साँचो , ताल्चा अनि ट्विटर


गाँस, बास, कपास, अनि सहवास ! सहवास एउटा आधारभूत आवश्यकता हो भन्ने तर्क शायदै कसैले अस्विकार गर्लान्। आफु जस्तै जीव उत्पादन गर्न, सन्तान प्राप्ति गर्न, जिवनचक्र चलाउन … सहबास नभइ नहुने कुरो हो । पङ्तिकारको अर्धज्ञान अनुसार बाह्रैमास सहबास चाहने जीव मनाव प्रजाति मात्र होला। मानवजातिको लागि सहबास सन्तान उत्पादनको बिधि मात्र होइन भन्ने सबैले भोगेको, बुझेको बिषय हो । पङ्तिकार “साँचो ताल्चा”को नियमको समर्थक हो। यो पदावली पहिले कतै नदेखेका लागि यो विचारको प्रवर्तकै नै हो भन्दा पनि फरक नपर्ला । सहवास, यौन नितान्त व्यक्तिगत बिषय हो भन्ने कुराको समर्थक हुँदा हुदै पनि यो पङ्तिकार ताल्चा र साँचोको खोजीमा सामाजिक संजालमा देखिएको र हुने गरेको प्रवृत्तीलाई यहाँहरु माझ प्रस्तुत गर्ने दुस्साहस गर्दैछ। यसको उद्देश्य सामाजिक सञ्जालमा देखिने ढोंग, दोहोरो मापदण्ड अनि नकचरो चरित्रको खुलासा गर्नु मात्र हो। तल उल्लेख भएका वर्णन एवं घटनाहरू कुनै व्यक्ति बिशेष प्रति लक्षित नभएको जानकारी गराउन चाहान्छौं। यदि कसैलाई आफूप्रति लक्षित एवं प्रहार गरेको लाग्छ भने पङ्तिकारलाई सम्पर्क गर्न सक्नु हुन्छ अथवा ऐना हेर्न अनुरोध छ। पङ्तिकार तपाइको यौन जीवन सन्तुष्ट रहोस् र खोजे जस्तो साँचो ताल्चा मिलोस् भनेर कामना गर्छ। धेरैले यस लेखलाई ‘ मोरल पोलिसिंग ‘ गर्न खोजेको आरोप लगाउलान् – तर दुनियाले के भन्छन् भन्ने कुरो सोच्ने भए आज १२ थरी नेपाली ट्वविटर क्षेत्रको उन्मुक्त ‘स्पेस’ हुने थिएन ।

आउनुहोस साँचो ताल्चाको खोजीमा संजालमा के कसरी दौडधुप चल्छ भनेर समूहगत रुपमा छुट्ट्याउन प्रयास गरौं।

१२ मासे समूह

यो समुहमा २४x ७ x ३०x १२ महिला ह्यान्डलको पिछा गर्ने र छिल्लिने पुरुषहरु पर्छन् । यिनीहरुको सन्तुष्टि के मा छ र यिनीहरुको इच्छा चाहना के हो भनेर पत्ता लगाउन ‘ नासाका वैज्ञानिकहरु ‘ समेत असफल भएका छन् । यिनीहरु उमेर, रुप रंग केहिमा भेदभाव गर्दैनन् । यिनीहरुलाई महिलाहरूको DM मा पुग्न ठूलो वहाना नै चाहिन्न, आफ्नै ‘सिंगान’मा चिप्लिदा नै DM मा पुग्छन् । DM मा पुगेर पनि कुरो गर्ने ढङ्ग चैं हुँदैन फेरी ! जुनै उमेरका महिलालाई पनि बेबी भन्ने हिम्मत राख्छन् र चुम्माचाटीका इमोजी ठेल्न भ्याउछन् । पेसा जे सुकै होस्, जागिरे होस् या बेरोगजार, चिया पसले होस् या सुन पसले, छिल्लिने मस्किने यिनको दोश्रो पेसा हो भन्दा फरक नपर्ला। डिएममै जिन्दगी बिताउन सक्ने यि साँचोहरूलाई कुनै ताल्चाले आउ 🤗 भेटम् भन्न पर्छ, साँचो लुकाएर भाग्छन्। यिनको इच्छा, सन्तुष्टिका उपाय क्लियर नभएको तर एकोहोरो DM मा पछारिने आश नछोड्ने भएकाले यिनीहरुलाई र्‍याले वा आशे समूह पनि भन्दा हुन्छ । बिहान कुकुरले बिष्टा ज्युनार नगर्दै सुरु हुने यी बेलुका कुकुर भुक्ने समय सम्म DM मा एकोहोरो लागिरहन्छन् । यिनीहरू आफ्नो समुहमा भने आधा संसारको ताल्चा देखेको र खोलेको भनेर गफ हान्दै हिड्छन् । दुनियाँ भरीको ताल्चा चहार्दै गर्दा आफ्नै निजी ताल्चले अर्को साँचो भेटेको भने चाल पाउदैनन् ।

अरबको खरिएको समूह

यो समूहमा स्वाद चाखेको तर ऐले भोको रहकेो नरभक्षी बाघ जस्तै पुरुष पर्छन् । यिनीहरु धेरै जसो हेरेरै शित्तल हुने टाईपका हुन्छन् । यिनलाई महिला ह्यान्डल भए पुग्छ । वर्षौ देखि अरबको सुख्खा खडेरीले खरिएको साँचो झ्वाईय पर्ने सम्भवना तत्कालै नभए पनि चिसो बतासले आँखा सेकाउन पाए पनि तृप्त हुन्छन् यी । यो सबै भन्दा सर्वभक्षी वर्ग हो भन्दा फरक नपर्ला ! यिनीहरूलाई बस् डिपीमा महिलाको फोटो भए पुग्छ, अरु कुराको अपेक्षा राख्दैनन। दुई खुट्टा टेकेको र बित्ता भन्दा लाको कपाल भए काम चलिगो ! महिला नाउँ गरेको ह्यान्डलबाट मेन्सन आउँदा त के, लाइकको स्पर्श मात्रले पिलित्त हुन्छ्न् ! यिनीहरुले चरम सुख – लाइक, मेन्सन अनि आकल झुक्कल DM मा खित् खित् गरेर पाउँछन् । खासमा “छुनलाई होइन हेर्न चाही पाइन्छ” भन्ने गाना यिनैको लागि लेखिएको हो रे ।


ट्वीटर प्रयोगकर्ताहरुको बारेमा लेखिएका यि लेखहरु पनि पढ्नुहोस ।

ट्विटर डिएमका १२ सत्ताइस् समुह

मन्नपका होली टोली

१२ सत्ताइस खालका ट्विटे बोकाहरु


चेलिब्रेटी समूह

यो समूहमा टाइमलाईनका घागडान चेलिब्रेटी आच्या सेलिब्रेटीहरू पर्छन् ! लाखौंले पढ्ने लेखक हुन् या पत्रकार, सम्पादक हुन् वा शाष्त्री, टिभीमा आउने कलाकार हुन् या समाचार वाचक, अक्षरखेति गर्ने देखि डलरखेती गर्नेसम्म, जो पनि यो समूहमा पर्न सक्यो । यिनीहरू टाइमलाइनका सबै भन्दा सभ्य पुरुष; पुरुष मात्र होइनन’ महापुरुष हुन् । यिनले टाइमलाईनमा सबै महिलालाई चेलीबेटीको नजरले मात्र हेर्छन् भन्ठान्नुहोला, तर यी ट्वीटरको नयाँ सुबिधा -फ्लिट मा चिप्लनछन् र डिएममा ल्यान्डिंग गर्छन् । “वाह! सेक्सी देखिएको छ ” बाट सुरु गरेर कुराकानी अनन्त’काल सम्म लम्ब्याउने प्रयास गर्छन् । यिनले टाइमलाईनमा भने लाइक मेन्सन केही गर्दैनन् किन कि दुनियाको आँखामा त चोखो देखिनु छ नि बाबै । कुनै महिलाले हल्का द्विअर्थी मजाक देख्नासाथ, डिएममा त्यो ट्विट कोट गरेर, “जवाफ आएको थियो तर दिइन” भनेर आफु बिशेष भएको जानकारी दिन्छन् । कुरा सकियो भने थप्ने हिम्मत खासै नगर्ने यो समुह, एउटा झिनो रिप्लाई पाउना साथ २ हात माथि उफ्रिन्छन् र द्विअर्थी चुट्किलाको पन्डोरा बक्स खोल्छन् । अनि केही घन्टाको कुराकानी पछि कफीको निम्तो दिन्छन् । सेलिब्रिटीले कफी निम्तो दिइसके पछि २-४ जना त मानिहाल्छन् पनि – त्यसको लागी यिनीहरूको विषेश ‘अनकन्टार’ कफी सप हुन्छ जहाँ एउटा कुनाको अनकन्टार टेबल हुन्छ । त्यहाँ पुगेपछि के गर्न खोज्छन् त भनिरहन पर्दैन होला तर त्यसरी कफी-’गफ’ असफल भयो भने सुटुक्क अन्फलो गर्छन् भनेर हाम्रो स्रोतले सुनायो ।

नट सो क्लासी एण्ड मासी’ समुह

यो समूहमा ‘क्लासि’ पल्टिन खोज्ने तर ढंग नपुग्ने ‘नट सो मासी ‘ टाइपका (अ)विवाहित पुरुष पर्छन् ! You can buy anything with your money, but not class भन्ने कुरो यिनीहरूलाई देखेपछि हो रच भनेर थाह हुन्छ ! यिनीहरू टाइमलाइनमा अलिक सभ्य देखिने भरपुर कोशिसमा हुन्छन् ! अर्को पुरुषलाई टाइमलाइनमा क्लास नभएको, बुद्दी, ज्ञान नभएकाे देखाएर आफ्नो नभएकाे masculinity देखाएर ताल्चा हात पार्ने दाउ हुन्छ यिनीहरूको! ठ्याकै भन्दा जिम् गएर केटी पटयाउँछू भन्ने मान्यता भएका टिनएजर जस्ता ! यिनीहरूको रडारमा धेरै जसो शहरिया, घरानियाँ मोर्डन टाइपका महिला हुन्छ्न् ! यो समूहमा उग्र पुरुष स्वाभाव देखाउने, अर्को पुरुषलाई हराएर निचो देखाएर ‘अल्फा मेल’ हुँ भन्ने देखाएर ताल्चा हात पार्छु भन्ने सोच हुँदो हो सायद ! यिनीहरू पुरूष खाता भन्दा पनि महिला खातासँग धेरै मेन्सन खेल्छन् र अलिक स्मार्ट अर्को पुरुष देखे भने रिस्‌ले मुर्मुरिन्छ्न् र साइड लगाउन अनेक प्रयास गर्छन् । यिनीहरूले भाउ दिनलाई महिला खाता भए हुन्छ – आजै खुलेको, २ जना मात्र फलोवर भएको किन नहोस् – बस् फोटो मा मोर्डन देखिनु पर्‌यो । ढंगै पुग्दैन, तर पनि महिलाले अङ्ग्रेजीमा ट्वीट गरे कनिकुथी मेहनत गरेर भए नि अंग्रेजीमा रिप्लाई गर्छन् ! यिनले उस्तै परे जापानिज भाषा नी सिक्छन्, जापानमा भा’ महिलासँग हिमचिम बढाउन पाइन्छ कि भनेर ! यिनले मौका पाउना साथ गाडी, जुत्ता, घडीको ब्रान्ड बारे खोक्छन् तर भाग्यले ठगेर होला, कहिल्यै उपभोग गर्ने मौका पाएका हुन्नन् । यिनिहरुको आफ्नो लाइनमा क्लियर छ्न्, टाइमलाईनमा क्लास, अनी डिएममा बकवास । जति गर्दा पनि ताल्चा हात नलागे, ताल्चाको बद्नामी मा उत्रन्छन्, उसको ‘चरित्र’बारे गसिप् गर्न थाल्छन् ! दुनियामा हजारौं ताल्चा छन् नै, त्यसैले हार कहिल्यै मान्दैनन् र जस्तो सुकै किन नहोस्, साँचो लिएर अर्को ताल्चा तिर कुद्छन् !

खुट्टो मुत्ने समूह

यो समुहमा उमेरले दुई-बिस जोडर पनि एक-दश कटेका, मुत्दा खुट्टो भिज्न सुरु भइसकेका पुरुषहरु पर्छन् । देश खाएर शेष भएका, बेलैमा ठाउँमा परेको भए नातिनातिना खेलाउदै बस्न पर्ने बेलामा यिनीहरूमा अरु ताल्चाको लालचा हुन्छ । आफ्नो छोरा छोरी भन्दा कम उमेरका केटीसंग टाइमलाईन देखि डिएम सम्म सिधै छिल्लिन्छन् । यिनको मुख्य हतियार भनेको ‘अनुभबी छु’ भन्ने हो, मान्छे चिनेको छु, काम लाग्न सक्छु भन्ने हो । कथम कदाचित् कुनै महिलाले तपाईंको नियत ठिक लागेन भनेर असहमति जनाए; ‘गलत बुझ्यौ, तिमि जत्रो त मेरो छोरा/छोरी छ’ भनेर आफ्नो बचाव गर्छन् । यो समूह लाज पचेको समुह हो भन्दा फरक पर्दैन। दोहोरो तेहोर अर्थ लाग्ने गफ गर्न माहिर यो समुहको राडारमा विशेष गरि भर्खर टिन एज पार गरेका महिला एवम् श्रीमान् विदेश भएका महिला पर्छन् रे । खिया लागेर भाँच्चिन लागेको यि साँचाहरू आफ्नो निजी ताल्चालाई सन्तुष्ट गर्न सक्दैनन् तर यिनको दुनियाँका ताल्चा प्रतिको मोह हेर्न लायक हुन्छ । यिनीहरू कति पतित हुन्छन् भने, बहिनी, भान्जी नाता लगाएर समेत ताल्चाको आश राख्छन् ।

समावेशीकरण तर्फ एक पाइला

पङ्तिकारलाई भाले जातको मात्र महिमा मण्डन गरेको, आवश्यकताको सिद्धान्तको वास्ता नगरेको आरोप लाग्न सक्ने भएकाले समवेशिता तर्फ एक पाइला सार्दै, पोथी जातको केही समूह बारे पनि लेख्ने जमर्को गरेको छु। आखिर साँचो ताल्चाको नियम हो। ताल्चा पनि त सन्तुष्ट हुनु पर्‍यो ।

बाहिर संस्कारी भित्र लाचारी

यि महिलाहरू टाइमलाईनमा संस्कार, सदाचार, प्रेम प्रति प्रतिबद्धताका प्रतिमूर्ति नै देखिन्छन् । यिनको आदर्श देख्दा लाग्छ कि संसारकै भाग्यमानीहरु हुन् यिनका पति/पार्टनरहरू । यिनीहरु टाइमलाइनमा अटेन्सन ‘सिक’ गर्छन् अनि अटेन्सन सिक गरेको हैन भन्छन् पनि । आफुले सोचेको चाहेको बाहेकको कुनै कुरा अर्को पुरुषले केहि अलिकति गल्ति लेखे भक्कु सदाचारको पाठ पढाउछन् । पुरा भाले जात प्रति यिनको आरोप-पत्र धेरै लामो हुन्छ। सुगठिलो शरीर भएका, अनि आफ्नो पेसामा अब्बल ठहरिएका पुरुषहरू यो समुहका महिलाको रडारमा पर्छन् । हुँदै नभएको समस्या सृजना गरेर, त्यही समस्याको समाधान खोज्ने वहानामा डिएम गर्छन् र गफ सुरु गर्छन् । गफगाफ अनि कफी भेटघाट हुदै डेट, अनि डेटबाट बेडसम्म पुगेको किस्सा कहिलेकाहीँ बाहिर आउछ्न् नै । तर पनि सदाचार र संस्कारको लेक्चर टाइमलाईनमा कन्फ़िडेन्स्‌का साथ दिन्छन् । उस्तै परे पार्टनरसंग कसरी प्रतिबद्ध रहने, पुरुषहरु धोकेबाज हुने बारे प्रबचन दिन्छन्, POST MARITAL Affair बारे ज्ञान बाढ्छ्न् । दोहोरो मापदण्डका मिसाल खोज्न कतै जानु पर्दैन, यिनीहरूको व्यहोरा नियालेर हेरे बुझिन्छ । तैँले त ठूला कुरा गर्थिस्, यस्तो पो सुनें त भनेर कसैले भने, “तिर्खा लाग्यो पानि खाए मैले के बिराए।’ भन्छन् रे ।

अतृप्त आत्माहरुको समूह

रात ९ बजे पछि अनौठो ऐठन टाइपका (रि)ट्विट गर्ने विवाहित (?) महिला यो समुहमा पर्छन् । यिनीहरूले ट्विटहरू र मेन्सनहरुमा आफ्नो असन्तुष्ट ताल्चाको बारेमा खुलमखुला जानकारी दिन्छन् । प्रेम, मिलन, स्वतन्त्रता, पीडाका ट्विट हुदैँ सुषुप्त रुपमा अतृप्ति जाहेर गरिरहेका हुन्छन् । यी थोरै डर भएका धेरै असन्तुष्टि भएका महिलामा हुन् । हेर्नुस् पाठक महोदय, साँचो र ताल्चाको नियम निर्मम छ, जति छोपे पनि देख्खिहाल्छ । यिनको रडारमा आफु जस्तै बहुमुखी रुपमा आउने पुरुष पर्छन् । केही सोधेको जसरी, को, कस्तो, किन यस्तो के लेखेको मैले बुझिनबाट डिएममा सर्लक्क छिर्छन् अनि साँचोवाला कसरी प्रस्तुत हुन्छ, सो अनुसार अगाडी बढ्छन् । यी रुप संगै अरु कुरा फेर्न माहिर हुन्छन् । डिपि, नाम, ह्यान्डल फेरेर आज एउटा बाट भोली अर्को व्यक्ति बन्छन् । यी इच्छाधारी नागिनका आफन्त हुन्। यी हराए जस्तो लाग्छ, तर रुप फेरेर आफ्नो उदेश्यमा लागि परिरहेका हुन्छन् । यी आफु गोप्य बस्न खोज्छन् तर कुरा गोप्य राख्न भने सक्दैनन। सोधपुछबाट झुटपुट अनि लुट्पुट सम्म पुग्न हतार गर्छन् । साँचो सेलेक्सनको मामलामा कच्चा हुन्छन् सायद, यिनको लालसा बाहिर दुनियाँले थाह पाइसकेको हुन्छ । यी यस्तै चक्करमा आफ्नो प्राइभेट साँचो गुमेको पत्तो पाउदैनन् । ” प्यासी जवानी है रात तुफानी” भनेर ट्विट गरेको देख्नुभयो भने सम्झिनुहोला ।

क्रान्तिकारी समुह

क्रान्तिकारी समुह भने पछि महिला पुरुष भनेर छुट्टाउने धृष्टता पङ्तिकारले गर्न सकेन। तसर्थ यो समुहमा तमाम क्रान्तिबीर, अग्रगमनका हिमायती , महिलाबादी, ‘मास्कबादी’ ,ह्यानवादी, त्यानवादी, उग्रक्रान्तिकारी पुरुष एवम् महिला समाबेश गरेको छु। पुरुषका हरेक निर्णय, चाल, हर्कत, मेहनत, तिकडम कुनै न कुनै रुपमा यौन प्राप्तिको चाहानाबाट निर्देशित हुन्छन् भन्ने सिद्धान्तको समर्थक हो। बराबरीको सिद्धान्तको हिमायती देखिनको लागि सो नियम महिलाको हकमा पनि लागु हुन्छ भनेर मान्न बाध्य छ पङ्तिकार । अब लागौ क्रान्तिकारीको साँचो ताल्चा निर्देशित क्रान्ति तर्फ। यी समुहका व्यक्ति क्रान्तिकारी देखिनु या हुनुको एउटा कारण आफुले खोजेको साँचो या ताल्चा वाला क्रान्तिकारी खोज्नु हो। यो समुहले चाल्ने पहिलो कदम भनेको टाइमलाईनमा उग्रक्रान्तिकारी हुने हो, त्यो अनुसारको भिड जम्मा भएपछि त्यसैमा कोही ‘ल्याकतले भ्याउने’को डिएममा छिर्ने हो। साँचो वा ताल्चाको लालचले क्रान्तिकारी भएका यिनको उदेश्य क्रान्ति भन्दा तत् तत् जिनिसको शान्ति मुख्य मुद्दा हो । क्रान्तिकारी छलफललाई डिएम मार्फत अगाडि बढाउँदै, कुना कन्तारामा ‘क्रान्ति’ सफल पारे’सी प्रतिगमन सच्चिएको र समाज सुधार भएको ज्ञान प्राप्त गरेर क्रान्ति बिसर्जन गर्ने महिला पुरुष यो समुहका हुन् । कुनै कार्यक्रम, सेमिनार, छलफलको बिषय बस्तुमा भन्दा ‘ प्रोटेक्सन’का साधनको तयारीमा बढी समय खर्च भएको किस्सा बारम्बार सुनिएकै हो। समारोहमा एवं सभामा पुस्तक भन्दा कन्डम बढी बिक्रि भएका तथ्यांक नआएको होइन। धेरै व्यक्तिहरु साँचो ताल्चा को शान्ति पछि क्रान्तिबाट पछि हटेको, सिथिल भएर मिसन नै बिसर्जन गरेको तपाई हामीले देखेको नै छौ।

अन्त्यमा यो लेख्न सहयोग हुने गरि यि प्रवृतिको बारेमा बुझ्न सहयोग गर्ने प्रमाण जुटाइदिने महिला र पुरुषहरुलाई यो पङ्तिकार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

लेखकलाई ट्विटरमा @marmara5_ मा भेटिन्छ। कुनै प्रतिक्रिया भए तल कमेन्टमा वा लेखकलाई ट्विटरमै भन्नुहोला।

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.