ट्विटर डिएमका १२ सत्ताइस् समुह


ट्विटर यस्तो विश्वविद्यालय हो जहाँ तपाईँले अनेक प्रकारका ज्ञान लिन सक्नुहुन्छ। भेज/ननभेज/भेगान जोकदेखि ठूला ठूला विज्ञहरुका ज्ञान, हावा छेक्ने तरिकादेखि लिएर प्लेन उडाउँने तरिकासम्म (भलै त्यो मान्छेले प्लेन कहिले चढेकै नहोस्)। कसैले मागोस् या नमागोस्, फ्रिको सल्लाह त झन् टन्न पाउनुहुन्छ। ट्विटर छिर्ने अनेक बहाना मध्ये एउटा चैँ काण्ड भिडियो पनि हो। केही काण्ड आयो भन्ने सुन्नासाथ सुँघ्दै आइपुग्ने पनि टन्न छन्। ‘अरिंगाल’ जस्तै झुन्ड बनाएर कसैले कति बेला छिसिक्क केही लेख्छ र भिडौँ भनेर दाउ मारेर बस्ने पछि भेटिन्छन् ट्विटरमा। केही आधाउधि फेकहरु पनि भेटिन्छन् यहाँ, जो दिनभरी हावा छेक्छन् र मनको कुनामा कुनै न कुनै पार्टीसँग ‘निकट’ त छन् तर आफूलाई स्वतन्त्र देखाउन हरबखत प्रयास चाहिँ गर्छन्। ट्विटरको सबै भन्दा एडिक्टिभ कुरा चैँ सायद अटेन्सन् हो। मलाई अटेन्सन चाहिँदैन भन्दै अटेन्सन हरेकले खोजिरहेका हुन्छन्। हुँडार हुँ भन्दै आफ्नै आधाउधि फोटो राखेर अटेन्सन लिनेहरु देखि लिएर, आफ्नो गाडीको, साइकलको फोटो मात्र हैन, आफ्नो बच्चाको फोटो राखेर अटेन्सन लिनेहरू पनि भेटिन्छन् ट्विटरमा। ट्याटु देखाएर होस् या क्लिभेज देखाएर, अटेन्सन् त चाहियो नै ! भेडा भेडासँग, पेडा पेडा सँग भनेको जस्तै ट्विटरले डिएम ग्रुपको सुविधा पनि दिएको छ- जहाँ आफ्नै प्रकारको दुनियाँ चलिरा’ हुन्छ।

आउनुस् आज हामी ट्विटरमा रहेका विभिन्न डिएम ग्रुपहरुको चिरफार गरौँ।

हावा छेकुवा

यी ग्रुपकाहरू हनु होस् या कटप्पा, फेक होस् या निल्टिके कसैलाई छाड्दैनन्। सबैमा माथि कोट लगाउँदै हावा छेक्न पुग्छन् र ग्रुप डिएममा लगेर लिंक ठेल्छन्। झुण्ड होस् त यस्तो- जस्तोसुकै ट्विट होस्, धर्मग्रन्थमा लेखेको जसरी बाँकीले भकाभक आर्टी गर्छन् नत्र ‘हाहा सही हो’ भनेर मेन्सन गर्न पुग्छन्। यो ग्रुपमा आधा जतिलाई अरूले ‘फेक’ दर्जा दिएका हुन्छन् जसको न त डिपि आफ्नो हुन्छ न त नाम।

गनपतरे ग्रुप

हुन त ट्विटर बनेकै गनपतरे गफ गर्नलाई हो भन्ने छन् तर यो ग्रुप बारे पनि लेख्नै पर्‍यो। धेरै जसो विवाहित महिलाहरूको यो ग्रुप हुन्छ जसमा उनीहरूका बुढाहरूको, सासुहरूको कुरा काट्ने गर्छन्। एक अर्कालाई ढाडस दिन्छन् पनि र यही कुरा अर्को ग्रुपमा गएर गसिप पनि गर्न छोड्दैनन्। महिलाहरूको मात्र हैन, दु:खी आत्मा विवाहित पुरुषहरूको पनि गनपतरे ग्रुप हुन्छ – जहाँ आएर आफ्ना बुढीहरूको कुरा काट्छन् – अब बुढी कै अगाडि कुरा काट्न नसकेपछि, कतै न कतै आएर त भडास पोख्नै पर्‍यो।

वरिस्ठे ग्रुप

यो ग्रुपका ट्विटेहरूका फलोअर्स १० हजारमाथि होला नहोला, तर ट्विटर छिरेको १० बर्ष चैँ भएको हुन्छ। नयाँहरुले मेन्सन गरे रिप्लाईसम्म नगर्ने अनि आफूले आफूलाई वरिष्ठ हुँ भनेर फुई लगाउँछन्। यो ग्रुप अरुको कुरा काट्नैलाई मात्र प्रयोग हुन्छ भन्दा फरक नपर्ला। ‘अस्ति मात्र आ’का मुलाहरू’को ट्विट सेयर गर्दै कुरा काट्छन्। ‘ट्विटर त पहिला नै रमाइलो थियो’ यिनीहरूको थेगो नै हो। अहिले कसैले जन्जिरले तिनीहरूको खुट्टा बाँधिदिएको जसरी “उ बेला हाईकिङ रमाइलो हुन्थ्यो” भन्न पछि पर्दैनन्। जसले होस्ट गरेको स्पेस भए पनि ‘हामीले ट्विटर नेपालमा ल्याएका हौँ’ भनेर गफ दिन्छन्, मानौँ “just setting up my twitter,” पहिलो पटक यिनीहरूले नै लेखेका हुन्।

डाक्टरे ग्रुप

डाक्टरहरू यति बेरोजगार र थाङ्ने हुन्छन् भनेर लेखकले ट्विटरमै आएर थाहा पाएको हो। अब के कुरा गराई भयो र यी डाक्टरहरुको ! मैमत्ता ग्रुपभन्दा फरक नपर्ला। ब्यहोरा जस्तो भए पनि तिनीहरूलाई संसारमा भए जति सबै प्रकारका सम्मान चाहिन्छ। यी डाक्टरहरूलाई टाइमलाईनमा कसैले केही भन्यो भने ग्रुप डिएममा ल्याउँछन् र योजना बनाएर भिड्न निस्किन्छन्। घमण्ड ठूलो र चित्त सानो भएका डाक्टरहरूको भित्र भित्र उपगुठहरु पनि हुन्छन् रे। ज्ञानको त कुरै नगरौं, स्पेसमा कोरोनाको उपचारबारे गफ दिने दाँतका र छालाका डाक्टर पनि यतै भेटिन्छन्।

हनु-कटप्पा ग्रुप

बेसार र अम्बाका पात चपाएर बाँचेकाहरू ‘हनु’ हुन् भने बेसारको नाम सुन्यो कि पखाला लाग्नेहरू ‘कटप्पा’ हुन्। अन्धभक्तिका प्रतिमुर्तिहरूको ग्रुप नहुने कुरै भएन – ‘एजेन्डा’ जो फैलाउनु छ ! आफ्नो पार्टीको जुन नेताले जे गरे पनि बधाई र शुभकामना दिन सँधै अग्रसर यिनीहरूले नेतासँग उभिएको फोटो ट्विट गर्नै पर्छ। अर्को पार्टीकोले जे सुकै भनोस्, गएर भिड्न तयार हुन्छन्। हुट्टिट्याउँले आकाश थामेको जसरी यिनीहरूले ग्रुप डिएमबाटै देश बनाइरा’हुन्छन्। सबैभन्दा काउकुती लाग्ने कुरा चैँ यिनीहरू स्पेसबाट नेताहरूलाई सल्लाह दिइरा’हुन्छन् – मानौँ नेताहरू यिनीहरूको स्पेसमा टिपोट लिँदै सुनेर बसेका हुन्छन्।

बोका ग्रुप

धेरै जसो बिहे भएका अनि केही बिहे हुने उमेर कटेर केटी नपाएकाहरूको ग्रुप हो बोका ग्रुप। लेख्न नसकेर त होला, फ्लिटका फोटोहरूमा हाहाहा हाँसेको रियाक्ट मात्र भएनि गर्छन्। जुनसुकै केटीको फोटो होस् या ट्विट, यिनीहरू हाजिरी दिन पुगिहाल्छन्। द्विअर्थि कुरा लेखेर नै स्खलित हुन सक्छन् क्यारे, मौका कुनै पनि छोड्दैनन्। थोरै मात्र पनि क्लिभेज देखिएका फोटो पनि ग्रुपमा लगेर र्‍याल काट्दै ब्राको साइज नाप्ने गर्छन्। अनि काण्ड केही आए सबैभन्दा पहिला यिनीहरुलाई थाहा हुन्छ। यिनीहरू स्पेसमा भएका बेला कोही केटी देख्न हुँदैन, माइक थमाउन र ‘अनि मेडम कताबाट नि?’ भनेर सोधिहाल्छन्।

फुलबुट्टे ग्रुप

शोक न सुर्ता, भोक न भकारी भने जस्तो यीनलाई न देशको चिन्ता छ न हनु-कटप्पा भिडेको ! यिनीहरुको ग्रुपको थिम् नै हुन्छ ‘सम्झना छ मनैमा’ वाला। फलोअर्स् जम्मा गरेर के गर्छन् चैँ लेखकले पनि बुझेको छैन, तर यिनीहरुको ग्रुपको ‘निष्ठा’ चैँ तारिफयोग्य हुन्छ है। ‘लौ गरौँ फलो’ भने पछि भकाभक फलो गर्ने, लौ गरौँ लाइक भने पछि भकाभक लाइक ! यिनीहरुलाई बस् फलोअर्सको (संख्याको) चिन्ता छ। ग्रुपमा ट्विट ठेलेर आर्टीको खेति गर्छन् र सायद त्यसैको अचार बनाउँछन् क्यार !

ट्वाइलेट पेपर जत्था ग्रुप

नेपाली नागरिकता त्यागेका यिनीहरु जति देशभक्त कोही हुँदैनन्, घुँडाबाट आँसु आउनेगरी माया गर्छन् नेपालको। ‘लाइक छ नि’ भन्दै हल्का नेपालीमा कनि कनि अङ्ग्रेजी मिसाएर ट्विट गर्ने र नेपालमा भा’ नेपालीलाई मुर्ख भन्ठान्छन्। नेपाललाई बिदेश बसेर सल्लाह दिन छाड्दैनन् कहिले पनि। विदेश भासिएको दुईचार बर्ष भयो क्रिप्टोकरेन्सी होस् या अन्तराष्ट्रिय राजनिती, जानि नजानि खोक्न पनि पछि पर्दैनन्।

प्याच्डी ग्रुप

नेपालबाट स्टुडेन्ट भिषामा विदेश गएर हल्का अडिलो भएकाहरू यो ग्रुपमा पर्छन्। रिसर्च असिस्टेन्ट भए पछि त नेपालका सचिवभन्दा बढी जान्ने भएको भन्ठान्छन् यिनीहरु। मान न मान मेँ तेरा मेहमान भने झैँ देशमा आमुल परिवर्तन गर्ने अनेकन आइडिया फुराउने गर्छन्। एक अर्कालाई वाह वाह भन्छन् र नेपालीले यो कुरा नै बुझ्दैनन् भनेर आफैलाई ढाडस दिन्छन्। नेपालमा भा नेपाली पनि उस्तै, यिनीहरूले विदेशमा छु भन्दैमा स्पेसमा बोल्न पाइहाल्छन्। विषय जे होस्, ठूला कुरा गर्छन् अनि आफ्नो ग्रुपमा गएर, मैले ठूलो कुरा भने नि सुनिस् भनेर गफ दिन्छन्।

किताबे र फिल्मे ग्रुप

यो ग्रुपमा पस्नु अघि यो लेखकलाई इरानमा पनि सिनेमा बन्छन् भनेर थाहा थिएन। साच्चिँकै सिनेमामा मजा लिन्छन् कि ‘मैले यो सिनेमा हेरेको छु’ भनेर गफ दिनमा मजा लिन्छन् भनेर बुझ्न गाह्रो छ। यी सिनेमाका कृटिकहरू पनि हुन्छन् है फेरि – मानौँ, यिनीहरूले सिनेमा बनाए भने ओस्कर पक्का ! त्यस्तै फेन्सी किताबहरूबारे गफ गर्ने ग्रुप पनि छ भनेर एउटीले भन्थि – त्यसमा छिर्ने हिम्मत गरिएन किनभने स्कुलमा त किताब पढिएन, अब ठूलो भइयो, किताब चैँ समातिन्नँ। तर लेखकले आफू जस्तै डुकुलण्ठक हुन्छन् सबै भनेर सोच्न हुन्न। ग्रुपमा चैँ किताब कै मात्र कुरा गर्छन् रे, दशैँ आयो के पढ्ने, तिहार आयो के पढ्ने? लकडाउन भयो के पढ्ने, किताबी दुनियाँ बाहेक अरु दुनिया नै छैन झैँ गर्छन्। यतिवटा किताब पढेँ भनेर सुनाउन पाउनु नै यिनीहरूको लालसा हुन्छ।

समाजशास्त्री र दोस्रोदर्जा ग्रुप

हुन त ‘समाजशास्त्र र दोस्रो दर्जा ‘आन्दोलन’ नितान्त फरक कुरा हुन्। तर लेखकलाई यई दुइमा खासै फरक नजर आउन्न। दुवै जनाले गर्ने भनेको आदर्शका फूस्रा कुरा त हो ! समाज बदल्न हिँडेका यी दुवै ट्विटर छिरेर आफै बाटो भड्किए जस्ता छन् ! समाजको सबै ठेक्का लिए जस्तो समातशास्त्रीहरुको व्यहोरा चैं दोक्लारुपधारी हुन्छ ! कोही महिलाकोबारे केही भने सोझै ‘बडि सेमिङ’ हुन्छ – तर केटालाई जे भन्दे पनि चल्छ रे। आफूभन्दा कम कमाउने वा आफूभन्दा कम हाइट भएको पुरुष बिहे गरेका दोस्रो दर्जाका महिलाहरू लेखकले चिनेको छैन।

पत्रुकार ग्रुप

पत्रकारलाई पत्रुकार भन्दिने ? भनेर भन्नुहोला, तर तपाईँलाई थाहै छ, ट्विटरमा पत्रकारभन्दा पत्रुकार धेरै छन्। पत्रकार महासँघको कार्ड पाउँदैमा सर्वज्ञाता कसरी भइन्छ पत्ता पाएको छैन यो लेखकले। यी पत्रकारहरूको ग्रुप डिएममा चैँ आफूले लेखेका समाचार आर्टिकल सेयर हुन्छन् ‍ ‍अरू खासै गसिप हुँदैन रे। कहिलेकाहीँ एक-अर्काको पत्रिकामा छापिएका ‘गलत’ समाचार देखाउँदै होच्याउने र सुटुक्क ‘कसैलाई नभन्नु है’ भन्दै को पत्रकार कतिमा बिक्यो भनेर पोल खोलाखोल पनि गर्छन्। अब सोध्नुहोला, किन भनेर- किन भने यो मनुवाहरूको आफ्नै प्रकारको पोल्टिक्स चलिरा’हुन्छ। को कुन अनलाइनको सम्पादक भएर जाने भनेर रे।

लेखकलाई ट्विटरमा @marmara5_ मा भेटिन्छ। कुनै प्रतिक्रिया भए तल कमेन्टमा वा लेखकलाई ट्विटरमै भन्नुहोला।

One thought on “ट्विटर डिएमका १२ सत्ताइस् समुह

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.