
फेरि नमस्कार ! यो लेख १२ थरीको शुरुवातमा १२ थरी स्तम्भकारहरु लेखन क्षमताको उच्चतम् विन्दुमा रहेकाबेला ड्राफ्टमा अडकिरहेको लेख हो। यो लेख मुलत: लामो समयदेखि विदेशमा बसेका छोराले गाउँमा बसोबास गरिरहेका बाउको बारेमा गरेको टिप्पणिप्रतिको प्रतिटिप्पणि हो। यसलाई १२ थरीको समाचारकक्षभित्रको सम्वादको एउटा भागको रुपमा पनि लिन सकिन्छ। हुनत, डोरीलाहुरे भनेर वैदेशिक रोजगारीमा गएकाहरुलाई भन्ने गरिन्छ। तर यो सम्वाद कुवाबाट निस्केर बाहिर निस्केको भ्यागुताले कुवामा बसिरहेका आफ्ना बाबुआमासँग गरेको सम्वाद हो। समग्रमा यो सम्वादले विदेशमा बसेका सम्पूर्णको प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ। सम्वादलाई रोचक बनाउन चार्ली आफैँ यसका प्रतिनिधिपात्र बनेका छन्। भाषालाई हेरेर लेखक र लेखका पात्रबारे अनुमान गर्न सबै पाठकहरु स्वतन्त्र हुनुहुन्छ। – सम्पादक
भान्सामा हेरेको चुलोमा पाइप जोड्या र’च-
म: केपी वलीले चुलोमा पाइप पुर्याउने पाइलट प्रोजेक्ट यता’ट शुरु गर्या हो?
बा: ल्याउँछ प्रोजेक्ट, गोबर ग्याँस हो बजिया।
आँगनमा बसेर बारी हेर्दै थिएँ-
म: बा, यो लामो लामो ठुलो पात भएको रुख केरा हो कि क्या हो है?
बा: ठाँस्नी, यी हेरीऽऽऽऽऽयस्को पात हो। (बाले दुवै हातले आफ्नो गुप्ताङ्गमा राखेर देखाए)
घरमा मासु पकाएको रहेछ। खानेबेला-
म: ए बा, के को मासु हो?
बा: सुँघ्न। तँ जस्तो बास्ना आको छ कि म जस्तो !
म: के भन्या बुझिनँ।
बा: ठस्स गनाए बोको, मिठो बसाए खसी।
भात खाइसकेपछि-
म: मासु त खाइयो, तुथपिक छैन बा? दाँत कोट्टाउन परो।
बा: अहिले त्यहीँ रहन दे, राति भोक लाग्दा कोट्याएर निलेस्। बडो आयो तुथपिक खोज्दै।
म: बा ती ग्लास (रक्सी पिम्ने गिलास) त पुरै ध्वाँसाले टालिएका रचन्.. बेला बेलामा सफा गर्नु नि…
बा: ती गिलासमा हाल्ने माल नभएर हो।
घरमा कुकुर देखेर-
म: कता’ट ल्याउनु भो कुकुर?
बा: साना भिनाजुकाँ’ट।
म: अर्काको किन ल्याको त?
बा: आफ्नो कुकुर दशैँमा आम्छ, ४ दिन भुक्छ, फेरि हराम्छ, अनि के गर्नु?
घरको बनावट फेरिएको देखेपछि-
म: बा दैलेढेलो भत्काएर सम्मो बनाउनु भएछ, किन हो?
बा: बुढा हुदै गयौँ, रेखदेख गर्ने कोही छैन, घर वृद्घ मैत्रि बनाएको।
बाले लगाउनुभएको टोपी फाटेको र ध्वाँसो लागेको देखेपछि-
मेरी बुढी: कस्तो पुरानो टोपी लाउनुभको बा… कहिलेको हो?
बा: , भर्खरकै हो, तिमीभन्दा पुरानो हो..!
खाटमा बस्दा छेउमा दुध राखेको देखेपछि-
म: कल्ले हो खाटाँ’ दुध राखेको..?
बा: दुध खानि टोली अर्को खाटमा बसो त … यो खाट दारुवालहरुको हो।
राति सुत्दा पसिनाले लुथ्रुक्क भिजेपछि-
म: साह्रै गर्मी बढेछ, अर्को चोटी आम्दा AC ल्याउँछु। राति सुत्नै नसकिने भएछ।
बा: एक सुटकेस बिजुली पनि ल्या` है बाउन्ने बज्या, तेरो AC बाल्न।
म: ए बा यो कुँडो पकाउने ताउलो प्रयोग गर्दा उर्जा खपत धेरै भयो, अलि ठुलो प्रेसर कुकर लिन परो।
बा: यहाँ’ट भाग्छस् कि गोबरको चपराले हानुम् तँलाई?
गाइले दुध कम दिएकोबारे गुनासो गर्दै बा-
बा: पहिला ठ्याक्कै चारमाना दिन्थी, अहिले बल्लतल्ल दुईमाना दिन्छे।
म: ताउलोमा कुँडो पकाएर होला
बा: त बढी जान्नी न हो त, बाली गकी छे।
कुँडोमा कुरो नमिलेपछि सुत्न घर जान लाग्दा-
म: गए म घरतिर, बस्नु एक्लै गोठमा।
बा: बर्षाँ चार रात सुत्न आएर साथ दिने भाको! यता सुन्, बाउलाई कुँडो पकाम्न सिकाम्न नआइज भोलि फेरि।
दिउँसो फुर्सदिलो भएपछि-
म: बा, जाम हिड्नुस् बजारतिर गएर आम्।
बा: मलाइ के किन्दिन्छस् र?
म: त्यसै जान हुन्न र?
बा: यी डियाँ तेरी एमबिए गरेकी बुढीले हेर्छे, म डुल्न गएर?
बजारबाट फर्केपछि-
बा: चाँडै फर्केछस् त, कता कता पुगिस्?
म: बिरौटा, मालेपाटन, बगर, महन्द्रपुल, पामे।
बा: भुस्याहा कुकुर भन्दा नि छिटो दुकुरेछस् त 😂
बर्षौंदेखि घर अगाडिको बाटो नबनेकोमा बालाई सटाएर हान्दै-
म: १० बर्ष बाटो, बाटो भनेर हिँड्या हैन र बा हजुर? आम्दा जहिल्यै टाउकोमा सुटकेस हालेर आम्न पर्छ।
बा: डोरी लाउरे छोरो, भरिया हाल्ने पैसा कमाइनस्? आफैँ बोकिस्? थुक्क!
भात रहेपछि-
म: भात त धेरै रह्यो त!
बा: कुकुरले खान्छ।
म: कुकुरलाइ छुट्टै त्यत्रो भाग??
बा: बर्षमा चार दिन आउनेले त हली भाग खान्चन्, यो त रात दिन घर कुर्ने।
ज्योतिषीलाई चिना देखाएको बारे आमा-
आमा: हेराम्न गा’थेँ, तीनटा बुढीवाला ग्रह छ तेरो।
बा: अर्की ल्याउन दे न, त्यो यतै छोडेर जान्छ कि 😉
बुढी: कान्छी लग्लानी सँगै।
म: ग्रह काटे हुन्न?
आमा: पर्सि आंक’सँ ब्या अर्दिने हो, तिमोरु चुप लागो।
बा: एक छिन रमाउन नि दिन्न यो आइमाइ।
बुढी: मलाइ रुन आइसक्या थ्यो।
म: यै एउटी मात्रै हुने भइ।
बाहिर निस्किनेबेला पानी परेपछि-
म: बाहिर निस्कन पर्यो, यौटा छाता दिनु त।
बा: कता कता जान्चस्?
म: किन र?
बा: भोलि छाता खोज्न जान पर्यो नि।
घिरौंलाका बारे-
म: बा यो घिरौंलो त पुरै अर्ग्यानिक हो है ?
बा: अँ, गोबर ग्यासाँ हालेको हाम्रो गु मुत सबै त्यै घिरम्लाले खा छ 🙄
बाको मोबाइलमा आएको फोनबारे-
म: को थ्यो फोनमा?
बा: अग्निको मुन्छे।
म: कस्ता कस्ता मान्छे चिन्नुहुन्छ र हो?
बा: तैँले कस्ता कस्तालाई फेसबुकमा साथी बनाउँछस् नि, त्यस्तै हो।
र अन्त्यमा,
म: आज म खाना खान्न है।
बा: ए, धोकेर आइस् !?
तपाइँका छरछिमेकमा वा तपाइँको आफ्नै घरमा पनि बाउछोराका यस्तै रोचक सम्वाद हुनेगरेका छन्? छन् भने तपाइँहरु तल्तिर कमेन्टमा गएर सुनेका, देखेका र भोगेका कुरा लेख्न सक्नुहुनेछ। यतिन्जेल पढेर साथ दिनुभएकोमा धन्यवाद। जदौ।