पुँजीबजारका १२थरी लगानीकर्ताहरू


“पुँजी बजार अर्थतन्त्रको ऐना हो। यसले देशको आर्थिक सुचाङ्कलाई प्रतिबिम्बित गरेको हुन्छ” भनेर लेख्नुभयो भने मास्टरले ‘घोकेछ केटोले’ भनेर १० मा ८ त दिन्छन् होला । तर यो किताबी वर्णनले नेपाली पुँजीबजारको व्याख्या गर्न सक्दैन – किन भने नेपाली जस्तै नेपाली पुँजीबजार पनि बिचित्रको छ ।

नेपालको पुँजिबजारमा वास्तविक क्षेत्र (real sector) का उद्योग व्यवसायहरूको उपस्थिति नगण्य छ, लगानी गर्ने त गर्ने कहाँ? जनता पनि पैसा खनाउने ठाउँ नपाएर सेयर बजारमा छिरेका छन् । हावा भरिएको बेलुन जस्तो फैलिँदै गएको यो बजारमा लगानी गर्नेहरू पनि धेरै जसो हावा तालमै छन् जसले राम्रो कम्पनी मा भन्दा पनि उडिरहेको त्यही बलुनलाई पछ्याउँदै लगानी गर्छन् ।

ठूला लगानीकर्ताहरुले कुन कम्पनी को सेयर कर्नरिङ गरिरहेका छन्, गुदी नभए पनि रोटी जस्तै फुल्दै गएका कम्पनीहरू कुन कुन हुन्, सस्तोमा धेरै उठाउन मिल्ने कुन कम्पनी छ जस्ता लाटा पक्षहरु मा ध्यान दिएर सेयर किन्छन् । कुन कम्पनी को लाभांश वितरण क्षमता कस्तो छ, भविष्यमा व्यापार बिस्तार हुने सम्भावना कस्तो छ जस्ता पक्षलाई ध्यान दिए जस्तो चै यो लेखकलाई लाग्दैन ।

यसै पृष्ठभूमिमा नेपालको पुँजी बजारमा लगानी गर्ने लगानीकर्तालाई वर्गीकरण गर्ने जमर्को गरिएको गरेका छौं । तपाईँ कुन प्रकारको लगानीकर्ता हो, आफै ठम्याउनुहोस् है त !

IPO लगानीकर्ता

बुवा आमाले मात्र नपुगेर सासु-ससुरा, साली नानी देखि लिएर गर्भमा रहेको बच्चाको नाममा समेत IPO भर्न नछुटाउने एउटा ठूलो जमात नै छ । यी लगानीकर्ताहरुको सपना चैं, ती सबै IPO बेचेर गाडी किन्ने हुन्छ। यस्ता लगानीकर्ता शुक्रबार र शनिबार समेत सम्पूर्ण परिवारको पोर्टफोलियो हेर्न छुटाउँदैनन् ।

१० कित्ते लगानीकर्ता

यी लगानीकर्ताहरू माथि १ नम्बरमा उल्लेखित सबै विशेषता भएका र साथै दोस्रो बजारमा थोरै मूल्य भएका कम्पनी को १० कित्ता उठाउन पछि पर्दैनन्। यस्ता लगानीकर्ताहरुको हगाई भन्दा पदाई ठूलो हुन्छ। यस्तो लगानीकर्ताहरुले आफ्नो पोर्टफोलोलियो नितान्त एकान्त ठाउँमा मात्र हेर्छन्, किन भने देखाउँदा लाज हुन्छ । NHPC को १० कित्ता किनेर युनिलिभरको १०० कित्ता किने जसरी गफ दिन्छन् ।

बुमबुम लगानीकर्ता

यस्ता लगानीकर्ताहरु प्रिओपनमा सेयर बढ्दा मात्र पनि १५ सेकेन्ड को टिकटक भिडियो बनाई मार्केट बुम बुम भनी पोस्ट गर्छन् र ११:०५ मा हतार हतार डिलिट गर्ने प्रकृतिका हुन्छन् । यस्ता लगानीकर्ताहरु ५ हजारको सेयर कुन किन्दा राम्रो होला भनी सामाजिक संजालमा पोस्ट गर्छन् र अर्को कुनै हौवाले भनेको सेयर उठाउँछन् – दिमाग साइड लगाएर ।

हेर(हेर्ने रमाउने) लगानिकर्ता

यी लगानीकर्ताहरुको फूल टाइम जागिर हुन्छ, तर त्यो जागिरमा काम चैं पार्ट टाइम (९-११, ३-४) गर्छन् र फूल टाइम कम्प्युटर अघि बसेर सेयर बजार हेर्दै बस्छन् । प्राय यिनीहरु सेकेन्डरी मार्केटमा डुल्दा डुल्दै अल्पज्ञान प्राप्त गर्छन् र सेयर किन्छन् र आफ्नो पोर्टफोलियो यति भयो भनी हेरेर मख्ख पर्छन्। यिनीहरु सेयर बेच्ने भन्दा पनि, बढेका बेला किच्च दाँत देखाउने, अनि घटेका बेला झोल-घोप्टे अनुहार पारेर बस्छन् ।

११३ लगानीकर्ता (११-३ बजे)

सेयर बजारबाट घर चलाउने यिनीहरू चैं असली लगानीकर्ता हुन् । आफूलाई विज्ञ भन्न रुचाउने यिनीहरू बजार बारे ट्विटरको स्पेस देखि क्लबहाउस सम्म गफ दिने र लोकल पत्रिका वा ब्लग मै भए पनि दुईचार लेख छपाएका हुन्छन् । हल्का गमक्क परेर ‘तिमीहरुले बुझ्दैनौ’ भन्ने हिसाबले ठूला कुरा गरिरहेको देखिन्छन् यिनीहरू । आफू सँग भएको सेयरको मूल्य बढाउन सार्वजनिक रुप मै फलानो कम्पनी राम्रो छ भन्दै प्रचारप्रसार गरिरहेका हुन्छन् । अचम्म चैँ के भने, यिनीहरूले भनेकै आधारमा सेयरको मुल्य हल्का बढ्छ पनि । सेयरको मुल्य बिना कारण बढ्यो वा घट्यो भने यिनीहरूको चलखेल बुझे हुन्छ किन भने कर्नरिङ गर्ने, सर्कलिङ गर्ने यिनैको काम नै हो ।

ओजे लगानीकर्ता

यी लगानीकर्ताहरु फेसबुक ग्रुपमा, टेलिग्राम ग्रुपमा अरुको कुरा सुनेर लगानी गर्छन्। २-४ वटा युट्युब हेरेर अनि २-४ वटा आर्टिकल पढेर अलि अलि त जान्ने भएका हुन्छन् र कहिले काहीँ ग्राफ हेरेको जस्तो पनि गर्छन् है । तर अल्पज्ञानका सिकार भएर सधै घाटामा हुन्छन् यिनीहरु। सामाजिक संजालमा कसैले कुन किन्नु भनेर सोध्यो भने, ‘यो किन्नु’ भनेर कमेन्ट गर्न एकदम माहिर हुन्छन् ।आफूले किनेर डुबे पछि अरूलाई पनि डुबाउन ‘यसमा लगानी गर्नु’ भनेर सल्लाह दिन्छन् ।

रुन्चे लगानीकर्ता

यी लगानीकर्ताहरु सेकेन्डरी मै किन्छन् अनि मैले बेचेपछि सेयर बढ्यो भनी गनगन गर्छन्। अब कुन बढ्छ भनी फेसबुकमा पनि लेख्छन् र त्यसैको पछि लागेर घाटा पनि खान्छन्। मैले त्यो सेयर त्यो बेला किनेको भए त म सँग यति हुन्थ्यो भन्दै हिसाब गर्दै रुँदै हिड्छन्।

लौ सर‍ मिसहरू, भन्नुस् त, तपाईँहरू कुन प्रकारको लगानीकर्ता हो ?

लेखकलाई ट्विटरमा @marmara5_ मा भेटिन्छ। कुनै प्रतिक्रिया भए तल कमेन्टमा वा लेखकलाई ट्विटरमै भन्नुहोला।

https://thumbs.dreamstime.com/z/vector-cartoon-stock-market-cycles-phases-investors-buy-sell-panic-funny-drawing-financial-graph-background-165021067.jpg

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.