नाम खुलेको छद्म स्तम्भकारका रुपमा म स्पष्ट पार्न चाहान्छु कि यो लेख सम्बन्ध भन्ने किताबको समीक्षा होइन, न त यो आत्मप्रचारका लागि सम्बन्धलाई पर्गेलिएको विशेष जीवनदर्शनको किताब नै हो। यो लेख पढ्नुअगाडि तपाइँहरुले थाहा पाउनैपर्ने सबैभन्दा महत्वपूर्ण कुरा- यो लेख चोरीको पिडिएफ (अझ कसैले किताबको फोटो खिचेर बनाएको पिडिएफ) पढेर लेखिएको हो। यति लेखिसकेपछि पनि तपाइँले यो लेख पुरै पढ्नु भयो भने तपाइँको ढोंगको लागि मेरो हार्दिक नमन।
ल त अब शुरु गरौं आजको हाम्रो बिशेष प्रवचन, ढोंग र आत्मरतिको पुलिन्दा लेखक बुद्धिसागरका शब्दमा ‘एकपटकमा पढ्नै नसकिने, अगाडि बढ्नै नसकिने, रोकिँदै पढ्नुपर्ने’ (खासमा उनले यति झुर, पढ्नै मन नलाग्ने लेखेका हुन्) किताब सम्बन्धको बारे प्रवचन। खासमा यो लेख २ महिना अघि लेख्न शुरु गरिएको हो, तर किताब पढ्न सके पो लेख्नू, दिनमा एक च्याप्टर पनि पढ्न सकिएन। अझै पनि पढेर सकिएको छैन। केही भए पो पढ्नू। किताबमा के छ? तल पढ्नुस्-

ढोंगको पराकाष्ठा छ
विजयकुमार पाण्डे नेपालका थोरै भाग्यमानी मान्छे मध्येका एक हुन्। उनको मेहनत, उनको क्षमताका कुरा एकातिर तर उनले मिडियाको क्षेत्रमा एउटा नाम कमाएका छन्, ठूला ठूला मान्छेलाई भेट्ने मौका पाएका छन्। धेरैलाई थाहा नहुन सक्छ- उनी यस्ता भाग्यमानी हुन्, जो रात्री बस चढ्दा उनको छेउको सीटमा राम्री युवती पर्छिन्। र, सीटमा बसेको एकैछिनमा पटटट सबै कुरा बताएर झ्याप्प हात समाउँछिन्। हो, उनी त्यति भाग्यमानी हुन्। किताबको शुरुमै उनले यसको चर्चा गरेका छन् एक च्याप्टर पुरैमा। उनी बैशाखी टेकेर चीन पुग्छन्। राति होटल पुगेर बिहान लन्चको समयमा कतै बस्ने ठाउँ नपाएपछि एउटी बिदेशी युवती उनकै टेबल शेयर गर्न आइपुग्छिन्। युवती लेखकसँग यति प्रभावित हुन्छिन् कि उनले डिनरको निम्तो दिन्छिन्। डिनर जाँदा उनले बैशाखीको सट्टा आफ्नो हात दिन्छिन्। समुद्रको दृश्यपान गरेर फर्किँदै गर्दा युवतीले यौन सम्पर्कको प्रस्ताव राख्छिन् तर लेखकले ‘पाएका हरेक मौका छोप्ने मान्छेजस्तो लाग्यो?’ भनेर प्रस्ताव अस्विकार गर्दिन्छन्। उनी यस्ता रुप, यौवनबाट मुक्त भैसकेका छन्। वाह, भाग्य !
पख्नुस् पख्नुस्, कथामा थोरै ट्विस्ट छ। ट्विस्ट भएन भने त कसरी ढोंग के हो भनेर पाठकले थाहा पाउँछन् र ! किताब उही हो, लेखक उही तर नजर- हाय रे ! चीनको शहरमा समुद्रको तटमा विदेशी युवतीले राखेको यौन प्रस्ताव अस्विकार गरेका लेखक पुग्छन् फर्पिङ्तिर ध्यान गर्न। भाग्यमानी त लेखक छँदैछन् माथि नै भनिसकियो। यता पनि योगिनी भेटिन्छिन् योग गर्दै गरेकी। टमक्क मिलेको शरीर, तिक्ष्ण आँखा, पोटिला स्तन, टपक्क मिलेको नितम्ब। ध्यान गर्न हिँडेका लेखकको ध्यान भङ्ग, अप्सराले ऋषिमुनीको तपस्या भङ्ग गरेजस्तो। गज्जबको ट्विस्ट त तब आउँछ, जब योगिनीसँग लेखक कुरा गर्न थाल्छन्, तब उनका आँखा योगिनीका स्तनबाट हट्दैहट्दैनन्। एकपटक यसो अनुहार हेर्यो फेरि स्तन हेर्यो। गलत ठाउँमा गलत काम? होटलमा युवती भेट्दा वास्तै छैन, ध्यान गर्न जाँदा युवती देख्दा आँखै हट्दैन। तर प्रशंसा गर्नुपर्छ लेखकको- त्यति गर्दा पनि उनले आफूले गलत नगरेको पुष्टि गराएका छन्, त्यो पनि तिनै योगिनीबाट।
उदाहरण किताबबाटै जस्ताको तस्तै- ‘तिमी मसित गम्भीर कुरा गर्दैजाँदा बेलाबखत मेरा वक्षस्थलतर्फ हल्का नजर पनि फ्याँक्दै छौ। सायद, तिमी मनमनै मेरो साइजको अनुमान लगाउँदै होलाउ।’ पढ्दापढ्दै तपाइँहरुले आफैंलाई देख्नुपनि भयो होला यता। तर लेखक त भाग्यमानी हुन्- उनले सरी भनेपछि योगिनी भन्छिन्- ‘सरी भन्नुपर्ने अवस्था होइन… … तिम्रो ठाउँमा कुनै अर्को पुरुषका नजरले मलाई घोच्न पनि सक्थ्यो… तर तिम्रो हेराइमा वासना छैन, जिज्ञासा छ।’ कुरो यतिमै रोकिँदैन। यति लेखिसकेपछि फेरि उपदेश पनि त दिनुपरो- ‘तिमी पुरुष हौ। तिम्रो नजर मेरो वक्षस्थलतर्फ जानुलाई म अस्वाभाविक मान्दिनँ। तर, तिम्रो हेराइले मलाई घोचेको महसुस हुनुहुन्नँ। तिमीले मनमै मेरा वस्त्र फुकाल्दैछौ भन्ने महसुस मलाई हुनुहुन्नँ।’ ओ भाइ, मारो मुझे, मुझे मारो। जो पुरुष कोही युवतीसँग कुरा गरिरहँदा बारम्बार, पटकपटक युवतीले याद गरेर कुरै गर्नेगरी स्तनमा नजर डुलाइरहन्छ, त्यसले स्तन हेरेर के सोच्छ होला? ढोंगको कुनै सीमा हुन्छ कि हुँदैन?
मलाई लाग्छ, एउटा स्तरमा पुगेपछि ढोंगको पनि सीमा नहुँदो रहेछ। ढोंगको कुनै सीमा हुन्थ्यो भने यति उपदेश र अर्ति छाँटेपछि प्रसंग सकाएको भए पनि त हुन्थ्यो। तर अहँ, कुरो यतिमै सकिँदैन। योगिनीले ‘मेरा वक्षस्थल त केबल मासुका पिण्ड हुन्’ भनेपछि लेखक प्रश्न गर्छन्- ‘म तिम्रो हात वा पैतालाको मासुमा खासै रस देख्दिनँ। तर वक्षस्थल वा नितम्बको पिण्डमा रस देख्छु। किन?’ भनेर प्रश्न पनि गर्छन्। नघोच्ने नजरले स्तनमा रस देख्न भ्यासकेछन्। हरे ! तर घोच्नेलाई नघोचिएपछि हामीलाई बाल !
आत्मप्रशंसाको ठेली छ
टेलिभिजन शो, पत्रिकाका लेख, ट्विट जताततै आत्मरतिमा रमाइरहने मान्छेले त्यै आत्मप्रशंसाका लागि फेरि छुट्टै किताब लेख्नु चैं अत्ति नै हो के। यो सिंगो पुस्तकभरी आत्मप्रशंसा र आत्मरत्तिबाहेक केही छैन। ढोंग चाहिँ त्यही आत्मप्रशंसालाई पुष्टि गर्न खोज्दा देखिएको साइड इफेक्ट हो। यो किताबमा कुनै यस्तो एउटा पात्र छैन जसका मुखबाट लेखकले आफ्नो प्रशंसा गर्न नलगाएका हुन्- हरेक पात्र, हरेक च्याप्टर- तपाइँ हरेक दुई पृष्ठपछि लेखक आफैंले वा पात्रमार्फत आफ्नो प्रशंसा गरेको भेट्नुहुन्छ। संसारमा विरलै लेखक होलान् जसले यति धेरै आत्मप्रशंसा गरेर किताब लेखोस्। छाती ठोकेर भन्दिन्छु- सबैभन्दा बढी आत्मप्रशंसा गरिएका रुक्माङ्गत कटुवाल र विनोद चौधरीको आत्मकथामा भन्दा दुई गुणा बढी यसमा आत्मप्रशंसा छ।
माथि ढोंगकै प्रसँगमा जोड्छु। योगिनीसँग गफ भैरहेको छ- गफ के भएको छ त माथि लेखेकै छ। अब पालो आत्मप्रशंसाको। योगिनीलाई बोलाउछन् अब लेखक- ‘… तिमी एक अथेन्टिक मान्छे हौ। सही होलाउ, गलत होलाउ तर तिम्रो मन सफा छ।’ तर अन्य पात्रले भनेर मात्र त पुग्दैन नि आत्मप्रशंसा त, आफूले थप्नु परेन? ‘म बाठो नि छु नि’ भनेर अर्को एक अनुच्छेद प्रवचन शुरु हुन्छ फेरि। व्यक्तिगत रुपमा म चाहिँ लेखक विजयकुमारको ठूलो प्रशंसक हुँ। उनले हिप्पोक्रेसी के हो भनेर पनि किताबमा चर्चा गरेका छन्। उनले गरेका सवालजवाफ र उनको किताबले हिप्पोक्रेट को हो भनेर पनि स्पष्ट पारेको छ। यसरी कुनै कुराको चर्चा गरेर त्यसको उदाहरण म हुँ है भनेर लेख्नसक्नु ठूलो कुरा हो। सलाम गर्नुपर्छ त्यसको लागि त।
उनले किताबमा एकजना युवक पात्रसँगको छलफलमा स्पष्ट लेखेका छन्, ‘निजत्व नभई सिर्जना हुन्न। अझ स्व अनिवार्य छ। तर, त्यो स्वको रक्षा गर्दागर्दै हामी जानी नजानी अहङ्कारको क्षेत्रमा प्रवेश गर्छौं।’ ताली परररर ! एक लेखक कसरी अहङ्कारको क्षेत्रमा प्रवेश गर्छ भन्ने उदाहरण हो यो किताब। पाखण्डको पहाड भन्ने एउटा च्याप्टर छ पुस्तकमा। त्यसमा उनी एकजना जापानिजसँग नेपाल किन विकास भएन, नेपालको बौद्धिक क्षेत्र कस्तो छ भनेर लामो छलफल गर्छन्। आफूले नेपालमा मैं हुँ भन्ने बौद्धिकको नाडी छामिसकेको पनि भन्छन्। सत्य पनि हो। तर फेरि कुरा आउँछ- निजत्वको, स्वको। जब यी आउँछन् तब आउँछ- अहङ्कार, पाखण्ड। नेपाल बुझेको एकजना म हुँ, बाँकी त कसैले फालेको रोटीको लागि बौद्धिक विलास गर्ने मुर्ख हुन्। सत्यवादी पत्रकार त म थिएँ, तर मभन्दा गएगुज्रेका पत्रकारले विदेश सयर गरे, गाडी किने। आम्मामामा ! दाजु कन्ट्रोल, कन्ट्रोल। जसले किताबमा केही विदेशी दूतावासका प्रथम सचिव आफ्ना जिग्री दोस्त, घुम्न जाने, खान जाने नियमित साथी भएको चर्चा गरेका छन्, उनैले फेरि केही पत्रकार दुतावास धाउँछन् लेख्छन्।
लामो बुद्धिविलासपछि अब फेरि यी जापानिजलाई नि त प्रशंसा गर्न त लगाउनु परो- ‘तिमीलाई यति धेरै ज्ञान छ, यति बुझेका छौ, यस्ता बिषय किन लेख्दैनौ?’ भन्ने जापानिजको प्रश्नमा लेखक भन्छन्- ‘उमेरमा लेखियो, बोलियो। फेरि सँधै ममात्र तीतो हुनुपर्ने मलाई के खाँचो? मभन्दा कति अयोग्य पत्रकारले जीवनमा कति मोज गरे, कति सम्पति जोडे, कति धेरै विदेश भ्रमण गरे, सोध न तिनीहरुलाई।’ तर विजयज्यू, जो पत्रकारले जीवनमा जत्तिसुकै मोज गरेपनि तपाइँको कस्सम, बालुवाटारमा प्रमको सुत्ने कोठामा चैं कसैले बोमिट गरेको छैन होला।
अर्ति छ, उपदेश छ, प्रवचन छ
यो किताबलाई समग्रमा तीन भागमा विभाजन गरेर पढ्न सकिन्छ। पहिलो- आफ्नो अहम्, अहङ्कार, आत्मप्रशंसाको व्याख्या, व्याख्या गर्ने क्रममा ढोंग र पाखण्डको उत्कृष्ट संयोजन (जानेरै हो कि मिलाउँदा मिलाउँदा खुस्केको हो चाहिँ लेखक र सम्पादकले नै जानुन्) र अन्त्यमा प्रवचन- अर्ति। लेखको शुरुवातमै लेखिएको छ बुद्धिसागरले गरेको ट्विट। रोकिँदै पढ्नु पर्ने किताब भनेर। किताब नपढेका पाठकका लागि किन त त्यस्तो भन्ने लाग्ला। त्यसको जवाफ सजिलो छ- पहिल्यैदेखि चिनिएको मान्छे, उनका कथा, बजार हल्ला मात्र हैन- आफ्ना बारे लेख वा किताबै लेखेर भनिसकेको मान्छेले फेरि योस्तरको अर्ति, उपदेश दिएपछि पाठकले पचाउनै सक्दैनन्। किताब पढ्दा रीस उठ्छ, आवेगमा आइन्छ, हाँसो लाग्छ। भाषाका कारण, किताबले उठाएका मुद्दाका कारण हैन- अर्ति सुनेर, उपदेश पढेर र आत्मप्रशंसाको पुल देखेर।
यो वैश्य युग हो, वैश्य युगमा जसरी भएपनि आफ्ना कुरा बेच्नुपर्छ, नाफा कमाउनु पर्छ। तत्कालको नाफाबाहेक पर हेर्ने युग हैन यो। यी लेखककै शब्द हुन्। उदाहरणका लागि सम्बन्ध बजारमा आइदेखिका लेखकका ट्विट हेरे पुगिहाल्छ। लेखकले सामाजिक सञ्जालको कुरा गर्दा किताबमा लेखेका छन्- मान्छे आजकाल स्टाटसको लाइक र आर्टीमा आफ्नो समय बिताइरहेको छ। एकदम सही विश्लेषण हो यो। यदि लेखकले लाइक्स र आर्टी नगर्दिने हो भने ती पाठक जसले किताब नकिन्न पनि सक्थे तिनले किताब किनेर फोटो ट्विटरमा हाल्ने थिएनन् लेखकलाई मेन्सन गरेर। लेखकलाई त थाहा छ यो वैश्य युग हो, नाफा कमाउन वैश्य युगमा जे पनि गर्नुपर्छ। जाबो एउटा ट्विट लाइक्स गर्दिँदा र रिट्विट गरिदिँदा के नै फरक पर्छ र?
अँ, म प्रवचनका कुरा गर्दै थिएँ। सुन्ने हो त एकलाइन प्रवचन? ‘पाङ्ग्रा भनेको मान्छेको खुट्टाको विस्तारित हुने, फैलिने, विकसित हुने मनोकाङ्क्षाको परिणाम हो। लुगा र फेसन मान्छेको छालाको विस्तारित रुप हो। माइक आफ्नो आवाजको विस्तार गर्ने चाहनाको परिणाम हो…।’ पढेर वाह ! भन्न मन लाग्दैन त? पाठकलाई नलाग्न पनि सक्छ भनेर लेखकले उनकै टेलिभिजन दर्शक (किताबका) आकाशलाई भन्न लगाएका छन्, ‘…आफूलाई भाग्यमानी पनि ठान्दैछु, सरबाट यो ज्ञान सुन्न पाउँदा।’ लौ लिनुस् ज्ञान।
प्रवचनको, आत्मप्रशंसाका फरकफरक रुप किताबमा छन्। यी सब पढेर घनिभुत भइन्छ। सेल्फ राइचियस भन्ने एउटा च्याप्टरमा लेखकले लेखेका छन्, ‘साँच्चै भनौं, मलाई कसैले बुद्धिजिवी वा पत्रकार भन्यो भने मन पर्दैन। मलाई सनकी, घमन्डी, नासमझ, फुटपाथे, केही नजान्ने गधा, जँड्याहा… जे भने पनि हुन्छ। तर, बिन्ती मलाई बुद्धिजिवी, बौद्धिक वा पत्रकार नभनिदिनुस्।’ आर यु केपी ओलिङ् मि? सिरियस्ली ड्युड? आजकाल म अरुभन्दा बुद्धिजिवी हुँ भन्ने नयाँ स्टाइल आएको हो?
अन्त्यमा,
माथि नै लेखेको कुरा पुन: कति दोहोर्याउनु तर लेखकको इमान्दारिताको प्रशंसा गर्नैपर्छ। उनले लेखेका छन्- सामाजिक सञ्जालमा उनी उनको किताब खुशीको प्रचार गर्न आएका हुन्। वैश्य युगमा अनेक गर्नुपर्छ। त्यत्रो ध्यान गरेर, गुम्बा गएर आफ्ना ज्ञानेन्द्रियदेखि जननेन्द्रियसम्मलाई नियन्त्रण गरेका लेखक ट्विटरमा आएपछि सामाजिक सञ्जालको लतमा फसेछन्। दु:खद कुरो हो यो। किताब बेच्न ट्विटर छिरेर यसकै लतमा लाग्नु भनेको चैं चुरोट छोड्न गुट्खा खाइजस्तै पो भयो कि ! हुनत वैश्य युग हो, सानातिना लतमा नि पैसा आउँदा फाइदै छ। लेखकले एकजना पात्रलाई सोध्न लगाउँछन्- सामाजिक सञ्जालले सिर्जनशील लेखनलाई सघाउँछ? जवाफमा लेखक भन्छन्- ‘सघाउँदैन। अपवादबाहेक सामाजिक सञ्जाल एक प्रतिक्रियात्मक रिएक्टिभ माध्यम हो।’ सही पनि हो। एकपटक भनिन्थ्यो- ‘ईन्फरमेसन इज नलेज’। अहिले अलिकति फरक भएको छ। आजकाल भनिन्छ- इन्फरमेसन इज नट नलेज। हामी पुन: आइन्स्टाइनको भनाइमा पुगेका छौं।
लेख्दा लेख्दै सम्झिएँ, यसरी अभद्र तरिकाले कसैको सिर्जनाप्रति प्रतिक्रिया दिँदा लेखकको टीमले यो लेख डिलिट गराइदिन पनि सक्छ। लेखकसँग ट्विटरमा कसैले गरेको मेन्सन नै डिलिट गर्नसक्ने टीम छ, यो त एउटा जाबो नकाबधारी ब्लग। त्यसमाथि वहाँ घ्यू घस्नेलाई अँगालो हाल्न र आलोचना गर्नेलाई ब्लक गर्न पछि नपर्ने मान्छे हो। त्यसैले हामी यो लेख डिलिट होस्, लेखकले हामीलाई ब्लक गर्नुहोस् भन्ने चाहँदैनौं। र अन्त्यमा, एउटा जानकारी- लेखकको ट्विटरमा एउटा मात्र भेरिफाइड अकाउन्ट छ- त्यो पनि किताब पढेर थाहा भएको हो है। अहिलेलाई यत्ति नै।