(१२ थरीको शुरुवाती समयमा विभिन्न पेशा, व्यवसाय र क्षेत्रका १२ सत्ताइस प्रकारहरु वर्णन गर्ने क्रममा हामीलाई हाम्रा एकजना पाठकले यो लेख पठाउनु भएको थियो। ड्राफ्टमा बेबारिसे अवस्थामा मर्नु न बाँच्नुको दोधारमा लडिरहेको यो लेखलाई हामीले ब्युँताउने प्रयास गरेका छौं। यो लेखलाई १२ थरीको शुरुवाती ब्लग ठान्नुभए नि हुन्छ। यो लेख यसका उप-शीर्षकबाहेक सम्पूर्ण रुपमा पुनर्लेखन गरेको भएतापनि हामीले यसलाई अतिथि लेखककै नाममा प्रकाशित गरेका छौं। त्यसैपनि यहाँ जसको नाम हाले पनि खोया फरक पर्ने हो र ! शीर्षकलाई सभ्य बनाउने नाममा माग्नेलाई मगन्त नारायण प्रयोग गर्नुपरेकोमा क्षमायाचनासहित – सम्पादक)

नमस्कार ! म १२ सत्ताइसको एक १२ सत्ताइस थरी लेखक। मेरो नाम के हो भनेर बुझाउन लागेर तपाइँहरुको समय नष्ट गर्नतिर लाग्दिन। सम्झिनुस्, म एउटा १२ थरीमा स्तम्भकार बनाइदेऊ भनेर याचना गरिरहेको माग्ने लेखक हुँ। आज समाजमा रहेका माग्नेहरुबारे १२ सत्ताइस् बिंगा बोकेर आएको छु। र, म तपाइँहरुसँग एकैछिनको लागि थोरै समय माग्दैछु। मैले यहाँ बयान गरेका माग्ने विधामा तपाइँ आफूलाई कता पाउनुहुन्छ, त्यसमा म:म भन्नुहोला। यहाँ बफ, चिकेन, पोर्क, बन्दागोभी तथा पनीर सबैप्रकारका म:म उपलब्ध छन्।
मुलत: समाज माग्नेहरुले गर्दा नै चलेको छ भन्ने हामी सबैले बुझिसक्नु पर्ने हो। राजनीतिदेखि कुटनीतिसम्म, आधुनिक संगितदेखि भजन संगितसम्म, आइएनजिओदेखि बालगृहसम्म, सदनदेखि सडकसम्म माग्नेको मात्रै राज छ। यी सबै मागेरै चलेका छन्। माग्नेहरु कति प्रख्यात छन् भनेर त माग्ने बुढालाई हेरे मात्र नि थाहा हुन्छ। एकपटक युट्युबमा ‘माग्ने’ टाइप गरेर खोजी गर्नुस् त। तर जुरो के भन्देखुन् नि समाज परिवर्तनसँगै अथवा समाजले आफुलाई सभ्य भन्न थालेदेखी माग्नेहरुमा पनि अनेक रुपमा सुधार आएको देखिन्छ। ल आउनुस् अब अहिलेका चलन चल्तिका माग्नेहरुबारे पढौं-
टाइसुटधारी माग्ने
यो वर्गका माग्नेहरु हेर्दा माग्ने जस्तो देखिँदैनन्। चट्ट मिलाएर, स्त्री गरेर टाइ सुट र टल्किने जुत्ता लगाएका हुन्छन् यिनले। यी मोटरसाइकलमा कम नै हिँड्छन्। कार यिनीहरुको मन पर्ने सवारी हो भने कारका साथमा एउटा साइकल पनि यिनले राखेका हुन्छन्। देख्दा अति आधुनिक, विद्वान, सभ्य देखिने यी माग्ने प्रजातिका माग्नेहरु भित्रबाट चैं पशुपतिमा लडेर माग्नेलाई नि माथ दिने वर्गमा पर्छन्। यिनीहरुको रुपमा नजानुस्, यो रुप पनि मागेरै बनाएका हुन् यिनीहरुले। यिनीहरुको शाखा अथाह छ। भोटदेखि नोटसम्म वैधानिक रुपमा माग्नमा यिनीहरु निपुण हुन्छन्। यिनीहरुले माग्नका लागि पनि अति उच्चस्तरीय नाम राखेका हुन्छन्। झन् त्यसमा झुण्डिने ट्यागलाइन- ओ~~हो हो। यस्तो लाग्छ, यिनले समाजलाई फू~~~ गरेरै कायापलट गर्दिन्छन्। खत्रा प्रोपोजल बनाएर डलरदेखि युरोसम्म डकार्न सक्छन् यिनीहरु। र, मागेको कुरा मागिसकेपछि बिर्सिन यिनीहरुलाई समय लाग्दैन। घोर अचम्म छ, बर्षौंदेखि यिनीहरु पीडितका नाममा, गरीबका नाममा मागेका मागैछन्।
डिजिटल माग्ने
अहिलेको नेपाल यीनै माग्नेहरुले खर्लप्पै निलेका छन् भन्दा फरक पर्दैन। जुरुक्क उठेर फेस्बुक खोल्नुस्, ट्विटर खोल्नुस् वा कुनै आइटी ईन्स्टिच्युटमा नम्बर छोडेर हिँड्नुस्, यिनिहरुले ७ जन्म पिछा छोड्दैनन्। सहस्र खुट्टा भएको गोरु देखाएर लाइक माग्ने होस् कि अनेक ट्रेनिङको बहानामा स्पेसल अफरको लोभ देखाएर होस्, तपाइलाई यीनले दुएरै छोड्छन्। कतिले त फेस्बुक च्याटमा लिङ्क नै पठाएर मेरो साइटको भिजिटर बढाइदिनु पर्यो, लौन न सेयर बटम थिच्दिनुस् भन्दै आफ्नै एउटा किड्नी नभए जस्तो गरि माग्छन्। युट्युबेलाई हेर्नुस, कमेन्ट, शेयर र लाइक्स भन्दै मागिरहेका हुन्छन्। यो वर्गमा अहिले पहिले हाम्रा आफ्नै प्यारा एकजना नव नेता नि पर्नुहुन्छ- कृपया यो स्टाटस्/ट्विटलाई शेयर/आर्टी गरेर धेरैभन्दा धेरैकोमा पुर्याउन सहयोग गर्दिनुस् भनेर। हुनत वहाँ शुरुवातदेखि नै माग्ने नै हो, अहिले माग्ने क्षेत्र मात्र फेरिएको त हो।
पद माग्ने
आजकाल यो नयाँ माग्ने वर्गको जन्म भएको छ। हुनत यो समाजमा पहिल्यैदेखि नै थियो। तर आजकाल अलि बढेको देखिन्छ। यो प्रजातिका माग्नेहरु आफुलाई विद्धान, विज्ञ ठान्नेहरु पर्छन्। ठान्ने मात्रै होइन, कोही त समाजले मानेकै पनि हुन्छन्। आफ्नो क्षेत्रमा राम्रै काम गरेका पनि हुन्छन् यी माग्नेले। तर जत्तिसुकै राम्रो काम गरेका भए पनि के गर्नू? ङिच्च दाँत देखाएर, हात पसारेर पद माग्ने भएसि। यिनले टेलिभिजनमा, पत्रपत्रिकामा, आफ्ना ट्विटमा वा फेसबुक स्टाटसमा बडो गर्वका साथ माग्छन्- मलाई यो पद दिनुस्, म ३ महिना, ६ महिना वा एकवर्षमा कायापलट गर्दिन्छु। यी माग्ने कुन क्षेत्रमा सिमित छन् भन्ने नै छैन, अर्थशास्त्रीदेखि डाक्टरसम्म, ठेकेदारदेखि पूर्वाधार विज्ञसम्म, राजनीतिदेखि कूटनीतिसम्म मगन्तेहरु छन्। कोही अस्पतालको निर्देशक माग्ने, कोही छानबीन समितिको सभापति माग्ने, कोही आइजिपी माग्ने कोही न्यायधिश माग्ने, कोही योजना आयोगको सदस्य सचिव माग्ने। यस्तो नमिठो रुन्छन् कि बेलाबेला त हाम्रो आफ्नै घुँडाबाटसमेत आँशु चुहिन्छ।
चुरोट माग्ने
यी चैं साँच्चैको पीडित वर्गको माग्ने हुन्। कुरकुरे बैंशमा प्रवेश गरेका युवा, विद्यार्थी र बेरोजगारहरु यो प्रजातिका माग्ने हुन्। ‘दाइ, एक पफ है’ भन्दै चुरोटको फिल्टरसम्मै तानेर ‘सरि यार’ भन्न पछि नपर्ने वर्ग हो यो। कसैकसैले त सुरुमा आफैं ‘चिया खाने हैन दाइ’ भन्दै चियाको धराप थापेर चुरोटमा गएर आफ्नु मगन्तेपन सार्वजनिक गर्छन्। कतै बिहे बटुलोमा रक्सी भ्याएसी बाहिर निस्केर एक सर्को तानम् न भन्ने सोच्दै हुनुन्छ भने, त्यहाँ पनि पुग्छन् यी। माग्न त मागे मागे यिनले सँगै अर्को ड्युटी नि दिन्छन् तपाइँलाई, ‘दाइ, यसो हेर्नु ल, कोही आउलान्। लुकेर मात्रै हो के दाइ, कहिलेकाहीं’ भन्दै। यीनले बनाउने बहाना नि अनेक अनेक हुन्छन्- ‘वरिपरि पसल नै रैन्छन्, एउटा चुरोट पाउँ न सर/दाइ/बोरो’, ‘आज पैसै छैन, भोलि मेरोतर्फबाट है बोरो’ जस्ता अनेक हुन्छन्। चुरोट मात्र दिएर हुँदैन, सल्काइपनि दिनुपर्च झ्याँसहरुलाई। कहिलेकाहीं त यिनले कतिसम्म गर्छन् भने बडा जान्ने भएर गफमा सही थाप्छन्, अँ, अँ गर्छन् अनि थाहा नपाएझैं गरेर दुईटा औंला अघि सार्दै चुरोट तपाइँले तानिरहेको चुरोट तान्छन्। तोरीहरु !
धार्मिक माग्ने
भगवानका नाममा, जिससका नाममा, अल्लाहका नाममा माग्नेहरु धार्मिक वर्गका मगन्तेहरु हुन्। यी मान्छेका घर घर, बाटा बाटा जताततै पुगेर माग्छन्। चाडपर्वका नाममा, मन्दिर निर्माणका नाममा, पुराणका नाममा, चर्चमा प्रार्थनाका नाममा, बाइबलका नाममा मस्जिदको गजुर राख्ने नाममा माग्छन् यिनीहरु। ‘बालक, तँ १० दे अल्लाह, भगवानले तँलाई २० दिनुहुन्छ’ भन्दै भावनात्मक रुपमा भड्काउछन् यस्ता माग्नेहरुले।
ब्यालेन्स माग्ने
यो वर्गका धेरै जसो माग्नेहरु बोक्न चैं आइफोन बोक्छन्। तर आफुलाई राति चाहिने ब्यालेन्स नभएर फेसबुकको च्याटदेखि ट्विटरको ट्यामलाइनसम्म यिनीहरुको मगन्ते आँशुले भिजेको हुन्छ। ‘ओ ब्रो ! 20 rs send गर्देउ न यार, कार्ड किन्नै पाएनन्, पसल बन्द भैसकेछ’ भन्ने त यिनीहरुको सामुहिक नारा नै हो। यही वर्गमा कार्ड माग्ने GF/BF नि पर्छन्। यिनीहरुको प्रेम सफल बनाउन दुनियाँ आफ्नु खल्तीको तिलान्जली दिनुपर्छ। बाबुआमासँग माग्ने चैं एकरत्ति हुत्ति हुन्न यो वर्गका माग्नेहरुको। ‘तिमीसँग कुरा गर्नलाई चाहिएको त हो नि’ भनेर हरेकसँग ब्यालेन्स माग्नेहरुको स्वाग झन् छुट्टै छ। यो वर्गका कतिले त सिमकार्ड किनेदेखि कहिल्यै आफूले ब्यालेन्स हालेके हुन्नन्। सिमको म्याद सकिनेबेला भएको रहेछ भने बरु ५ सयको रिचार्ज गर्दिनुस् त म ४९० फिर्ता दिन्छु भनेर यीनले मिति थप्ने गर्छन्।
प्रेम माग्ने
यो प्रजातिका माग्नेहरु आँशु माग्नेहरु हुन्। घ्वाँ घ्वाँ गरेर रोइरहन्छन् सँधै। तिमी अत्ति नै मन पर्छौ। तिमीले हुन्न भन्यौ भने म मर्दिन्छु, आम्मा कस्सम ! भन्दै मागिरहेका हुन्छन् यिनीहरु। यी माग्नेहरु एकदमै कमजोर मुटु भएकादेखि हिंसात्मक समेत हुन्छन्। यी एकप्रकारले डिप्रेसनका रोगी पनि हुन्छन्। प्रेम प्रस्ताव राखेपछि जवाफ नआउन्जेल पनि पर्खिने यिनको धैर्यता हुन्न। भोलिपल्ट हात चिरेर पुगेका हुन्छन् त के सोच्यौ त? भन्दै। अनि कमिज, टिसर्टको बाहुला नचानिँदो पाराले माथि सारेर हेर, मैले हिजो हात काटेँ, नाइँ भनिस् भने घाँटी नि काट्छु भन्ने खालको धम्की दिन्छन् यिनले ईशाराले नै। अहिले त यो वर्गका कति मगन्तेहरु त एसिडसम्म बोकेर हिँड्न थालेका छन्। यी माग्नेहरुले आफ्ना भावना र इगोलाई आफ्नो वशमा राख्न नसक्ने डरलाग्दा र अपराधिक मनोवृत्तिका पनि हुन्छन्।
र अन्त्यमा
गरीब, साँच्चैका माग्ने
यीनका बारेमा त खै के लेख्नु र। यीनका पीडा, यिनका व्यथा, यिनका जीवनका कहानी लेखेर लेख्नै नसक्ने, बकेर बक्नै नसक्ने छन्। माघको ठण्डीमा, उखुम गर्मी र फोहोरमा, लामखुट्टेका गुँडमा बसेर जीवन गुजार्नुपर्ने अवस्थाका यिनीहरुका बारे लेख्न शब्द छैनन्। हामी केही भएकाहरुले बेलाबेला यिनीहरुलाई सहयोग गर्न सकौं र यिनीहरुको जीवन केही सहज बनाउन सकौं। यही कामना।
यीबाहेक तपाइँहरुले समाजमा देखेका माग्नेहरु कस्ता कस्ता छन्? कमेन्टमा लेख्नु होला। हामी पनि त माग्ने नै त हौं। लाइक्स, शेयर र कमेन्ट मागेँ है त। जदौ 🙏