जदौ !
अल्छीको उच्चतम् विन्दू पार गरिएछ, १२ थरीका सम्पादक तथा स्तम्भकारहरुले। हुनत लेखेर पनि के पो लछारपाटो लाउनु छ र ! न त यसबाट तलब आउने न त यसमा विज्ञापन नै आउने। त्यसैले पनि आजकाल १२ थरी साइटमा भन्दा स्पेसमा व्यस्त भयो। २४ घण्टा, बिना कुनै बिषय स्पेस? प्रविधिको दुरुपयोगको योभन्दा उच्च नमुना केही हुनै सक्दैन। हद त त्योबेला पार हुन्छ, यसको स्पेसमा बोल्ने स्पीकरहरु सँधै एउटै हुन्छन्, जतिबेलै फुर्सद। बेरोजगारले मादल भेटेपछि के गर्छ त भन्दा खरी झर्दा पनि बजाउन छोड्दैन, प्वाल नपारुन्जेल बजाएको बजायै। डेटिकेटेट मोबाइल फोन राखेर १२ थरीले २४ घण्टे स्पेस प्रसारण गरिरहेको थियो। अचानक बीचमा यसले आफूलाई सभ्य समाजको सभ्य चौतारो दाबी गर्दै यौन दुर्व्यवहारीहरुकोप्रति सहाभूति राख्ने बक्ताप्रति असहमति जनाउँदै स्पेस बन्द पनि गर्यो। खैर यो इतिहासलाई भर्सेला पार्दिम्। मुलकुरा मुख्य हुन्छ। त्यतै लागौं।

खास कुरो के भन्देखुन् नि, प्रसारणको यत्रो लामो अनुभव बटुलिसकेपछि १२ थरीको सम्पादक मण्डलले देखे, भेटेका, प्रत्यक्ष वा अप्रत्यक्ष संवाद गरेका, नियालेका, परख गरेका वक्ता तथा स्रोताको बारे चर्चा नगर्ने भन्ने त भएन नि। त्यसैले आजको यो ब्लग १२ थरीले आफ्नो प्रसारणको अवधिमा देखेका, हेरेका, सुनेका वक्ता तथा स्रोताहरुको बारे चर्चा गर्नेछ। १२ थरीमा आएर बोल्दा, वा सुनेर बस्दा तपाइँका दाँत अहिलेसम्म बचेका भए कृपया अब फेरि एकपटक दाँत बचाउनु होला। लौ त फूलपाती लिएर बस्नुस्- उपनयतु मंगलम् नहुञ्जेल।
बाह्रमासे
१२ थरीको स्पेसमा आउने धेरै वक्ता तथा स्रोता यो वर्गमा पर्छन्। जो बिहान उठेदेखि राति नसुतुञ्जेल मात्र होइन कि सुत्ने, खाने पनि यतै गर्छन्। १२ मासे स्रोता कस्ता हुन्छन् भने, ती कुनै माग गर्दैनन्, ती जुलुस लगाउँदैनन्। को आयो, के बोल्यो सँग तिनलाई खासै मतलब हुँदैन। ती चिसो भुइँमा लम्पसार परेर सुनिरहन्छन्, निरन्तर … निरन्तर ! पानी परोस्, घाम चर्कियोस्, हिँउ नै परोस्, अहँ ती डेग चल्दैनन्। उता वक्ताहरु? ओहो हो हो !! यी १२ मासे वक्ताहरु कस्ता हुन्छन् भने जुरुक्क उठेर एकहातले ब्रस गर्दै अर्को हातले कट्टु तल सार्दै ट्वाइलेटमा बसेर बोल्न शुरु गर्छन्, त्यहिं फ्लस गर्छन्, खोक्छन्, खकार्छन्, मुख कुल्ला गर्छन्। अनि राति स्पेसमै निदाउँछन्, घुर्छन्। यिनले भात यतै पकाउँछन्, दाल यतै झान्छन्, रक्सी यतै पिउँछन्, यतै वाक्छन्। यस्तो लाग्छ- यिनको संसार नै यही स्पेस हो। हे अगस्तेमुनि, यी १२ मासे वक्ता कस्ता प्रकृतिका भन्नुहुन्छ भने, आफूले नजानेको केही छैन, आफूले नदेखेको केही छैन भन्ने- ब्राण्डका धाक दिने, उच्च प्रकृतिका मदिरा सेवन गरेको धाक लगाउने, न्युरोडदेखि न्युयोर्कसम्म, कपनदेखि जापानसम्म जहाँका कुरा गरेपनि विज्ञता छाँट्न पछि नपर्ने। पकाउनका कुरा, फकाउनका कुरा, थकाउनदेखि धकाउनका कुरा, आदर्शका कुरा जेमा पनि ज्ञान जोतिहाल्ने। यस्ता अलौकिक क्षमताले भरपूर विलक्षण प्रतिभा यस्ता नमुना वक्ताको वर्णन स्वयं शेषनागले पनि सक्दैनन् होला, म बबुरो यो लुकेर ब्लग लेख्नुपर्ने चल्लोले के पो सकुँला र !
सुलसुले
बु हा हा हा ! यी अजिबका प्राणी हुन् मित्रों। यीनले आफूलाई गोप्य राख्न रुचाउँछन् तर अरुको गोपनियता खोल्न यीनलाई रमाइलो लाग्छ। यी स्पेसमा आउनुको प्रमुख कारण नै अर्काको सुराकी गर्न हो। कोही कसैले स्पेसमा बोल्नुमात्रै पर्छ यी सुटुक्क अर्काको डिएममा छिरेर ‘यो मु* ठुला कुरा गर्छ, यसलाई हामीले नचिनेको हो? फल्ना ठाउँमा काम गर्दा यसले यसो गरेको थियो’ भनेर इतिहास बक्न थाल्छन्। यिनलाई सुलसुले भन्दा नि जुम्रा भन्नुपर्ने हो। अर्काको टाउकोमा बसेर अर्काको रगत चुस्ने। यीनको जिन्दगी अर्काको चियो चर्चो गर्दै बित्छ। सुलसुलेको अर्को बिशेषता के हो भने यीनले बोलेर प्रतिकार वा प्रतिक्रिया दिन सक्दैनन्। त्यसैले यिनलाई जुम्रा पनि भनिएको हो। कपालभित्र लुकेर टोक्ने, देख्न लागे भने कट्टुले मुख छोपेर दौडिने।
महाज्ञानी प्रतापि
ओ माइ गाँड्। देशबिदेशका विश्वविद्यालबाट स्नात्तकोत्तरदेखि पिएडी गरेका, साना स्टोर चलाउनेदेखि तेल बेच्नेसम्मको पेशामा रहेका विज्ञहरु छन् यो वर्गमा। यहाँनेर के भन्नैपर्छ भने यी २४ घण्टा चल्ने स्पेसमा बिशेषगरी पलायवादी, बिहान बेलुका भाँडा हान्ने, घन्टे, पीडित, जीवनबाट हारेर भागेका तर म सर्वज्ञानी हुँ, यो संसार मेरै वरिपरी मात्रै घुम्छ, म भइनँ भने संसार सकिन्छ भनेर काँधमा यो सारा पृथ्वीको भार बोकेर हिँडेका प्राणी पर्छन्। यीनको क्षमता यति अदभुत् हुन्छ कि २५ बर्ष प्लेन उँडाएको पाइलटलाई तैँले प्लेन उँडाएको मिलेन, मैले पनि ४ घण्टे पाइलट ट्रेनिङ लिएको छु, प्लेन कसरी उँडाउनुपर्छ पहिला सिकेर यता बोल्न आउनुस् भनेर प्रवचन दिन भ्याउँछन्। यीनलाई आफ्नो ज्ञानको, आफ्नो पढाइको, आफ्नो कामको यति ठूलो घमण्ड हुन्छ कि ओहो हो हो, यो ज्ञानको तलाउमा कसैले सानो गिट्टी हान्दियो भने यीनको त्यो घमण्ड बाबुरामको भ्यागुतो उफ्रेसरी बुर्लुक्क उफ्रेर अहंकारको रुखमा चढ्छ। त्यसपछि यिनले ओकल्छन् अहंकारको आगो।
देशभक्त
हे भगवान। म यीनका बारे कुरा गर्न सक्दिनँ। यीनलाई जस्तो देशको माया त स्वयम् श्री पशुपतिनाथलाई पनि छैन होला। यी जुनसुकै समय, जतासुकै, जे बिषयमा पनि यति भावुक हुन्छन् देशको मायामा कि आज पानी पर्लाजस्तो भन्यो भने पनि अब बाढी आउँछ, जनताको घर बगाउँछ, तर कसैलाई त्यसको चिन्ता छैन भन्दै आँशुको बाढी बगाउन शुरु गर्छन्। यीसँग भातको, जातको, पानीको, सर्वतको, सातुको, जेसुकैको कुरेा गर्नुस्, देश चिन्ता आइहाल्छ। म:म चैं किरण दाइको मांसगल्लीकै मीठो हो भन्यो भने पनि ‘अर्थमन्त्रालयको सिसिटिभी फुटेज गायब भएको छ, बजेटमा हेराफेरि भएको छ तर सार्वजनिक स्थानमा कुन म:म मीठो भन्ने बहश भइरहेको छ। यही कारण हो नेताले हामीलाई हेपेका, यो देश बिग्रेको कारण यही हो’ भन्दै शुरु भइहाल्छन्। मलाई चिन्ता लाग्छ, देशको यस्तो चरम अवस्था देखेर, सम्झेर यीनीहरु ओच्छ्यानमा श्रीमतिको अँगालोमा पनि रोएरै बिताउने पो हुन् कि ! कसरी सक्लान् यिनले रोमान्स गर्न देशको यस्तो जर्जर अवस्था देखेर। हरी शरणम्, भगवानलाई यीनलाई यो सबै सहने शक्ति प्रदान गरुन्।
आँडे
यो प्रवृत्ति पनि समाजबाट टपक्कै सरेर स्पेसमा नि आइपुगेको छ। आँडे भनेको थाहा छ? दुईटा मध्ये एउटा गेडा सानो भएकोलाई आँडे भन्छन्। मतलब, अडबाङ्गे, खोँचे थाप्ने। जतापनि छिरेर टाङ् अड्याउने। यीनलाई के लाग्छ भने आँडे कुरा गर्दा, बाङ्गा कुरा गर्दा आफू ठुलो मान्छे देखिन्छु भन्ने भ्रम हुन्छ। यिनीहरुसँग बेला न कुबेला, ताइँ न तुइँका जिज्ञासाहरु हुन्छन्, जुन कहिल्यै सकिँदैनन्। यिनलाई नबोले नि हुने विषयमा बोल्न पर्छ, तर विषयबस्तुको ज्ञान फेरी उही हो शुन्य हुन्छ। आफु नबोले सुर्यले उदाउने बाटो बिर्सन्छ भन्ने डरले खाएर होला बोल्न त पछि पर्दैनन् बोली हाल्छन्। यस्तालाई स्पेस जगतमा बिग्रेको रेडियो पनि भन्ने गरिएको छ।
खानका काल
यी जन्मेका नै खान मात्रै हो। यिनको जीवनमा खानुभन्दा अर्को उद्देश्य नै छैन। बिहान, बेलुका, सुत्दा, उठ्दा, जहाँसुकै यिनीहरुले खानकै मात्र कुरा गरेर बस्छन्। यीनले पकाएर खान दुईटा ग मात्र बाँकी होला। कुरो बुझ्नु भो नि? दुईटा ग भनेको? ए, त्यो चैं गुहु र गाडी भनेको। हो, यिनले अचार तरकारी बनाएर खान यीनै दुईटा कुरा बाँकी छन्। यिनले पकाएको यिनलाइ बाहेक अरुलाइ कहिल्यै मिठो लागेको रेकर्ड छैन, तर आफुलाइ ५ तारे होटलको सेफ जसरी प्रस्तुत गर्छन्। कोही कोही त कतिसम्म छन् भने पकाउँदा माया गर्दै पकाउन पर्छ भनेर तातो कराइ चुम्दै बस्या हुन्छन्, ओठ पोलेको पनि मेसो पाउदैनन्।
चिप्लिने अङ्कल
नेपाली टेलिभिजनमा छन् नि एकजना चिप्ल्याउने अङ्कल। यिनीहरु चैं चिप्लिने अंकलहरु हुन्। यिनीहरु पनि ठूला मान्छे हुन्, धेरै पढेका, जानेका, ज्ञानका सागर। यिनीहरुलाई चिप्लिने अङ्कल किन भनिएको भने यिनीहरु स्पेसमा चुपो लागेर बस्छन्। जब स्पेसमा महिला वक्ता आएर बोल्न थाल्छन् तब हतार हतार रोमान्टिक गीत बोकेर वक्ता बन्न पुग्छन्। अनि यता हेल्लो भन्न नपाइकन डिएममा पिलित्त चिप्लिन्छन्। हजुरको विचार कस्तो राम्रो, कति मीठो बोल्नुभएको भनेर डिएमतिर छिरिहाल्छन्। अँ अँ, स्पीकरमा महिला देखेपछि कहिल्यै नबोल्ने पुरुष वक्तालाई पनि आदरसहित सम्मान गरेर फलानी जी पनि यतै हुनुहुदोँ रहेछ भनेर चिल्लो घसिहाल्छन। हामीलाई यी अङ्कलहरु चिप्लेको हेर्दा बहुतै रमाइलो लागेर आउँछ।
नैतिकताका ठेकेदार
यिनीहरुले सबैलाई सिकाउँछन्। यस्तो बोल्न हुँदैन, यस्तो भन्नु हुँदैन। यो शोभनिय भएन। भुत्राको शोभनिय नहुने हो, तिनले पठाएका डिएममा तिनका नैतिकताका भुत्राहरु छरपस्ट हुन्छन, तर फेरि ज्ञान उनैले पेलिरहेका हुन्छन्। यिनले नैतिकता पढाउन थालेपछि घण्टौँ बिताइदिन्छन्। तर यीनलाई कक्षा लिइरहदाँ कसैले यिनको कान चुस्स तान्दियो भने आफैँ बिर्सन्छन् नैतिकता पढाउँदैछु भनेर। त्यसपछि त के चाहियो, बाउको भुत्ला लिएर आइज, तातो पानी हालेर खुइलाइदिन्छु भन्न पनि पछि पर्दैनन्।