यो रेडियो नेपाल हो, यो रेडियो नेपाल हैन


शीर्षक हेरेर अनौठो लाग्यो? यो रेडियो नेपाल होइन तर यो लेख रेडियो नेपालको समाचार हो। १२ थरीको यो रेडियो नेपाल समाचारमा तपाइँहरु सबैलाई हार्दिक स्वागत छ। ल त पाठकहरु, नजिकै आउनुस् र समाचार सुन्नुस्। कुरा हो बैशाख १५ गते सोमबार रेडियो नेपालको एउटा प्रत्यक्ष प्रसारित कार्यक्रममा प्रस्तुत बाबुराम भट्टराईको अन्तर्वार्ता प्रकरण। रेडियो नेपालका प्रस्तोता नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश शासक, भष्मासुरजस्ता विशेषण दिए भनेर सञ्चार मन्त्रालयले स्पष्टिकरण सोध्यो। मलाइ त्यो रेडियो नेपालको कार्यकारी निर्देशकसँग स्पष्टिकरण माग गरेको कत्ति चित्त बुझेन। यसको बारेमा बोल्न पनि डराउनुपर्ने अवस्था छ। तर यस्ता कुरामा बोल्नु पर्छ। सरकार जो सुकैको होस्, आफ्नो आस्था जे सुकै होस्। आउनुस् यसबारे मेरा बुँदागत असन्तुष्टि :-

गीता पाठ गरेर पाठाको बली

पहिलो कुरा, जुनसुकै सरकारी चिठी ‘उपरोक्त बिषय’ र ‘प्रस्तुत सम्बन्धमा’ भनेर सुरु गर्नु बाजेको पालाको चिन्तन हो। बिषयमा ‘स्पष्टिकरण पेश गर्ने’ लेखेको पत्रमा प्रेमको प्रसंग पक्कै उठ्दैन। अझ त्यससँगै लगत्तै ‘नेपालको संविधान’ उल्लेख गरिनुले पत्र पढ्नेलाई स्पष्टिकरण लिनसमेत संविधानले नै भन्दोर’च कि भन्ने भान हुन सक्छ। यसमै जोडिएर आउँछ वाक्य संरचना। त्यो स्पष्टिकरणमा हेर्‍यो भने देखिन्छ, पहिलो वाक्य नै सय शब्दभन्दा लामो छ। पढ्दै भाउन्न हुने। पुरै माडसा’ब स्टाइल। माध्यमिक तहमा पढ्दै गरेको विद्यार्थीलाई नैतिक शिक्षा पढाको हो? कि चिठीको मस्यौदा लेख्नेले नै माथिको आदेश तामेल गर्न मन नलाई नलाई लेखेको हो? हो, पत्रमा पृष्ठभूमि चाहिन्छ तर संविधान र दशथरी आदर्श छाँटेर लास्टमा एउटा कर्मचारीलाई स्पष्टिकरण सोध्नु गीता पाठ गरेर पाठालाई मार हान्न जानु हो। 

Continue reading

तर्क, वितर्क र कूतर्क


आजकाल धेरैजसो बहसहरू हेर्दा, सुन्दा, पढ्दा के महशुस हुन्छ भने केही बहसकर्ताहरू स्पष्ट रुपमा कूतर्कहरूलाई आधार बनाएर बहस गर्छन। चाहे ति ट्विटरका हुन् वा टेलिभिजनका हुन वा छापाका नै किन नहुन्। यो कस्तो कुरा हो? के आधारमा यो मानिसले यस्तो कुरा गरिरहेको छ? के यो सत्यकुरा हो? के यो मानिसले बिषयबस्तुको महत्वपूर्ण पाटाहरूलाई समेटेको छ? जस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा केही मानिसहरू सरासर कूतर्क गर्दैछन् भन्ने भान पर्न थालेको छ। मलाइ परेको यो भानका बारे यो लेखमा उल्लेख गर्ने जमर्को गरेको छु। यो लेखले समसामयिक कुरामाथि चर्चा गर्दै तर्क र कूतर्कको बारेमा बताउनेछ। आउनुहोस् केही सामान्य कूतर्कहरूका बारेमा केहि चर्चा गरौं:

व्यक्तिगत कटाक्ष

यसले प्रमाण वा तर्कको वैधताको सट्टा तर्कलाई अगाडि बढाउने व्यक्ति प्रति गरिने कुनै पनि आक्रमणलाई बुझाउँछ। उदाहरणहरू: “मलाई गगन फिटिक्कै मन पर्दैन, त्यसको कुराहरू आलु हुन्” भन्छ भने बहसकर्ता कूतर्क गरिरहेको छ। “त्यो अर्को पार्टीको हनुमान्  वा कट्प्पा  हो, जहिले मुर्ख कुरा गर्छ!,” भन्नु पनि त्यस्तै कूतर्क हो। चित्रमा अर्को उदाहरण:

यसमा लेखकले तिमी जस्तो मानिसले यस्तो प्रश्न उठाउने भन्दै प्रश्न सोध्ने महिला व्यक्तिगत लान्छना लगाएका छन्।

आत्मकेन्द्रित दम्भ

सामाजिक संजाल तथा टिभीका अन्तर्वार्ताहरूमा हुने अधिकांश बुध्दिबिलासी बहसहरू हुन् वा पत्रपत्रिकामा पढ्न पाइने लामा-लामा लेखहरू, आजकाल यस्तो लाग्छ कि, कतिपय बहसकर्ता वा बिचारकहरू “मैले जे वाक्दे पनि हुन्छ, पत्याईदिने जमात छदैछ! म नै यो संसारको मियो हुँ, यदि म नै हुन्थिन भने कसरी यो संसार चल्थ्यो होला र?” भन्ने किसिमको दम्भ बोकेका हुन्छन् ।यस्तै स्वनामधन्य बौद्धिकहरु हाम्रा समाज तथा सामाजिक संजालमा ‘अपिनियन मेकर’ बन्न खोज्छन्, जसलाई तार्किक हिसाबमा राम्रो मान्न सकिदैन। “मेरा धारणाहरू नै तथ्य हुन्, मेरा विश्लेषणहरू यस्ता त्रिकालदर्शी हुन्छन् कि बिदुरले धृतराष्ट्रलाई गरेको महाभारतको बयान त के हो र!” जस्तो मानसिकता बोकेर आफ्नै वा चिनजानको मित्रको मिडिया कारखानामा छापिएर आएका लेखहरू हुन् वा “हामीलाई पनि प्रश्न सोध्ने हो? कहीँ नभका छुच्चाहरू!!” जस्ता लेखहरूले यस्तो “म” केन्द्रित दम्भलाई उजागर गर्छ। तलको भिडियोमा एउटा उदाहरण हेर्नुहोस् ।

Continue reading

रेलका १२ थरी 'रेलाकार'


मुन्छे भैसकेपछि आफ्नो समाज अनि देशमा हुने घटना र समसामयिक बहसले नछुने, असर नगर्ने भन्ने कुरो नहुने रच हेर्नुस। उसो त यो स्तम्भकार आफ्नो बिषयगत क्षेत्रभन्दा बाहिरका बहसमा खासै जान्ने पल्टेर टाङ्ग घुसाउन जाँदैनथ्यो, तर बहसहरु अलि सघन हुन थालेपछि यसो टपर्टुँइया विज्ञता नझारी मनले मान्दो रैनच। जस्तो, अघिल्लोपटक मेकअपको बहसले छोयो अनि तुच्छ बौद्धिकहरु प्रति लक्षित एक किसिमको भडाँस पोखियो। आज चैं चाइनाबाट आउँछ भनेर सपना बाँडिएको चुच्चे रेलको बारेको बहसमा कति थरी ठूटे विज्ञ सक्रिय छन् भनेर विभिन्न संचार माध्यम र समाजिक सञ्जालको अवलोकनको निष्कर्ष लिएर आएको छु। उपयुक्त ठाउँमा त्यस सम्बन्धमा आफ्नो धारणा पनि छुस्स सुनाउने नै छु।

हामी नेपालीको न गोजीमा कुस्त दाम छ न टाउकोमा अलि गतिलो गिदी नै । आधा गाग्रो धेरै छचल्के झैं समाजमा कुनै विषयको उठान के हुन्छ सबले आआफ्नो ‘हाइपो’ दे दनादनको शैलीमा दिन थालिहाल्छन्। नेपालको सुपर जिल्ला लगायत धरान, इटहरी अनि सिक्किम-दार्जिलिङ तिर एउटा थेगो हिट छ ।’ यार रेला नगर’ न भन्ने । जसलाई यता चल्ने ‘ल्याङ्’ कै कोटीमा राख्न सकिन्छ । अचेल चलिरहेको रेलको बहस पनि रेला नै गरे झैं भैरहेको छ भन्ने पंक्तिकारको ठम्याइ हो । यो रेलामा कस्ताकस्ता वर्ग छन् र तिनका ‘लाइन’ के हो भन्ने बारेमा मेरा दुइ पैसा विचार तल पस्किदै छु । कला देखाउनेलाई कलाकार, गीत लेख्नेलाई गीतकार, स्तम्भ लेख्नेलाई स्तम्भकार भने झैं रेलका बारेमा मेरा गोरुको बाह्रै टक्का शैलीमा रेला गर्नेलाई ‘रेलाकार’ भनिएको हो । लौ त धेरै गन्थन के गर्नु । अब फुलपाती लिनुस् ।

Continue reading

ओल्बाको अंग्रेजी फरर, हनुमानलाई बास्ना हरर


फोटो साभार: नेसनल हेराल्ड

कहिलेकाहीं १२ थरी हरायो भन्ने गुनासो सुन्न पाइन्छ। तर १२ थरी हराएको हुँदैन। त्यो समुद्रको बालुवामा मुन्टो गाडेर बस्ने लामालामा खुट्टा भएको चरो हुन्छ नि, हो त्यस्तै हो १२ थरी। मरेजस्तो लाग्ला तर जिवितै। हामीले पहिल्यै भनेका छौं, १२ थरी व्यवसायिक रुपमा अघि बढ्न खोजेको ब्लग साइट हैन, न त यो क्लिक बटुलेर विज्ञापन खोज्ने समाचार साइट नै हो। यसमा लेख्नेहरु व्यवसायिक लेखक पनि हैनौं र पत्रकार पनि हैनौं। हामी कहिलेकाहीं महिनौंसम्म समाचार नहेरी, देश, समाजलाई बाल दिएर आफ्नै काममा व्यस्त भइरहेका हुन्छौं। त्यस्तोबेला हामीलाई १२ थरी ब्लग पनि छ है हाम्रो याद समेत हुँदैन। अहिले पनि यस्तै भएको हो। लामो समय हामीबाट कुनै सामाग्री नआएकोमा क्षमा माग्दा पनि हुने हो तर हामी क्षमा माग्दैनौं। किनकी हामी ठूला मान्छे हौं, हामी कसैलाई गन्दैनौं, मान्दैनौं। हामी हुट्टिट्याऊँ हौं, हामीले सगर थामेका छौं। अरु सबै ऐेरे गैरे नत्थु खैरे हुन्। यति भनिसकेपछि पनि यहाँभन्दा अगाडि बढेर पढ्नु भयो भने लप यु डियर ! Continue reading

बुढो रुखको बिलौना


हाम्रा श्रद्धेय पाठकहरुमा जदौ, म  बिचरो बुढो रुखको तर्फबाट!

हो, म बिचरो बुढो रुख- १०४ बर्षे जहानियाँ राणा शासनसँग पौँठेजोरी र सिंगौरी खेल्दै, कहिले हाँगा काटिँदै, कहिले ढाड नै गिँडिँदै फेरि उठ्दै, हावा, हुरी र चट्टान खेप्दै आएको म बुढो रुख। बिपी, किसुनजी, गणेशमान, सुवर्णशमसेरहरुले रोपेर उमारेको म रुख। पानी पाएर हल्का पालुवा लाग्न नपाउँदै जरा खनिनुपर्ने नियति भोगेर पनि ठिंग उभिएरहेको म रुख। कहिले महाराजा त कहिले महाराणा, कहिले महाआतंकमा पनि ठिंग उभिएको, हो म बिचरो त्यही बुढो रुख। यस्तो रुखमा अहिले कस्ता कस्ता किराको बास छ भनेर अब चर्चा गरौं है त।

Continue reading