बाउ-आमाले डाक्टर बनोस् भनेर साइन्स पढ्न पठाए । डाक्टर त सिरियस मान्छे हुनुपर्छ जस्तो लाग्ने मलाई फेरी ! आफू परियो हावा मान्छे, त्यसैले डाक्टर बन्दिन भन्ने कुरामा म ढुक्क थिएं र बनिन पनि ! तर नकचरो भाग्यले गर्दा, डाक्टर नभए पनि डाक्टरको संगत गर्नै पर्ने, आसपास रहनै पर्ने जागिर खाइयो हेर्नुस् ! जागिर खान थालेको केही दिनमै थाह भयो – डाक्टर भनेका भलाद्मी हुन्छन् भन्ने कुरो नै गलत रहेछ! आउनुस्, मेरो, यानेकि एउटा मेडिकल रिप्रेजेन्टिटिभ (मेरि) याने की औषधि मार्केटिङ गर्ने (Medical Sales Representative/MR)को नजरबाट डाक्टरहरूलाई विभिन्न प्रकारमा भाग लगाम् !

अलकत्रे इन्टर्न : नहुने बिरुवाको खस्रो पात भने जस्तै यी डाक्टरहरू ‘डाक्टर’ बन्न अघि देखि नै आफ्नो औकात देखाउन थाल्छन् । ‘मेरि’लाई देख्ना साथ डटपेन माग्न थाल्छन् – एउटा लिएर चित्त बुझाए हुने नि मुर्दारहरू.. एक मुठ्ठी लिन्छन् अनि आफ्ना नर्सहरूलाई बाँड्छन् – आफैले किनेर दिएको जसरी ! पेन मै चित्त बुझाए पनि त हुन्थ्यो, दशैं/तिहार आउनै पर्दैन, दारु-पानी पनि माग्न थाल्छन् ! ‘चल् हट् फुच्चे’ भन्न मिलेन, पछि गएर औषधि बिकाइदिने यिनै हुन् । त्यसैले ‘सर सर – म्याम म्याम’ भन्यो र सस्तैमा सल्टाउन खोज्यो र डटपेन दियो !
यो पुरानो लेख पनि पढ्नुहोस ; १२ सत्ताइस डाक्टर
*लम्पट डाक्टर: हाम्रो ट्रेनिङका बेला एक जना भुँडे ट्रेनरले भन्थे, ‘सबै डाक्टरका कमजोरी हुन्छन् – त्यही कमजोरीमा आफ्नो प्रडक्ट घुसाउनु’ ! राम्रो पेन दिँदा नि नमान्ने, दारु खान बोलाउँदा नि नआउने केही डाक्टर हुन्छन् जसलाई राम्री केटी ‘मेरि’ले मस्केर ‘यो औषधि लेख्दिस्यो न’ भने पुगिहाल्छ हेर्नुस् ! मार्केटिङ स्टाफ हायर गर्ने बेला मोडल जस्ता केटी लिन खोज्छन् औषधि कम्पनीहरूले, बुझ्नुभयो नि ? कतिपय यि डाक्टरहरूले केटी ‘मेरि’ त देख्नै हुन्न- अँगालो हाल्न आइहाल्छन् – दिक्कै लाग्छ भन्या ! तर काम त कामै हो – राम्री ‘मेरि’ले सँगै डिनर गरिदिए त बर्ष दिन सम्म औषधि लेखेर पठाउँछन् यि डाक्टरहरू ! यो भन्दा बढि कुरा खोल्न १२थरीले दिएन हेर्नुस् - नत्र हामीले आफ्नै आइडि-कार्ड राखेर होटलमा रुम बुक गरिदिएका छम् र पनि आजसम्म कसैलाई भनेका छैनम् 😉
फिरन्ते डाक्टर: यी डाक्टरहरुको शौख नै घुम्ने हुन्छ । आफ्नै पैसाले घुमे त के डाक्टर, औषधि कम्पनीको पैसामा घुम्ने पो ठूलो डाक्टर त ! कन्फ्रेन्स होस् या सेमिनार – बस् विदेशमा हुनु पर्छ – ‘टिकट र होटल बुकिङ’ मागिहाल्छन् – देश जुन सुकै होस् ! मैले लिथुवानिया भन्ने देश पनि छ भन्ने कुरा एउटा यस्तै फिरन्ते डाक्टरको मुखबाट सुनेको हुँ ! कुनै डाक्टरको विदेश घुमेको फोटो छ भने कुन कम्पनीले घुमाउन लग्यो भनेर सोध्नु भए हुन्छ – मिस् खाँदैन ! आफ्नो पैसामा इन्डिया गए पनि ट्याक्सीमा सुको पैसा खर्च नगर्ने जस्ता चुँइयाहरू हाम्रो खर्चमा हो भने चैं गतिलो गाडी बिहानदेखि रातीसम्म उपलब्ध गराइदिए हुन्थ्यो भन्ने आश मान्छन् । होटल फेरि हिल्टन माग्छन् (अरु ५ तारेको नाम थाह नभएर पनि होला) ! आफ्नै पैसाले कति जना डाक्टर ५-तारेमा बसेका होलान् जस्तो लाग्छ कहिलेकाहीँ। बरू ट्विटर तिर कसैले बहस चलाउनुस् न – डाक्टरहरूलाई सोधेर !
मुनीमजी डाक्टर : यी डाक्टर भन्दा पनि लेखापाल हुन् भन्दा फरक पर्दैन । यिनको मुख्य ध्याउन्न नै कुन कम्पनीले कति पैसा दिन्छ र कसलाई कसरी मुड्ने भन्नेमा हुन्छ । अरु डाक्टरहरू जस्तो कुन औषधिले बिरामी ठिक होला, कसरी सस्तो र प्रभावकारी उपचार होला भनेर सोच्दैनन् । पैसाको मामिलामा यी अलि ज्याद्रा हुन्छन् । वार्षिक एकमुष्ठ लिने कि, छ-छ महिनामा रिन्यू गर्ने गरि लिने कि, सेल्सको आधारमा परसेन्टमा लिने कि, क्यासमा लिने कि चेकमा लिने; यिनको SOP अलि नाटिकुटीवाला हुन्छ । बरु गाडीमा तेल हाल्न बिर्से रिजर्भमा अलिअलि बाटो तान्ला, सम्झौता अनुसारको म्याद सकिएपछि यिनको कलम टक्क अडिन्छ । सेल्स अनुसारको कन्ट्र्याक्ट हो भने यीनले आफ्नो मेडिकलमा औषधि जाने स्टकिस्टबाट ‘स्टेटमेन्ट’ सम्म झिकाउन पनि पछि पर्दैनन । पैसाको लागि ५ रुप्पेको ट्याब्लेटले हुनेमा ५० रुप्पेको लेख्ने, नानाथरी भिटामिन झोल र न्यूट्रास्यूटिकल्स भिडाउने, चाहिंदै नचाहिने जाँच गराउने, धार्केमा एउटा मात्र होटेलमा लगेर गाडीले खाजा खुवाउन बाध्य पारे झैं आफ्नो सेटिङ भाको पसलमा मात्र पाइने औषधि लेख्ने यिनका अन्य विशेषता हुन् ।
किताब डाक्टर: यी डाक्टर देख्दा चैँ, पढन्तेहरू मात्र डाक्टर बन्छन् जस्तो लाग्छ हेर्नुस् । कुनै जर्नलमा नयाँ लेख आयो भने पनि चाहियो भन्छन् । कुनै किताबको नयाँ संस्करण निस्क्यो भने मोटा मोटा किताब किन्न लगाउँछन् — पढ्छन् त होला भन्यो ल्याइदियो ! एक पटक मैले २ धार्नीको एउटो किताब बोकेर ढाड सड्किने गरी दिनभरी हिडेको छु, एउटो किताबी किरोलाई दिन । यि डाक्टरहरु अरु भन्दा ठिक लाग्छन् मलाई ! ज्ञान पनि मागेको किताबबाट ? भनेर सोध्नुहोला – -तर अरुको पैसाले रक्सी धोक्नु भन्दा अरुको पैसाले किताब घोक्नु ठिक हो !
बैरागी डाक्टर: यी डाक्टरहरू ‘दुखी आत्मा’ हुन् ! यिनीहरूलाई केही चाहिन्छ भने त्यो हो – सुनिदिने मान्छे ! यिनको गनगन सुनिदिए मात्र पनि हाम्रो काम बन्छ । गर्ने कुरा फेरी त्यही हो - अरु डाक्टरको कुरा काट्ने ! फलानोले केही जान्दैन त्यहि पनि प्रमोसन भयो - फलानोले फलानो कम्पनीसँग आईफोन लियो – फलानोको फलानोसँग झगडा परेको छ – फलानाले चिलानीलाई घुमाउँछ, घरमा बुढीले था पाएर जात्रा… यस्तै यस्तै ! निंद नपुगेर गडेका आँखा, चुरोट खाएर करेठी परेका ओठ अनि जिङ्ग्रिङ्ग दाह्री र कपाल ! कस्सम – आफ्नै पैसाले किनेर एउटो काईयो र फेसवास् उपहार दिम् झै लाग्छ कहिलेकाहीँ।
फाँइफुट्टी डाक्टर : यी डाक्टर शीप र ज्ञान भन्दा पनि फाइँफुट्टीले चलेका हुन्छन्। प्लसटु/आइएस्सीमा ‘गान्धी डिभिजन’ ल्याए पनि पैसा पेलेर चाइना वा नेपालकै मेडिकल कलेजमा ५ वर्ष बिताएर सर्टिफिकेट हात पारेका हुन्छन् । यिनले जति जानेका हुन्छन्, त्यो भन्दा बढी जानेको छु भनेर देखाउन खोज्छन् । सुकिलो मुकिलो लुगा, कोट टाइमा ठाँटिएर हिंडेको देख्दा ओहो…यी भन्दा ठूला डाक्टर त विश्वमै छैनन जस्तो लाग्न सक्छ । केहि बेर गफ सुनिदिने हो भने अमेरिकामा समेत ठिक नभाको बिरामीलाई आफूले ठिक पार्देको भनेर गुड्डी हाँक्न पछि पर्दैनन । कुनै कन्फ्रेन्समा गए आफुले केहि प्रिजेन्ट नगरेको भए पनि पोडियममा गएर फोटो खिचाएर भए पनि आफु धुरन्धर रिसर्चर भएको देखाउँछन् । पिलो निचोरेको होस् वा खिल उप्काको होस, फेसबुक लाइभ, टिकटक भिडियो, यूट्यूबमा समेत यी आफ्नो बाक्लो उपस्थिति जनाइरहेका हुन्छन् । यति काम आफै गरे हाम्लाई किन खसखस हुन्थ्यो र ? केहि लेख्न हुन्न, पोस्टको लिंक हाम्लाई ठेल्छन् । आफु मात्र सपरिवारले नै शेयर गरिदेओस् झै गरेर । उनीहरुको पोस्टमा “ओहो… हजुर त क्या खतरा” भने जसरी कमेन्ट लेखेर फुरुङ्ग नपार्दिने हो भने मनमा तुसै निकाल्छन् र पो !!
जोगी डाक्टर: डाक्टर गोविन्द केसीलाई चिन्नु हुन्छ ? हो, वहाँ हो जोगी डाक्टर ! वहाँ जत्तिकै नभए पनि वहाँ जस्तै जस्तै अरु २-४ जना छन् डाक्टरहरु जो कलम पनि आफै किन्छन् । डाक्टर चिन्न मन छ भने उसले कुन कलमले लेख्छ हेर्नुभए हुन्छ । कम्पनीको नाम नलेखेको कलमले लेख्ने डाक्टर देख्नुभयो भने बुझ्नुस् – त्यो डाक्टर असली डाक्टर हो ! यि डाक्टरहरूलाई केही कुराले पनि ‘किन्न’ सकिन्न । न त केही दिएर फकाउन नै सकिन्छ । यिनीहरू औषधि लेख्दा ‘कुन कम्पनीले के दियो भनेर सोच्न भन्दा पनि कुन औषधिले यो बिरामी निको होला भनेर सोच्छन् ! यि यस्तै जोगी डाक्टर छन् र अझै पनि यो पेशा प्रति ममा थोरै भए पनि ईज्जत बाँकी छ !
तपाईँले चिनेका डाक्टर कुन प्रकारका रैछन् त ? कमेन्टमा लेख्नुहोला है ।
यो लेख @marmara5_ ले लेख्नुभएको हो।