साझा-विवेकशील: खानाको नाम नलेखिएको खाली मेन्यू


के यो साझा-विवेकशीलको लागि १२ थरीमा लेख्न जरुरी छ? वा यो यत्रो पार्टी भैसक्यो कि हामी यसको चर्चा गरेर बसौं? नढाँटी भनम्? जरुरी थिएन। तर नेपालमा रहेका अन्य पार्टीभन्दा आफू फरक, यी सबैको वैकल्पिक शक्ति हुने भनेर यसका हेडमास्टरले फ्याँकेको फ्याँकै गरेकाले मात्रै लौ हेर न त ऐना भनेर देखाउन खोजिएको मात्रै हो। साझा र विवेकशील दोस्रोपटक एकिकरण भएपछि एकपटक यसको चर्चा गर्दा खास्सै फरक नपर्ला भनेर पनि हल्का टिप्पणि गरिएको हो, अन्यथा नसोचियोस्। यिनको काम गराइ, यिनका नेताका कुरा सुन्दा, यिनका दस्तावेज पढ्दा, यिनको विकास हेर्दा यिनीहरु एउटा क्लब भन्दा बढी केही देखिँदैनन्। वैकल्पिक र संस्कारी राजनीति भनिसकेपछि हामीले देखेका पुरातन शैलीका पार्टी जस्तै हुनुपर्छ भन्ने त छैन तर राजनीतिक पार्टी हुनका लागि केही आधारभूत कुरा हुन्छन् जुन यी दुवै पार्टीसँग छैन।

हाम्रा लेख पढेर कसैको चित्त बुझेन भने हाम्रा दाँतमा हाने हुन्छ। हामी आफैं शिशाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्दै हिँड्ने जमात हौं। हामीलाई हाम्रो घरको शिशा फुट्न सक्छ भनेर अर्काको घरमा ढुंगा हान्न डराउँदैनौं। घरमा शिशा लगाएपछि फुट्दा नयाँ फेर्नुपर्छ भन्ने हिम्मत र योजना हुन्छ नै। होइन, तपाइँ पनि हामीजस्तै हावा छेकुवा वा दाँतका डाक्टरका दलाल हो भने आउनुस्, मिलेर आज विवेकशील साझाका सामुहिक रुपमा दाँतमा हानौं। हामी चाहान्छौं, नेपालमा संस्कारी राजनीति शुरु होस्, राजनीतिक पार्टीको मुख्य एजेण्डा सुशासन र जनता हुन्। नेपालका ठूला भनिएका पार्टीलाई वैकल्पिक पार्टीले विस्थापित गरुन्। यो लेख त्यही चाहना अनुसार यी दुई क्लबको चिरफार गर्ने जमर्को गरिएको हो।

१० बर्ष बढी भयो तर नाम छैन

विवेकशील नेपाली भन्ने क्लब शुरु भयो कति बर्ष भयो? १० बर्षभन्दा बढी? राजनीतक दलको रुपमा सक्रिय हुन थालेकै पनि १० बर्ष बढी भयो। आफूलाई वैकल्पिक धारको, सुसंस्कृत राजनीतिक दल भन्दै आएको पार्टीले अहिलेसम्म सर्वसाधारण जनतासम्म आफ्नो नाम सुनाउन समेत सकेको छैन। १० बर्ष भनेको एउटा पार्टीको लागि लामो समय हो। जन्मेको १० बर्षमा बच्चा ५ कक्षा पुगिसक्छ। तर यो विवेकशील भन्ने पार्टी १० बर्षमा बल्ल भर्ना भएको छ स्कूलमा। यो पार्टीले १० बर्षमा के गर्‍यो भनेर हेर्नुस् त- कुनै पनि राष्ट्रिय मुद्दामा यसले कति प्रभावकारी विरोध गर्‍यो? जनतासम्म कहाँ पुग्यो? यो १० बर्मा घगत यो एउटा फेसबुकको ग्रुप भयो। त्यत्ति हो। काठमाडौं बाहिरका कुरा छोडौं- काठमाडौं भित्रै फेसबुक ट्विटर छोडेर हेर्नुस् कतिजना मान्छेले यो पार्टीको नाम सुनेका छन्? पार्टीले १० बर्षसम्म समाजमा एजेण्डा स्थापितको कुरा छोड्नुस् नाम नै बनाउन सकेको छैन त्यसले वैकल्पिक धारको नेतृत्व गर्छ भनेर कसरी पत्याउने? विवेकशीलले यो १० बर्षमा हामी राजनीतिक पार्टी हौं भनेर देखाउन सक्ने कुनै पनि काम गरेको देखिएको छैन। राष्ट्रिय मुद्दामा कहाँ कहाँ, कहिलेकहिले राष्ट्रियस्तरमा आवाज उठायो भनेर एकपटक खोजेर हेरौं- माइतिघरमा प्लेकार्ड बोकेर उभिनेबाहेक केही काम भेटिँदैन।

लगभग उस्तै उस्तै रुपमा बिबिसी नेपाली सेवाका पूर्व सम्पादक रविन्द्र मिश्रले सन् २०१७ मा देशलाई वैकल्पिक नेतृत्व दिने भन्दै साझा पार्टीको गठन गरे। अहिलेसम्म हेर्दा उनको त्यो साझा पार्टी हेल्प नेपाल नेटवर्कको विस्तारित रुपभन्दा अरु केही देखिएको छैन। हेल्प नेपालभन्दा यसको फरक भनेको हेल्प नेपालले सहयोग उठाएर असहायलाई सहयोग गरेको देखाउँथ्यो, साझा पार्टी चैं पैसा उठाएर पार्टी चलाइरहेको छ। रविन्द्र मिश्रको नाम जोडिएकोले विवेकशील नेपालीको भन्दा साझा पार्टीको नाम अलि बढी सुनिएको होला तर स्थापनाको लगभग चार बर्षमा पनि यो पार्टीले नाम बनाउन सकेको छैन। राजनीतिक पार्टी र रेडियो स्रोता क्लबमा फरक हुन्छ भन्ने कुरा त्यत्रो बर्ष पत्रकारिता गरेको हुँ भनेर गर्व गर्ने मान्छेलाई थाहा हुनुपर्ने हो।

विज्ञप्ति पार्टी

साझा-विवेकशील दुईटै पार्टी लगभग १७ महिना एक भए तर त्योभन्दा बढी एकठाउँमा टिक्न सकेनन्। अहिले दोस्रोपटक फेरि जोडिएका छन्। विगत १० बर्षको नेपाली राजनीति हेर्ने हो भने अझ पछिल्ला ५ बर्षलाई मात्र हेर्ने हो भने नेपालले भ्रष्टाचार, कुशासन, न्याय वितरणजस्ता कुरामा रेकर्ड नै कायम गरेको छ। संस्थागत भ्रष्टाचारको वृद्धि भएको भइ छ। तर यस्ता मुद्दामा आफूलाई वैकल्पिक धारको पार्टी भनेर दिनरात फलाक्ने पार्टी मृतप्राय: छन्। बलात्कारका घट्नादेखि भ्रष्टाचारका घट्नाका विरोधमा यी दुवै पार्टीले कहिल्यैपनि आफूलाई स्थापित गर्न सकेनन्। एकदिन जुलुस निकालेर, माइतिघरमा बत्ती बालेर वा एउटा विज्ञप्ति निकालेर बसे। जुन पार्टीले देश यतिसम्म गैरजिम्मेवार तरिकाले चलेकोबेला आफूलाई स्थापित गर्न सक्दैनन् ती पार्टीले कसरी देशको नेतृत्व लिन सक्छन्?

पछिल्लो निर्वाचनमा साझा र विवेकशीलका केही नेताहरु प्रदेशसभामा पनि चुनिएका छन्। एकपटक हेर्नुस् तपाइँहरुका निर्वाचित सदस्यहरुले गरेका कामका बारे। क-कसले राष्ट्रिय वा स्थानीय मुद्दामा आफ्ना विचार बुलन्द गरेर वाह ! भन्ने बनाए? क-कसले वाह! काम त यसरी हो नि त गर्ने, मुद्दा त यो नि त भन्ने बनाए? तपाइँहरुका पार्टीबाट निर्वाचित सदस्यहरुले तपाइँहरुको पार्टीलाई चिनाउन सके? ३ बर्ष भयो, ३ बर्ष। अहिले पनि हरेक दिन पत्रिकामा केन्द्र सरकारदेखि स्थानीय सरकारसम्मले गरेका अनियमितताका खबर हरेक दिन छरपस्ट छन्। तर खै त यस्तोबेला तपाइँहरुको पार्टी? भारतमा केजरीवालले चुनाव जितेको देखेर यता आफ्नो मुखबाट पानी बगाउनू चैं ल्हासामा सुन छ कान मेरो बुच्चै भनेजस्तै हो।

मेन्युमा खानाको नाम नै छैन

साझा पार्टीका संयोजक रविन्द्र मिश्र बारम्बार भन्ने गर्छन्- नेपालीहरु रेष्टुराँ गएर ओल्टाइपल्टाई मेन्यू हेर्छन् र अन्तिममा म:म चाउमिन मगाउँछन्। अब म: म को विकल्प खोज्नुपर्छ। मेन्यू पढेर खाना अर्डर गर्ने कुरामा मिश्रजीको कुरा सही हो। तर महत्वपूर्ण कुरा के हो भने नि जसले म: मको विकल्प छ भनिरहेको छ त्यसको मेन्यूमा खानाको नाम नै छैन। साझा पार्टी नयाँ हो, पुरानाको विकल्प हो भनेर मात्र त पुग्दैन नि। हामी म: म होइनौं भनेर मात्र त भएन नि। म: म नभए के हो त तपाइँहरू? छोइला? कचिला? आलु तामा? काउलीको तरकारी? पुरी तरकारी? समोसा? रसगुल्ला? यी हेर्नुस् विकल्प छ भनेर दिएको मेन्यूमा तपाइँको खाना के हो भनेर त भन्नुपरो नि। मेन्यू यो हो भनेर दिएको पातो त खाली छ महोदय। पहिला खानाको नाम त लेख्नुस् मेन्यूमा। कल्याणकारी राज्य भनेको छ- के हो कल्याणकारी राज्य भनेको? कसरी बनाउने हो कल्याणकारी राज्य? हाम्रो वेबसाइटमा गएर सहयोग गर्नुस् भनेर खान पुगोस् दिन पुगोस् भन्दै बाँड्ने? सिद्धान्त के हो? राज्य संरचना कस्तो हो? आर्थिक नीति कस्तो हो? केही छैन, वैकल्पिक भन्यो कुर्लियो।

पहिला पार्टी त जोगाउनुस् अनि देशका कुरा गरौंला

रविन्द्र मिश्रले साझा पार्टी गठन गरेपछि मान्छेहरुलाई कन्भिन्स गर्न उनको पार्टीमा भएका मान्छेहरुको वाहवाही गर्दै कुरा गर्थे रे। हेर्नुस् त, सूर्यराजजीजस्तो जापानको पोलेसी लेबलमा काम गरेको मान्छे हुनुहुन्छ हाम्रो पार्टीमा। सुर्यराजको त उदाहरण मात्र दिइएको हो लेखमा। त्यस्ता अरु पनि छन्। मुमाराम खनालदेखि मानवी पौडेलसम्मले पार्टी छोडेर गइसके। तर खै त ! अब त ती नाम पनि बेच्न नपाइने भयो। पार्टी स्थापनाको ३/४ बर्षमै पार्टीका मान्छेहरु लुतुलुतु छोड्दै हिँड्न थालेपछि पहिला पार्टी जोगाउने कि देश? अझ कमिटि बनाउने बेलाको मुक्कामुक्की हेर्दा त तपाइँहरु वैकल्पिक नै देखिनुहुन्छ। पार्टी एकिकरण हुने भएपछि विवेकशीलमा रहेका एक समुहले आफू साझासँग मिल्न नजाने भनेर विद्रोह नै गरे। पार्टी एकिकरण गर्दा विवेकशीलको नेतृत्व तहमै रहेका सदस्यहरु किन आएनन्? सत्ता र पदका लागि लडाइँ गर्ने हामी होइनौं भनेर भाषण गरेर मात्र हुने भए त केही ओलीको उखान तुक्कासहितको मिट्ठो भाषण हामी सुनिरहेकै छौं त लामो समयदेखि। तपाइँहरुको संस्कार, तपाइँहरुको वैकल्पिक यात्राको कास्टिङ् नै यस्तो छ भने पूरा फिल्म कस्तो हुने होला !

संस्कार सिकाउनेले चैं संस्कार मान्नुपर्दैन?

हामी पदका लागि राजनीति गर्दैनौं। हामीले आफू ठूलो नेता बनेर शासनसत्ताको बागडोर सम्हालेर राजा बन्न राजनीति गरेको होइन भनेर आदर्श फलाक्न त सजिलै छ नि। दुईटा पार्टी एकिकरण भएको १७ महिनामै चैं किन फुट्या रे पार्टी? अहिले लौ हामी फेरि जोडिऔं भनेर लागिरहँदा टाउकेहरुलाई टाउके पद चाहिँ किन चाहिएको हो? पार्टीको नाम नै नहुँदा, जनताले नचिन्दै, कुनै लाभ नमिल्ने बेलैमा त एउटा अध्यक्ष बनेर पार्टी चलाउन नसक्नेले पार्टी ठूलो भएर देशको नेतृत्व नै लिनु पर्ने अवस्थामा शेबदे र राचपौ वा केपी, माकुने, प्रचण्डजस्तै अथवा उपेन्द्र, राजेन्द्र, महन्थभन्दा कसरी फरक हुनुहोला महोदयहरु? हामी सुसंस्कृत र जनतालाई केन्द्रमा राखेर राजनीति गर्छौं भन्नेले काम चाहिँ त्यस्तो गरेको देखिएको छ त? जिल्ला वा गाउँमा सदस्य बनाउँदै गर्दा कुर्सी हानाहान गर्नु नै सुसंस्कृत राजनीति हो भने त कांग्रेस कम्युनिष्टले गरेकै छन् त त्यति। सामूहिक नेतृत्वको अवधारणा भनेर भाषण गर्दै नआउनुहोला। तपाइँहरुले पिएको पानी र तपाइँहरु उम्रेको पनि ड्याङ् एउटै हो भन्ने त यो एक दुई बर्षमा छर्लङ्गै देखिइसकियो।

खै चुनाव?

प्रजातान्त्रिक मुलुकमा कुनै पनि राजनीतिक पार्टी यदि उ तानशाही पार्टी होइन भने उसको नेतृत्वको चयन चुनावी प्रक्रियाबाट हुनुपर्छ। भन्न सकिन्छ- संगठन नै बनिसकेको छैन कसरी गर्ने निर्वाचन? सत्ते बात। एउटा कुरा भनौं? यी दुवै पार्टीले जिल्ला जिल्लामा गठन गरेका कमिटि हेर्नुभएको छ? बाल क्लब गठन गरेजस्तो देखिन्छ। राजनीतिमा युवा हस्तक्षेप आवश्यक छ भन्नुको अर्थ ८ – ९ कक्षाका विद्यार्थी होइनन्। राष्ट्रिय राजनीतिको धार परिवर्तन गर्ने होइन पुराना पार्टीलाई विस्थापित गर्छु भन्ने महत्वकांक्षा बोकेको पार्टीको संगठन यस्तै केटाकेटी जम्मा पारेर हुने हो? पार्टी गठनको तीन बर्षभन्दा बढी हुँदा, अझ एउटा त १० बर्षै पुग्न लाग्दा पनि जिल्लामा केटाकेटी भेला गरेर साथीसँग मनका कुरा स्रोता क्लब जस्ता क्लब बनाएर ठूला कुरा गर्दै नहिँडौं न सरहरु। सरापेर डिंगो मार्ने सपना बोकेर कम्तीमा राजनीतिमा नछिर्दा हुन्छ नि।