हा्मरो बारेमा

Adams

प्राविधिक निर्देशक : १२ थरीका मुख्य जिम्मेवार व्यक्ति यिनै हुन्। १२ थरीका सम्पादकदेखि टिप्पणिकारसम्मको नामाकरण गर्नेदेखि साइटको प्राविधिक कामको खटनपटन सबै यिनको जिम्मामा छ। सुन्नमा आएअनुसार यिनी पनि कडा आलोचक हुन् रे। बेलाबेला कडा टिप्पणि पनि गर्छन् तर धेरैपय बेला चुपचाप कुरा सुन्ने र अन्त्यमा आफ्नो राय प्रस्तुत गरेर सो रायमा सबैको सहमति लिन यी सिपालु मानिन्छन्। १२ थरीका वरिष्ठ टिप्पणिकारहरुलाई यिनले पछाडिबाट भुक भुक लात्ताले हान्छन् र भन्छन्, ‘लागेन नि? लागेको भए बाल हो।’

Boston

सम्पादक : यिनी आफूलाई विशेषज्ञ नै ठान्छन्, विशेषज्ञ पनि कस्तो भने नि उही ‘धाकै सही’वाला। त्यसैले हाम्रो टीमले यिनलाई सम्पादकको भूमिका सुम्पेको छ। आलोचनामा पनि भद्रता हुनुपर्छ भनेर यिनी वकालत गर्छन् र टिप्पणिकारहरुका कडा शब्दलाई नरम बनाएर आलोचनालाई कहिलेकाहीं प्रशंसा बनाइदिन्छन्। यिनीसँग पत्रकारिताको लामो अनुभव पनि छ रे भन्छन् तर बजारमा खासै नाम देखिएको छैन।

Charlie

वरिष्ठ टिप्पणिकार : १२ थरीमा यिनको बाइलाइन देखेरै थाहा पाइसक्नुभो होला, यिनी खरो स्वभावका छन्। टिपिकल गाउँले लवजमा बंगारामा हानेर पुक्लुक्कै ढलाउने क्षमता छ यिनमा तर आफ्नो क्षमतामा पटक्कै घमन्ड छैन। ट्विटरमा यीनको यही स्वभावको कायल छन् मान्छेहरु। यिनी पहिला बंगारा झार्छन् अनि पछि ती झरेका बंगारा हेरेर ‘बंगारा पनि खासै राम्रा रैन’छन्, झार्दा पनि मज्जा आएन’ भनेर सान्त्वना दिन्छन्।

Delta

वरिष्ठ टिप्पणिकार :  यिनी उंगली गर्न सिपालु छन्। १२ थरी टीममा ‘बि’टक’ भनेर चिनिने यिनी बंगाराभन्दा पनि अलि अन्तै ताक्छन्। यिनको निशाना पनि अचुक छ, हानेपछि रिंगाउने गरी हान्छन्। यिनी आफूलाई विज्ञ व्यवस्थापक ठान्छन् तर १२ थरीले अहिलेसम्म व्यवस्थापनको जिम्मा यिनलाई सुम्पेको छैन। यस्तो लेख्नुपर्छ चैं भन्छन् तर लेख्नेबेला यिनको कलम खास्सै चल्न सकेको छैन।

Echo

सल्लाहकार / टिप्पणिकार : खासमा यिनी पनि वरिष्ट टिप्पणिकार नै हुनुपर्ने मान्छे हुन्। तर टिप्पणिकार कम सल्लाहकार ज्यादा अहिले यिनको भूमिका छ। राजनीतिक टिप्पणिका बारे कुरा गरे यिनले मलाई राजनीति थाहा छैन तर यसो गर्दा ठीक होला भन्छन्। आफूलाई थाहा भएको कुरा छ भने लेखमा छिरेर दुईचार लाइन थपथाप पनि पारिहाल्छन्। यिनी कन्टेन्टदेखि प्राविधिक कुरासम्मको लागि आफ्नो राय व्यक्त गर्छन्। यिनको यो भर्सटाइल ज्ञान १२ थरीका लागि आवश्यक पनि छ।

Frank

प्राविधिक सहायक : शैक्षिक योग्यताको हिसाबले यिनी कम्प्युटर इन्जिनियर हुन्। व्यक्तिगत रूपमा यिनी आँखामा राख्दा पनि नबिझाउने सोझो, सरल र मिलनसार छन् तर यिनमा यस्तो काम मैले गर्ने हो र ? भन्ने सोच बेला न कुबेला आइदिन्छ अनि यस १२ थरी टिमका सबैको गाली खान्छन्। मायालु छन् त्यसैले मायाले सबैले गाली गर्छन् 😉 फेसबुक / ट्वीटरमा मा नेपालका नाम चलेका पत्रकार , लेखक , समालोचक यिनका फ्रेण्ड / फलोवर छन्। यिन्लाई सानो तिनो विकिपेडिया भने नि हुन्छ। यिनी यो त्यो सबै कुराको खबर राख्छन्। यिनीलाई झ्वाँक चलो भने बिदा मनाउन घर जान्छन् 😉

George

वरिष्ठ टिप्पणिकार : यिनी भलाद्मी पाराले टिप्पणि गर्न रुचाउछन्। उखान तुक्का र टिपिकल नेपाली लवज यिनको लेखाइको बलियो पक्ष हो। आफू वरिष्ठ (टिप्पणिकार) हुँ भन्ने यिनमा घमन्ड छैन तर बेलाबेला म पनि काँचो काठले जलिहाल्ने चाहिँ हैन है, जलाउने भए सुकेका दाउरामा शुद्ध घ्यु हाल भन्छन् यिनी। हाँसी हाँसी यिनले करौंती चलाउँछन् अनि लेखनमा पनि यीनको यो स्वभाव देखिन्छ। यिनले राजनीतिदेखि कुटनीति, बाख्रा पुराणदेखि रक्सी पुराणसम्म खररर भन्दिन्छन्।

Hotel

प्रसाशनिक तथा अर्थ/प्रचार विभाग प्रमुख। यिनलाई चिनाउन धेरै शब्द खर्च गर्न पर्देन। ट्वीटरमा यिनको नाम काफी छ।

NewRode

न्युरोडे १२ थरीका अतिथि लेखक हुन्। १२ थरीमा भर्खर मात्र लेख्न शुरु गरेका यिनी लामो समयदेखि लेखन पेशामा छन् भनिन्छ। यिनी आफ्नो लेखनले नै धेरैका बंगारा झार्ने र सुरुवाल फुकालिदिने हैसियत राख्छन् भन्ने कुरा गर्छन् मान्छेहरु यिनका बारेमा। त्यो पनि मिडिया बजारदेखि साहित्यबजारसम्म, भैंसेपाटीदेखि रत्नपार्कसम्म।