन्, आफ्ना पत्रिकामा छाप्छन्, टिभीमा देखाउँछन् तर पत्रकारका दु:ख पीडाका खबर कसले कहाँ लेख्ने? नाम राखेर लेख्न सक्नेले @mysansar मा लेख्ने, नाम राख्न नसक्नेले @12thari मा लेख्ने 😏— Ananta Koirala (@anantabrt) July 19, 2020
यी स्वविज्ञ निल्टिकेको कुरा हो जस्तो नि लाग्छ बेलाबेला। तर १२ थरीले पनि यसअघि मैले पठाएका लेख डम्पिङ् साइटमा फाल्देको अनुभव छ। तैपनि हार मान्ने कुरै भएन। साइकल चोरले त आफ्नो काममा निरन्तरता दिँदै मेहनत कायम राख्दा भक्तपुरमा घर बनाए रे। १२ थरीमा लेख छपाउन म पनि लागिपरेकै छु।
विज्ञताको मापनको शुरुवात पहिला सानातिना अनलाइतिरबाट हुन्छ। त्यहाँ एकदोटा लेख छापिएपछि अलि नाम चलेका अनलाइन अनि पत्रिकातिर लेख छापिन थाल्छन्। अलिकति कतैको ‘सिण्डिकेट’मा छिरेर एकदो कप च्या कफी पिउन भ्याइयो भने त टेलिभिजन, रेडियो र पत्रिका जताततै बाइट र लेखहरु आउनु कुनै नौलो हैन। लौ छोडौं यी कुरा, आजको विषयमा प्रवेश गरौं।
सलह
हाल नेपालमा दुईवटा कुरा चर्चित छन्। पहिलो, भारत हुँदै भित्रिएको सलह र भारतकै ईशारामा मलाई हटाइन लाग्यो भनेर सम्माननीय प्रधानमन्त्रीले गर्दा भित्रिएको नेकपा भित्रको कलह। कुरो सुरु गरौं सलहबाट। कोरोनाले समग्र विश्वको ढाड सेकेर उठ्न हम्मे हम्मे परेको बेला अफ्रिका हुँदै दक्षिण एसिया भित्रिएको सलहले कृषकहरुको ढाड भाँच्ने करिबकरिब निश्चित भैसके पनि पहिलो संकट अलि टरे जस्तो छ। अलि पहिले खै कताको एक बेल्के विज्ञ हुन् कि साँच्चिकैका विज्ञ हुन ठूला ठूला स्वरमा भन्दै थिए सलह नेपाल आउने वातावरण छैन। तर सलहले तिनका कुरा सुनेन। आखिर आउनु थियो आएरै छाड्यो। फेरि तिनै विज्ञ भने १/२ हुल आउँछन्। तराइसम्म मात्र आउँछन्। तर सलहले विज्ञका कुरा नसुन्दो रहेछ, सायद पढालिखा नरै’छ कि, नेपाल छिरेको भोलिपल्टै झण्डै हिमाली भेग पुगेछन् गाँठे। करिब एक हप्तामा त खै देशको कलह देखेर माया दया लाग्यो कि? नेकपाको कलह देखेर पो हो कि ? किन हो सलह अलप भए रे केही उतै पारी फर्के रे। हुन त इन्डियाबाट छिरेका सलह पाकिस्तान जान चाहन्थे, पाकिस्तान जान बाटो खोज्दैछन्, काठमाडौंमा बास बस्न मात्र आएका हुन् भनेर नि समाचार आएका थिए। तर चाइनिज राजदुतको हस्तक्षेपले डराएछन् जस्तो छ। ती न त पाकिस्तान जान सके न त चीन। सलह हुल बाँधेर आएका थिए देशको कलहले तितरवितर भए।
सलहको बसाइ लम्बिएको भए सलह व्यापारसमेत फस्टाउने प्रसस्तै सम्भावनाका ढोकाहरु खुलिसकेका थिए। ‘सलह समाऊ पैसा कमाऊ’ अभियानमा विभिन्न स्थानीय निकायदेखि प्रदेश सरकारसमेत लागिसकेका थिए। उता संघीय सरकार अम्रिकाने हेभी मेटल गीतले सलह कक्रक्क बनाउन दिलो ज्यान दिएर लागि परेको थियो। सलह अलि समय बसेको भए केही निकायहरुलाई असार दशैं, तिहार, छठ, इद सबै अहिलेनै आइसक्ने थियो। कोरोनाले मालामाल हुन नपाएकाहरु सलहले एकाएक मालामाल हुने अवसर थियो। मोरो सलहले धेरैका सपनाहरुमा तुसारापात गरिदियो। एक राते विद्वानहरुलाई टेलिभिजनमा अनुहार देखाउने सपना तुषारापात गरिदियो। सलहको सेकुवा बेच्न तयार भएका सलह सेकुवा कर्नरेहरुको सपना तुषारापात गरिदियो भने पदेन विद्वानहरुको त कुरै नगरम्।
कलह
अब कुरा गरम् कलहको। सलह भर्खरै भित्रिएतापनि नेकपाको कलहको बिजारोपण २/४ महिना अगाडिनै भएको देखिन्छ। नेकपाको कलह सलहभन्दा कम रोमान्चकारी भने छैन। आफ्नै संसदीय दल, सचिवालय, स्थायी कमिटिमा अल्पमतमा परेपछि राष्ट्रवादको ज्वालोमा उग्र राष्ट्रवादको घ्यू थपेर जनतालाई त्यसको रापले ध्यान आकृष्ट गर्न चाहने आफुले आफैलाई राष्ट्र निर्माता ठान्ने ओलीबाको रणनीतिले उल्टै फेल मात्र खाएन झण्डै उक्त रापमा आफैं भष्म भए। कलहले फुटको संघारमा पुगेको दल चाईनिज फेविकलले टाँसिने प्रयत्न जारी रहेको छ। ईण्डियन फेविकल दलेर उप्कँदै गरेका हाम्रा दलहरु पहिलोपटक चाईनिज फेविकलले टाँसिन खोज्दैछन्। कुन फेविकल गुणस्तरीय र टिकाउ हुन्छ समयले नै बताउला। नेकपाको कलहले स्वदेशमा मात्र हैन विदेशका मिडियामा समेत उच्च प्राथमिता पाएर नेपाललाई विश्वमा चिनाउन अतुलनिय योगदान गरेको छ। बिशेष गरी भारतिय मिडियाहरुमा त अहो कति धेरै चर्चा। यति चर्चा इतिहासमा सायदै भएको थियो। थेप्चे नक्सा हुँदै सुरु भएको विवाद चुच्चे नक्सामा जमीन बढेजसरी नै बढ्दै गयो। नेता कार्यकर्ता मात्र के चियादेखि भट्टी पसलमा समेत कलहले प्रवेश पाइसक्यो। घर घरमा प्रवेश भएर चोक चोकमा बहस भैसक्यो तै पनि अझै कलह सकिएको छैन। जुट्ने र फुट्ने दोधारको प्रतिशत तलमाथि भएतापनि यकिन भने भैसकेको छैन।
चाइनिज फेबिकलको जोडमा विश्वास नभएर अहिले शीतल निवासतिरको फेबिकलको प्रयोग शुरु गरिएको छ। मने अध्यक्षलाई फुके अध्यक्षले परिबन्धमा पारेर शीतल निवान छिराएका सम्म समाचार आउन थालेका छन्। यो पनि सही छ। बिदेशी फेबिकलभन्दा स्वदेशी फेबिकलको प्रयोग राम्रो हो। राष्ट्रपतिले फेबिकलको व्यापार शुरु गर्नु पनि सकारात्मक कुरा हो। दूतावासभन्दा शीतल निवास आफ्नै हो नि।
विज्ञ
विज्ञता छाँट्न कुनै पनि विषयमा लामो समय अनुसन्धान एवं अध्ययन गर्नु नपर्ने विश्वकै एक मात्र देश नेपाल हो भनेर गिनिजबुकमा रेकर्ड राख्न योग्य देश नेपाल हो भन्दा फरक नपर्ला। अझ गज्जब त विज्ञहरुका बीच विज्ञताको पनि टुटफुट र गुठबन्दी सुरु हुन्छ। म जस्ता देशको बारेमा खाशै मतलब नराख्नेहरुलाई त त्यो जात्रा हेर्न पनि रमाइलै हुन्छ र भइरहेको पनि छ। विज्ञको मात्र नभइ १०/२० फलोवर भएका टुइटे र फेसबुकेहरुले पनि आफुलाई महान विश्लेषक अझ भनौं विद्वान नै सम्झेर भिडेको हेर्न त झन् ख्याल मजा लाग्दैन।
त्यसो त अलि पहिले पत्रपत्रिकामा विद्वान कसलाई मान्ने भन्ने विषयमा निकै लेखहरु पनि प्रकाशनमा नआएका हैनन्। ति लेखहरु आउनुमा पनि ओली कामरेडमा अचुक वाणीहरुको अमूल्य योगदान रहेको थियो। अझै पनि मलाई दिनमा एकपटक विज्ञहरुको पौंठेजोरी नहेरी खाएको पच्दैन कि त कब्जियत हुन्छ कि त पखालै चल्छ। सलह आयो राम्रै भयो। कलह आयो झन् राम्रो भयो। अलिकति दु:खको कुरो चैं सलह अलि चाँडो फर्कियो, धेरै विज्ञहरु पढ्न, सुन्नै पाइएको छैन। तर केही छैन कोरोना र कलह त बाँकी नै छ। त्यसमाथि अहिले स्वदेशी फेबिकल शीतल निवास पनि शुरु भएको छ। कति विज्ञहरुले त यसमा आफ्नो विज्ञताको प्रदर्शन शुरु पनि गरिसके।
र अन्त्यमा, कोरोनाको महामारी बढ्ने क्रम रोकिएको छैन। सामाजिक दुरी, मास्क भन्ने त सबै गफै भैहाले। हुन त कोरोना पनि बेसारसँग डराएर चाँडै चाइना फर्कने सोच बनाइरा होला। त्यसैले बेसार विज्ञका कुरा सुन्ने, जे जे भन्नु हुन्छ त्यही सुन्ने। अरु त जे जे आए पनि सबैलाई विज्ञ भइ विज्ञता प्रदान गर्ने अमूल्य अवसर प्रदान गरेकै छ। सबैलाई अवसर दिएकै छ तसर्थ जय सलह, जय कलह जय विज्ञता !